आपसी मतभेद र वैमनस्य उत्पन्न नगरी शान्तिपूर्वक सह–अस्तित्वले बाँच्न दिने तत्त्वको नाम हो सामाजिक सद्भाव ।

मानव समाजमाथि सबै प्रकारका नियन्त्रण चुँडाल्नुपर्छ भन्ने अभियानकी अग्रणी एमा गोल्डम्यानले यो दाबा गरेकी थिइन्- “मानिसलाई वशमा लिएर शान्ति स्थापना गर्नु अनि आतङ्कको प्रयोगले त्यसलाई कायम राख्नु भनेको सुरक्षाको ग्यारेन्टी होइन । यद्यपि सरकारले कायम गर्ने शान्ति व्यवस्थाको प्रचलित तरिका चाहिँ त्यही नै हो ।”

वास्तवमा सामाजिक व्यवस्था र शान्ति (अनि सद्भाव) दुई किसिमले प्राप्त हुन्छ—बन्दुक वा बलको प्रयोगद्वारा अथवा प्रेम, सहिष्णुता, सहभावद्वारा । बलात् सामाजिक एकता कायम गर्ने सिद्धान्त अधिनायकवादीको हो । यसको विरुद्ध धेरै विद्रोह भएका छन् ।

सामाजिक सद्भाव (सोसल हार्मोनी) भन्ने कुरा साँचो अर्थमा मानिसहरूको समान हितका उद्देश्यले जोडिएको भाव (ऐक्यबद्धता) हो जुन स्वाभाविक रूपले उत्पन्न हुन्छ  । प्रायशः हाम्रा समाजमा नित्य श्रम गर्नेहरूले केही पनि भेट्दैनन् जब कि कहिल्यै नगर्नेहरूले सबै प्राप्त गर्दछन् । यहाँ सामूहिक हितको आधारमा एकजुट (ऐक्यबद्धता) हुँदैन, अर्थात् सामाजिक सद्भाव स्थापित हुँदैन । त्यो एउटा मिथक मात्र हुन्छ । यस प्रकार सरकारद्वारा सञ्चालित सम्पूर्ण शस्त्रागार, पुलिस अर्थात् नियम, कानून, सैन्यबल, अदालत, विधिबेत्ता, कारागार सबैकुरा मिलेर ‘सामाजिक सद्भाव’ कायम गर्न मरेर लागेका छन्,अत्यन्तै प्रतिरोधी दल वा शक्तिलाई पनि निचोरेर मिलाएका हुन्छन् । यो विश्वकै एक प्रख्यात अराजकतावादी (एनार्किक)नारी एमा गोल्डम्यानको भनाइ हो ।

वास्तवमा हाम्रो देशले पनि यस्ता प्रकारले स्थापित सामाजिक सद्भाव कति हो कति भोग्यो । हाम्रा पितापुर्खाले सधैँका बन्दी वा सम्भावित अपराधी भएर चुइँक्कै नबोली १०० वर्ष राणाकाल बिताए । पछि हाम्रै पालाका पञ्चायती शासनमा पनि त्यही थियो- जेल, नेल, पुलिस, सी.आइ.डी, निर्वासन र मृत्यु थिए । अहिलेको सरकार पनि हतियार उध्याउँदै गर्छ तर प्रयोग गर्न सकेको छैन । सबै कुराको मुक्ति र अन्तिम औषधी ता प्रजातन्त्र मात्रै हो । तर अझै पनि संसारका एक चौथाइ मुलुकमा अधिनायकवादले शासन गर्दै छ । जहाँ मानिसले सत्ता विरुद्ध चुइँक्क बोल्न पाइँदैन ।

अधिनायकवादी मुलुकमा शासकको इच्छा, शक्ति, स्थान र बन्दुकको सङ्ख्या अनुसार सामाजिक सद्भाव कायम हुन्छ । हाम्रो देश पनि भर्खर स्वतन्त्रता उन्मुख भएकाले गर्दा हिजोसम्म समाजलाई बाँध्ने तत्त्वहरूमा कति धार्मिक, कति सामाजिक, कति परम्परागत अवैज्ञानिक कुरा पनि प्रयोगमा थिए । आज आएर धेरैजसो ती पुराना जुइना चुँडिएकाले गर्दा सामाजिक सद्भावका सूत्रहरू फेर्दै जानुपर्छ;विनिर्माण गर्दै जानुपर्छ भन्ने विश्वास हुन थालेको छ । एउटा दृष्टान्त छ—राजतन्त्रमा कति संस्कार, परम्परा र कर्महरू उनको अधिकार र स्वविवेकको क्षेत्राधीन थिए । तर आज ती प्रतिस्थापित भए । विकास भनेको नव निर्माण मात्र होइन प्रतिस्थापन पनि रहेछ । राधिका दासीले भागवत् पुराणहरू भन्दै हिँड्दा हाम्रा गुरु पुरेतले यतिखेर के कस्तो ठान्दै होलान् ! गत वर्ष अमेरिकाको यात्रामा देखेँ दुई दाजु भाइ दियाली थरका गुरुहरू संस्कृतमा उच्च शिक्षा लिएर पुराणादि सुनाउने, मन्दिरको सेवा गर्ने कर्ममा रहेछन् । कत्रो खुसीको कुरा छ ! कानूनले मात्रै भए पनि जातपात अस्पृश्यता आदिको भेद दण्डनीय छ भनिदिँदा लाखौं पीडितको मनमा शान्ति आउन थालेको छ ।

पुराना बन्धन दिनानुदिन चुँडिदैछन् । हाम्रो समाज अत्यन्तै तरल अवस्थामा छ । किनभने विज्ञान–प्रविधि र विश्वग्रामीकरण मिलेर यथास्थितिलाई भत्काइरहन्छन्, भौतिक जगत् मात्रै होइन सांस्कृतिक संसार पनि सधैँ तरलमय हुने रहेछ । सामाजिक सद्भावका सूत्रहरूको पनि सोही अनुसार विनिर्माण गर्दै जानुपरेको छ । सबैभन्दा गहिरो विभेदक चोट जाति प्रथाले दिँदै आएको थियो । आज त्यसबाट मुक्ति प्राप्त गर्ने लक्ष्यअनुसार स्थापित मान्यता, व्यवहार,कला, साहित्य सबैतिर पुनर्निर्माण गर्नु पर्दैछ । जुनसुकै समाजहरू सदैव निर्माणाधीन हुँदा रहेछन्, सधैँ सबै कुरा तरलमय हुँदो रहेछ ।

सामाजिक सद्भावको उत्थानमा साहित्यको योगदान भन्ने विषयमा अध्ययन गर्दै लाँदा श्रीलङ्काली विद्वान् डा. एम बालकैलाशनाथ शर्माले गरेको एक अध्ययन सार फेला पारेँ । जसको शीर्षक थियो—‘ऋगवेदमा सामाजिक सद्भावका अवयव’ ।

ऋगवेदमा वर्णित धेरै कुरा बदलिसके, कति आलोचित छन् तथापि हाम्रा पुर्खाद्वारा प्रस्तावित मानव सभ्यताकै आद्य ग्रन्थमा कुन–कुन तत्त्व (विशेषता) रहेछन्, आजको स्थितिमा के कति यथावत् छन् कति बदलिएर गए, तीप्रति सचेत रहनु पर्दछ । यस ग्रन्थको निर्माण सृष्टिलाई सुसंगतिपूर्ण बनाउने, मानव जीवनलाई सुन्दर सारपूर्ण बनाउने उद्देश्य केन्द्रित थियो ।

विश्व–सभ्यतालाई मानवतावादी दृष्टिले बचाउने प्रथम ग्रन्थ नै ऋगवेद हो । यस अध्ययनको सार के छ भने वैदिक साहित्यले सम्पूर्ण अस्तित्व बीचमा सह–अस्तित्व स्थापित गरी भौतिक भन्दा परको, भित्रको तत्त्व ज्ञान प्राप्त गर्ने मार्ग देखाउँछ । त्यसको निमित्त त्यस बेलामा ऋषि–मुनि चिन्तकहरूले मानव विद्वता, सामाजिक कल्याण, एकता,शान्ति, सुखले भरिपूर्ण एक भण्डारको स्थापना गरी लोकहितलाई बढाउने योजना बनाएका थिए ।

उनीहरूले निर्माण गरेका सामाजिक सद्भावका मार्ग (कारक तत्त्व) मध्ये प्रथम हो—ऋत धर्म अथवा ब्रह्माण्डका गतिको दैवी सिद्धान्तलाई बुझ्नु र स्विकार्नु । ऋत धर्म पालनाको कारण सबै सुखी, सम्पन्न, निरोगी होउन् र सबैमा शान्ति छाओस् भन्ने हो । वेदका मन्त्रमा उच्चरित‘सर्वे भवन्तु सुखिन’ यही भावकामनाको प्रतिध्वनि हो । तर आज क्रूर भौतिकता बढ्दै गएर कवि लेखनाथ पौड्यालको “म खाऊँ मै लाऊँ सुख सयल वा मोज म गरूँ” भन्ने चेतना हाम्रो आदर्श बन्दै छ ।

दोस्रो छ, सहकार्य अर्थात् सामूहिक कर्ममा हाम्रो संलग्नता । सबै एकत्वमा,सङ्गठित रूपले, सहयोगी भावले बसौँ । एउटै स्वर बोलौँ,एकै विचार राखौं । ‘सं गच्छध्वं सं वदध्वं सं वो मनासिजानताम्’  आदि मन्त्रले यो भन्छन् । तेस्रोमा छ,  मानसिक शक्तिलाई संवर्द्धित गर्ने र मनलाई सदा तत्पर राख्ने गरौँ। अर्को सुख र सम्पत्तिको मार्ग  छैन। सम्पत्तिको विभाजनमा आधारित लोक कल्याण—धनीले आफू मात्र सुखभोग गर्नु हुँदैन भन्ने नैतिक दबाब । अर्को छ पर्यावरणीय चेतना जस अनुसार पृथ्वी, जल, वायु, आकाश, तेज जस्ता पञ्चतत्त्वको पूजा र तिनको रक्षा गर्नु भनेको सम्पूर्ण सृष्टिसँगको सद्भाव स्थापनाको प्रयत्न हो ।

यस अतिरिक्त धर्मशास्त्रहरूले समाजका प्रत्येक नागरिकले पालना गरून् भन्ने आग्रह गर्दै  आपसी सद्भाव स्थापनार्थ दशवटा धर्म वा कर्तव्य छुट्याएका छन्, जुन यस प्रकारका छन्—

१. धृति (दृढता)

२. क्षमा

३. दम (आत्मसंयम)

४.अचौर्य

५. शौच (सफाइ)

६. इन्द्रिय निग्रह

७. विद्वता (धि)

८. सिकाइ (विद्या)

९. सत्य र

१०. अक्रोध  ।

यी अत्यन्तै उच्च आदर्शका कुरा हुन् । सर्वप्रथम ता व्यक्तिगत आचरण र अनुष्ठानमा ती कुरा आधारित हुन्छन् । बाँच्नको लागिश्रम र पसिनाको खोला बगाउन बाध्य नागरिकले यी कुरा पालना गर्न मुस्किल छ । समाजको उच्च पठित वर्गले मात्रै बुझेर पालना गर्ला तर सामान्य चेतना वा स्तरका व्यक्तिलाई त्यो आदर्श कठिन छ । ज्ञान वा विद्या साधना श्रमिक वर्गको लागि विलासिता बन्दै छ अझै ।

वैदिक साहित्यभित्रै पनि आजको समाजले नस्विकार्ने कति कुरा छन् तर यो अपौरुषेय कर्म भनी वेदको पूजा भइरहेको छ ।अनादि कालमै मानव समाजलाई सद्भावले जोड्ने उद्देश्यले हाम्रा ऋषि–मुनिले कसरी अन्तिम सत्यको आविष्कार र प्रचार गर्न थालेका थिए भन्ने ज्ञानको लागि वेदको ज्ञान आवश्यक छ  ।

वर्तमान युगमा मानिसको सचेतता बढ्दै गएपछि, वर्तमान शिक्षाले समानताको आवश्यकता र मानव अधिकारको महŒव बुझाउँदै गएपछि सामाजिक परिदृश्यहरू भिन्न हुँदै गएका छन् ।सामाजिक यथार्थहरू परिवर्तित भए, यसलाई जोड्ने वा फुकाल्ने शक्तिहरू पनि भिन्न हुँदै गएका छन् ।

समाजमा अनेक प्रकारका विभेद,भिन्नता र फरकहरू नमेटिने गरी बनिएका छन्। त्यसैले सदैव असमानता रहिरहन्छ । सृष्टि वा उत्पत्ति कथा, जात–जाति, तिनका भाषा संस्कृति जस्ता अमूर्त तत्त्वले बनिएका हुन्छन् । त्यस अनुसार मानिसको वस्त्र, आभूषण, आहार–विहारले स्वतः समाजमा विभेद ल्याइरहेका हुन्छन्,खाडल बनाइरहेका हुन्छन् । त्यसका अतिरिक्त क्षेत्र, भूगोल पनि विभेदक तत्त्व हुन्।

एक राष्ट्रका नागरिकबीच कानूनी दृष्टिले समस्तरीय अधिकार र कर्तव्य भए पनि विभेदक भाषा, धर्म, संस्कृति,बोली,उखान, वस्त्र, खाना, जनविश्वास आदिको कारणले गर्दा तिनको प्रयोगमा आजका स्रष्टा अत्यन्तै सचेत हुनुपर्छ । साहित्य स्रष्टा  भनेको नित्य समाज निर्माता र एक मानक प्रतिनिधि भएकाले तिनले पाठकको चित्त नदुख्ने, तिनलाई अपमान नगर्ने भाषा वा विचार प्रयोग गर्नु पर्दछ ।

नेपालमा साहित्यले सद्भाव बिगारेको आरोप लागेका अथवा पाठकले अपमानित भएको अनुभव गरेका केही मुद्दा छन् । यसमा पाठकको सोचाइ अपरिपक्व भएर हुन सक्छ । विरोधीहरूले उचालिदिएर पनि हुन सक्छ जस्तो अघि बिपी कोइरालाको ‘सुम्निमा’ आउनासाथ त्यसको विरोध पनि भयो । तर त्यो राजनैतिक कारणले रहेछ । बिपीको त्यो मास्टर पिस कृति पछि पाठ्यक्रममा लागू भयो ।

त्यस्तै अर्को अमर न्यौपानेले ‘सेतो धर्ती’ उपन्यासमा घर्ती समुदायको विषयमा के लेखे, उनले क्षमा याचना गर्नु पर्‍यो । पोखराकी सरस्वती प्रतीक्षाले आफ्नो उपन्यासमा बादी जातिबारे के लेखिन् त्यसले अधिकारकर्मी हल्लायो । आजका पाठकहरू आफ्नो जातिलाई राष्ट्रिय परिवेशमा कसरी चिनाइन्छ भन्नेबारे अति संवेदनशील छन् । पुरानो शब्दकोशमा‘तामाङ’ जातिलाई भारी बोक्ने भनेर परिभाषित गर्दा प्रज्ञा प्रतिष्ठानले कत्रो अपमान वा विरोध खप्नुपर्‍यो, सुधार गर्नुपर्‍यो ।

ती  मध्ये  सर्वाधिक  त दलित समुदायले  अपमानित ठानिहेका छन् । मेरा विद्यार्थी आर बी निश्चलले  पैताला पुकार (कवितासंग्रह) निकाले । यसपालि अर्को संग्रह उल्टो धार प्रकाशित  छ । दुवै  पढें र मन्तव्य लेखेँ । उनका  सुन्दर कविता भित्र थाहा पाइन्छ  समाजले घोच्ने तीखा  काँढाले घाउ पार्न छोडेका छैनन् । उच्च शिक्षा आर्जन गरी समाजले सम्मानित पदमा बसाएका निश्चलले आफ्ना जाति वा वर्गको स्थिति हेर्दा  समाज निर्बिषः हुन सकेको छैन ।  यसले गर्दा म गुरु पनि दुखी हुन्छु । आफ्ना वर्गको प्रतिनिधि उनी यहाँ घोचिएँ भन्न सक्तैनन्  र कविताका बिम्ब र प्रतीकले  विद्रोह गर्दछन् ।  म पनि  बोल्छु – हे प्रिय विद्यार्थी म  उपायहीन छु । र तिम्रो मर्मको घाउ थाहा नपाएजस्तो गर्दै छु । दुवै सँगसँगै हिँड्दै  गरौँ । एकदिन ता समाज सचेत होला र यहाँ मानवता स्थापित होला ।बिस्तारै समाज संग्लेला भन्नु पर्‍यो ।

यस्ता धेरै कुरा छन्, अलिकति पनि फरक पर्‍यो, कुरो रड्क्यो भने मानिसले सहने छैनन् । त्यसैले साहित्यकारले जाति, धर्म, पेसा, संस्कृतिको दृष्टिले हेय विभेदक र अपमानजनक शब्द र भाव प्रयोग ग¥यो भने समाजमा द्वन्द्व, कलह, विद्रोह हुन्छ र अदालतसम्म गुहार्नुपर्ने हुन्छ । त्यस्ता लेखकको सामाजिक अवसान पनि हुन्छ ।मुख्य कुरा हाम्रो समझदारीको न्यूनतम आधार ता साझा मानवता (common humanity) नै हो । नेपाल भारतमा सामाजिक सद्भाव भड्काउने तत्त्व जातीय विभेद हो । बेलाबेलामा राजनीतिक फोहोरले ती उफार्ने खेला गर्छन् । त्यसका साथै हाम्रा साहित्यले नारी, दलित, सबाल्टर्नलाई कसरी उठाउँदैछ वा त्यो निश्चेष्ट नै छ कि भनेर त्यसको पनि मूल्याङ्कन गरौँ ।

वर्तमान विश्व साहित्यमा एथ्निक स्टडिज, मार्जिनल स्टडिज जस्ता नवीनतम समालोचकीय धारहरू स्थापित छन् । तिनको दृष्टिले कृतिको विश्लेषण गर्ने विज्ञहरू बढेका छन् । अनादि कालका चाणक्य वा मनुस्मृतिको मात्र कुरा होइन नेपाली भाषाका स्रष्टा भानुभक्त, सम, देवकोटादेखि लिएर वर्तमान स्रष्टाहरूको समेत आलोचना गर्न समर्थवान् विद्वान्हरू जन्मिएका छन् । एउटा भाषाको साहित्यलाई अन्य भाषीले पढ्दा के कस्तो फरक पाउँछन् ती विशेष कुरा हुन् । अबको साहित्य एकभाषिक, एकधार्मिक, एकसांस्कृतिक दृष्टिले मात्र रचियो भने तिनमा प्रश्न उठ्न थाल्छन् । अहिले ता बहुपठनको युग हो । सबै आफ्नो अर्थले पढ्न र बुझ्न पाउनु पर्छ । अबको साहित्य बजारमा अत्यधिक बिक्ने फ्री साइजको कपडा जस्तो हुनुपर्छ ।

विशुद्ध नारीवादीहरू भानुभक्तलाई निन्दा गर्ने ठाउँहरू भेट्यौँ भन्छन् तर उनको प्रमुख योगदान त नेपाली भाषा हो । आज संसारकै नेपालीले शिरमा राखेका स्रष्टा भानुभक्त हुन् । हरेक मूल्याङ्कन समय परिस्थिति अनुसार हुने रहेछ ।

गत वर्ष सिक्किमको गेजिङ्मा भारतीय नेपाली साहित्यमा दलित एवम् सबाल्टर्न साहित्य भन्ने विषयमा तीन दिने सम्मेलनमा सहभागी हुने अवसर मिल्यो । त्यहाँ मैले मुख्य गोष्ठी–पत्र (की नोट स्पीच) प्रस्तुत गरेँ । यस प्रकारका गोष्ठी सम्मेलन गरी नवीन परिवर्तनले ल्याएका दृष्टिकोण कसरी कहाँ लागू भए वा बेवास्तामै छन् त्यो पनि हेर्दै गर्नुपर्छ । समाज सदैव निर्माणाधीन तत्त्व हो, यो सधैँ तरल हुन्छ । कुन कुन कृतिले नवीन पथ खोल्दै छन् तिनको पनि मूल्याङ्कन हुने गर्छ ।

हालै मलाई त्रिविका बलबहादुर थापा (मगर)ले गरेको देवकोटाका केही कृतिमाथिको विश्लेषण अध्ययन पढ्ने अवसर मिल्यो । जसको शीर्षक छ— देवकोटाको सिर्जनामा प्रतिविम्बित आदिवासी जनजातीय समुदाय: आदिवासी सौन्दर्य दृष्टिकोण । यसरी विश्वविद्यालयका अंग्रेजी अध्यापकले नयाँ विश्व सिद्धान्तको दृष्टिले देवकोटा पढेको कम्ती राम्रो लागेन । उनले देवकोटाका तामाङ र भोटे संस्कृतिका पात्रको सन्दर्भ दिँदै तिनमा समावेशिता, असमावेशिता, आदिवासीत्व, जनजातिप्रतिको कविको धारणा केलाउन उनका निबन्ध र केही काव्य कविताको आधार लिएका छन् । अन्त्यमा देवकोटाका ती दर्शन र दृष्टिकोणलाई “द्वैधवृत्तिक” (एम्बिभ्यालेन्ट) र “समतावादी” (इगालिटेरिअन) भन्ने निष्कर्ष निकालेका छन् ।

लेखकहरूले निरपेक्ष भएर लेख्नसक्नु र सिक्नु पर्दछ । पान्थरमा सागर केरुङ नामक स्रष्टाले एउटा नाटक लेखे । मैले समीक्षा गरेँ । जसमा सबै जना लिम्बूपात्र छन् । उनीहरूको दाबी हामी नै सिमाना रक्षक हौँ भन्ने छ । एउटा बहुलसांस्कृतिक समाजमा त्यसो भन्नु सुहाउने कुरा होइन । अरू जाति पनि हुन्छन् । प्रत्येकमा देशको उत्तिकै माया भएका छन् । त्यसकारण साहित्यको अङ्गले मात्र हुन्न त्यसमा औचित्य पनि चाहिन्छ ।नयाँ सिद्धान्तले विश्लेषण गर्ने साहित्य अध्येता पनि जन्मिरहन्छन् । आज शिखरमा पुगेको कृति भोलि समयले तल झार्न पनि सक्छ । आज उत्साह नपाएको कृतिको भोलि दिन आउन सक्छ, जस्तो डा. नवराज लम्सालका कर्ण वा धरा जस्ता महाकाव्यको महत्त्व समयले बिस्तारै बुझ्ने छ ।

अर्को पक्ष के छ भने धेरै साहित्य स्रष्टाले नेपालको कुरा गर्दा आआफ्ना भाषामा पनि साहित्य लेख्दै छन् – मैथिली, भोजपुरी, अवधी, लिम्बू र विशेष गरी उपत्यकामा नेवारी ता प्राचीन कालदेखि परिष्कृत भाषा संस्कृति हुन् । ती साहित्य-भाषाका स्तरीय वस्तु अनुवाद पनि नेपालीमा ल्याउनु सामाजिक सद्भावलाई बढाउने कर्म हुन्। प्रज्ञा प्रतिष्ठानको ‘अनुवाद अध्ययन परिचय’ डाइरेक्टरीमा १०० जति यस्ता कृतिको परिचय छ । हाम्रा लेखकहरू त्यसतर्फ पनि सक्रिय छन्—नेपालीबाट पनि ती भाषामा अनुवाद भएका छन् ।

केही वर्षअघि नेपालगन्जका सच्चिदानन्द चौबेले भानुभक्तीय रामायणको अवधि भाषामा अनुवाद गरे । त्यसैगरी लोकनाथ वर्माजीले मुनामदनको अवधि अनुवाद गरे । हालै जनकपुरका दुई मैथिली स्रष्टाले क्रमशः अङ्ग्रेजी र नेपाली साहित्यको भण्डारमा दुर्लभ सम्पदा आधान गरे । अयोध्यानाथ चौधरीले १०० मैथिली कविताको अङ्ग्रेजी अनुवाद प्रकाशित गरे भने अर्का स्रष्टा धीरेन्द्र प्रेमर्षीले विद्यापतिको कथा सङ्ग्रह ‘पुरुष परीक्षा’ ।

चौधौँ शताब्दीका मिथिला प्रदेशका महान् गौरव, उत्तरी भारतकै ज्ञानज्योति विद्यापतिलाई धीरेन्द्र प्रेमर्षीले कत्रो श्रद्धाले नेपाली पाठक समक्ष चढाए ! सत्रौं शताब्दीदेखि हाम्रा वेद र गीता अङ्ग्रेजी र फ्रान्सेली भाषामा अनूदित हुन थाले। ती पढेर उनीहरू पूर्वप्रति नतमस्तक भएका छन्। (हेर्नू ‘पूर्वीय सभ्यता ः विश्वविख्यात विद्वान्हरूको दृष्टिमा’ ) । तर नेपाली भाषा भर्खर बन्न थालेको हुनाले यो कलिलो, भर्खरको छ । त्यसैले गर्दा हामीले रामायण, महाभारत, गीता, वेदादिलाई उन्नाइसौं शताब्दीदेखि मात्र अनुवाद गर्न थाल्यौँ ।  कृतिवासी ओझाले चौधौं शताब्दीमा रामायणको बङ्गालीमा अनुवाद गरे । त्यसको चारसय वर्षपछि नेपालीमा भानुभक्तले तयार गरे । हामी पछि छौँ तर यी अतीतका महान् सृष्टिहरूमा समाजलाई बाँध्ने सद्भावका तत्त्वहरू हुँदा रहेछन् भन्ने बुझ्दै छौँ । तिनको अनुवाद गर्दै छौँ ।

हाम्रो भाषा किशोरावस्थामै भएकाले यसले भर्खरै संसार चिन्दै छ । इसापूर्व चौथो शताब्दीका तामिल कवि तिरुबल्लुबरले १३३० श्लोकको महान्काव्य ‘तिरक्कुरल’को रचना गरे । अठारौं शताब्दीमा त्यसको अङ्ग्रेजीमा अनुवाद भयो । त्यसको ३०० वर्षपछि आठ वर्ष लगाएर यसैपालि एक विदुषीले नेपालीमा अनुवाद गर्नुभयो । संसारका अधिकांश भाषामा पुगेको ‘तिरक्कुरल’ लाई सुनिता दाहाल नामक एक नेपाली बैनीले कत्रो प्रेरणा, ज्ञान र शक्तिले भिजाएर बेंगलोरमैबसी नेपालीमा ल्याइन् । यसपालि उनी सम्मानित पुरस्कृत पनि हुँदैछिन् ।

यसमा तीन खण्डमा विभाजित१३३० सूत्रात्मक श्लोक छन्, जसका तीन विषय छन्—धर्म(आचार), सम्पत्ति र प्रेम । ग्रन्थमा तिनै विषयमा आत्मज्ञान छ । यसरी विश्वको ज्ञानराशीलाई नेपालीमा ल्याउने भानुभक्त, मोतीराम, देवकोटा मात्र होइन सुनिता दाहाल पनि हुँदी रहिछिन् । ज्ञान, शिक्षा र विद्वता चिनेर सर्वहिताय तिनको प्रयोग गर्नुपर्छ भन्ने ज्ञान भिजेपछि सबै जाति र वर्गका भेद यसरी मेटाउँदै जाने रहेछ । तिरक्कुरल ग्रन्थबाट अनूदित एक श्लोक—

हृदयहीनले गरेको दान उस दानको के अर्थ

सत्य खोजमा लागेका मुर्ख समान छन् ती व्यर्थ ।

अर्को पनि एक दृष्टान्त छ—भद्रकुमारी घलेको तपस्या ‘गुरुङको वेद’पाँच सय पृष्ठमा प्रकाशित भयो । कत्रो तपस्याद्वारा यो कर्म सम्पन्न भयो होला । बृहत्तर भाषा नेपालीसम्म पुर्याउने चाहना र प्रयत्न ठुलो कुरा हो । यता एम पी खरेलले थारू लोक रामायणमा विद्यावारिधि गरे, त्यसलाई अनुवाद पनि गरे ।कत्रो महत्वको कुरा छ । बौद्धग्रन्थ अनुवादक भिक्षुणीहरू पनि छन् ।

त्यसैगरी डी.बी. आङ्बुहाङले दुई सय पृष्ठको कृति ‘याक्थुङ साम्जिक मुन्धुम्’ (२०७९) तयार गरे । यसमा अरू धेरै लिम्बू अन्वेषक (मुन्धुमविद्)समर्पित छन् । हजारौँ वर्षको सभ्यता बोकेर आएको लिम्बूभाषा संस्कृतिबाट पहिलोपल्ट यो सांस्कारिक वेदको संग्रह त्रैभाषिक माध्यम (लिम्बू, नेपाली, अंग्रेजी) मा प्रकाशित छ । यसमा वैरागी काइँलाका मन्तव्यबाट केही शब्द साभार गर्दछु—लिम्बू जातिमा धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा मुन्धुमको महत्व अत्यधिक उच्च छ । मुन्धुम हाम्रो अलिखित आध्यात्मिक, धार्मिक, सांस्कृतिक र सामाजिक शास्त्र हो । त्यति मात्रै नभएर लिम्बू जातिको दर्शनशास्त्र पनि हो ।

प्रस्तुत ग्रन्थ ‘याक्थुङ साम्जिक मुन्धुम’ मा लिम्बू जातिको जन्मदेखि मृत्यु पर्यन्त सम्मका धार्मिक, सांस्कृतिक र सामाजिक विधि–विधान, संस्कार र धार्मिक अनुष्ठान तथा जातीय आध्यात्मिक दर्शन समेटिएका छन् । लिम्बू जातिले अनुसरण र पालन गरिल्याएका धर्म–संस्कृतिका समग्र अनुष्ठान र विधि–विधानको एकमुस्ट सम्पादन र प्रकाशन पहिलो पटक भएको यो ऐतिहासिक घटना हो । यस महत् कार्यका लागि ‘याक्थुङ साम्जिक मुन्धुम’ का सङ्कलकहरू तथा सम्पादक–अनुवादक र प्रकाशकप्रति समग्र लिम्बू जातिले कृतज्ञ हुनै पर्दछ । उहाँहरूको सद्प्रयासको सबैबाट स्वागत हुने विश्वास राख्छु ।

ऋषिमुनिदेखि जोडिएर आएका हाम्रा पितापुर्खाले सृष्टिलाई आफ्नो ज्ञानले सुन्दर बनाउन खोजे । आज पनि भागवद्गीता, वेद, उपनिषद्, त्रिपिटक, बाइबल,कुरानको स्थान उच्च छ । यद्यपि प्रत्येकले बताएका जीवन र कर्मका मार्गहरू हाम्रा संस्कार र धर्महरू भिन्नाभिन्नै छन् तर लक्ष्य एकै हुन् । संसारमा भएका वैमनष्य, विभेद, आशक्ति सांस्कृतिक भिन्नताका कारण उठेका छन् ।

नेपाली समाज पनि विश्वकै सूक्ष्म बिम्ब हो । हाम्रा नेपाली समाजमा अनेक जातजातिलाई तिनै भाषा, धर्म, मुन्धुमले बाँधेर सुकर्मतिर लगाउने प्रयत्न गरेका छन् । त्यसैले लिम्बूको मुन्धुम, गुरुङको वेद जस्ता ज्ञानका कुण्ड कति होलान्, लिखितमा मौखिक रूपमा । एकअर्काको धर्माचरणप्रति, मानिआएका संस्कार र व्यवहारप्रति सद्भाव राखौँ, सहिष्णु बनौँ । विभेद भिन्नता नदेखौँ । जगत्मा एक मत छैन, बहुल मत छन् भन्ने तथ्य स्विकारौँ । हाम्रा लेखक स्रष्टाले पनि साहित्य सिर्जना गर्दा हाम्रा समाज हजारौँ वर्षका इतिहास बोकेका तत्त्व हुन् भन्ने विश्वासले तिनको रक्षा गर्ने प्रकृतिको सिर्जना गर्नुपर्दछ । छोपिएका र भिन्न भाषी, भिन्न सांस्कृतिक समाजलाई चिनाउँदा संवेदनशील भएर लेख्नुपर्छ ।जसरी सनत रेग्मीले तराई संस्कृति चिनाउने कथा लेख्नु भएको छ, नयनराज पाण्डेले आख्यान, राजेन्द्र विमल, ध्रुवचन्द्र गौतम, ध.च.गोतामे अयोध्यानाथ चौधरी, गोपाल अस्कजस्ता राष्ट्रिय सद्भावको अभिवृद्धिमा समर्पितहरू धेरै हुनुहुन्छ । अस्कले हिन्दीमा अनुवाद गरेको छ सय पृष्ठको नेपाली समालोचना सानो उपलब्धि होइन ।

नयाँ पुस्ताले पनि सिक्तैछ । जानुका खतिवडाले लेखेको पूर्वी नेपालका सतार जातिको सांस्कृतिक जीवनमा आधारित ‘आतोओडा’ (गाउँघर) भन्ने उपन्यासले यसपल्ट दुई तीन ठाउँमा पुरस्कार प्राप्त गर्यो । उनी सम्मानित भएकी थिइन् । कत्रो ठूलो कुरा छ । आजका स्रष्टाले नयाँ नयाँ समालोचना सिद्धान्त कुन कुन छन्, समाजलाई हेर्ने कस्ता कस्ता दृष्टिकोण स्वीकार्य हुन्छन् भन्ने आधारको अध्ययन गरेर मात्रै साहित्यको  सिर्जना र मूल्याङ्कन गरौँ ।

यतिखेर हामीले नित्य गाउने एउटै गीत छ:ः

सयौं थुङ्गा फूलका हामी एउटै, माला नेपाली

सार्वभौम भै फैलिएका मेची महाकाली ।।

अन्त्यमा यस प्राचीन नगरी नेपालगन्ज स्थित श्री महेन्द्र आदर्श पुस्तकालयमा आयोजित माधुरी–बद्रीविक्रम व्याख्यानमाला अन्तर्गत यी कुरा प्रस्तुत गर्ने अवसर प्राप्त गर्दा यो मनमा आनन्द लागको छ । यसको प्रबन्धक संस्था र आयोजक व्यक्तिप्रति आभार प्रकट गर्दछु । सबै विषयका सम्पर्क सूत्र ता प्राज्ञ दाजु श्री सनत रेग्मी हुनुहुन्छ । उहाँप्रति विशेष आभारी छु ।

त्यो दुई  दिने नेपालगन्जा  बास सम्पूर्ण रूपले साहित्यमय भयो । त्यसका धुरी ता उनै  सनत रेग्मी ज्यू  हुनुहुन्थ्यो । उहाँका तीन अमूल्य कृति उपहार पाएँ, त्यताका अन्य सुपरिचित  स्रष्टामा  हरि तिमसिना, खगेन्द्र गिरी ‘कोपिला’, श्रीजन लम्साल, किरण आचार्यहरू हुनुहुन्थ्यो । उहाँहरूका पठनीय  कृति उपहार लिएर आएको छु तर सर्वप्रथम त्यस क्षेत्रको  प्रतिनिधि आवाज रहेछ सद्भावको शहर नेपालगन्ज शीर्षक  एक ग्रन्थ । सर्वप्रथम त्यसैको अध्ययन पूरा गर्न बसेको छु । नेपालको सबै शहरमा यही सद्भावको सन्देश लहर पुर्याउनु परेको छ । जय नेपालगन्ज ।