जन्मनु नै मर्नु हो ।
मानिस जन्मनुको रहस्य एक्काइसौं शताब्दीमा आइपुग्दा सम्म पनि अज्ञात नै छ । मानिस सर्वश्रेष्ठ प्राणी कहलिए पनि यो रहस्यको कस्सिलो पोकालाई सर्वश्रेष्ठताले फुकाउन सकेको छैन । कुनै पनि मानिस म जन्मिन्छु भनेर जानिबुझी जन्मेर यस संसारमा आएका हुँदैनन् । ऊ स्वयं अनएक्सपेक्टेड जन्मिन पुग्छ । जन्मिसकेपछि मात्र उसलाई बिस्तारै बिस्तारै चेतना बिउँतिएको बेला म जन्मेको रहेछु भन्ने ज्ञात हुँदै जान्छ ।
आखिर जन्मिनुको लक्ष के हो त ? यसको गन्तव्य के हो त ? जन्मनुको अन्तिम लक्ष या गन्तव्य मृत्यु नै हुनसक्छ । किनकि मृत्यु अपरिहार्य छ । अन्ततः मर्नकै लागि जन्मनु पर्ने हुन्छ । मर्नुपर्छ भनेर पहिल्यै थाहा भएको भए सायद कोही मानिस पनि जन्मिन चाहँदैनथे । तर यसको रहस्य कसले लुकाएको छ ? अनि यो रहस्यलाई किन लुकाइयो ? लुकाउनेले आफू बाहेक अरू कसैलाई किन थाहा नगराएका हुन् ? यस रहस्यको भेद चोरी भएको छ । चोरी भएको रहस्य कहाँ भेटिएला र ? भेट्न असम्भव प्राय छ । भेटेर हात पार्न त सीमादेखिको बाहिरको कुरा भो ।
मानिसलाई यतिसम्म ज्ञात भएको छ कि पुरुषको शुक्राणु र महिलाको डिम्मको मिलन भएर प्राकृतिक प्रक्रिया पूरा भएपछि मानिस जन्मन पुग्छ । अब यस प्रक्रियाप्रति पनि यहाँ थुप्रै प्रश्नहरू जन्मिन सक्छन् । जस्तै: एक पटकको समागममा करोडौं शुक्राणु स्खलित हुने गर्छ । ती मध्ये एउटा शुक्राणु मात्र डिम्ममा प्रवेश गर्ने मौका पाउँछ । अनि एक जना मानिसको जन्म हुन्छ । त्यो मानिस तपाईं अनि म हौं । तपाईं अनि म जन्मनुभन्दा अघि वास्तवमा हामी अन्य करोडौं शुक्राणुहरूका साथमा थियौं । यदि त्यो समयमा तपाईं अथवा मेरो शुक्राणु अवस्थाको अद्भुत जीव प्रवेश नगरेर हाम्रो सट्टामा अर्कै शुक्राणु डिम्बमा प्रवेश गरेको भए को जन्मन्थ्यो होला ?
अब अन्य प्रश्नहरू पनि यसरी सरासर जन्मन पुग्छन् ।
जन्मेर पनि मृत्यु भइसकेका मानिसहरू र जन्मन बाँकी रहेका मानिसहरू कहाँ हुन्छन् ? अनि जन्मेर आउँदा जीवन लिएर आउँछौं भने मरेर जाँदा त्यो जीवनलाई कहाँ छाडिरोखर जान्छौं ? तपाईं अनि मेरो हालमा जो आफ्नो जन्माउने आमा हुनुहुन्छ । उहाँ नभएर पहिले नै अर्कै अरू कोही भइदिएको भए ? के तपाईं अनि मेरो नै जन्म हुन्थ्यो र ? त्यस्तै बाबु पनि कुनै अर्कै व्यक्ति भइदिएको भए तपाईं र मेरै जन्म हुन्थ्यो र ? अनि तपाईं अनि मेरो जन्म किन सत्रौं शताब्दीतिर नभएको होला ? के त्यतिबेला पृथ्वीमा मानिसहरू नै थिएनन् र ? अनि किन पच्चिसौं शताब्दीमा जन्म नभएर अहिले एक्काइसौं शताब्दी मै हुन परेको होला ? के त्यो आउने वाला समयमा चाहिँ मानिसहरू नै हुँदैनन् र ? अनि किन नेपाल राष्ट्रमै जन्मनु परेको होला ? के अन्य राष्ट्रहरूमा चाहिँ मानिसहरू नै जन्मँदैनन् र ? अनि म पुरुष भएर जन्मनु पर्यो भनेर पुरुष भएको पनि होइन । किन पुरुष भएँ अनि किन स्त्री भइनँ ? अनि यो फलानो मानिस यति बेला यसै समयमा यसै स्थानमा जन्मनुपर्छ भनेर चुन्ने या नियुक्त गर्ने अधिकार कोसँग होला ? अनि म शुक्राणु हुनभन्दा अघि के थिएँ ? को थिएँ ? किन थिइन ?
? ? ?…
यी माथिका प्रश्नहरूका उत्तरहरू सायद कहिल्यै पनि जन्मँदैनन् । किनकि कति वटा प्रश्नहरूको उत्तर नै हुँदैनन् । उत्तर भए पनि मानिसको ज्ञान र विवेकदेखि बाहिर असीमित रूपमा धेरै दूर दूर टाढा पाइएला । जहाँ हाम्रो विवेक समयसँगै प्रकाशको गतिमा यात्रा गरे पनि कहिल्यै पुग्न सक्तैन । त्यहाँ पुग्ने बित्तिकै विवेक पनि विलय भइहाल्नेछ । अनि उत्तर नै नभएको प्रश्न त के प्रश्न भन्नु र ? अनर्थ प्रश्न ? अयोग्य प्रश्न ? अथवा अस्वास्थ्य प्रश्न ? तर उत्तर जन्माउनुको लागि प्रश्नको जरुर जरुरत पर्छ । उत्तरको उत्खनन् गर्न प्रश्नको गति र झ्याम्पल बिना सर्त आवश्यक पर्छ पर्छ ।
सारा सृष्टि रहस्यमय छ । सारा ब्रह्माण्ड रहस्यमय छ । सारा संसार रहस्यमय छ । यो जीवन रहस्यमय छ । यो मृत्यु रहस्यमय छ । यावत् थोकहरू सोचेर ल्याउँदा, सोचिएका यावत् थोकहरू रहस्यमय लाग्दछ । अनि रहस्य नै रहस्यमय छ । यहाँ कहिले आउने हो ? अनि कहिले जाने हो ? कुनै ठेगान नै छैन । यहाँ सब थोकहरू अप्रत्याशित आकस्मिक रूपमा हुन्छ, हुनेछ र भइरहनेछ । पदार्थ कहाँबाट कसरी आए ? अनि अपदार्थ कहाँबाट कसरी र किन आए ? कुनै पनि उत्कृष्ट विवेकले परिणाममुखी परीक्षण गर्न सकेको छैन । न त युगौँ युगको अनुसन्धानपछि पत्ता लगाउन कसैको इन्टेल्लिजेन्ट एण्ड पावरफुल माइन्ड सफल भएका छन् । वास्तवमा पदार्थहरू आँखाले देखिने भए पनि नदेखिने अति सूक्ष्म तत्त्वहरूदेखि बनिएका हुन्छन् । अथवा अणु । अणु भित्र न्यूट्रोन, प्रोटोन, इलेक्ट्रोनहरू हुन्छन् । तिनीहरू भित्र पनि अझ के के हुन्छन् ? अनि अझ त्यो भित्र पनि के के छन् ? झन् आँखाले नदेखिने अदृश्य अपदार्थहरू त के ले बनिएका होलान् ?
जस्तै : जीवन, मृत्यु, भावना, विवेक, चेतना, माया, दया, विचार, समय, मन इत्यादि । जे होस् सृष्टि नै पदार्थ र अपदार्थको मिश्रण भएको कर्म थलो हो । हुन सक्छ पदार्थ पुरुष अपदार्थ स्त्री । अनि सृष्टिको जन्म भयो ।
सरल आँखाले हेर्दा मानिस जन्मनुको एउटै कारण छ । शुक्राणु र डिम्मको मिलन हुनु नै जन्मनु हो । जन्मनुको लागि शुक्राणु र डिम्मको मिलन हुनैपर्छ भनेर एउटा सिद्धान्त प्रतिपादन कसले गरेका हुन् ? जन्मिएपछि बाँच्न पर्यो । मानिस जन्मिसकेपछि विशेष पाँच तत्त्वहरूले बाँच्ने गर्दछन् । ती छैनन् भने बाँच्न असम्भव हुन्छ । जस्तै : पानी, हावा, आगो (ताप, प्रकाश), माटो, चेतना (माइन्ड या आत्मा) ।
पृथ्वीमा ७० प्रतिशत पानी छ । हाम्रो शरीरमा पनि त्यति नै पानीको आवश्यक पर्छ र हुन्छ पनि । पृथ्वीमा हावा (नाइट्रोजन, अक्सिजन र अन्य) हुन्छन् । हाम्रो शरीरका प्रत्येक कोष कोषमा अक्सिजनको जरुरत पर्छ र हुन्छ पनि । पृथ्वीको गर्भमा या बाहिर पनि ताप या आगो हुने गर्छ । हाम्रो शरीर पनि ३७ डिग्री सेल्सियस बराबरको ताप आवश्यकता पर्छ । अथवा तातो हुन्छ । पृथ्वीमा माटो भएझैँं हाम्रो शरीरमा पनि माटो हुन्छ । हड्डी, मांसपेशी र अरू तत्त्वहरू । पृथ्वीमा गुरुत्वाकर्षण शक्ति छ । जसलाई देखिन्न । हाम्रो शरीरमा पनि नदेखिने तत्त्व चेतना, आत्मा, मन छ ।
भौतिक विज्ञान अनुसार पदार्थ पनि तीन भागमा बाँडिएका हुन्छन् । ठोस, तरल र ग्यास । मानिसमा पनि यी तीनै पदार्थहरू छन् । हुनसक्छ, ठोस पदार्थ शरीर हो । तरल पदार्थ मन, भावना र इच्छा हुन् । ग्यास पदार्थ आत्मा हो ।
जन्मिएपछि बाँच्नुपर्छ । बाँचेपछि मर्नु पर्छ । मानिस विशेष छ वटा कारणहरूले मर्ने गर्छन् । आत्महत्या, हत्या, रोगविमार, प्राकृतिक प्रकोप, दुर्घटना र आयु पूरा भएर । संसारमा आत्महत्या गरेर मर्नेहरू । एकापसमा हत्या गरेर मर्नेहरू । रोगविमार लागेर मर्नेहरू । प्राकृतिक प्रकोपद्वारा मर्नेहरू । दुर्घटनाबाट मर्नेहरू र अन्तमा बुढौलीले भेटेपछि त्यतिकै आयु पूरा भएर मर्नेहरू छन् । र मरिरहेछन् । जन्मिएपछि मर्नु पर्छ । हो, तपाई हामी जन्मियौं, मर्नको लागि । हामी जन्मियौं, अब हामी मर्नेर्छौं । जन्मिनु नै मर्नु हो ।
जन्माउनु नै मार्नु हो ।
मानिसहरू सबैले जन्माउँछन् (कसैकसैले अपवादको रूपमा जन्माउँदैनन्) । मानिसहरूले सबैभन्दा ठूलो काम सजिलैसँग सरल ढङ्गले गर्न सक्ने के हो भने मानिस नै बनाउनु हो । एकछिनको क्षणिक परिश्रम र पसिना बगाइले हामीले सजिलै मानिस बनाउन सक्छौं कति सरल सूत्र र उपाय । यही सूत्र र उपायलाई अपनाएर मैले पनि मानिस बनाएँ । मेरी छोरी ।
अहिले ५ वर्षकी छिन् । निर्दोष छिन् । अबोध छिन् । ज्ञान छिप्पेको छैन । नाच्छिन् मृगझैँ, रमाउँछिन् टिलपिल तारा झैँ, बोल्छिन् परी कथाको राजकुमारी झैँ, हाँस्छिन् फक्रेको फूल झैँ, खेल्छिन् पुतली झैँ । तर अफसोच, बिचरी उनलाई के थाहा एकदिन यी रमाइला रंगीविरंगी क्षणहरू सब क्षणभर मै बितेर जानेछन् । अनि के थाहा ऊ स्वयं पनि एक दिन बितेर जानेछिन् । निर्दोष र अबोध त्यतिकै भनिन्न नि । मलाई लाग्छ जन्माउनु नै मार्नु हो । मैले पनि छोरी जन्माइहालेँ । एकदिन उनी पनि मर्छिन्, मर्छिन् । के मैले मार्नुको लागि जन्माएको हुँ ? छोरी मर्नुको कारण त मैले जन्माएर हो नि । नजन्माएको भए कमसेकम उनी मर्दिन त थिइन् । एकदम सरी, मेरी छोरी, मैले तिमीलाई जन्माएको हुनाले तिमी एक दिन मर्नु पर्ने भो । तिम्रो पापाले तिमीलाई जन्माएर अपराध गरेको कारण तिम्रो पापालाई माफ गर ल । म तिम्रो अप्रत्यक्ष रूपमा हत्यारा भएको छु । अगेन सरी माइ डिअ डट ।
जसले जन्माउँछ । ऊ फेरि जन्मनुपर्छ । किनकि उसले जन्माएर मारेको हुन्छ । ऊ पनि जन्मिएर मर्नुपर्ने हुन्छ ।
छोरी ! मैले सृष्टि र जीवन दर्शनको रहस्य तिमीलाई बुझाउन नसके पनि सुनाउँदैछु । तिम्रो पापाको परिपक्व भइसकेको अनुभवी तथा पाको विवेकले पनि यस रहस्यलाई न त अहिलेसम्म बुझ्न सकेको छ, न त प्रस्ट्याउन नै सक्या छ । तिम्रो अपरिपक्व र कलिलो विवेकले त झन् के भेउ पाउन सक्थ्यो र ? सायद यो रहस्य पूर्वतिर बस्छ अनि मानिसको विवेक चाहिँ पश्चिमतिर । पूर्व र पश्चिमको कहिल्यै भेट हुने होइन । अनि नदीको दुई किनार पनि त कहिल्यै भेट हुँदैन नि । समानान्तर रेखाको मिलन भएमा महाविस्फोट हुन्छ कि ? महाविस्फोटलाई सहनुभन्दा त रहस्यलाई बुझ्ने चेष्टा नगर्नु नै आनन्ददायी हुन्छ । मेरो मनले सुरिलो भाखामा सुमधुर गीत झैँ गुनगुनाइरहन्छ, ‘जन्मनु नै मर्नु हो । जन्माउनु नै मार्नु हो ।’
तर छोरी ! हिम्मत गर, साहसी होऊ, आँटिली होऊ । तिमी जन्मनु नै तिम्रो मृत्यु तिमीसँग हार्नु हो । अहिले तिमीले मृत्युलाई जितेकी छ्यौ । भोलि जे होला होला । तिमी अहिले बाँच्नु छ । वर्तमान मै जिउनु छ ।
अब मात्र जीवन वृत्तान्त शुरु हुनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।