१. विषय प्रवेश
समाजमा केही व्यक्ति यस्ता हुन्छन् जो आफ्नो प्रतिभालाई समाजोपयोगी र परोपकारका लागि सदुपयोग गर्छन् । आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जाति र राष्ट्रको सेवामा समर्पित हुन्छन् । आफ्नो प्रतिभालाई कलाका माध्यमले समाज सेवामा तल्लीन हुन्छन् । यस्तै एक प्रतिभा हुन्- सिक्किमका चुनिलाल घिमिरे । उनी नाट्य कलाकार, नाटककार, चलचित्र अभिनेता, निर्देशक, लेखक, समीक्षक हुन् । उनी चालिस वर्ष भन्दा बढी समयदेखि नेपाली नाट्यकलाको उत्थानका निम्ति खटिरहेका छन् । अहिलेसम्म पनि युवा जत्तिकै सक्रिय, ऊर्जाशील, अभिभावक भएर, विभिन्न रूपमा काम गरिरहेका छन् । उनी उदाहरणीय र आदर्श पुरुषका रूपमा देखिन्छन् ।
===
२. संक्षिप्त परिचय
चुनिलाल घिमिरेको जन्म कालिम्पोङको छिबो बस्तीमा २२ फरबरी, १९५६ मा भएको हो । उनका बाबुआमाको नाम भोलानाथ शर्मा घिमिरे र आमाको नाम रत्नमाया घिमिरे हो । उनी आफू कुमुदिनी विद्याश्रम पढ्दा खेरी नै नाटक अभिनय गर्ने, कविता कथा आदि लेख्ने गर्दथे । उनले स्नातकसम्म अध्ययन गरी सिक्किम सरकारको शिक्षा विभागमा शिक्षक र ग्रामीण विकास विभागमा कार्यरत थिए । उनले १९७७ देखि २००० सम्मा सरकारी नोकरी गरेका हुन् । यसपछि उनी आफ्नो प्रतिभालाई अब प्रबल बनाउन स्वेच्छाले सरकारी नोकरीबाट अवकाश ग्रहण गरेपछि स्वतन्त्र र निर्बाध रूपले नाटक, टेलिभिजन, सामाजिक साहित्यिक संस्थातिर सक्रिय छन् । २००० देखि उनी सिक्किम टेलिभिजनमा प्रथम कार्यक्रम निष्पादक रही काम गरेका हुन् । उनले नै उक्ति टेलिभिजनबाट नेपाली र अङ्ग्रेजीमा समाचारको थालनी गरेका हुन् ।
हालसम्म प्रकाशित उनका साहित्यिक कृतिहरूमा पापी उपन्यास (१९८०), रित्तो क्षितिज (नाटक, १९८६), सीमाको देशमा (कथासङ्ग्रह, १९९३), पुत्काको मह (नाटक, १९९७), अनास्था, (कथासङ्ग्रह, १९९८), साँझदेखि साँझसम्म (नाटक), वीर सपूत गञ्जु लामा र अन्य गोर्खाली वीरहरू (जीवनी, १९९२), पुरानो मान्छे (नाटकसङ्ग्रह, २००४), सानु लामा (जीवनी, २००५), आत्मनिर्णय (नाटकसङ्ग्रह, २०१३), मुक्ति (ऐतिहासिक नाटक, २०१८), म उभिएको धरती (संस्मरण लेखहरू २०२४) । यीबाहेक अझै उनीसित दुईवटा कृति शहीद मेजर दुर्गा मल्ल र अन्य स्वतन्त्रता सेनानीहरू र खुनको रङ्ग (नाटकसङ्ग्रह) प्रकाशनको तरखरमा छन् ।
===
३. चुनिलाल घिमिरेका विभिन्न व्यक्तित्व-
३.१. सञ्चार कर्मीका रूपमा-
चुनिलाल घिमिरे सिक्किमका दक्ष सञ्चारकर्मी हुन् । उनी आकाशवाणी गान्तोक, सिक्किम टेलिभिजन आदिमा उनको भूमिका सिरानभागमा पर्छ । उनी रेडियोमा ग्रेडेड गीतकार, वार्ताकार, स्क्रिप्ट राइटर, अभिनेता, निर्देशक सबै हुन् । उनी आकाशवाणी गान्तोकका लागि विभिन्न प्रतियोगितामा निर्णायक, कथावाचक, कवितावाचक, रेडियाले सञ्चालन गर्ने विभिन्न किसिमका कार्यक्रम सञ्चालक सबै हुन् । त्यसका मान्यताप्राप्त गीतकार, वार्ताकार, कार्यक्रम समीक्षक, अन्तर्वार्ताकार हुन् । उनका केही रेडियोनाटक, गीत र वार्ताहरू आकाशवाणी गान्तोकलगायत आकाशवाणी खरसाङ र अल इन्डिया रेडियो, नयाँ दिल्लीमा पनि प्रसारित भएका छन् ।
यसै गरी दूरदर्शन केन्द्र गान्तोकका पहिलो नेपाली र हिन्दी टेलिशृङ्खलाका लेखक र निर्देशक रही काम गरेका छन् । उनले सानु लामाका ‘रेशी बगिरहेछ’, ‘स्वास्नीमान्छे’ जस्ता कथाहरूलाई टेलिशृङ्खलाका रूपमा प्रस्तुत गरेका छन् । यसबाहेक सिक्किमका चौध जातगोष्ठीका लोककला, लोकसंस्कृति आदिबारे तेह्र शृङ्खलाको एउटा डकुमेन्ट्री हिन्दी र नेपालीमा तयार पारी प्रस्तुत गरेका छन् ।
३.२. नाटककारका रूपमा-
चुनिलाल घिमिरे मूल रूपमा कुशल नाटककार हुन् । उनी आफ्नो विद्यार्थी जीवनदेखि नै नाट्य अभिनयमा रुचि राख्दथे । आफू गाउँमा छँदा स्थानीय गाउँले क्लबले आयोजना गर्ने नाटकतिर भाग लिन्थे, अभिनय गर्थे । उनले आफ्नो जीवनको अधिकांश भाग नाटकका लागि खर्चेका छन् । उनी नाटक लेख्नु, नाटक बनाउनु, नाट्यभिनय गर्नु, नाट्य निर्देशन गर्नु, नाटकका संवाद तयार पार्नु, नाटकका साज सज्जा तयार पार्नु, अरूलाई नाट्यभिनय सिकाउनु आदिमा सक्रिय छन् ।
उनले लेखेका नाटकहरू हुन्– ‘प्रतीक्षा’ (१९७६), ‘संघारको श्मशान’ (१९७६), ‘रित्तो क्षितिज’, ‘साँझदेखि साँझसम्म’, ‘पुरानो मान्छे’ (नाटसङ्ग्रह, २००४), ‘आत्मनिर्णय’ (नाटकसङ्ग्रह, २०१३), ‘मुक्ति’ (ऐतिहासिक नाटक, २०१८), उपलब्धिहरू (१९८२) ।
यीमध्ये ‘पुत्काको मह’ (एकाङ्की सङ्ग्रह) भने सबैभन्दा चर्चित मानिन्छ । यस एकाङ्कीको मूल विषय पर्यावरण स्वास्थ्य जीवनको स्रोत हो र यसलाई विनाश हुनुबाट बचाउनु आफ्नो पारिवारिक जिम्मेवारी हो भन्ने हो भन्ने रहेको छ । यसका साथै यसमा प्रयुक्त भाषालाई सामाजिक दुरी, प्रतिष्ठाको क्रम, बसोबासको स्थिति, व्यवसाय, शिक्षा र धर्मका आधारमा समाज-भाषा-वैज्ञानिक दृष्टिले हेर्न सकिन्छ ।
– यसमा रहेका अन्य एकाङ्कीहरूमा प्रशासनिक दुरावस्था, प्रशासनिक अधिकारीहरूले गरीब निमुखालाई श्रम शोषण गर्ने र पढेलेखेकै बेरोजगारी युवतीहरूलाई जागिर दिने प्रलोभन देखाएर यौन शोषण, एड्स रोग नियन्त्रणका लागि सचेतना, भ्रष्टाचार, संस्कार-संस्कृतिको अवहेलना र युवाहरूमा देखिएको उत्तरदायित्वहीनता आदि जस्ता विषयवस्तु रहेका छन् ।
– उनको सम्झौता भन्ने एकाङ्कीमा राजनैतिक नेताहरूको कुत्सित भावना, स्वार्थ लोलुपता, ईर्ष्या, अनैतिकता आदि प्रवृत्ति देखाउँदै त्यस्ताका राजनेता वा मन्त्रीका कारण समाजका इमानदार व्यक्ति वा कर्मचारीले भोग्नुपरेको अनावश्यक सास्तीलाई देखाइएको छ । सरुवाको हतियार दुरुपयोग गरेर श्रम शोषण गरेको वास्तविकतालाई देखाइएको छ ।
सानु लामाका अनुसार ‘हाम्रो सामाजिक परिवेश, हाम्रो संस्कार, हामीमाझ घटिरहने दैनन्दिन घटना आदिलाई समेटेर आनन्दिलो प्रकारे पाठक तथा दर्शकगणको अघि राखिदिनु नाटककार घिमिरेको विशेषता हो’ ।
३.३. अभिनेताका रूपमा चुनिलाल घिमिरे-
उनी आफू एघारौं श्रेणीमा पढ्दादेखि नै नाट्यभिनाय गरेका थिए । उनी कालिम्पोङ स्थित आफ्नो गाउँमा रहँदा किशोरावस्थादेखि नै नाटक खेल्ने गर्दथे । सन् १९६२ को भारत चीन युद्ध र सन् १९७१ को भारत पाकिस्तान युद्धको प्रभाव कालेबुङमा पनि प्रभाव पारेको थियो र त्यो प्रभाव स्वरूप नाटकमा पनि प्रतिविम्बित हुने गर्थे ।
यही युद्ध कथालाई लिएर १९७३, १९७४ र १९७५ मा लगालग तीनवटा नाटकहरू छिबो बस्तीको रिङकिङपोङ पाठशालामा मञ्चन भएका थिए । ती नाटकहरू हुन् ‘प्रतिशोध’, ‘आघात’ र ‘रित्तो क्षितिज’ । यी तिनैवटा नाटकका निर्देशक र लेखक सुरेन्द्र पाण्डे र मुख्य नायक-नायिका भने चुनिलाल घिमिरे र शोभा सुनार थिए ।
सन् १९७४ मा जलेका प्रीतिहरू नाटकको नायकको भूमिकामा अभिनय गरेका थिए । उक्त नाटक खुबै लोकप्रिय भएको थियो । यसै नाटकलाई पछिबाट प्रकाश थापाले कान्छी चलचित्रका रूपमा विकसित गरेका थिए भनिन्छ । उनी निर्देशकका रूपमा पनि रहेका छन् ।
उनले अभिनय गरेका केही नाटकहरू हुन्- सन् १९७६ मा सिक्किम रङ्लीमा ‘रित्तो क्षितिज’, १९७८ मा पूर्व सिक्किमको डुगामा ‘संघारको श्मसान’, १९८५ गान्तोकमा ‘दोष हाम्रै हो’, १९८९ मा गान्तोकमा ‘जिन्दगी यस्तो पनि’, १९४ मा थमन नौबागको ‘कलङ्क’, २००४ मा गान्तोकमा ‘पुरानो मान्छे’, २००६ मा गान्तोकमा ‘हाम्रो नाटक’, २०१६ मा गान्तोकमा ‘माछा माछा भ्यागुता’, २०२३ मा ‘विरासत’ आदि जस्ता नाटकमा कुशल अभिनय कला देखाएका हुन् । अझ २०१६ र २०१८ मा गान्तोकको मनन केन्द्रमा ‘माछा माछा भ्यागुता’ भन्ने नाटकको क्रमशः २ दिन र ३ दिनको मञ्चन भएको थियो ।
उनले निर्देशन गरेका केही चलचित्रहरूमा ‘किन मायामा’ र ‘महादान’ हुन् । यसबाहेक उनले अभिनय गरेका चलचित्रहरूमा सौगात, आन्दोलन, अन्तिम दृश्य, पोस्ट मर्टम, अभियान, कर्तव्य, लक्ष्य, अपराध विरासत महादान, किन मायामा, आँधी, इशारा, प्रियतमा, अभिशाप, चुनौती आदि हुन् । यी चलचित्रहरूमा उनको अभिनयकला सशक्त रहेको पाइन्छ ।
३.४. समीक्षकका रूपमा –
चुनिलाल घिमिरे साहित्य समीक्षकका रूपमा पनि रहेका छन् । उनको ‘पद्मश्री सानु लामा’ (२००५) प्रकाशित जीवनीमूलक पुस्तक हो । यसमा कथाकार सानु लामाको व्यक्तित्व, कथाकारिताको बारेमा विश्लेषण, मूल्याङ्कन र समीक्षण गरेका छन् । यसमा जीवनीमूलक, कृतिकार परिचयन र मूल्याङ्कन र प्रभाववादी समालोचक हुन् । यसबाहेक फुटकर रूपमा उनका केही समीक्षात्मक लेखादि केही पत्रिकातिर प्रकाशित भएका छन् । उनले महेश प्रसाइँद्वारा सम्पादित ‘सिक्किमका नाटक’ (२०१८) नाट्यसङ्कलन पुस्तकको ‘सिक्किमेली नेपाली नाट्य परम्परा हिजोदेखि आजसम्म’ शीर्षकीय भूमिकामा नाटकको परिचय, नाटकका भेद, सिक्किममा नाटकको थालनी र विकास, मञ्चन र नाट्य पुस्तक प्रकाशनको इतिहास केलाउँदै मुख्य नाट्य प्रवृत्ति, नाट्य प्रयोग आदिबारे समीक्षात्मक टिप्पणी गरेका छन् । यसका साथै उनले कथाकार पूर्ण राईको कथागत प्रवृत्तिको अध्ययन पनि प्रकाशित गरेका छन् ।
३.५. कथाकारका रूपमा –
चुनिलाल घिमिरे कथाकार हुन् । हालसम्म उनका दुईवटा कथासङ्ग्रह- सीमाको देशमा (१९९३), अनास्था (१९९८) प्रकाशित छन् ।
उनी मूलतः यथार्थवादी कथाकार हुन् । आफ्नै समाज र वरिपरिका दैनन्दिन रूपमा साना ठुला घटनाहरूलाई कथाका सामग्री बनाइको छ ।
‘मूल स्वर स्वच्छन्दतावादी रहेका कथाकार घिमिरेका कथामा नारी मनका कोमल पाटाहरू केलाइएको पाइन्छ । सामाजिक अन्धरूढि, निमुखा, खटिखाने श्रमिक वर्गका कष्टपूर्ण जीवनका विविध पक्षलाई पनि उनल आफ्ना कथामा प्रशस्त स्थान दिएका छन् । ज्ञान, विज्ञान, प्रविधि, मानिसका कर्म आफैंमा राम्रा नराम्रा हुँदैनन्, तिनको कसरी प्रयोग गरिन्छ त्यसबाट मात्रै वस्तु गुण दोष छुट्टिन्छ भन्ने चिन्तनपरक कथ्यलाई पनि घिमिरेले धेरै ठाउँ अघि सारेका छन्’ । (डा. राजेन्द्र भण्डारी, सिक्किमका नेपाली कथाको अध्ययन, सिलगढी, एकता बुक हाउस प्रा. लि, २०२२, पृष्ठ ४१२) ।
अनास्था कथासङ्ग्रहा लामाछोटा गरी २४ वटा कथाहरू र सीमाको देशमा कथासङ्ग्रहमा २२ वटा सङ्गृहीत छन् । यी प्रत्येक कथाले वर्तमान मान्छेका चरित्रलाई सङ्केत गरिरहेका हुन्छन् ।
३.६. गीतकारका रूपमा –
उनी कुशल गीतकार हुन् । उनका पचास-साठीवटा गीत रचिएका छन् । उनले किन मायामा र महादान भन्ने चलचित्रमा गीतहरू रचेका छन् । उनका दुई दर्जन जति गीतहरू पूर्णिमा (मुम्बई), देवकुमार दुमी, अञ्जु पन्त, दीपक लिम्बू, भानु गुरुङ, भानु रामुदामु, सुमन कार्की, सिरिकुमार पाख्रिन, काजी सिंह, गीता छेत्री, दावा लामा, विमला प्रधान आदि गायक गायिकाले गीत गाएका छन् । गीतमा हुनुपर्ने गेयात्मकता, कोमलता, शाब्दिक सुकुमारतालाई निर्वाह गरी गीत रचेका छन् ।
३.७. जीवनीकारका रूपमा–
उनी जीवनीकारका रूपमा पनि रही काम गरेका छन् । उनी सिक्किमका भिक्टोरिया क्रस पाउने गञ्जु लामाको वीरता र जीवनीलाई लिएर वीर सपूत गञ्जु लामा अनि अन्य गोर्खाली वीरहरू भन्ने जीवनीमूलक कृति प्रकाशित गरेका छन् । यसमा गञ्जु लामाका बारे केही रोचक तथ्य आदि सङ्कलन गरेका छन् । यसका साथै ‘वीर सपूत मेजर दुर्गा मल्ल र अन्य स्वतन्त्रता सेनानीहरू’ भन्ने जीवनीमूलक पुस्तक पनि प्रकाशोन्मुख छ ।
३.८. संस्थागत सङ्गठक व्यक्तित्वका रूपमा चुनिलाल घिमिरे–
हाम्रा समाजका कलाकार, राजनेता, साहित्यकार आदिलाई सङ्गठित गरेर काम गर्ने सुविधा आदि दिलाउन संस्थागत योगदान पनि दिइरहेका छन् । ‘गर्नेभन्दा गराउने ठुलो’ भन्ने चरितार्थ पार्दै उनले केही यस्ता संस्था सङ्गठनमा सक्रिय छन् । उनी सिक्किम कलाकार सङ्घका अध्यक्ष (२०१४ देखि २०२२), सिक्किम एमेच्योर थिएटरका अध्यक्ष (२००७ देखि २०१२ सम्म), नेपाली साहित्य परिषद्, सिक्किमका उपाध्यक्ष (१० वर्ष जति), रेयुकाइ सिक्किम शाखाका संस्थापक निर्देशक आदि जस्ता संस्थामा रही काम गरेका थिए ।
अहिले पनि भारतीय गोर्खा परिसङ्घ, सिक्किम राज्य शाखाका अध्यक्ष रही जातीय मुद्दा, उत्थानका निम्ति दिनरात खटिरहेका छन् । काम गरिरहेका छन् ।
===
४. पुरस्कार र मान-सम्मान –
चुनिलाल घिमिरे नाट्य साधक, साहित्यकार, अभिनेता रही आफ्नो जीवनको अधिकांश भाग व्यतीत गरेका छन् । उनको योगदानलाई कदर गर्दै केही संस्थाहरूले उनलाई पुरस्कृत र अभिनन्दित गरेका छन् । हालसम्म उनले पाएका पुरस्कार र मान-सम्मान यस प्रकारले छ-
अखिल भारतीय रेडियो पुरस्कार, कृष्ण स्मृति पुरस्कार, पं हरिनारायण विद्याभूषण नाट्य पुरस्कार, स्वतन्त्रता सेनानी बाबु छविलाल उपाध्याय स्मृति पुरस्कार, अन्तर्राष्ट्रिय नेपाली कलाकार सङ्घबाट सम्मान, नेपाली साहित्य परिषद, सिक्किमबाट सेवाश्री सम्मान, सिक्किम प्रतिभा समूहद्वारा, लाइफटाइम एचिभमेन्ट अवार्ड, डा शोभाकान्ति थेगिम ट्रस्टद्वारा बहुमुखी प्रतिभा सम्मान, गोर्खा दुःख निवारक सम्मेलन दार्जिलिङबाट अभिनन्दन, कालिम्पोङ नाट्य उत्सवद्वारा अभिनन्दन आदि हुन् ।
यद्यपि उनको योगदानको अझै कदर हुनुपर्छ, अझै पुरस्कृत सम्मानित हुनुपर्छ । यद्यपि जति सम्मानित र पुरस्कृत हुनुपर्ने त्यति भएको छैन । उनको नाट्य योगदानबारे उच्च शिक्षामा शोधपत्र पनि तयार गर्नुपर्ने देखिन्छ । उनका कृतिहरूका बारेमा समुचित अध्ययन र मूल्याङ्कन गर्नुपर्ने देखिन्छ ।
===
५.उपसंहार
उनका साहित्यिक पुस्तकहरूको प्रकाशन, नाटक र चलचित्रमा उत्तिकै योगदान आदिले उनको व्यक्तित्वको गरिमामय छ ।
उनले नाटक र चलचित्रमा अझै धेरै काम गर्न सक्छन् भन्ने कुरामा पाठक आशावादी छ । सत्तरी वर्षको लाग्न आँटेको उमेरमा पनि युवा जत्तिकै खटेर काम गर्न सक्ने क्षमता कायम राखेका छन् ।
===
पादटिप्पणी–
१. सरस्वती मिश्र. पुत्काको मह नाटकको समाजभाषिक अध्ययन, पृष्ठ र मञ्च : समसामयिक परिप्रेक्ष्यमा आधुनिक नेपाली नाटक (प्र. सं. डा महेश प्रधान), दार्जिलिङ, साउथफिल्ड कलेज,२०१७, (पृष्ठ ३९२) ।
२. विवेक छेत्री, सिक्किमका नेपाली नाटकको परम्परा, नाट्यप्रवृत्ति र वर्तमान अवस्था, पृष्ठ र मञ्च : समसामयिक परिप्रेक्ष्यमा आधुनिक नेपाली नाटक(प्र. सं. डा महेश प्रधान), दार्जिलिङ, साउथफिल्ड कलेज,२०१७,(पृष्ठ २०१०)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।