सङ्गीतले मानिस, पशु-पक्षी, किरा-फटेङ्ग्रा अनि वनस्पतिलाई मात्र नभएर पदार्थलाई समेत प्रभाव पार्दछ । हामी नचली बसेर सङ्गीत सुनिरहेका बेलामा पनि हाम्रा कति आन्तरिक इन्द्रियहरू (इन्टर्लन अर्गेन्स) आफैँ चलिरहेका हुन्छन् । यसका प्रभाव अनि कम्पन अतुलनीय हुन्छन् ।
यस संसारमा गीत-सङ्गीत मन नपराउने व्यक्ति सायदै भेटिएला । यसलाई सुन्न र रस्वादन गर्नलाई कुनै विशेष डिग्रीको जरुरत पर्दैन । कुनै माध्यमबाट सम्पर्क गर्न नसकेका कुरा गीत-सङ्गीतबाट सम्भव हुन्छ । यसले कसैलाई (कुनै चीजलाई) छोड्दैन । त्यसैकारण विद्वानहरूले यसलाई पहिलो साहित्य मानेका छन् ।
अरूलाई त के भयो त्यो थाहा छैन तर मलाई चाहिँ गीत-सङ्गीतले एकपल्ट जोडले समातेको थियो । हुन त यसलाई समात्दा मात्र नहुँदो रहेछ । कुरा के हो भने हामी दुई-तीन जना साथीभाइहरूले भर्खरै उच्च माध्यमिक परीक्षा दिएर घरमा बसिरहेका थियौँ । त्यति बेला खै के भएर हो कुन्नि मलाई गायक बन्ने रहर चलेर आयो । म सोनादाको सुर तरङ्ग सङ्गीत महाविद्यालयमा पहिलो वर्षमा भर्ना भएँ । पहिलो हप्ताको आइतबार पहिलो क्लास गर्न म सोनादा बजार लागेँ । त्यति बेला म अलिक लजालु स्वभावको थिएँ । फेरि त्यैमाथि मेरो ‘हजुर’ भन्ने थेगो थियो ।
सोनादा स्कट मिसन जुनियर बेसिक स्कूल पुगेर क्लासमा पसेको त गुरुजीलाई घेरेर विद्यार्थीहरू बसिरहेका रहेछन् । गुरुजीले मलाई देख्ने बित्तिकै उहाँको छेउमा बोलाउनुभयो । म लजाउँदै उहाँसित बात गर्न थालेँ । वरिपरि घेरेर बसेका केटाकेटीहरूले मलाई नै टुलटुल हेरिरहेका थिए ।
बातैबातमा गुरुजीले भन्नुभयो, “तिम्रो स्वर मिठो छ त, तिमी यताउता साङ्गेतिक कार्यक्रमहरूमा गाउँछौ पनि होला है ?”
मैले अत्तालिएर ‘हजुर’ पो भनिपठाएछु । त्यति बेला सबैले मलाई एकपल्ट पुलुक्क हेरे । घरमा आएर पनि किन हावामा ‘हजुर’ भनिपठाएँ भनेर धोका लागिरह्यो किनकि मैलै दुई जना साथीहरूको अगाडि पनि गाएको थिइनँ । सुर र सङ्गीतका बारेमा म एउटा ठुलो शून्य नै थिएँ । अब अर्कापालि क्लासमा कसरी जाने भनेर म ठूलो चिन्तामा परेँ । तर मैले त्यस चिन्ताको निवारण निकालेँ कि पहिले राम्ररी रिवाज गर्ने त्यसपछि मात्र क्लास जानेँ ।
एकदुई दिनपछि म हारमोनियम लिएर डाँडामा सुरका पहिले आरोह-अवरोह रिवाज गर्दै थिएँ । म छक्क परेँ, गाउँका सारा कुकुरहरू मेरापछि पुच्छर हल्लाउँदै अनि चुइँकिंदै रहेछन् । त्यति बेला त त्यस्तो केही लागेन तर केही समयपछि चाहिँ मैले कुरा बुझेँ कि तिनीहरू त मैले बोलाएको जस्तो लागेर आएका थिएछन् । त्यस दिनदेखि मैले गायक बन्ने इच्छालाई त्यागिदिएँ (हुन पनि त्यति बेलाको त्यो बुझाइ मैले आफैँलाई आविष्कार गरेको जत्तिकै थियो) । त्यसरी मैले गायक बन्ने इच्छा त्यागेँ तापनि बेसुरमा चाहिँ गाइरहन्थेँ । मलाई मेरा घरका कति सदस्यहरूले कहिलेकाहीँ भन्नुहुन्छन् कि मैले गाइरहेको गीतका गायक, गीतकार र सङ्गीतकारले सुने भने उनीहरू पागल हुनेछन् । मैले गाउँदा सबै हाँस्ने गर्छन् तर म कसैको सुन्दिनँ, मन लागेपछि सुरमा होस् वा नहोस् उल्टासुल्टा गाइहाल्छु । हुन पनि गाउँदा एउटा छुट्टै प्रकारको आनन्द आउँछ ।
धेरै सालपछि एउटा आइतबारको दिन म घरभित्र गाउँदै पुराना खाताकिताबहरू सफा गर्दै थिएँ । कोठाबाहिर केही मानिसहरू हाँसेका जस्तो लागेर बाहिर सिकुवामा निस्केको त मेरा केही भूतपूर्व विद्यार्थीहरू स्वरस्वती पूजाका निम्ति यथाशक्ति (डोनेसन) उठाउन आएका रहेछन् । मैले गाएको सुनेर तिनीहरू सिकुवामै भुँडी मिचिमिची हाँसिरहेका रहेछन् । तिनीहरूलाई देखेर मलाई लाजभन्दा पनि ज्यादा आफैँसित हाँस उठेर आयो अनि म ‘एकछिन ल’ भनिराखेर भित्र कोठामा पसेर भुँडी मिचिमिची हाँसेँ । त्यो देखेर तिनीहरू पनि हाँसेर राल-सिँगान भए ।
अहिले पनि म कहिलेकाहीँ गाउने गर्छु अहिले पनि मेरा घरकाहरूले मैले गाएको सुने भने गीतका गायक र सङ्गीतकार रुन्छन् होलान् भनेर गिज्याउने गर्छन् । तर म गाउन छोड्दिनँ कारण गाउँदा मेरो मन खुशी हुन्छ, संसार रङ्गिन लाग्छ, अनि सकेसम्म गाउँछु । सुन्नेले सुन्ला नसुन्नेले नसुन्ला त्यसका निम्ति मलाई कुनै फिक्री छैन ।
मजस्तै बेसुरा गाउनेहरूलाई के भन्न चाहन्छु भने तपाईँहरू गाउन नछोड्नुहोस् । जहिले मन लाग्छ मजाले गाउनुहोस् । खुशी हुनुमा कसैको सुन्नुहुँदैन । गीत गाउन र सुन्न पाउनु, आफ्नो इच्छानुसार बाँच्न पाउनु हाम्रो मौलिक अधिकार पनि हो । ‘गाउनु’ भनेको स्वर र सुरको कमाल देखाउनु मात्र पनि होइन । आफ्नै प्रकारले (क्षमतानुसार) गाउनु भनेको जीवनको उत्सव (सेलेब्रेसन अफ् लाइफ) मनाउनु हो साथै जीवनलाई धन्यवाद जनाउनु पनि हो । गाउँदा हामी हाम्रा सारा दुःखहरू बिर्सिंदा रहेछौँ । एक-दुई मिनट भए तापनि एउटा छुट्टै आनन्द अनुभव गर्दा रहेछौँ । विज्ञानले झन् गीत-सङ्गीत हाम्रा मस्तिष्क र शरीरका निम्ति लाभदायक ठानेका छन् ।
म गुनगुनाउन छोड्दै-छोड्दिनँ । मेरो सल्लाह के छ भने तपाईँहरू पनि नछोड्नुहोस् किनकि जीवनको उत्सव मनाउन कहिल्यै छोड्नुहुँदैन । हाम्रा निम्ति संगीत हामी आफैँमा पनि प्रकृतिको अमूल्य उपहार हो । तर कहिलेकाहीँ मलाई पनि डा मोतीवीर राईलाई जस्तै आफूले राम्ररी गाउन नसकेकामा अलिकति खेद भने अवश्य लागिरहन्छ । राई भन्नुहुन्छ, “भारत वर्षमा यति खेर पाँच सयभन्दा बढ्ता ‘बाबा’ हरू छन् । यदि तिनीहरूमध्ये कसैले पनि मेरो यो दौरा च्यातिए जस्तो कर्कस स्वरलाई कोकिल कण्ठमा परिणत गरिदिन्छन् भने म त्यस सुरिलो स्वरका सट्टामा त्यस ‘बाबा’ लाई मैले अहिलेसम्म आर्जन गरेको जम्मै अभिज्ञता, विद्मा र ज्ञान भण्डार (डिग्रीलगायत) समर्पण गर्ने थिएँ । [१]”
हिजआज घरमा पालेका कुकुर, बिराला र गाईहरूदेखि लिएर साग-सब्जीहरूलाई समेत सङ्गीत सुनाइरहेको छु । ‘सङ्गीत विश्वको प्राण’ भनेको हो रहेछ । सङ्गीतले नै विश्वलाई जिउँदो बनाइराख्दो रहेछ । त्यसैले भनेको स्वर्गमा आनन्द छैन किनकि त्यहाँ श्रवण गर्नलाई सङ्गीत छैन ।
[१] राई, मोतीवीर, ‘सङ्गीत’, प्रक्रिया, वीरभद्र कार्कीढोली (स.), प्रक्रिया प्रकाशन, सिकताम (पश्चिम सिक्किम), २०००, पृ. २२३-२२४,



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ कार्तिक २०८२, शुक्रबार 










