१. प्रस्तावना

प्रवासमा रहेर नेपाली भाषा साहित्य र सङ्गीतमा धेरै व्यक्तिको उल्लेखनीय योगदान छ । भारतीय नेपालीले पनि इतिहासदेखि वर्तमानसम्म यस क्षेत्रमा महत्त्वपूर्ण कार्य गरेका छन् । विशेषतः दार्जिलिङ, सिक्किम, असम, शिलाङजस्ता पूर्वोत्तर भारतका लेखक तथा सङ्गीतकारको नाम अग्र पङ्क्तिमा आउँछन् । तथापि पश्चिमोत्तर भारतको भाग्सुधर्मशालामा जन्मेका मास्टर मित्रसेन थापाले यस क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय छ ।

प्रस्तुत कार्यपत्रमा मास्टर मित्रसेन थापाले नेपाली भाषा, साहित्य र सङ्गीतको विकासमा पुर्‍याएको योगदानबारे चर्चा गरिने छ ।

० ० ० ०

मास्टर मित्रसेन

२. मित्रसेनको परिचय

मास्टर मित्रसेन थापाको जन्म २९ डिसेम्बर १८९५ का दिन भारतको हिमाञ्चल प्रदेश, भाग्सुधर्मशालामा भएको थियो । उनी ब्रिटिश इन्डियाछेका गोर्खा पल्टनको छाउनीमा जन्मेर सैनिक परिवेशमा हुर्केका थिए । छाउनी भन्नाले सैनिकको आवासीय ब्यारेक हो भन्ने बुझिन्छ । ब्यारेकमा लाहुरेहरू परेड खेल्छन् र युद्धअभ्यास गर्छन् । उनका श्रीमतीहरूलाई ब्यारेकको मेरिड क्वाटरमा राखिन्छ । मेरिड क्वाटरलाई लाइन पनि भनिन्छ । लाइनमा जन्मिने बच्चालाई ‘लाइन बोय’ अर्थात् ‘लाइन छोकडा’ भन्ने चलन थियो । ‘लाइन छोकडा’ अपभ्रंश भएर ‘लैनछोकडा’ हुन पुग्यो । मित्रसेन ‘लैनछोकडा’ हुन् । बुबा हवल्दार मनवीरसेन थापामगर र आमा राधा थापामगरका छोरा हुन् मित्रसेन ।

मित्रसेनको दुइटा घरबार भएको थियो । जेठी श्रीमती कलावतीबाट दुई छोरी र एक छोरा जन्मेका थिए । तिनीहरू सबैको अल्पायुमै हैजाको कारणले मृत्यु भएपछि कान्छी श्रीमती लाजवन्तीलाई विवाह गरेका थिए । लाजवन्तीबाट एक मात्र छोरा दिग्विजय सेनको जन्म भयो ।

मित्रसेनको पुर्ख्यौली थलो राखुपुल्ला, बाग्लुङ हो । सन् १८०४ मा नेपालको भूभाग सतलजसम्म विस्तारित थियो । त्यस क्रममा नेपाली फौजहरूले सतलजपारिको काँगडा किल्लालाई ओगटेर बसेका थिए । सेनापति अमरसिंह थापाको फौजमा सामेल भएर मित्रसेनका बाजे काँगडा पुगेका थिए । सन् १८१५ मा नेपाल र अङ्ग्रेजबीच सुगौलीसन्धि भयो । सन्धिअनुसार अङ्ग्रेजद्वारा नेपाली फौजलाई लिएर गोर्खा पल्टन स्थापना गरियो । त्यसै पल्टनमा उनका बाजेले सैनिक सेवालाई निरन्तरता दिए । अवकाशपश्चात् बाजे बाग्लुङ फर्केनन्, भाग्सुधर्मशालामै सपरिवार बसोबास जमाएका थिए ।

मित्रसेनले आठ कक्षासम्म अध्ययन गरेका थिए । १६ वर्षको उमेरमा आफ्नो पुस्तौनी पेसा गोर्खा सैनिकमा प्रवेश गरे । सन् १९१२ मा १/१ गोर्खा राइफलमा भर्ती भई प्रथम विश्वयुद्धमा सामेल भए । युद्धको आरम्भकालमा उनको पल्टनलाई उत्तरी फ्रान्स र बेल्जियममा खटाइयो । त्यहाँ पुगेर सन् १९१४ देखि १९१५ सम्म जर्मनको विरुद्धमा लडे । त्यसपछि सन १९१६ देखि १९१९ सम्म मेसोपोटामिया (अहिलेको इराक र सिरिया) मा टर्कीको अटोमन अम्पायरविरुद्ध लड्न खटाइयो । विनाशकारी हृदयविदारक युद्धदृश्य देखेर कोमल, भावुक कवि हृदयमा ठूलो आघात पुगेको हुनुपर्छ । महायुद्ध समाप्त हुनसाथ सन् १९२० मा स्वेच्छाले सैनिक सेवाबाट अवकाश लिए । युद्धको पीडादायक मानसिकताबाट आफूलाई मुक्त पार्दै शेष जीवनलाई नेपाली भाषा साहित्य, सङ्गीत र समाजसेवामा समर्पित गरे ।

नियतिको खेल भनौँ, मित्रसेनजस्ता बहुप्रतिभाका धनी व्यक्तिको आयु लामो रहन सकेन । साहित्य, सङ्गीत र समाजसेवामा दुई दशकभन्दा बढी समयावधि अर्पण गरेर ९ अप्रिल १९४६ का दिन उनको निधन भयो ।

 

२.१ व्यक्तित्व

मित्रसेनको व्यक्तित्वको कुरा गर्दा उनी आफ्नो जातिको सेवाप्रति निष्ठा, त्याग र निःस्वार्थसाथ लागेका व्यक्ति थिए । एक लेखमा ‘जाति सेवाले तप र त्यागको माग गर्दछ तर यसभित्र एक अजीव किसिमको आनन्द पनि छ ।‘ भनेर आफ्नो मनोभावना व्यक्त गरेका छन् । यसबाट के बुझिन्छ भने समाजसेवा एक ऐच्छिक परोपकारी कार्य हो । यसबाट अर्थलाभ हुँदैन । निस्वार्थ त्यागको जरुरत पर्छ । दिनरात भोकतिर्खा सहेर, धुलोमैलो, हिलो नभनी खटिनुपर्छ । तर, यस्ता कार्यले आत्मसन्तुष्टि प्राप्त हुन्छ । आत्मसन्तुष्टिजस्तो परम सुख र शान्ति यो संसारमा अरू केही छैन भन्ने उनको विश्वास थियो ।

उनी नेपाली भाषा, साहित्य र सङ्गीतप्रति यति त्यागी थिए कि आफ्नो घरबार नै छाडेर यसको प्रवर्धनमा भारत र नेपालका विभिन्न स्थानमा पुगेको देखिन्छ । गोरखपुर, नौतुना, पाल्पा, रिडी र शिलोङको यात्रामा आफू मात्र नभई आफ्नो सपरिवारलाई सरिक गराउन सफल भएका थिए । हिन्दी चलचित्र उद्योगमा काम गर्ने अवसर र प्राप्त गर्न सक्ने बङ्गला, गाडी, तलबभत्ता जस्ता सुविधाको लालच उनलाई कहिल्यै लागेन । बरु भजनमण्डली गरेर, गीता, महाभारत काव्यका कथाहरू सुनाएर, आध्यात्मिक चेतना भित्र्याएर गोर्खाली समुदायमा सकारात्मक परिवर्तन ल्याउनतिर आफूलाई समर्पण गरे ।

पल्टनमा छँदा उनीभन्दा कमजोर दौँतरी जम्दार, सुबेदार भैसकेका थिए । उनले मित्रको डायरीमा भनेका छन्– ‘म स्वअवकाश नलिएको भए मेरो पनि प्रमोसन हुन्थ्यो । तर त्यसको लोभ नगरी जाति सेवाका लागि फौजी जीवन छोडेको हुँ ।’ यसबाट के बुझिन्छ भने उनलाई हरियो पर्खालभित्र कैदीको जस्तो जीवन मन परेको थिएन । बाहिर एक साधारण नागरिक भएर स्वतन्त्रपूर्वक जिउँदै आफ्नो जातिको सेवा गर्न रुचाउँथे । ‘जाति सेवा’ भन्नाले नेपाली समाजमा गएर भाषा, धर्म, साहित्य र गीतसङ्गीतको प्रचार प्रसार भन्ने बुझिन्छ ।

उनी त्यति स्वस्थयकर मान्छे थिएनन् । सन् १९४० देखि थलिन थालेका थिए । उनमा प्रायः जरो आउने, ज्यान दुख्ने रोग थियो । विश्वयुद्धको प्रत्यक्ष भोगाइले उनको शरीर कमजोर भइसकेको हुनसक्थ्यो । गाउने, बजाउने कार्यमा धेरै ऊर्जा नष्ट हुनेगर्छ । सायद बेस्सरी धपडीमा परेर होला, उनी बिमार परिरहन्थे । तैपनि शरीरले थेग्दासम्म सामाजिक क्रियाकलापमा निरन्तर लागिरहे । यस्तो शारीरिक निर्बलताको बाबजुद पनि जातिसेवामा खटिएर लागेको देख्दा उनी त्यागी अनि परिश्रमी व्यक्ति थिए भन्ने प्रमाणित हुन्छ ।

० ० ० ०

३. नेपाली भाषा, साहित्यमा योगदान

मित्रसेनले आठ कक्षा पढेका थिए र हिन्दी, उर्दू, अङ्ग्रेजी र नेपाली भाषा बोल्थे । उनका साहित्यिक रचनालाई सामान्यतः दुई भागमा वर्गीकरण गर्न सकिन्छ । गद्य विधाअन्तर्गत निबन्ध, कथा, र नाटक । र, पद्य विधाअन्तर्गत भजन, गीत, कविता, गजल, कवाली र खण्डकाव्य ।

 

३.१ निबन्ध

मित्रसेनले रचेका निबन्धहरू हुन्– कृतज्ञता, अभियान निषेध, प्रेम, सुशीलता, समयको उपयोगिता, गहिरो खोज, भूगोल रिडी र मित्रको डायरी । उनका निबन्धहरू अति नै सरल भाषामा लेखिएका छन् । तिनले जीवन दर्शन, तत्कालीन भूगोल तथा सामाजिक परिवेश, अध्यात्मकता, आदर्श र नैतिक शिक्षा प्रदान गर्छन् । अन्यभन्दा नेपाली साहित्यमा मित्रको डायरीको विशेष महत्त्व रहेकाले यसको विवेचना गर्न आवश्यक छ ।

 

३.१.१ मित्रको डायरी

सन् १९४४ मा गोर्खा सतसँग प्रचारिणी सभा स्थापना गरियो । यो संस्था जन्मनसाथ यसको नेतृत्व लिँदै मित्रसेन सतसँग प्रचारप्रसारको क्रममा गोरखपुर तथा नौतुना पुगेका थिए । मित्रको डायरी एउटा निबन्ध हो, जो त्यसै भ्रमणमा केन्द्रित रहेर लेखिएको थियो । यसमा १३ जुलाई १९४४ देखि उनको जीवनको अन्तिम दिन, ९ अप्रिल १९४६ सम्म घटेका घटनालाई दैनन्दिनको रूपमा सजीव र सरल ढङ्गले वर्णन गरिएको छ ।

निबन्धको पाण्डुलिपि भाग्सु धर्मशाला अवस्थित मित्र झुप्रो सङ्ग्रहालयमा सुरक्षित छ । यसलाई प्रथमपल्ट ‘मित्रसेनको डायरी र केही कविताहरू’ शीर्षकमा पुस्तक प्रकाशन गरिएको छ । त्यसपछि दोस्रोपल्ट ‘मित्रसेनको डायरी’ शीर्षकमै अर्को छुट्टै पुस्तक छापिएको छ ।

त्यसैगरी ‘मित्रसेन र उनको देन’ पुस्तकमा यसको हस्तलिखित पाण्डूलिपिसहित सम्पादित रूपमा छापिएको छ । अनि ‘मास्टर मित्रसेन र उनका सिर्जना’ पुस्तकमा पनि यो निबन्ध छापिएको छ । यस पुस्तकमा १३ जुलाई १९४४ देखि १ अक्टोबर १९४४ सम्म स्वयम् मित्रसेनले ‘मित्रको डायरी’ लेखेका र त्यसपछि मृत्युको घडीसम्म छोरा दिग्विजय सेनले लेखिदिएको भनिएको छ । यो डायरी जुन भ्रमणमा आधारित छ, त्यस भ्रमणमा आफ्ना छोरा पनि साथमा थिए । अक्टोबर १९४४ देखि आफू बिमारी परेको हुनाले बाँकी डायरी लेखनलाई छोराले निरन्तरता दिएको देखिन्छ । करिब ५ हजार ५ सय शब्दको यस निबन्धमा मित्रसेनका मार्मिक भावना, उद्गार, घटना तथा संस्मरण व्यक्त गरिएका छन् ।

उनी सतसँग धर्म प्रचारप्रसार साथै साङ्गीतिक तथा नाट्य प्रदर्शनका लागि भारतको भाग्सु धर्मशालाबाट पठानकोट, गोरखपुर हुँदै नौतुना पुगेका थिए । नौतुनाबाट नेपालको बुटवल, तानसेन हुँदै तीर्थ यात्रार्थ रिडी पुगेका थिए । नौतुना फर्केपछि त्यहाँबाट सतसँग प्रचारको सिलसिलामा पूर्वोत्तर भारतका गुवाहटी, तेजपुर, शिलोङको पनि भ्रमण गरे । यिनै यात्राका कुरा लेखिएको हुनाले यो निबन्धलाई यात्रा संस्मरणको रूपमा पनि लिन सकिन्छ ।

निबन्धभित्र तत्कालीन नेपाली समाजको, त्यसमा पनि विशेषतः गोर्खाली लाहुरे समुदायको चित्रण गरिएको पाइन्छ । निबन्धमा उल्लेखित प्राय सबै पात्र गोर्खा लाहुरे रहेका छन् । यसभित्रका विषयवस्तु तत्कालीन ब्रिटिस–इन्डिया गोर्खा सैनिक, पल्टन र गोर्खाली समुदायमा केन्द्रित भएको हुनाले यस निबन्धलाई युद्ध साहित्य भनेर पनि बुझ्न सकिन्छ । यसबाट त्यति बेलाको व्यावसायिक दरभाउ, भौगोलिक परिवेशका साथै उनको परिवार, समाजप्रतिको समर्पण, साहित्य र सङ्गीतप्रतिको योगदान, उनका स्वभाव र मनोभावना बुझ्न सकिन्छ । यसरी उनका दर्जनौं पद्य तथा गद्य सिर्जनाहरूमध्ये भारतीय नेपाली साहित्यजगत्मा मित्रको डायरीको विशेष महत्त्व देखिन्छ ।

 

३.१.१.१ तत्कालीन सामाजिक अवस्था

मित्रको डायरी लेख्दासम्म ब्रिटिस–इन्डियन फौजमा नेपाली युवा भर्ती हुने प्रथाले झण्दै १३० वर्ष पार गरिसकेको थियो । परिणामतः नेपाली समाजमा लाहुरे संस्कार स्थापना भैसकेको थियो । यसले एक निश्चित जातिमा जीविकोपार्जनको पथ त निर्माण गरिदिएको थियो नै, तर विडम्बना, दुर्व्यवसन र देह व्यापारजस्ता विकृति पनि समाजमा मौलाउँदै थिए । यस्ता अशोभनीय क्रियाकलाप एकातिर प्रत्यक्ष रूपमा हुन्थे भने अर्कोतिर परोक्ष रूपमा महिला हिंसा, चेलीबेटी बेचबिखन, बालविवाह पनि हुने गर्थे । समग्रमा नेपाली संस्कृति र पहिचानमा ह्रास आउँदै थियो । मित्रसेन स्वयम् यस्ता विकृतिहरूको भुक्तभोगी थिए । जसबाट आफ्नो समाजलाई उन्मुक्त पार्नुपर्छ भनेर सचेत थिए । सतसंगकोमार्फत यही सचेतना बाँड्न उनी गोरखपुर, नौतुना पुगेका थिए ।

यो डायरीको लेखनकालमा दोस्रो विश्वयुद्ध चलिरहेको थियो । एक लाखभन्दा बढी नेपाली भारतीय गोर्खा पल्टनमा लाहुरे थिए । ‘रोजै स्पेशल गाडीले पाँच, सात सय गोर्खाली जवान नौतुनाबाट गोरखपुर पुर्‍याउने ।’ भन्ने उनको भनाइले ठूलो सङ्ख्यामा नेपाली युवालाई भर्ती गरिँदै थियो भन्ने बुझिन्छ । विश्वयुद्ध चल्दै छ र सैनिक तालिम दिएजस्तो गरेर सिधै युद्धमा होमिन्छ भन्ने ज्ञान ती भर्ती हुने कति युवालाई नहुन पनि सक्थ्यो ।

त्यतिखेर नौतुनामा सय घरधुरीजति नेपालीहरूको बसोबास थियो । तिनीहरू कतिले होटेल व्यवसाय सञ्चालन गर्थे । तिनका ग्राहक भर्ती हुन आउने युवाहरू र पेन्सन अनि छुट्टी जाने लाहुरे हुन्थे । छुट्टीमा पहाडघरतिर हिँडेका लाहुरे भट्टीमा तरुनीसँग जिस्किँदै बस्थे । पैसा त्यतै स्वाहा पार्थे । अनि, घरमा पर्खिबसेका वृद्ध बाआमा, जहान, बालबच्चाहरूलाई नभेटी त्यहीँबाट पल्टन फर्किन्थे । भट्टीवाल्नीले सोझासाझा लाहुरेलाई जाँडरक्सीले मताएर, मायाजालमा फसाएर ठगठाग पार्थे । ‘कति आइमाईले राति बिचेत भएका लाहुरेका जम्मै रुपैयाँ झिकेर लुकाइदिन्छन् र ती बरा घरमा पनि नगई त्यहाँबाट छाउनीतिर रित्तै फर्कन्छन् ।‘ भन्ने यस डायरीभित्रको वाक्यले यसलाई प्रस्ट्याउँछ । यातायातमा सफर गर्दा, होटेलमा बस्दा सर्वसाधारणले तिर्ने दर एउटा हुन्थ्यो । तर, लाहुरेलाई भने त्यसको दुईतीन गुना बढी तिराइन्थ्यो । यस्तो निकृष्ट अवस्थाबाट गुज्रिरहेको समुदायको समस्यालाई सम्बोधन गर्न उनी नौतुना पुगेको मित्रको डायरीले बताउँछ ।

 

३.१.१.२ तत्कालीन समाजमा महिलाको अवस्था

मित्रसेनले सन् १९२८ देखि १९३१ सम्म पञ्जाब आर्य धर्म प्रतिनिधि सभामा बसेर काम गरेका थिए । त्यस अवधिभर धर्म प्रचारको सिलसिलामा पञ्जाब क्षेत्रको भ्रमण गरे । त्यति बेला नेपाली जातिका महिला धनीमानीको घरमा, स्वेच्छाले भन्दा पनि बेचिएको अवस्थामा काम गरेको देखे । त्योभन्दा पनि अझ तल्लो अवस्थामा नौतुनाका नेपाली महिलालाई देख्दा उनको मन कुँडिएर आयो ।

अहिले पनि नेपाली चेलिबेटी बेचबिखन व्याप्त अवस्थामा छ । आजभन्दा आठ दशकअघि पनि नेपाली महिलाको अवस्था त्यस्तै थियो भन्ने कुरा मित्रको डायरीबाट बुझिन्छ । लुम्बिनी र गण्डकी भेग बाह्र तथा अठाह्र मगरात क्षेत्रमा पर्छन् । त्यहाँका युवाहरू पाल्पा, बटौली हुँदै नौतुना, गोरखपुर पुगी भर्ती लागेर मुगलान भासिन्थे । सोही भेलमा स्वास्नी मान्छेहरू पनि समाहित भएर आफ्नो अस्मितालाई धरापमा पार्दै, परदेश हराएको कारुणिक कथा यस निबन्धले बोलेको छ । नौतुनामा सतसंग प्रचारिणीको सिलसिलामा यिनै घटनाको उनी प्रत्यक्षदर्शी बने । यस्तो प्रचलन नौतुना क्षेत्रमा मात्रै सीमित नरही पूर्वको रक्सौल वीरगञ्ज नाकामा पनि व्याप्त रहेको डायरीमा लेखिएको पाइन्छ । ‘नेपाल सरकारले बिनाजाँचबुझ युवतीलाई मधेशतिर जान नदिनु र सबै अड्डा, चौकीमा रोकथाम छ ।’ भन्ने डायरीभित्रको वाक्यले के दर्शाउँछ भने तत्कालीन सरकार यस समस्यादेखि सचेत थियो र रोकथामका प्रयास हुँदै थिए । तर कार्यान्वयनपक्ष प्रभावकारी हुन नसक्दा यस्ता अमानवीय गतिविधि चली नै रहे । आजको आधुनिक युगसम्म आइपुग्दा पनि महिला हिंसा र बेचबिखन रोकिएको नदेखिँदा यो संस्कारकै रूपमा विकास भएको हो कि भन्ने लाग्छ । यी सबै पापकर्म हुन् । यसले सिङ्गो समुदायलाई बदनाम गर्छ । यस्ता कार्य नैतिकताविहीन मानवबाट गरिन्छ भन्ने ठानेर तिनलाई नैतिक शिक्षा प्रदान गर्न मित्रसेन लागिपरेको हुनुपर्छ ।

 

३.१.१.३ भौगोलिक परिवेश

नेपालको मध्य पश्चिमाञ्चल क्षेत्रका युवा भर्ती हुन जाने ठाउँ नौतुना, गोरखपुर थियो । त्यति बेला नौतुना रेक्रुटिड गर्ने स्थान (भर्ती क्याम्प) र गोरखपुर तालिम केन्द्र थिए । नौतुनाको भौगोलिक परिचय दिने क्रममा मित्रको डायरीमा लेखिएको छ– ‘नौतुना गोरखाली लाहुरे र पेन्सनेहरू पहाडघर आउने र भारत जाने एउटा गौँडा हो । यो अङ्ग्रेज राज्यभित्रको एउटा सहर हो । करिब नौ कोस उत्तरमा तिन्हुँ (आजकल तिनाउँ भनिन्छ) खोलाको छेउमा बटौली नगर बसेको र त्यहाँबाट बल्ल अङ्ग्रेज राज्य सकिएर नेपाल राज्य सुरु भएको छ ।’ यसबाट के बुझिन्छ भने सन् १८१५ मा सुगौली सन्धि भए तापनि १९४४ सम्म आइपुग्दा बटौली वरपरका इलाकामा अङ्ग्रेजको प्रभाव थियो । सन् १८१४ मा अङ्ग्रेज फौज बटौली आएर लडेका थिए । जीतगढमा किल्ला जमाएर बसेका कर्णेल उजीरसिंङ थापामगर र उनका नेपाली सेनाले अङ्ग्रेजलाई हराएर पठाइदिएको इतिहास छ । विशाल पहाडको काखमा अवस्थित बटौलीलाई अहिले बुटवल भनेर चिनिन्छ । बलियो पर्खालजस्तै बनेर पहाडी शृङ्खला आफ्नो सामुन्ने उभिइदिँदा ‘But Wall’ (बट–वाल) भन्दै अङ्ग्रेज फौज त्यहाँबाट उत्तर जान सकेनछन् । यसै ‘बट–वाल’ शब्द अपभ्रंश हुँदै ‘बुटवल’ हुन गएको भन्ने किंवदन्ती छ ।

ऐतिहासिक हिसाबले भाग्सु धर्मशाला, सिमला, देहरादूनलाई भारतका गोर्खा लाहुरे समुदायको उद्गमस्थल मानिन्छ । अङ्ग्रेजलाई शिख अनि मुसलमान राजारजौटाबाट खतरा थियो । त्यसैगरी अफगानिस्तान, मेसोपोटामिया, टर्की, रसिया, जर्मनजस्ता पश्चिमी शक्तिको पनि डर थियो । तिनै सम्भावित खतराको सामना गर्न सहज होओस् भनेर गोर्खाली पल्टनलाई त्यतातिर बढी केन्द्रित गरिएको थियो । जबकि रेक्रुटिङको मूल स्रोत नेपालको मध्य पश्चिमाञ्चल क्षेत्र थियो । यी सामरिक महत्त्वका दुई स्थानलाई यातायातका मार्गले जोड्न सके अङ्ग्रेजको भारत विस्तारमा मद्दत पुग्ने देखिन्थ्यो । त्यसैले नेपालको सीमारेखानजिकै नौतुनासम्म रेल विस्तार गरिएको हो । १ अगस्त १९४४ मा पठानकोटबाट रेलगाडी चढेका मास्टर मित्रसेन ३ अगस्तमा गोरखपुर उत्रिएको र त्यहाँबाट रेलमै नौतुना पुगेको निबन्धमा उल्लेख गरिएको छ ।

अङ्ग्रेजलाई दोस्रो विश्वयुद्धमा पूर्वबाट जापानले पनि चुनौती दिँदै थियो । त्यो शक्तिको प्रतिवाद गर्न गोर्खा पल्टनहरू आसाम, शिलोङतिर पनि विस्तार गरिसकिएको थियो । मास्टर मित्रसेन १९ अगस्त १९४५ मा गोरखपुरबाट रेलगाडी चढेर २२ तारिख गुवाहटी पुगेका थिए । त्यो बेलाको जमानामा नदीनाला, खोच, उपत्यका र पहाडहरूलाई छिचोल्दै हजारौँ माइलको यात्रा तीनचार दिनमै गरेको देखिन्छ । यसबाट रणनीतिक हिसाबले महत्त्वपूर्ण भिन्न भिन्न भूभागलाई यातायात सेवाले जोड्ने कुरामा अङ्ग्रेज सरकारले प्राथमिकता दिइएको प्रस्ट हुन्छ ।

 

 

३.१.१.४ आर्थिक गतिविधि

अहिले नेपालले बेलायतबाट वर्षेनि करोडौँ रुपैयाँ बराबरको आर्थिक सहयोग प्राप्त गर्छ । तर, प्रथम विश्वयुद्धमा प्रधानमन्त्री चन्द्रशमशेरले भाइसरोय लर्ड हार्डिङलाई मेसिनगन किन्न भनी रु. ३ लाख दिएका थिए । अहिलेको अवस्थामा त्यसको मूल्य करोडौँ रुपैयाँको हुनसक्छ । यसले तत्कालीन नेपाल एक समृद्ध राष्ट्र थियो भन्ने बोध गराउँछ ।

मित्रसेनको आफ्नै किराना पसल थियो । सरकारले निर्धारण गरेको मूल्यअनुसार मालसामान बेचबिखन गर्नुपर्थ्यो । बजार व्यवस्थापनलाई कडाइका साथ कार्यान्वयन गरिएको थियो । जसले गर्दा ‘बढी नाफा गरेर बेच्न नपाइने’ भनेर मित्रको डायरीमा उल्लेख गरिएको छ । अङ्ग्रेजको यो एक सक्षम व्यापार प्रणालीको नमुना हो । तर, सबैजनाले सरकारको नीतिनिर्देशन पालना कहाँ गर्छन् र !

तत्कालीन अवस्थामा विद्यमान बजारभाउ, तलबभत्ता के कति थिए, मित्रको डायरीबाट उद्धृत गरेर तिनलाई यहाँ सूचीकृत गरिएको छ:

* मास्टर मित्रसेनले घर र दोकान मासिक रु. २२ मा किरायामा दिएर नौतुना प्रस्थान गरेका थिए । बाटोखर्चका लागि रु. १५० एडभान्स लिएका थिए । बाटोखर्च नपुग्ला भनेर कप्तान बराललाई रु. १०० सहायता मागेका थिए ।

* पठानकोटदेखि गोरखपुर चार जनालाई इन्टर क्लासको रेल भाडा जम्मा ८३ रुपैयाँ १२ आना । आफूले चाहेको

डिब्बाको टिकट समयमै नपाउँदा टिकट बाबुलाई ५ रुपैयाँ छुट्टै घुस दिनुपरेको ।

* भाग्सु धर्मशालादेखि नौतुनासम्मको जम्मा बाटो खर्च रु. १३८ ।

* गोरखपुर कुनाघाटका गोर्खाली जनताले सतसंग प्रचारिणी सभालाई ५० रुपैयाँ दान गरेका ।

* नौतुनाका व्यापारीले १ रुपैयाँको माललाई भाउ बढाएर छ, सात रुपैयाँमा लाटोसुधो लाहुरेलाई बेच्थे ।

* नौतुनाको एउटा भट्टीमा दश पन्ध्र लाहुरे बास बस्थे । भट्टीवाल्नीहरू एक रातमा रु. ३०० जति कमाउँथे ।

* एउटा लाहुरे छुट्टी जाँदा हजार बाह्र सय रुपैयाँ बोकेको हुन सक्थ्यो ।

* तरुनीहरू लाहुरेसँग जिस्किँदा पाँच, दश रुपैयाँ फुत्काइहाल्थे ।

* नौतुनाको एक सतसंग कार्यक्रम सिद्धिएपछि भक्तजनले चढाएका सिदा तीस पैँतीस सेर चामल, दुई छटाँक मसला, बेसार, नुन र एक छटाँक घिउ । रु. ३५० दान प्राप्त ।

* नौतुनामा रहँदा उनका चार परिवारजनका लागि मासिक खर्च रु. ५० ।

* राधा फिल्म कम्पनीले उनलाई मासिक रु. १५० तलब र बस्ने घरबार दिन्छौँ हामीसँग काम गर भनेर अनुरोध

गरेका  ।

* कप्तान बरालले नौतुनामा उनलाई खर्चस्वरूप रु. २० दिएका ।

* नौतुना कप्तान टोलमा गरिएको सतसंगबाट ३२ रुपैयाँ ८ आना दान प्राप्त ।

* नौतुनाबाट रिडीतर्फ तीर्थयात्रामा निस्कँदा साथमा रु. २५ । रु. ५ मोटर भाडा तिरेका । रु. १० को मोहोर साटेका ।

फर्कंदाका लागि खर्च रु. १० बाँकी ।

* बटौलीबाट माथि लाग्दा भट्टीमा बास बसे लाहुरेले हो भने रु. १५ देखि २० दिन्थे । उनीजस्ता सर्वसाधारणबाट हो भने एक सुका मात्रै पाउँथे । त्यसो हुनाले भट्टीवाल्नीहरू सर्वसाधारणलाई भन्दा लाहुरेलाई बास दिन मन पराउँथे ।

 

३.१.१.५ मित्रको डायरीमा नेपाली भाषा

मित्रसेनले नेपाली भाषा घरमा बाआमा, भाग्सु धर्मशालाका गोर्खाली समुदाय र पल्टन घरमा छँदा जे जति सिक्न सके त्यसैमा सीमित थियो । नेपाली भाषामा औपचारिक शिक्षा नलिए पनि धर्मग्रन्थहरू अध्ययन गरेर उनले नेपाली भाषाको ज्ञान लिएको हुनुपर्छ । साथै, पल्टनमा भर्ती भएपछि सहकर्मीसँगको उठबसले उनलाई नेपाली भाषाको ज्ञान आर्जन गर्न सहज भएको हुनसक्छ ।

ब्रिटिस गोर्खा पल्टनका सैनिक भएकाले अङ्ग्रेजी भाषा नजान्ने त कुरै रहेन । पल्टनमा अङ्ग्रेजी शब्दहरू अत्यधिक मात्रामा प्रयोग गरिन्छ । यसर्थ यस निबन्धमा भाषागत हिसाबले नेपाली, हिन्दी, उर्दू, अङ्ग्रेजी, संस्कृत शब्दहरूको बाक्लो मिश्रण पाइन्छ । जसरी अहिले पनि एक भारतीय गोर्खा सैनिकको बोलाइ र लेखाइको लवज भिन्न हुन्छ, त्यस्तै यस निबन्धमा पनि भाषाशैली पृथक् छ । साहित्यको दृष्टिकोणबाट यसमा त्यति लालित्यता नपाइएला तर शब्द विविधताका दृष्टिकोणबाट यो निबन्ध अति नै धनी देखिन्छ । यस निबन्धमा प्रयोग गरिएका ती नौला शब्द र हरफका केही उदाहरण यस प्रकार छन्–

नाम मात्रको ढाँट स्वयंसेवक, एक्स्प्रेस तार र तारघर, प्रोग्राम त नौतुनैको भयो, डाकमोटर, टिकेट बाबु, रेलमा थर्ड किलास, वृद्ध महातारी, धक्कापेल, झुन्डिएर मुसाफिर सफर गर्छन्, माल बुक, एसिस्टेन्ट रेकरुटिङ अफिसर, काफी ज्यादा अनेक प्रकारको छाँट झिकी मखौल ठट्टा गर्दै, रोज, तकलिफ, मञ्जिल, स्टिमर, इलाज इत्यादि ।

नेपाली गीतरचना र गायनमा उनको आफ्नै पृथक् शैली छ । उनका गीतलाई झ्याउरे गीत भनिन्छ । झ्याउरे शब्द गाउँघरमा बोलिने झर्रो बोलीसँग सम्बन्धित छ । त्यसैगरी यस निबन्धमा पनि झ्याउरे लेखनशैली विद्यमान छ । रेलस्टेसनमा डिब्बाभित्र चढ्ने बेला ‘भीडभाड र धकलाधकल भयो ।’ भन्ने जनाउन ‘धक्कापेल’ भयो भनेर लेखिएको छ । आफूसँगसँगै नौतुना गएकी ८५ वर्षीय वृद्ध आमालाई ‘रेलमा बुढी माऊलाई जोगाउन कठिन पर्‍यो ।’ भन्ने वाक्य प्रयोग गरेका छन् । फल्स्यांग फुल्सुंग, ताना बाना, गल्यांङ गुलुङ कुरा गर्दै, गोर्खाली आइमाई पञ्जाबिनी भएर, खण्डन–मण्डन, लाटा–लुरेलाँगरे, मुख सामनेको गोर्खा–पहाड, सुस्तोबिस्तो इत्यादि निबन्धमा प्रयोग गरिएका केही झ्याउरे शब्दका उदाहरण हुन् ।

तर, नेपाली भाषा मानक र व्याकरणको पक्षबाट हेर्दा यो निबन्ध अलि फितलो लाग्न सक्छ । मित्रसेनका समकक्षी साहित्यकार सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, पारसमणि प्रधान, बालकृष्ण सम, लेखनाथ पौड्यालका सिर्जनाहरूमा पाइनेजस्ता कला, भाव, बिम्ब, लालित्य, शब्द संयोजन मित्रको डायरीमा पाइँदैनन् । सायद यसलाई उनले आफ्नै जीवनकालमा प्रकाशन गर्न सकेका भए अवश्यै भाषा सम्पादन गरेर मात्रै प्रकाशन गरिन्थ्यो । तर, अहिले हामी जुन रूपमा ‘मित्रको डायरी’ पढ्छौँ, उनको हस्तलिखित पाण्डुलिपिकै प्रतिलिपि हो । यो पाण्डुलिपिमा त्यति धेरै काँटछाँट नगरी हुबहु प्रकाशन गरिएको हो । यसर्थ भाषाशैलीको दृष्टिकोणबाट भन्दा पनि यसले प्रदान गर्ने ऐतिहासिक ज्ञानको दृष्टिकोणबाट यस निबन्धले ठूलो महत्त्व राख्छ ।

 

३.१.१.६ युद्ध साहित्य

मित्रको डायरीलाई युद्ध साहित्यको चक्षुले पनि हेर्न सकिन्छ । त्यसो त यिनका गीतहरूमा पनि युद्धका विषयवस्तु नसमेटिएका भने होइनन् । त्यसर्थ मित्रको डायरीलाई साहित्यको एउटा पाटो– युद्ध साहित्यभित्र राखेर विमर्श गर्न सकिन्छ । किनभने यसभित्रका मुख्य विषयवस्तु सैनिक गतिविधिमा केन्द्रित छन् ।

युद्ध साहित्यलाई परिभाषित गर्दा नेपालको एकीकरण र अङ्ग्रेज उपनिवेशीकरणको अवधिमा भएका लडाइँ, पहिलो र दोस्रो विश्वयुद्ध र त्यसपछिका अन्य युद्धहरूमा गोर्खाली सैनिकको सहभागिता इत्यादि विषयवस्तुउपर कोरिएका साहित्यलाई युद्धसाहित्य मान्न सकिन्छ । युद्धका तीन चरण छन्– युद्धपूर्व, युद्धकाल र युद्धपश्चात् । यिनै चरणमा घट्ने घटना र हुने क्रियाकलापलाई सिर्जनाको आधार बनाएर लेखिएका कृतिलाई युद्ध साहित्य मानिन्छ ।

युद्धपूर्वको चरणमा युद्धका लागि गरिने तयारी जस्तै– सैनिक छनौट अर्थात् भर्ती, ब्यारेक र जङ्गलमा गरिने तालिम, सैनिक र तिनका परिवारका लागि गरिने प्रशासनिक र कल्याणकारी क्रियाकलाप पर्छन् । यस निबन्धका अनुसार नौतुना र गोरखपुर गोर्खा पल्टनका सैनिक जाने आउने मुख्य नाका थिए । नौतुना भर्तीकेन्द्रबाट गोरखपुर तालिम केन्द्रतिर प्रत्येक दिन पाँच छ सयको हाराहारीमा नेपाली युवा जान्थे । ती सबै गतिविधि युद्ध पूर्वका चरणअन्तर्गत पर्छन् ।

युद्धकालको चरण भन्नाले युद्धभूमिमा गएर बन्दुक, गोलाबारुदसँग खेल्दै शत्रुमाथि आक्रमण, आफ्नो ज्यान, सहयोद्धा र भूमिको रक्षा गर्दै विजयतिर उन्मुख हुनेलाई बुझिन्छ । निबन्धमा लडाइँको मैदानबाट युद्धरत अवस्थाको उल्लेख नगरिए तापनि एउटा पृष्ठमा ‘आज भोलि यस महायुद्धमा खेर गएका लाटा लुरेलाङ्ग्रे पनि जमदार सुब्दार भएका छन् ।’ भन्ने वाक्यले दोस्रो विश्वयुद्ध चलिरहेको अवस्थालाई इङ्गित गर्छ ।

युद्धपश्चात्को चरण भन्नाले युद्धको मैदानबाट फिर्ता, सन्धि, युद्धमा मानसिक, शारीरिक, भौतिक रूपमा क्षतविक्षत भएका मनमस्तिष्क र संरचनाका समीक्षा, पुनर्निर्माण, सम्मान इत्यादिलाई बुझ्नुपर्छ । निबन्धमा छुट्टी मान्न र पेन्सन पकाएर नौतुना हुँदै गाउँघर फर्कंदै गरेका सैनिकहरूको चित्रण गरिएको छ । ती छुट्टी जानेहरू सायद आफ्नो लडाइँको अवधि सिद्ध्याएर घर फर्किंदै थिए । कति युद्ध मैदानबाटै आफ्नो पेन्सन पकाएर घर फर्कंदै थिए होलान् । त्यस्ता गोर्खाली दाजुभाइहरू गोर्खा ह्याट ढल्काउँदै खुकुरी कम्मरमा भिर्दै भट्टीभित्र पसेर मदहोस भएका, तरुनीका काखैभरि पसारिएका दृश्यलाई निबन्धकारले संवेदनात्मक भावमा अभिव्यक्त गरेका छन् । कतिलाई घायल र अपाङ्ग अवस्थामा फर्काइँदै थियो होला । यद्यपि यस्तो दृश्यको निबन्धमा वर्णन गरिएको त छैन तर महायुद्धको उत्तरार्धबाट गुज्रिरहेको अवस्थामा त्यस्तो घटनाको सहजै कल्पना गर्न सकिन्छ ।

यसर्थ यो निबन्ध एक लाहुरे स्रष्टाद्वारा लाहुरे र लाहुरे समुदायका बारेमा लेखिएको र यसका वास्तविक पात्र प्रायः सबै लाहुरे नै भएकाले यसलाई युद्ध साहित्य मान्न सकिन्छ ।

जीवनको पूर्वार्धमा भजनहरू लेखेर लेखनमा प्रवेश गरेका, जीवनको उत्तरार्धतिर मित्रको डायरीजस्ता निबन्धहरू लेखेको पाइन्छ । तिनीहरू रोचक र व्यङ्ग्यात्मक त छँदै छन् साथै तिनले धार्मिक उपदेश, नैतिक शिक्षा, मार्गदर्शन र चरित्र निर्माणका सन्देश पनि प्रदान गर्छन् ।

 

३.२ कथा

मित्रसेनले धर्मछोरा, प्रेम भगवान्, तीन साधु, तीर्थ यात्रा र तीन कुरा शीर्षकका कथा लेखेका थिए । केही कथालाई नेपाली भाषामा अनुवाद पनि गरेका थिए । यसले के बुझ्न सकिन्छ भने उनले भारतीय र पश्चिमी साहित्यकारका पुस्तक पनि अध्ययन गर्थे । अनि, नेपालीमा अनुवाद गरेर विदेशी साहित्यलाई भित्र्याउने प्रयास गरेका थिए । त्यसैगरी बुद्ध धर्मको उपदेशपूर्ण ग्रन्थलाई ‘बुद्धवाणी’ शीर्षक दिएर नेपालीमा अनुवाद गरेका थिए । यसर्थ उनका कथामा युद्ध मात्र नभई धार्मिक तथा नैतिकजस्ता विषयलाई पनि समावेश गरेको पाइन्छ ।

 

३.३ नाटक

नाट्य विधामा पनि मित्रसेनले सशक्त तरिकाले कलम चलाएको पाइन्छ । बालभक्त ध्रुव, द्रौपदी चीरहरण, श्री स्वस्थानी व्रतकथा, कृष्ण सुदामा, सत्यवान् सावित्री र कृष्ण जन्म इत्यादि उनले लेखेका नाटकहरू हुन् । पहिलो पाँच नाटकलाई ग्रामोफोन डिस्क रेकर्ड गराएका थिए । यसरी उनी नेपाली भाषामा रेडियो नाटक निर्माण गर्ने प्रथम नाटककार हुन् । पाण्डुलिपिका रूपमा रहेको नाटक ‘कृष्ण जन्म’लाई सन् १९९६ मा मित्रसेन साहित्य सङ्गीत सभाले प्रकाशन गरिदिएको छ । यीबाहेक उनले हिन्दी, उर्दू मिश्रित भाषामा पनि नाटक लेखेर मञ्चन गर्दै हिँडेका थिए । तिनीहरू हुन्– विल्वामङ्गल, नूरकी पुतली, युद्धकी बेटी, बादशाह टावर, दर्दे जिगर, महशहूरकी हूर र परिवर्तन ।

आफूले लेखेका नाटकलाई आफ्नै निर्देशन र सङ्गीतमा आफैँले अभिनय गरेर मञ्चन पनि गर्ने गर्थे । सन् १९३५ मा नेपाली सेनाका अफिसर भूपेन्द्रविक्रमा राणाको अनुरोधमा पाल्पा पुगेका थिए । त्यहाँ शुद्ध नेपाली बोल्ने कलाकारको खोजी गरी ग्रामोफोनमा गीत रेकर्ड गर्न इन्डिया गएका थिए । तर, नेपाल सरकारको अनुमति चाहिने हुँदा पहिला प्रधानमन्त्री जुद्धशम्शेरलाई भेट्न काठमाडौँ गए । यसरी उनी नाटककार मात्रै नभई नाट्यकलाकार पनि थिए भन्ने साबित हुन्छ । यिनका अधिकांश नाटक गीता महाभारतजस्ता पौराणिक कथामा आधारित हुन्थे । नाटकमा व्यङ्ग्य मिश्रित संवाद प्रयोग गरेर पाठक तथा दर्शकमा हास्य र उपहासको वातावरण सिर्जना गरिदिने उनमा खुबी थियो ।

 

३.४ काव्य

मित्रसेनले गीतबाहेक दर्जनौँ काव्य रचना गरेका छन् । आफू जिउँदो छँदै सम्पादन गरी प्रकाशन गरेको काव्य कृति ‘बरालको आँसु– भाग १’ र ‘मनको विरह’ हुन् । बरालको आँसु भाग्सु धर्मशालाको इम्पोरियल प्रिन्टिङ प्रेसले छापेर ११ अक्टोबर १९३४ मा प्रकाशन गरेको थियो । बरालको आँसुमा मूलतः सुबेदार बहादुरसिंह बरालका भजन र गीतहरू छन् । तथापि, मित्रसेन स्वयम् र गङ्गावती, पवित्रादेवी, दिलीप, दुर्गा मल्ल, मैतराम, जगत् कारन्जित, मनवीर, पृथ्वीध्वजका रचना पनि समावेश गरिएका छन् ।

त्रिलोकसिंह थापाका अनुसार– मास्टर मित्रसेन साहित्य सङ्गीत सभाले मित्रसेनका केही रचनालाई पुस्तिकाको रूपमा प्रकाशन गरिदिएको छ । ती हुन्– मित्रसेनको डायरी र केही कविताहरू (सन् १९८९), मित्रसेनको डायरी (सन् १९९४), बुद्धवाणी (सन् १९९६), कृष्णजन्म (सन् १९९७) ।

उनले हिन्दू धर्मशास्त्र, बौद्ध धर्मदर्शन आदि अध्ययन गरेर तिनमा आधारित खण्डकाव्य पनि लेखेका थिए । नेपाली सरल र सहज भाषामा गीताका अध्याय, रामायणका खण्ड, तथा महाभारतका पर्वको भावानुवाद गरेर आफ्नो साहित्यिक प्रतिभा र दक्षताको परिचय दिन सक्षम भएको देखिन्छ । आदिपर्व, गीता ज्ञान, उद्योगपर्व, भक्त प्रह्लाद, भीष्मपर्व, विराट पर्व, वीर अभिमन्यु, चन्द्रहास, सत्यनारायण व्रतकथा, सभापर्व, एकादशी व्रतकथा, परशुराम लक्ष्मण संवाद उनले रचेका खण्डकाव्य हुन् । उनका काव्य, नाटक र भजनमा महाभारत तथा गीताका शब्दहरू बिम्बका रूपमा पाइने गर्छन् ।

यसरी उनका साहित्यिक रचनाहरू केही मात्रै प्रकाशित भएका छन् भने अधिकांश उनकै घरको सङ्ग्रहालयमा थन्केर बसेका छन् । मित्रसेन एक विलक्षण प्रतिभा भएका साङ्गीतिक तथा साहित्यिक व्यक्तित्व भएको पाएर होला, उनका गीतसङ्गीत पक्षमा विद्यावारिधि गरेका डा. खगेन शर्माले मित्रसेनलाई ‘नेपाली सङ्गीतका भानुभक्त’ भनेका छन् ।

० ० ० ०

४. साङ्गीतिक योगदान

मित्रसेनको बलियो चिनारी मूलतः उनको साङ्गीतिक पक्ष नै हो । उनले दर्जनौं गीत, भजन र नाटक लेखेका छन् । उनका गीतहरू समाज र राष्ट्रप्रेम भावनाले ओतप्रोत भएको पाइन्छ । उनलाई धर्मकर्ममा पनि अचाक्ली रुचि थियो । उनका भजनमा गीता, कृष्ण र गोरख बाबाको महिमाको वर्णन पाइन्छ ।

आफूले रचेका गीतलाई स्वयम्ले गाएका पनि छन्, नाटकलाई निर्देशन गर्दै आफू स्वयम् कलाकारको भूमिका निर्वाह गरेर मञ्चन पनि गरेका छन् । हार्मोनी, तबला, मादल बजाउँथे । ती गीतहरूमा आफू स्वयम्ले सङ्गीत भर्थे । यसर्थ उनी प्रख्यात सङ्गीतकार पनि हुन् ।

उनका बहुचर्चित गीतहरूमध्ये ‘लाहुरेको रेलीमाई फेसनै राम्रो, चुईं चुईं चुइँकने जुत्ता, मलाई खुत्रुक्कै पार्‍यो जेठान तिम्रो बैनीले, अब त जाऊ कान्छी घर, धानको बाला झुल्यो हजुर देशै रमाइलो, भन गोर्खाली दाजुभाइ, छत्रे टोपी ढल्काई खुकुरी चम्काई इत्यादि हुन् । आफ्नो जीवनकालभर उनले ९७ वटा गीत लेखेका थिए । यसरी उनी एक गीतकार, सङ्गीतकार, गायक तथा कलाकार थिए । गीतहरू गाएनन् मात्रै, ३२ वटा गीतमा आफ्नै सङ्गीत र स्वर भरेर ग्रामोफोन डिस्क रेकर्ड पनि गराए । जनवरी १९४५ मा अल इन्डिया रेडियो दिल्लीमा गीत, भजन, नाटक रेकर्डिङका लागि गएको पाइन्छ । नेपाली गीतलाई पहिलोपल्ट रेकर्ड गराउने श्रेय उनैलाई जान्छ । उनका गीत त्यतिबेला अल इन्डिया रेडियोबाट बज्थे ।

सङ्गीत अध्येता प्रकाश सायमीका अनुसार– ‘मित्रसेनले आफ्नो गायनमा युद्ध, नेपालीको पछौटेपन, तत्कालीन समयको चारित्रिक चित्रणलगायत काव्य बोलीलाई प्रधानता दिएका छन् तर उनको गायकीबाट बाहिर हेर्ने हो भने रचनागत स्वभावमा व्यङ्ग्य र परिहासको पुट पनि प्रशस्त पाइन्छ । उनले रचना गरेका चालीसभन्दा बढी गीतमा महिलाको जीवनदशा, पुरुषको वेवारिसेपन, (मलाई खुत्रुक्कै पार्‍यो जेठान) स्थानगत परिचय (तानसेनको शितलपाटी, एउटा घर त सिम्ले), यात्रिक मनोवृत्ति, (अब त जाऊँ कान्छी घर, रेलिमै भर्खर जाँदो बैँस), धर्मान्धतामा पाखुरीबल, (गाई खाने पोडे भए भन्दै हिँड्छन् दुनियाँ ढाँटी), जाति जागरणका गीत, भावशालीनतका उद्बोधक, सामाजिक सुधारका सचेतनाको पूँजी प्रशस्त पाइन्छ तर ती समूल रचनाको भूगोलमा उनको सबभन्दा ठूलो भावभूमि हो, संस्कृति र संस्कृतिले बनाएको नेपालीपन । उनले नेपाल संस्कृतिलाई गीति गायनका कारण बचाएका छन् । त्यो नै उनको ठोस शक्ति हो ।’

उनको त्यो उच्चस्तरको साङ्गीतिक योगदानको कदर गर्दै कालान्तरमा उनलाई मास्टर, किङ अफ झ्याउरे, र वाग्गेयकार गरी तीन विशेष उपाधि दिइएको छ ।

 

४.१ मास्टर

मित्रसेनले सन् १९२६ मा हिमालयन थियट्रिकल कम्पनी स्थापना गरे । अनि, यसै संस्थाका नाट्यदललाई लिएर अमृसहर, जलान्धर र लाहोर सतसंग तथा नाटक प्रदर्शन गर्न पुगेको देखिन्छ । त्यतिबेला लाहोर सङ्गीत र कलाको केन्द्रबिन्दु थियो । आफ्नो प्रस्तुतिको क्रममा त्यहाँका शास्त्रीय सङ्गीत तथा कलाका ज्ञाताहरूसँग सम्बन्ध विस्तार भएको हुनसक्छ । लाहोरमा छँदा उनको सनातन धर्मावलम्बीका प्रतिनिधिहरूसँग भेटवार्ता भएको थियो । पछि पञ्जाब आर्य धर्म प्रचारिणी सभामा आबद्ध भएर हिन्दू धर्म प्रचारप्रसारमा पनि खटिएका थिए ।

मित्रको त्यो बसाइँमा गीतसङ्गीत र कला झनै निखारिएर आयो । उनी तबला र हार्मोनियम बजाउन पोख्त भए । धारावाहिक रूपमा रामायण, गीता र महाभारतका श्लोक कर्णप्रिय स्वरमा गाएर प्रवचन दिने क्षमताको वृद्धि भयो । उनको यस्तो उत्कृष्ट प्रस्तुतिबाट प्रभावित भएर त्यो क्षेत्रका दर्शक, श्रोता, भक्तजन तथा सङ्गीतका ओस्तादले उनलाई सन् १९२८ तिर ‘मास्टर’ नामले बोलाउन सुरु गरेको देखिन्छ ।

पञ्जाब आर्य धर्म प्रचारिणी सभामा बसेर काम गर्दा अन्य नेपाली पनि आएर ज्ञानवर्धक कुरा सिकुन् भन्ने उनलाई लागेको हुँदो हो तर कोही नेपाली आएनन् । यस्ता सत्कार्यमा आफ्नो समुदायको संलग्नता नपाउँदा उनी दुखी बन्छन् । अनि, आफ्नो त्यो ज्ञान र कलालाई नेपाली समुदायमै बाँड्न आवश्यक ठान्छन् । त्यसपछि पञ्जाब आर्य धर्म प्रचारिणी सभाबाट राजीनामा दिएर सतसंग, नाट्य र साङ्गीतिक यात्रा भाग्सु धर्मशालाका नेपाली बस्तीतिर विस्तार गर्छन् । उनको अब्बल प्रस्तुतिबाट प्रभावित भएर यताका नेपालीले पनि उनलाई ‘मास्टर’ भनेर सम्बोधन गर्न थाल्छन् । यसर्थ मित्रसेनलाई ‘मास्टर’ उपाधि उनका प्रशंसकद्वारा दिइएको हो, लोकले अर्पण गरेको श्रीपेच हो, न कि त्यो सरकार वा संस्थाले पहिर्‍याइदिएको पगरी थियो । जनताले चढाएको उपहार जहिले पनि अंमर रहन्छ । त्यसैले मास्टर मित्रसेन आज जन्मेको १२९ वर्षपश्चात् पनि सबैको हृदयमा बसेका छन् ।

 

४.२ किङ अफ झ्याउरे

मित्रसेनका प्रायः गीतहरू लोकभाकामा तरङ्गित छन् । उनले तिनमा सङ्गीत पनि पृथक् तरिकाले भरेका छन् । लोकभाकाभित्र पनि सालैजो, यानिमया, कौडा, हाक्पारे, देउडा इत्यादि भाकाहरू पर्छन् । त्यसैमध्येको एक झ्याउरे भाका पनि हो । उनका गीतमा रेलिमाई, लैनीमाया, जुलपी लर्काई लर्काई जस्ता झर्रा शब्दहरूको अधिकतम प्रयोग गरेको पाइन्छ । मगर समुदायमा रातभर तरुनी तन्नेरीबीच धुलो उडाउँदै नाच्दै गाउँदै गरिने लोक गीतलाई ‘झाम्रे’ भनिन्छ । मगर भाषामा ‘झा’ भनेको माटो अथवा भुँइ र ‘रे’ को अर्थ गीत हुन्छ । यसै झाम्रे शब्दबाट झ्याउरे भएको हुनसक्छ । यसरी झ्याउरे लयको प्रणेताको श्रेय मित्रसेनलाई जान्छ र उनलाई ‘किङ अफ झ्याउरे’ उपनामले पनि चिनिन्छ ।

आफ्नो त्यो झ्याउरे पहिचानको गीतसङ्गीतलाई प्रवर्धन गर्न मित्रसेनले भारत र नेपालका विभिन्न स्थानमा भ्रमण गरेका थिए । जतिबेला उनी झ्याउरे भाकामा गीत गाउँदै हिँड्थे, काठमाडौँको राजा र राणाको राजदरबार, ब्रिटिस लिजन र उच्च घरानामा नेपाली गीत गाइने प्रचलन थिएन । प्राय हिन्दी, उर्दू र अङ्ग्रेजी गीतसङ्गीत सुन्ने चलन थियो । नेपाली मौलिक लोक सङ्गीतलाई त्यतिखेर ‘गाइने गीत’ भनेर घृणा गरिन्थ्यो ।

सन् १९३७ मा श्री ५ महेन्द्रको जन्मोत्सवमा सांस्कृतिक टोली लिएर काठमाडौं आउँदा उनीबाट हिन्दी तथा उर्दू गीत गाइयोस् भन्ने आशा राखिएको रहेछ । तर, उनले झ्याउरे गीत गाएर नेपाली लोकभाकाको स्वाद पस्केका थिए । प्रधानमन्त्री जुद्धशम्शेर राणा यसबाट प्रभावित भएर उनलाई इनाम पनि प्रदान गरेका थिए । मित्रको यस साङ्गीतिक भ्रमणपश्चात् रत्नदाश प्रकाशजस्ता काठमाडौँवासी गायक-गायिकाहरू झ्याउरे गीत गाउन प्रोत्साहित बनेको देखिन्छ । नेपालमा झ्याउरेजस्ता लोकभाकालाई दरबारदेखि झुपडीसम्म लोकप्रिय बनाउने श्रेय मास्टर मित्रसेनलाई जान्छ ।

मित्रसेनले शिलाङमा झ्याउरे लोक सङ्गीत प्रस्तुत गर्दाको एउटा रोचक प्रसङ्ग छ । एकजनाले आफ्नो घरमा सत्यनारायणको पूजा लगाए । पूजामा मित्रसेनलाई गीत तथा भजन गाउन बोलाइयो । मित्रसेन आउँछन् भन्ने हल्ला भएपछि निम्ता नपाएका गाउँका मान्छेको पनि धुइरो लाग्यो । घरभित्रको एउटा कोठामा मणिपुरी युवतीको हिन्दी गीतमा नृत्य सुरु भएछ । सबैले मित्रसेनको नेपाली गीत सुन्न छोडेर युवतीको नृत्य हेर्न गएछन् । उनको पालो हिन्दी र उर्दूमिश्रित गीतहरू यसरी गाएछन् कि सबै फेरि मित्रको वरिपरि थुप्रिएछन् । ती शिलाङे नेपालीको नेपाली गीतप्रतिको अरुचिको कारण रिसले चुर पर्दै गायन कार्यलाई बीचमै स्थगित गरेछन् । आफ्नो हार्मोनियम च्यापेर घरबाट बाहिरिँदै गर्दा, ‘म नेपाली गीत गाएर नेपाली भाषा संरक्षणमा लागेको मान्छे हुँ, हिन्दी उर्दूमा गीत गाउन सक्छु तर म गाउँदिनँ ।’ भनेछन् । केही आलोचकले मित्रसेनका गीत गाइनेपाराका हुन्छन् भनेर उनलाई ‘थेत्तरसेन’ पनि भन्ने गर्थे ।

 

४.३ वाग्गेयकार

वाग्गेयकार मित्रसेनलाई दिइएको तेस्रो र कान्छो टाइटल हो ।

प्रकाश सायमीका अनुसार– वाग्गेयकारको अर्थ हुन्छ, प्राचीनकालमा जो व्यक्ति पद रचना औ स्वर रचना दुवैमा प्रवीण हुन्छ, उसलाई वाग्गेयकार भनिन्थ्यो । वाक् अर्थात् पद्य अनि गेय अर्थात् सङ्गीत दुवैको ज्ञातालाई भनिन्थ्यो, जसमा स्वतन्त्र तथा शीघ्र रचना गर्न सक्ने शक्ति, एकाग्र चित्त, तीनै सप्तकमा गमक गाउने शक्ति, रागत द्वेशको अभाव, अलौकिक बुद्धि, वाक चातुर्य, गायन, वादन अनि नृत्यमा कुशलता अरूको मनको भाव जान्ने शक्ति आदि गुण हुन आवश्यक हुन्छ । गीत लेख्न सक्ने उत्तम दर्जाको रचनाकार, जसलाई गीतकार भनिन्छ अनि ऊ गाउन पनि सक्ने भयो भने गेयकार पनि भयो ।

वाक् र गेय दुवैसित कुशल सम्बन्ध भएको साधकलाई वाग्गेयर भनिन्छ, यो उपाधि पाउने नेपाली कलाकार हुन् मित्रसेन । उनको गीतको बलियो पक्ष नै सांस्कृतिक धार भएको हुनाले उनी नेपाली र गैर नेपालीका माझ छिटै स्थापित भए । उनले पूर्वोत्तर भारतमा र नेपालका सबै भूभागमा प्रभाव पारे । उनको गायनमार्फत् नेपाली सङ्गीतलाई व्यावसायिक गर्न त्यो समय भारतीय सञ्चार माध्यमले तत्कालै अल इन्डिया रेडियोबाट गोर्खे गीत प्रसारण सुरु भयो । त्यसपछि भारतमा रहेका व्यावसायिक रेकर्डिङ कम्पनीले विस्तारै नेपाली गीतसङ्गीतमा रुचि लिन थालेको इतिहास देखिन्छ । मित्रसेनको आगमनपूर्व भारतीय नेपालीमा नेपालीभाषाको गीतको प्रभाव थिएन वा अझै भनौँ नेपाली भाषाको माया भए पनि उनीभन्दा पहिले कसैले नेपाली गीत गाउने आँट गरेका थिएनन् । यस हिसाबले उनलाई भारतीय नेपालीमध्ये प्रथम गायक मान्न सकिन्छ ।

सन् २०२० मा प्रकाश सायमीद्वारा पहिलो नेपाली वाग्गेयकारः मित्रसेन शीर्षकमा लेखिएको एक लेखमा भनिएको छ– ‘नेपाल र नेपालीका प्रिय गायक मित्रसेन थापामगरले गीतमा आधुनिक चेतना र रोमान्सेली पक्षलाई प्रधानता दिएको पाइन्छ । कहिले गायन, केही रङ्गकर्ममा जोड्दै उनले आफूलाई समर्पित गरे । उनलाई गायकीका कारणले मात्र होइन, उनको समाजप्रतिको चेतनासम्मत विचारका कारण नेपालीभाषीले उनलाई एक युगान्तकारी गायक, वाणीसेवकका रूपमा सम्झेको पाइन्छ ।

४.४ लाहुरेको रेलिमाई

नारायणगोपालले स्वर भरेको ‘आँखा छोपी नरोऊ भनी भन्नुपर्‍या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्‍या छ…’ र अरूण थापाको ‘ऋतुहरूमा तिमी हरियाली वसन्त हौ, नदीहरूमा तिमी पवित्र गङ्गा हौ…’ कालजयी गीत हुन् । त्यसैगरी मित्रसेनको ‘लाहुरेको रेलिमाई फेसनै राम्रो, रातो रुमाल रेलिमाई खुकुरी भिरेको…’ गीत पनि एक कालजयी गीत हो । यही गीतले नै मित्रसेन अमर रहेका छन् भन्दा कुनै अत्युक्ति नहोला । यस गीतको विशेषताको कुरा गर्दा यसका रचयिता, सङ्गीतकार र गायक स्वयम मित्रसेन हुन् ।

सन् १९२० मा उनले सेनाबाट अवकाश लिन्छन् । पाँच वर्ष लामो प्रथम विश्वयुद्धमा लडेर आएपछि युद्धले विक्षिप्त मानसिकताबाट छुटकारा पाउन उनलाई दुई, तीन वर्ष लाग्छ । यसै अवधिमा श्रीमती र छोराछोरी महामारीका कारण गुमाउनुपर्छ । यो कष्टपूर्ण जीवनबाट मुक्त भएर सन् १९२६ देखि मात्रै मित्रसेन सैनिक क्याम्प र नेपाली बस्तीहरूमा गएर आफ्ना साङ्गीतिक प्रस्तुति आरम्भ गरेको इतिहासले बताउँछ । यसैबेला ‘लाहुरेको रेलिमाई फेसनै राम्रो…’ गीतको गायन सुरु गरेको अनुमान गर्न सकिन्छ ।

लाहुरेको रेलिमाई जसरी सर्वसाधारणबीच प्रिय छ, त्योभन्दा बढी प्रिय भारत, बेलायतका गोर्खा पल्टन र नेपाली सेनाका ब्यारेकभित्र छ । यस गीतको लयमा व्यान्ड बाजा बजाइन्छ र लाहुरे परेड खेल्छन् । पल्टनघरभित्र लाहुरे यस गीतमा धुलो उड्ने गरेर कम्मर भाँच्दै खुकुरी चम्काउँदै नाच्छन् । युद्ध अभ्यास र युद्धका मैदानमा पनि सैनिकको मुखबाट यो गीत गुञ्जिन्छ । यो गीत गाउँका पाखापखेरामा मात्रै होइन रेस्टुरेन्ट, बार, होटेल, र पर्वमा बजाइन्छ । नेपाल, भारत र बेलायतका रेडियो एफएम्बाट पनि घन्काइन्छ । देश विदेशका कलाकारले सम्भवतः सर्वाधिक मात्रामा रिमिक्स गरेर गाएको गीत पनि यही हुनसक्छ ।

हालै आएर यस गीतले नेपाली साहित्यमा आख्यानको ढोका खोलिदिएको छ । विजय हितानले ‘लाहुरेको रेलिमाई’ शीर्षक दिएर मित्रसेनको जीवनीमा आधारित एक उपन्यास लेखेका छन् । यसले वि. सं. २०७९ को ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ पनि प्राप्त गरेको छ । यही उपन्यासलाई आधार मानेर भविष्यमा चलचित्र निर्माण हुने पनि सम्भावना देखिन्छ ।

० ० ० ०

५. सामाजिक योगदान

मास्टर मित्रसेनलाई तत्कालीन भारतीय गोर्खाली समुदायको सामाजिक एवम् सांस्कृतिक मूल्य, मान्यता तथा नैतिक उत्तरदायित्व विघटनको सँघारमा पुगेको दृष्टिगत भएको थियो । गोर्खाली जातीय पहिचान र स्वरूपमा विसङ्गतिका झिल्का देखा पर्न सुरु भैसकेको उनले अनुभूत गरेको हुनपर्छ । अतः समाजलाई पुनर्सङ्गठित, एकबद्ध, जागरुक, सामाजिक विसङ्गतिलाई निर्मूल पार्न जीवनको अन्तिम समयसम्म उनी समर्पित भएर लागेको देखिन्छ ।

समाज सुधारलाई सङ्गठनात्मक स्वरूप प्रदान गर्न सके प्रभावकारी हुन्छ । यसै कुरालाई मनन गर्दै उनले सन् १९१६ मा स्थापित हिमाञ्चल तथा पञ्जाब गोर्खा एशोसियसनको आजीवन सदस्यता लिएका थिए । सन् १९३८ मा स्थापित गोर्खाली सुधार सभा देहरादूनको उनी संस्थापक सदस्य हुन् । सन् १९४४ मा गोर्खा सतसंग प्रचारणी सभाको स्थापना गरेर भारतीय गोर्खाली बस्तीबस्ती पुगेर सतसंग प्रचारप्रसारमा लागे । पल्टनभित्र हिन्दी, उर्दू र अङ्ग्रेजी बोल्नुपर्दा र बाहिरको परिवेश हिन्दुस्तानी भएकाले सेवारत र निवृत्त लाहुरे साथै तिनका परिवारजनले नेपाली भाषा बोल्ने चलन खस्किँदो थियो । यस्तो अवस्थामा मित्रसेनले नाटक र गीतसङ्गीतमार्फत जनचेतना फैलाउनुको साथै नेपाली भाषाको प्रवर्धन गर्ने कार्य गरेको सर्वविदितै छ ।

मित्रसेन तत्कालीन गोर्खाली सेना र आबद्ध परिवार अनि समाजको कल्याणमा लागेका व्यक्ति हुन् । उनी गोर्खाली समाजमा देखिएका जुवाडे प्रवृत्ति, मद्यपान, वेश्यावृत्ति र लोपोन्मुख नेपाली भाषाजस्ता विषयमा जनजागरण फैलाउने कार्यमा समर्पित थिए । उनी दौरासुरुवाल र बिर्खे टोपी पहिरिएर नेपाली भेषभूषाको संरक्षण गर्नुपर्छ भन्ने उदाहरण प्रस्तुत गर्थे । भारतमा जन्मेर बसे पनि उनले नेपालको खुबै माया गर्थे ।

० ० ० ०

६. उपसंहार

नेपाली साहित्य र सङ्गीत जगत्मा मित्रसेन बहुप्रतिभाका धनी, मास्टर, किङ अफ झ्याउरे, नेपाली सङ्गीतका भानुभक्त, वाग्गेयकारजस्ता उपनामले परिचित छन् । उनका सबै योगदान तत्कालीन नेपाली गोर्खाली समुदायमा केन्द्रित थिए । उनका साहित्यिक कृति पढ्दा र साङ्गीतिक कोशेली श्रवण गर्दा तत्कालीन समाजको बनोट कस्तो थियो, के कस्ता विकृति व्याप्त थिए र तिनबाट माथि उठ्न एक व्यक्ति, परिवार, समाज र राज्यले के भूमिका निर्वाह गर्नुपर्छ भन्ने कुराको सन्देश पाइन्छ । आफ्नो मौलिक भाषा, संस्कृति लोप हुँदै गरेको, मद्यपान, छलकपट, जुवातास, यौनक्रिडा, चेलीबेटी बेचबिखनजस्ता गतिविधितिर समाज धकेलिँदै गरेको समाजको चित्र उनका गीतसङ्गीत र साहित्यबाट प्रस्ट हुन्छ । त्यस्तो समाजलाई धार्मिक प्रवचनका साथै उपदेशमूलक साङ्गीतिक मनोरञ्जन दिलाएर परिवर्तनतिर उन्मुख पार्न मित्रसेन लागिपरेको देखिन्छ ।

भाषागत संरचना र शब्द संयोजनका हिसाबले नेपाली मूलधारको साहित्यभन्दा उनका सिर्जना पृथक् रहेको पनि मनन गर्न जरुरी छ । झ्याउरेभावमा लेखिएका उनका सिर्जनामा शाब्दिक विविधता निक्कै पाइन्छ । यति मात्रै नभई उनका सिर्जनाले युद्ध साहित्यलाई प्रोत्साहन गरेको पाइन्छ ।

नेपाल–भारत साहित्यिक तथा सांस्कृतिक सम्बन्धको सेतुको रूपमा आफूलाई प्रस्तुत गरेका मास्टर मित्रसेनका बारेमा धेरैथोरै जे काम भएका छन्, ती नगण्य छन् । मृत्युपश्चात् उनको सम्मानमा नेपाल र भारत सरकारले हुलाक टिकट छापिदिएको छ । नेपालमा उनको नामको प्रतिष्ठान स्थापना गरिएको छ । उनकै जन्मथलोमा स्कुल र सडकका नामाकरण उनको नाममा गरिएको छ । दुईजना विद्यार्थीले उनको सङ्गीत र गीतका पक्षमा विद्यावारिधि गरेका छन् । ठाउँठाउँमा उनका प्रतिमा खडा गरिँदै छन् । उनका केही अप्रकाशित भजन, गीत, नाटक, कथा, निबन्धका पुस्तकहरू प्रकाशित भइसकेका छन् । तथापि उनै धेरै हस्तलिखित पाण्डुलिपिहरू, जो अझै ८/१० वटा पुस्तक बन्न सक्छन्, उनकै घरमा अलपत्र अवस्थामा छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा मास्टर मित्रसेन स्मृति प्रतिष्ठानसँगको सहकार्यमा आयोजित मास्टर मित्रसेन थापाको १२९ औँ जन्मजयन्तीको अवसरमा प्रस्तुत यस कार्यपत्र पनि उनको जीवन र उनले दिएको योगदानको अध्ययनको सानो अंश मात्रै हो । यस कार्यपत्रभित्र अनेक सीमितता होलान् र यसलाई अझै परिमार्जित गरेर लैजान सकिने धेरै ठाउँ छन् ।

० ० ० ०

सन्दर्भसामग्री

थापा, मास्टर मित्रसेन (सन् १९९४), मित्रसेनको डायरी, मास्टर मित्रसेन साहित्यसङ्गीत सभा, भाग्सु धर्मशाला

मगर, प्रदीप थापा (सन् २०००), मित्रसेन र उनको देन, काठमाडौँ, जिल्ला मेमोरियल फाउन्डेसन

मगर, त्रिलोकसिंह थापा (सन् २०१३), मास्टर मित्रसेन एक परिचय, काठमाडौँ, मास्टर मित्रसेन स्मृति प्रतिष्ठान

मगर, त्रिलोकसिंह थापा र श्रीस, चन्द्रबहादुर (सन २०१३), मास्टर मित्रसेन र उनका सिर्जना, काठमाडौँ, मास्टर मित्रसेन स्मृति प्रतिष्ठान

सायमी, प्रकाश (सन २०२०), पहिलो नेपाली वाग्गेयकारः मित्रसेन, काठमाडौँ, अनलाइन साहित्यपोस्ट

शर्मा, खगेन (सन २००९), नेपाली सङ्गीतका भानुभक्त मास्टर मित्रसेन थापा, सिक्किम, निर्माण प्रकाशन

हितान, विजय (सन २०१८), बेल्पाली लाहुरे स्रष्टा र युद्ध साहित्य, सोधपत्र, लन्डन

हितान, विजय (सन २०२३), लाहुरेको रेलिमाई, काठमाडौं, साङ्ग्रिला बुक्स

 

(२९ डिसेम्वबर २०२३ (१३ पुस २०८०)नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा मास्टर मित्रसेन स्मृति प्रतिष्ठानसँगको सहकार्यमा आयोजित मास्टर मित्रसेन थापाको १२९ औँ जन्मजयन्तीमा प्रस्तुत कार्यपत्र ।)