पारिजात दिदी सम्झँदा मलाई अलिक अँध्यारो कोठा, एउटा सामान्य खाट, केही कुर्सी, भित्तामा सानो दराजमा केही पुस्तक, खाटको छेउमा एउटा टेबल र कुनामा एउटा दराजको याद आउँछ । र, कहिलेकाहीँ त्यही कोठामा चुरोटको धुवाँ, अनि लोकल रक्सी अनि किताब । लेनिनको तस्बिर भित्तामा । अनि ‘परिभाषित आँखाहरू’ उपन्यासको पाण्डुलिपि ।
पारिजात सायद मेरा लागि दिदीभन्दा अलिक माथि एउटा अभिभावक थिइन्, एउटा शुभचिन्तक, एउटा हितैषी अथवा भनौं गुरुआमा । रायन दाइ र शक्ति लम्साललाई समय–समयमा त्यही कोठामा भेटेको याद आउँछ । पारिजात दिदीको जीवनका धेरै पाटाबारे थुप्रै लेख आइसके । तर उहाँले १७ वर्षसम्म दार्जिलिङमा बिताएको जीवनबारे थोरैले मात्र लेखेका छन् ।
दिदी हुर्केको ठाउँ लिम्बु बस्ती जो प्रसिद्ध मालरोडबाट अलिक तल पर्छ । छेउको गाउँ भोटे बस्ती हो भने अलिक माथि हरमिटेज । निकै पर तिब्बती शरणार्थी शिविर । अनि दिदी पढेको स्कुल शारदेश्वरी घरकै नजिक । त्योभन्दा पहिले पढेको नेपाली गल्र्स हाइस्कुल र सन्त तेरिजा स्कुल चाहिँ अलिक टाढा सहरतिर । लिम्बु बस्ती सहरको नजिकै भए पनि गाउँ जस्तो छ । लिम्बु बस्तीबाट हिमालहरू छर्लङ्ग देखिन्छ । खुला फाँट भएकाले कुनै कुराले पनि छेक्दैन, मनोरम दृश्यहरू ।
त्यहाँबाट पारि देखिने ठाउँ चाहिँ सिक्किम । कुनै समय संसारको अग्लो ठाउँमा हुने घोडा रेसस्थल लेबुङ रेस कोर्स हेर्नलाई पनि केहीले नछेक्ने । तलतिर छोटा पताबुङ चियाबारी । त्यही चियाबारीको छेउको रानाघाटमा पौडी खेल्दा दिदीको दाजुको मृत्यु भएको थियो । त्यो घटनाले गर्दा सपरिवार काठमाडाैं हानिएर आएको थियो ।
दार्जिलिङमा हुँदा दिदीको धनुवर मुखियासँग प्रेम प्रसङ्ग चलेको कुरा निकै चर्चामा थियो । दिदीले मलाई समय–समयमा उहाँबारे सोधिरहनुहुन्थ्यो । अहिले दुवैजना यो संसारमा हुनुहुन्न । कथाकार धनवर मुखियाको बारेमा राजनारायण प्रधान दार्जिलिङको कथा र कथाकार नामक पुस्तकमा लेख्छन्,” धनुवर मुखिया (जन्म १९३५) एक पुराना र समर्थ कथाकार हुन् । उनले कतिपय मार्मिक प्रेम-कथाहरू लेखेका छन् ।“
मेरो चिनजान त त्यति पुरानो होइन दिदीसँग । करिब ३९ वर्षअघि ‘सिम्मा’ नाटकको प्रदर्शनीको सिलसिलामा दार्जिलिङ आउनुहुँदा भेटेको हुँ, पारिजात दिदीलाई एउटा कुनै होटेलमा । मलाई अहिले पनि अचम्म लाग्छ, एउटा १७ वर्षको अल्लारे ठिटोलाई लब्धप्रतिष्ठित लेखका पारिजात, कसरी राजी भए अन्तर्वार्ता दिन !
सायद यो उहाँको विनम्रता थियो, हार्दिकता थियो अथवा महानता । त्यो अन्तर्वार्ता नै मेरो प्रथम साहित्यिक यात्राको थालनी थियो । अपितु त्यो यात्रा लामो समयसम्म लम्बिन सकेन, विभिन्न कारणवश ।
सम्झना अझै पनि आलो छ । दिदीले हस्ताक्षर गरेर दिएको ‘शिरीषको फूल’को अंग्रेजी अनुवाद भएको पुस्तक पाउँदा खुसीको सीमा नै थिएन, नहुने पनि किन र ? मदन पुरस्कार पाएको पुस्तक । त्यो माथि पनि लेखिकाको हस्ताक्षर । त्यो पनि १७ वर्षको उमेरमा पाएको मैले । हुन त मेरो जीवनको पहिलो जागिर नै पारिजात दिदीको सिफारिसमा भएको हो । तर पनि जागिरले दिदीसँगको सामीप्य पक्कै ल्याएको होइन । मैले लेखेका पारिजात दिदीको प्रसङ्ग कुनै नौला होइनन् र हुन पनि सक्दैनन् तर कतिपय कुरा सायद समयसापेक्ष हुन्छ भनेर मैले लेख्न प्रयास गरेको हुँ ।
प्रायः हप्तामा एक दिन उहाँसँग गफ गर्न जाने बानी बसिसकेकाले थियो । पारिजात दिदीको घर वा स्कुल भनौँ मेरो निम्ति सधैं खुल्ला । यो हुनुको मुख्य कारण थियो— सुकन्या दिदीको छोरा मेरो होस्टलको छात्र थियो । निर्मल लामाको छोराको परिचय लुकाएर राख्नु पञ्चायतमा निकै जोखिमपूर्ण थियो । त्यसैले सुरक्षाको हिसाबले त्यो ठाउँ सही थियो । भूमिगत जीवनबाट बाहिर आएपछि निर्मल लामालाई दिदीको घरमा भेटेको थिएँ । त्यही सिलसिलामा पनि म दिदीको घरमा गइरहन्थेँ र दिदीसँग बसेर घण्टौँ साहित्यिक गफ गर्नु मेरो निम्ति दिनचर्या थियो ।
अरूले लेख्न आँट गर्न नसकेका कुरा कुनै डर र त्रासबिना लेख्न सक्नु दिदीको खुबी थियो । प्रसङ्ग एउटा त्यस्तै छ । लैनसिंह बाङ्देलले एउटा रसियाली कथालाई आधार बनाएर लेखेको ‘मुलुकबाहिर’ उपन्यासबारे लेख्न कसैले आँट गरेनन् । किनकि बाङ्देल त्यसबेला नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति थिए । त्यो रसियाली किताब मसँग भएकाले मैले धेरैलाई त्यस विषयमा लेख्न आग्रह गरेँ तर कोही मानेनन् । तर पारिजात दिदीले मेरो प्रसङ्ग जोड्दै त्यो चोरी साहित्यबारे लेखिन् एउटा पत्रिकामा । तर पछि त्यस विषयलाई अघि सारेर चर्चाको विषय बनाउन कसैले चाहेन ।
आफ्नो लेख्ने विषयवस्तुमा अध्ययन गरेर मात्र लेख्नुपर्छ भन्ने मान्यता थियो पारिजात दिदीको । ‘परिभाषित आँखाहरू’ लेख्दाको प्रसङ्ग म अहिले पनि सम्झिरहन्छु । यो उपन्यास लेख्न क्रममा दिदीले प्रायः जसो यसको विषयवस्तुमाथि चर्चा गर्नुहुन्थ्यो । धेरै गाह्रो प्रसङ्ग वा विषयवस्तु आएमा त्यस विषयका विज्ञहरूसँग सल्लाह लिने कुरा गर्नुहुन्थ्यो ।
पारिजात दिदीको हक्की स्वभावका कारणले धेरै मानिस दिदीसँग लेख माग्न वा अन्तर्वार्ता लिन आँट गरी हाल्दैन थिए । मिलनसार त थिइन् दिदी तर चाकडी र चाप्लुसीबाट धेरै टाढा । मलाई अझ पनि सम्झना छ, त्यो कोठा जहाँ दिदीसँग मैले धेरै क्षण बिताएँ साहित्यिक गफ गरेर ।
अनावश्यक मान्छे आएको मन नपराउने पारिजात दिदी सीमित मान्छेहरूसँग मात्र गफ गर्न मन पराउनुहुन्थ्यो । विश्व साहित्यको राम्रो अध्ययन गर्नुहुने दिदी उहाँकै सिफारिसमा मैले चिनियाँ लेखक लु सुनको कथा, फ्रान्सेली साहित्यकार जाँ पल सात्र्रको किताब पढ्ने अवसर पाएँ ।
रसियाली लेखकहरूको उपन्यास र कथा पढ्न रुचाउने पारिजात दिदी प्रगतिवादी साहित्यको उपदेशात्मक आख्यानभन्दा माथि उठेर वर्तमान समाजको चित्रण गरेको पाउँछौँ दिदीका कथाहरू र उपन्यासमा । पारिजात दिदीले नै सुझाव दिएको आधारमा मैले पिटर जे कार्थकको ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’ उपन्यास पढेँ ।
मैले एउटा अन्तर्वार्तामा दिदीलाई कुन–कुन विश्वस्तरीय साहित्यकारहरूसँग प्रभावित हुनुहुन्छ भनेर सोधेको थिएँ ।
दिदीले भन्नुभएको छ, ‘एउटा एउटा कृतिलाई लिएर म विश्वस्तरीय धेरै साहित्यकारहरूसँग प्रभावित छु । जस्तै : एमिली ब्रोन्दे, भिक्टर ह्युगो, मोराभिया, एमिल जोला, दोस्ताबस्की, गोर्की, ओब्रोब्स्की, थाङमी, लुसुन, आइन राइड, एलेक्स हेली, प्रेमचन्द, मुलुकराज आनन्द, विभूति भूषण बन्धोपाध्याय आदि । नेपाली साहित्यमा भने त्यस्तो लेखक उभ्याइसकेको छैन ।’
सोही अन्तर्वार्तामा पारिजात दिदीलाई ‘मुकुट’ पत्रिकामा प्रकाशित कविता ‘जीवन एक बेवारिस मृत्युको मुचुल्का’मा व्यक्त गरिएको एक हरफ ‘एउटा लाससम्म नअटाउने एक चोक्टा ढिस्कोका निम्ति मलाई मर्नु छैन माटोको निम्ति’बारे सोधेको थिएँ । उहाँले भन्नुभएको छ, ‘यो कविता मैले जीवनको अति विसंगत पक्ष भोगिरहेका बेला र विसंगत मनस्थितिको चपेटामा परेर लेखेकी हुँ । आफ्नो विगत भ्रमपूर्ण विचारहरूका निम्ति म तपाईंहरूसमक्ष आत्मालोचना गर्छु ।’
आफ्नो कविताप्रति यस्तो आत्मालोचना गर्ने सायद कमै कवि–लेखक होलान् नेपाली साहित्यमा । त्यो अन्तर्वार्ता दार्जिलिङबाट प्रकाशित ‘हिमालचुली’मा २०३९ मा छापिएको थियो । पारिजात दिदीकै अनुमतिबाट मैले २०४९ मा सम्पादन गरेको ‘आस्था’ साहित्यिक पत्रिकामा पुनः प्रकाशित गरेको थिएँ । त्यही पत्रिकामा पारिजात दिदीको एउटा मुक्तक छापिएको थियो । मुक्तक भए पनि त्यसभित्र देशमा विद्यमान स्थितिलाई राम्रो चित्रण गरिएको थियो :
वसन्त सधैँझैँ आएकै हो
समयमा रंगीचंगी फूलहरू फुलेकै छन्
हाँगाहरूमा मात्र फूल सजाउने हातहरू बाँधिएछन्
मात्र दृश्य हेर्ने आँखाहरू नजरबन्द भएछन् ।
गलैंचा बुनेकै छन्
झारपात र मसिना फूलहरूले चराहरू चिरबिराएकै छन्
बिहानीको संकेत दिएर केवल टेक्ने कोमल पाइलाहरू
पानी कोरली फुलिरहेछन् ।
२०४६ सालको आन्दोलनमा पारिजात दिदीले खेलेको भूमिका धेरैजसोको मनमा अझै पनि आलो नै छ । सांसारिक आवश्यकता हुँदाहुँदै पनि दिदीले देखाएको साहसको धेरैले कदर गरे तर सम्बन्धित निकायबाट दिदीप्रति कुनै सद्भावना कहिल्यै देखाइएन । दिदीले २०४६ सालमा भूमिगत रूपमा चलाएको पत्रिका ‘इन्द्रेणी’ साहित्यका केही अंक मसँग अहिले पनि सुरक्षित छन् । अग्रस्थानमा लेखिएको सम्पादकीय, कविता र लेखहरूले भरिएको उक्त पत्रिकाका अर्का सम्पादक थिए– हरिगोविन्द लुइँटेल । संयुक्त जनआन्दोलनको घोषणा र विरोधका तालिकाहरू छापिएको त्यो पत्रिका भूमिगत रूपमा मैले पनि धेरै प्रचारप्रसार गरेको थिएँ ।
पाककला र फूल रोप्नमा धेरै सौखिन पारिजात दिदी सिकार र कुस्ती खेललाई घृणा गर्नुहुन्थ्यो । मैले लिएको अन्तर्वार्तामा दिदीले आफ्नो लेखनसम्बन्धी एउटा रहस्यको गाँठो फुकाउनुभएको थियो । ‘शिरीषको फूल’ लेख्नुअघि पारिजात दिदीले चार वटा उपन्यास लेख्नुभएको थियो, जो क्रमशः ‘संघर्ष’, ‘मानव अन्तर्यामी’, ‘वरपीपल’ र ‘शारदा’ थिए । तर सन्तोष नलागेर सबै जलाइएका कुरा गर्नुहुन्थ्यो ।
साहित्यले राजनीतिको केही बोझ बोकिदिनुपर्छ भन्ने विचारकी पारिजात दिदी आफैंलाई राजनीतिक दस्ताबेज लेख्ने साहित्यकार होइन भन्नुहुन्थ्यो । कहिल्यै पनि पद र पैसाको निम्ति कसैको पछि नकुद्ने पारिजात दिदी नेपाली साहित्य जगत्मा एउटा उदाहरणीय व्यक्तित्व हुन्– एक युगद्रष्टा र सत्यस्रष्टा ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।