दोस्रो, यो कुरा ०३७ सालको अन्तिमतिरको कुरा हो । पहिलो, कवि राजेन्द्र शलभको स्मृति हो । शलभ आफूलाई पुराना कुरा सम्झिन अलि सकस हुने र सम्झिए पनि तोकेरै मिति बताउन नसक्ने हुनाले कुरा गर्न कठिन मान्दै थिए । यद्यपि उनले स्मृतिका पानाहरू पल्टाएर केही तिता मिठा घटना सम्झिए ।

राजेन्द्र शलभ

उनले ‘ल क्याम्पस’मा स्नातकको पढाइ भर्खरै सकेका थिए । आन्दोलन लगायतका विभिन्न कारणले उनको ५ वर्षे कोर्स ६ वर्षसम्म तन्किएको थियो । त्यतिबेला स्नातकको पढाइ ५ वर्ष हुने गर्थ्यो । उनी भन्छन् ‘एसएलसी पछि सिधै ५ वर्षे कोर्स गर्नु पर्ने हुन्थ्यो ।’ पढाइ सकिनासाथ आफूले अध्ययन गरेकै क्याम्पसमै पढाउनका लागि शिक्षकको माग भयो । उनलाई पनि आवेदन दिन मन लाग्यो । आवेदन दिएपछि अन्तर्वार्ता दिने दिन पनि आयो । अन्तर्वार्ता लिने आफ्नै शिक्षकहरू थिए ।

पढुन्जेल उनलाई शिक्षकहरूले पढाएको देख्दा आफूलाई पनि पढाऊँ-पढाऊँ झैँ लाग्थ्यो । उनले दिएको आवेदनलाई त्यसैको तिर्खा मान्न सकियो । अन्तर्वार्ता लिने क्रममा शिक्षकहरूलाई उनले ‘सर तपाईँ मलाई के सोध्नुहुन्छ ?’

‘तपाईँले ५/६ वर्ष पढाएर मलाई चिन्नुभएन भने अबको ५ मिनेट मसँग कुरा गरेर मलाई चिन्नुहुन्छ त ?’ भनी प्रश्न गरे । शिक्षकहरूले ‘उस्तै छस् है ? केही फरक छैन ?’ भन्दै उनको प्रतिउत्तर दिए । शिक्षकहरूसँगको यस्तै छोटो कुराकानीपछि उनी त्यहाँबाट बिदा भएर फर्किए ।

त्यसपछि उनको कदम आफ्नो घर झापा भद्रपुरतिर सोझियो । त्यो पञ्चायतकालीन समय थियो । उनको बुवाले राष्ट्रिय पञ्चायतको सदस्यका लागि उम्मेदवारी दिएका थिए । त्यही भएर बुवालाई चुनावमा सघाउनु पर्ने नै भयो । बुवाले उम्मेदवारी दिनुको कारण सामान्य थियो । कोही खराब व्यक्तिले पनि यसको लागि उम्मेदवारी दिएको थियो । गलत मान्छेलाई हराउनु नै बुवाको उद्देश्य थियो । सबै कुरा बुझेर पहिलो पटक मेनिफेस्टो बनाएर उनले तयारी सुरु गरे । लेख्ने काममा शलभ कुशल थिए नै छपाउनका लागि पनि घरमै छापाखाना उपलब्ध थियो । उनी रङ्गहरू बोकेर भित्तामा नाराहरू लेख्दै हिँड्न थाले । सोही समयमा क्याम्पसबाट नियुक्ति भएको खबर पनि आयो ।

उनको नियुक्ति पोखरा भएको थियो । उनलाई केही समयमै पढाउन जान अनुरोध गरियो । ‘बुवालाई चुनावमा सघाउने कि जागिर खान जाने ?’ भन्ने दोधारमा उनी परे । बुवाले आधा आफूलाई सघाउनु र आधा जागिर खान जानु भन्ने कुरा गरे । उनले कुरा बुझेनन् र पुनः सोधे । बुवाले बिरामी भएका कारण देखाउँदै ढिलो हाजिर हुन मिल्ने बताए । बुवाले केही समय आफूलाई सघाएर डाक्टरबाट आफू बिरामी भएको कागजात बनाई जागिरका लागि जानु भन्ने सल्लाह दिए । उनले पनि त्यस्तै गरे ।

उनले पोखराको पृथ्वीनारायण क्याम्पसमा करिब साढे दुई वर्ष जति पढाए । तत्कालीन समयमा साहित्यकार उषा शेरचन मानविकी संकायमा पढ्ने गरेको उनी स्मरण गर्छन् । उनले आफ्नो जागिरे यात्रा २७ वर्षकै उमेरमा सुरु गरेका थिए । पोखराको अढाई वर्षे बसाइपछि उनी काठमाडौं आए । यतिबेला उनी आफू पढेकै क्याम्पसमा पढाउन आएका थिए ।

काठमाडौंमा उनका धेरै साथीहरू बेरोजगारीको चपेटामा थिए । उनीहरूले ‘तेरो भाग्य राम्रो भएकाले भन्ने बित्तिकै जागिर पाइस् । हामीलाई धेरै गाह्रो छ’ भन्ने कुरा शलभसँग गरे । साथीहरूको कुरा सुनेर उनको मनमा चिसो पस्यो । ‘के यो जागिर मैले भाग्यले नै पाएको हो त ?’ भन्ने उनलाई लाग्न थाल्यो । त्यहाँ पढाउने क्रममै उनले ‘म अर्को जागिर खोज्छु’ भन्ने प्रण लिए । काम खोज्न कहाँ जाने होला भन्ने अन्यौलताका बिच उनी नाचघर गए ।

नाचघर गएर त्यहाँको व्यवस्थापन नियाले । तत्कालीन समयमा साहित्यकार गणेश रसिक नाचघरको जीएम थिए । शलभले व्यवस्थापनका र भाषाका त्रुटिहरू गणेश रसिक सामु औँल्याए । गणेशले ‘गर्न त गर्ने हो भाइ तर कसले गरिदिने ? यहाँ त्यो किसिमको मान्छे हुनुपर्‍यो नि’ भन्ने कुरा गरे । गणेश दाइको कुरा सुनेपछि उनले ‘म गर्छु’ भनी आफूलाई अघि बढाए । गणेश दाइले ‘साँच्चै आउने हो काम गर्न ?’ भन्दै उनको स्पष्ट जवाफ खोजे । उनले आफू तयार रहेको बताए । शलभ गणेशसँग साहित्यकारको रूपमा परिचित थिए । गणेश दाइले ‘एउटा निवेदन लेखेर दिनु म सञ्चालक समितिबाट पास गराउँछु’ भनी जागिर पक्कापक्की जस्तो गरे । त्यसपछि उनलाई ‘खोजे जागिर त पाउने रहेछ’ भन्ने लाग्यो ।

तर उनको चित्त अझै बुझेको थिएन । त्यसैले अर्को एक स्थानमा पनि प्रयास गर्ने निर्णय लिए । कवि हेम हमाल सीआरएस कम्पनीमा नेपालको प्रमुख व्यक्ति थिए । सीआरएस कन्ट्रासेप्टीभ वितरण गर्ने कम्पनी हो । उनी सोझै हेम हमाललाई भेट्न गए । त्यहाँ जाँदाजाँदै कम्पनीका पोस्टरमा उनका आँखा पुगे । जसमा भाषागत त्रुटिहरू थिए ।

कवि हेम हमाललाई भेटेर उनले ‘तपाईँ जस्तो कवि मान्छे बसेको ठाउँमा यस्तो भाषिक अशुद्धता हुनु भएन नि दाइ’ भन्ने कुरा शलभले गरे । हेमले पनि गणेश रसिक झैँ गर्ने मान्छे नभएको कुरा बताए । ‘एजेन्सीहरू पर्याप्त छैनन् । भाषाको ज्ञान छैन । अङ्ग्रेजी धेरैलाई थाह छ, नेपाली त्यति थाह छैन ।’ भन्ने कुरा हेमले शलभसँग जाहेर गरे । शलभले यहाँ पनि ‘दाइ म गर्छु’ भनी आफूलाई अघि बढाए । हेमले ‘तिमी क्याम्पस पढाउने मान्छे कामप्रति इमानदार हुन सक्दैनौँ’ भनेपछि । शलभले ‘होइन दाइ म क्याम्पसबाट अनुमति लिएर त्यसबाट बचेको समय यहाँ खर्चिन्छु’ भन्दै आफ्नो कुरा राखे । हेमले ‘सक्छौ त ?’ भनी अन्तिम प्रश्न गरे र शलभले भरपुर आत्मविश्वासका सक्ने स्पष्ट पारे ।

कुरा मिल्दै गयो र हेमले निवेदन लेखेर दिन आग्रह गरे । यसरी जागिर पक्कापक्की भएपछि उनी हिँडे र ती जागिर नपाएका साथीहरूसँग भेटे । उनले साथीहरूलाई आफूले दुई ठाउँमा जागिरको कुरा गरेर आएको बताए र ‘खोजे जागिर पाइँदो रहेछ । तिमीहरूले खोजेनौँ ।’ भन्दै उनीहरूलाई सम्झाए ।

यो प्रक्रियामा उनले आफूलाई पनि जाँच्ने मौका पाए । ‘कसैले चाहे काम पाइने रहेछ’ भन्ने उनलाई लाग्यो । उनलाई काम गर्न जानु थिएन र उहाँहरू(गणेश रसिक र हेम हमाल)सँगको सम्बन्ध पनि बिगार्नु थिएन । त्यसैले दुवै ठाउँमा गएर आफूलाई क्याम्पसले अनुमति नदिएकाले काम गर्न नमिल्ने बताए । उहाँहरूले पनि यसमा दुखेसो मनाउनु भएन । यद्यपि त्यसपछि उनले क्याम्पसको काममा बाधा नपुग्ने गरी साहित्य र कलाको क्षेत्रमा काम गर्ने अनुमति पाऊँ भनी निवेदन दिएर चिठी समेत लिए ।

साहित्यमा कलम चलाइरहेका राजेन्द्र शलभ त्यसपछि नाटक, टेलिभिजन कार्यक्रम र चलचित्रमा समेत काम गर्ने थाले । उनले ‘विजय पराजय’, ‘भाउजू’,  ‘परिभाषा’ र ‘भन्नै सकिन’ आदि चलचित्र निर्देशन गरेका छन् ।