हरिराज,

तँ ता अत्यन्त कठोर, जड, प्रतिगामी र स्वार्थी भइस् । दुष्टहरुको खोजी भयो भने तेरै नामबाट श्री गणेश किन नगर्ने ? तँ अटेर, तँ अविवेकी, तँ अज्ञानी, तँ अन्धो, भ्रष्ट र मतिहीन । जति तला झारे पनि पुग्दैन । किन तँलाई यी तुच्छ र दुष्ट शब्द प्रयोग गर्दैछु थाह छ ? छैन ! सुन्न सक्छस् ?

तँ, लन्ठ मूढाग्रही । तँलाई प्रश्न छ– यो देवनागरी लिपि तैँले बनाएको हो ? यो मुलुकमा तैँले ल्याएको हो ? तैँले यसलाई राज्यस्तरबाट मान्यता दिएको हो ? हैन । यदि हैन भने स्थापित भइसकेको कुरालाई भत्काउँछस् किन ? यदि पुरानो भो, काम नदिने भो भने ठीक छ भत्काइस्, तर त्यसको ठाउँमा नयाँ दिनसक्नु पर्यो नि ! तँसँग लिपि निर्माण गर्ने शक्ति भए नयाँ लिपि बनाएर लागु गराए हुन्न ? एउटा दाँत झरे अर्को लगाउन सकिन्छ नि हैन र ?

आयो उच्चारण गर्न नमिल्ने कुरा । यदि यो आधार हो भने वक्ताको कि दाँत झिक्न लाउने कि ओठ काट्न लाउने कि जिब्रो थुत्न लाउने नि । सबैले एउटै किसिमले उच्चारण गर्नैपर्छ भन्ने हठ गर्न मिल्छ र ! फेरि कहीं पुग्न नसकिने यात्रा गर्नुको कारण के ? यो समाजमा थुप्रै कुरा भत्काउनु पर्ने छन् । पुराना कुरा भत्काएर, फ्याँकेर नयाँ बनाउनै पर्छ ।

त्यसैले सार्थक हुने, उपयोगी देखिने कुरा छ भने भत्काउनैपर्छ । देवनागरी लिपिमा लेखिने शब्दहरु यदि संस्कृत भाषाका छन् भने ती सही ढंगले उच्चारण गरिन्छन् । देवनागरी लिपिको चरित्र हो– जस्तो लेखिन्छ त्यस्तै बोलिन्छ । यदि कविलाई कबि भन्छस् भने त्यो तेरो ज्ञानको दोष हो । कवितालाई कबिता लेख्छस् भने तेरो अज्ञानको दोष हो । वसन्तलाई बसन्त लेख्छस् भने तेरो अविवेकको दोष हो ।

० ० ० ०

हरिराज,

तँ ख्याल गर भोलि कसैले कविको हस्ताक्षरमा रचना निकाल्ने अभियान चलायो भने तेरो जात जाँदैन ? तँ भन्लास् खेताला लाउन पाइन्छ शुद्ध पारेर दिन सकिन्छ जस्तो आज गरिन्छ तर तैंले लेखेका सामग्री अरुले नदेख्लान् त ? कि तैंले महान् हुनुपर्यो र भन्नुपर्यो म ‘गिरि’ लेख्छु भनेर । प्रदीप गिरी ‘गिरि’ नै लेख्थे र उनी ‘गिरि’ जस्तै थिए । त्यहाँ शायद सार्थकता थियो । खोजको विषय छ । सबै गिरिमय हुँदैनन् ।

हो अर्थ फरक हुन्छ भने तँ, ‘वकील’ लाई वकिल या बकिल बना । अन्यथा दुनियाँलाई बत्तीस दन्त देखाएर हाँस्ने बनाउँछस् किन ? तँ औचित्य सिद्ध गर न । प्रत्येक व्यक्ति आफ्नो भाषा बोल्न समर्थ हुन्छ । तर अर्को भाषा बोल्न उसलाई असजिलो हुन्छ भनेर लिपि र उच्चारण विधि पनि फेर्ने हो र ! एउटा मान्यता र समझदारीमा पनि परम्परा चल्छ, थामिन्छ । कु जस्तो रु लेखिँदैन । उको मात्रा ‘र’ को पेटमा झुन्डाएको छ । ‘र’ लाई प्र गर्ने, गर्यो यसरी स्थान अनुसार रूप फेरिएको हो । तर स्थानको भिन्नताले सम्बन्ध पनि फरक हुन्छ नि ! हिजोसम्म शेर्पा स्वीकार गरेको हो आज नमान्नुको आधार के ? वाशिङ्गटन’ लाई वासिङ्गटन लेखेर फेरि  अंग्रेजीमा लैजाँदा (लेख्ता) कतै गाइजात्रा त हुने होइन ? यही कुरा इङ्गलिस लेखेर फेरि गल्ती होला नि !

० ० ० ० 

हरिराज,

सक्तो बिगार, ध्वस्त गर, अरु के गर्न सक्छस् र बिगार्नु बाहेक । तैंले महाकवि देवकोटालाई पनि असिद्ध कवि वा झुम्रे अज्ञानी बनाएको छस् । उनको महाकविलाई पूरै अपमान गरेको छस्, । कतै गरीब कवितालाई बिगारेको हेरेको छस् ? संगीत नै बिगारिदिने ? तेस्को हक छ तँसँग ? कोमलाङ्गी सुन्दरीको नाममा कर्कश ह्यामानको जुगाँमुठे राखिदिने ? हरिराज तेरो ज्ञान, विवेक, योग्यता र दक्षता कहाँ गयो ? के भो तँलाई ?

हैन चल्छ, चलाउन सकिन्छ, चलन छ भन्छस् भने थुप्रै कुरा चल्छ र चलाउन सकिन्छ । भत्काउनै पर्छ, विरोध गर्नैपर्छ भने म तँलाई धेरै ठाउँ देखाउँछु, तँ बिगार्दै जा, भत्काउँदै जा र सर्वश्री बन्दै जा । उस्तै या एकै वर्गका लागे पनि बाघ र बिरालो फरक हुन् । एउटा दुरुस्त अर्को जस्तो हुँदैन, गुण–धर्मले फरक हुन्छन् । भौतिक उत्पादनमा समता होला – वजनमा असमान भए पनि ।

त्यसैले बिगार्नु भत्काउनु ठूलो कुरा मानिन्छ भने त्यस्तो केन्द्र देखाउँला नि जो तँजस्ता मतिहीनले मात्रै गर्न सक्छ । लाग्छ यो युग तँ सुहाउँदो हो र तेरै लागि मात्र हो । विनिर्माणपछि निर्माणको चेतना यदि तँसँग भए स्वागत छ । म देखाउँदै जान्छु र तँ भत्काउँदै जा । अर्को कुनै आएर निर्माण गर्ला । र, तँ आज उत्तर दिएर जा –  आजसम्म तैंले के दिइस् र के बनाइस् ? पीडा बाहेक यो माटोले के पायो तँबाट धूर्तराज ? अब सावधान !