दार्जिलिङमा सूधपा त्रिरत्न भनेर ख्यातिप्राप्त व्यक्तिमध्ये सूर्यविक्रम ज्ञवाली (१९५५–२०४२) नेपली भाषा र साहित्यका क्षेत्रमा काम गर्ने एक रत्न हुन् । काशी र दार्जिलिङमा नेपाली भाषाका क्षेत्रमा मात्र होइन, नेपाली जातिको सेवाका क्षेत्रमा अग्रणी विभूति मानिन्छन् ज्ञवाली । कुनै बेलामा दार्जिलिङमा ज्ञवालीले भूमिका नलेखेको पुस्तक फिक्का लाग्दथ्यो रे !

 

सूर्यविक्रम ज्ञवाली

सूर्यविक्रम ज्ञवाली

उनले भूमिका लेखेर वा समालोचना लेखेर चम्काएको लेखक नेपाली साहित्यमा चम्किएकै देखिएको छ । उनी राम्रो भाषा लेख्दथे, उनको शैली परिष्कृत थियो । उनी सुयोग्य सम्पादक थिए । उनले “भानुभक्तीय रामायण”को शुद्ध संस्करण निकाले ।

“प्रकाश–पिण्ड” (२०३१) ले सोधेका प्रश्नका उत्तरमा आफैंले पनि आफ्नो मूल्याङ्कनमा बुँदागत जानकारी दिँदा “जन्मभूमि” को सम्पादन, नेपालीसाहित्य सम्मेलनको स्थापना, भानुभक्तको महत्त्व जनाउने काम र भानुभक्तीय रामायणको शुद्ध पाठको प्रकाशन, इतिहास तथा जीवनीलेखन, नेपाली समालोचनाद्वारा प्रेरणा, आधुनिक कथा उठाउने खालको पुस्तक प्रकाशन, सम्पादन आदि उल्लेख गरेका छन् । (पातो २०–२१)उनका विषयमा घटराज भट्टराईले “मधुपर्क” (वर्ष ९ अङ्क १०) मा, रामशरण दर्नालले “प्रज्ञा”(५२,२०४२) मा र “पारिजात”, “रचना”, “नेपाली” आदि पत्रिकामा उनका विषयमा फाट्टफुट्ट चर्चा छन् ।

दार्जिलिङबाट निस्किएको “दियालो”ले विशेषाङ्क २४–१०४ र १०५ (२०४३) निकालेको छ भने “मधुपर्क”ले २०४२ फागुन (वर्ष १८, अङ्क १०) मा मुखपृष्ठमा ज्ञवालीको चित्रका साथ केही ज्ञवालीसम्बन्धी सामग्री छापेको छ । यी सामग्रीमध्ये डा.चुडामणि बन्धुको “स्वर्गीय सूर्यविक्रम ज्ञवाली र नेपाली भाषा” शीर्षक लेख भाषिक दृष्टिले धेरै महत्त्वपूर्ण छ । बन्धुले “सन् १९३२ मा प्रकाशित नेपाली भाषाको विकासको संक्षिप्त

इतिहास” भन्ने पुस्तिकामा नेपाली भाषाको ऐतिहासिक सम्बन्ध, नेपाली भाषाको आन्तरिक परिवर्तन, भाषाको प्रयोग विस्तार र रूप जस्ता कतिपय पक्षबारे लेखकीय दृष्टिकोण देखिएका छन्” भन्दै यसको मूल्याङ्कन गरेका छन् । ज्ञवालीले उक्त पुस्तिकामा नेपाली भाषामा अन्य भाषाको प्रभाव छ भनेर भनेको कुरा पनि बन्धुले लेखेका छन् ।

“चन्द्रिका व्याकरण” निस्किएपछि ज्ञवाली र अन्य सबैले त्यसको स्वागत गरेको कुरा बन्धुले उल्लेख गरेका छन् । बन्धुले ज्ञवालीले पछि आफ्नो ढङ्गले भाषाप्रयोग गर्न थालेको चर्चा गर्दै ज्ञवाली के–कस्तो प्रयोग गर्दथे, सोको उल्लेख गरेका छन् ।

ज्ञवाली तद्भव शब्दका अन्त्यको ‘इ’, ‘उ’ चाहिँ ह्रस्व लेख्दथे । ‘थियो’ को बहुवचन ‘थिये’ लेख्दथे । तिर्यक्को प्रयोग पनि उनको उल्लेख्य थियो । यी कुराका उल्लेखका साथै हिज्जेसम्बन्धी ज्ञवालीका स्थापनाहरू ‘चन्द्रिका’ कालीन भएकाले आफैंमा महत्त्वपूर्ण भएको निक्र्यौल दिएका छन् । बहुमुखी व्यक्तित्वका धनी सूर्यविक्रम ज्ञवालीबारे विभिन्न ढङ्गले लेख लेख्ने डा.मोहनविक्रम ज्ञवाली, धनवज्र वज्राचार्य, डा. दयाराम श्रेष्ठ, प्यासी, लख्खीदेवी सुन्दास, रविनाथ अर्याल, तोया गुरुङ आदिले आफ्ना हार्दिक भावना व्यक्त गरेका छन् ।

२०११ मा ज्ञवाली नेपाल आएको, नेपालका विभिन्न पदमा बसी काम गरेको, नेपाली संक्षिप्त शब्दकोष सम्पादन गरेको, २०४२ सालमा ८८ वर्षको उमेरमा निधन भएको र उनीप्रति नेपाली लेखकहरूले अति आदर गरेको चर्चा ‘मधुपर्कको’ यस अङ्कमा छ ।

‘प्रकाश–पिण्ड’ (प्रतिभा परिचय विशेषाङ्क २०३१) मा ज्ञवालीको सामान्य रूपमा एक पातामा चर्चा छ ।‘प्रकाश–पिण्ड’कै अर्को अङ्क ज्ञवाली विशेषाङक (२०४१) मा माधव घिमिरे, कमल दीक्षित, घटराज भट्टराई, फणीन्द्रराज खेताला, शिवप्रसाद सत्याल पीठ, पूर्णप्रकाश नेपाल ‘यात्री’, जगत क्षेत्री, टीकाराम शर्मा, रमा शर्माका ज्ञवालीलाई चिनाउने विभिन्न सामग्रीहरू बटुलिएका छन् । प्रकाश–पिण्डकै अभिनन्दन अङ्कको

अनुच्छेद यस्तो छ–

“वनारसको बसाइमा अध्ययनकालदेखि नै नेपाली भाषा, साहित्य र संस्कृति र शिक्षाको प्रचारमा राष्ट्रिय दृष्टिकोण अँगाली सक्रिय रूपले अगाडि बढ्ने ‘गोर्खाली’ ‘जन्मभूमि’ जस्ता प्रकाशन र सम्पादन गरेर लेख– निबन्ध र चिन्तनपूर्ण रचना दिने सूर्यविक्रम ज्ञवालीज्यू नेपालका राष्ट्रिय विभूति हुनुहुन्छ । यस अङ्कमा नै

प्रश्नका उत्तरका क्रममा ज्ञवालीले औंल्याएका कुराहरू पहिले नै उल्लेख गरिसकिएको छ ।”

चूडा मणि रेग्मी ग्रन्थावली –२ घड

सरल र परिमार्जित तथा परिस्कृत भाषा रुचाउने ज्ञवालीले ‘गरिमा’ मासिक साहित्यिक पत्रिका (वर्ष २, अङ्क ३, पूर्णाङक १५, २०४० फागुन) का लागि अशेष मल्लले सोधेका प्रश्नका उत्तरमा उनका भाषिक दृष्टिकोण निकै छर्लङ्ग हुन्छन् । अशेष मल्लले ज्ञवालीको, संम्क्षिप्त नेपाली शब्दकोष (२०३९) मा अङ्ग्रेजी

शब्द प्रवेश गराएका बारे प्रश्न सोध्दा नेपाली भाषामा प्रयोग भइसकेका शब्दहरूले प्रवेश पाएका कुरा ज्ञवालीले भनेका छन् ।

अशेष मल्ल सोध्दछन् – यसरी अङ्ग्रेजी भाषाकै प्रधानता भइरह्यो भने कालान्तरमा

नेपाली भाषा लोप हुँदै जाँदैन र ? (पातो ९८) ।

ज्ञवाली उत्तर दिन्छन् – अँह ! लोप हुनै सक्दैन । लेख्ने साहित्य अर्कै हुन्छ, बोल्ने अनेकौं शब्द अर्कै हुन्छन् । मैले नै बोल्दा उतैको बोली आउँछ, तर लेख्दा मैले

सचेष्ट हुनैपर्छ । लोप कहाँ हुन्छ र ! झन् बढदै छ । संस्कृत भण्डारमा प्रशस्तै शब्द छन् ।  नेपाली भाषामा ती ल्याउनुपर्छ । हाम्रा पुर्खाले फारसी अरवीबाट लिए, अब हामीले संस्कृतबाट लिनुपर्छ र हाम्रो भाषालाई समृद्ध पार्नुपर्छ (पातो (९८) ।

यसै सन्दर्भमा, ज्ञवालीले अहिलेका कविको भाषा नबुझिने, अर्थ लगाउनुपर्ने र भाषा पनि अपरिष्कृत भएको (पातो ९९) कुरा पनि भनेका छन् ।

ज्ञवालीका भाषिक योगदानको समग्र अध्ययन जाँच्न ‘गोर्खाली’, ‘जन्मभूमि’, ‘नेपाली साहित्य सम्मेलन’, ‘भारती’ पत्रिकाहरुमा प्रकाशित लेखहरू र विभिन्न पुस्तकहरूमा अभिव्यक्त विचार पनि अध्ययनीय छन्, मननीय छन् र चिन्तनीय छन् । (ओसियस, इनरुवा, वर्ष २, अङ्क २, २०५३)

‍‍‍= = = =

नेपाली भाषा र पारसमणि प्रधान

पारसमणि प्रधान

नेपाली भाषका ‘भीष्म पितामह’का रूपमा पारसमणि प्रधानलाई अति आदर गर्ने र आफूलाई प्रेरणा र प्रोत्साहन दिने व्यक्तिका रूपमा सम्झने डा. तारानाथ शर्मा भन्छन्, “सम्पादकका रूपमा, व्याकरणकारका रूपमा लेखकका रूपमा मात्र होइन, उनी कोशकार, प्रकाशक र मुद्रकका रूपमा अतुलनीय छन् ।” (देउराली, जनकपुर र ‘श्रद्धासुमन’ निबन्धात्मक कृतिहरूको सङ्कलन २०४४, पातो ९१) ।

तारानाथ शर्मा ‘भारती’ मा पारसमणिले लेखेको कुरा पनि सम्झन्छन् – “नेपाली भाषा दुई–चार जना लेखक, कवि, ग्रन्थकार वा पत्रकारको पेवा होइन, नेपाली शिक्षक वा विद्यार्थीहरूका निम्ति मात्र होइन, यो हो राजभाषा । यो हो नेपाली जातिको मातृभाषा (ऐजन पातो ९२) नेपाली समालोचनाका एक जना खरा व्यक्ति

तारानाथ शर्माले जसरी पारसमणिलाई उराले, उसरी नै अर्का उनीभन्दा अग्रज, खरा समालोचक रामकृष्ण शर्माले (अब स्व.) चाहिँ पारसमणिलाई ओरालेर गंगाप्रसाद प्रधानलाई उरालेका छन् ।

‘दार्जिलिङ क्षेत्रमा नेपाली साहित्यको पृष्ठभूमि र साहित्य’ भन्ने लामो लेख (रत्नश्री २३।५।०४३ मा प्रकाशित) मा बनारस र दार्जिलिङ क्षेत्रको साहित्यिक गतिविधिको मूल्याङ्कनका क्रममा ‘पारसमणिले नेपाली गद्यको आधारशिला राखे’ भन्ने भनाइको खण्डन गरेका छन् (पातो ३८) ।

जनजिभ्रोमा आधारित काशीभासे अनुयायी नेपाली गद्य दिने काम भने पारसमणिबाट भयो (पातो ३८) भनेका छन् । यस लेखमा पनि रामकृष्ण शर्माले पारसमणि माथिल्ला स्तरका लेखक होइनन् भन्ने अन्यत्र पनि पोखेका भावना व्यक्त गर्दै ‘यस्तो गद्य लेख्ने प्रेरणा बनारसका बाहुन लेखकद्वारा पाएको ठहर गरेका छन् र बालकृष्ण पोखरेल र तारानाथ शर्माको नाउँ पनि त्यहाँ कोचरेका छन् ।

रामकृष्ण शर्मा जस्तै एक हुल पारसमणि प्रधानको खेदो खन्नेहरू भए पनि नेपाली भाषाका क्षेत्रमा पारसमणि प्रधानको योगदान स्वीकार गरिएको छ । उनका व्यक्तिगत दोष र त्रुटि निकै थिए, ती बखानिए, तर ऐतिहासिक रूपमा नेपाली भाषाका क्षेत्रमा उनी ‘भीष्म पितामह’ मानिनु अस्वाभाविक होइन । यसैले

दार्जिलिङको ‘दियालो’ पत्रिकाले उनीबारे चर्चा भएको एउटा विशेषाङ्क –वर्ष २५, हाँगो १०६ र १०७ (२०४४) निकाल्यो भने, सिक्किमले दुइटा जख्खू ‘पारसमणि अभिनन्दनग्रन्थ’ निकाल्यो ।

चूडा मणि रेग्मी ग्रन्थावली –२ घढ  नेपालबाट निस्किएका प्रज्ञा, रूपरेखा, नेपाली रचना आदि पत्रिकामा उनीबारे यदाकदा चर्चा भएका छन् । उनका भाषिक योगदानलाई स्वीकार गरिएका छन् । उनले लेखेको व्याकरण, कोष, मुहावरा तथा नेपाली भाषाको संक्षिप्त इतिहास आदि पुस्तकका चर्चाहरू र प्रधानका व्यक्तिगत वैशिष्ट्यका साथै उनका

कृतिका महत्त्वपूर्ण पक्षबारे निकै चर्चा भएका छन् । काठमाडौंबाट प्रकाशित हुने ‘प्रकाशपिण्ड’ ले २०३९ सालमा पारसमणि प्रधान विशेषाङ्क निकाल्यो । यो

अङ्कभित्र लेख लेख्ने एक जना विद्वान् कमल दीक्षितले राममणि आ.दीले झैं पारसमणिले पनि भारतका विश्वविद्यालयमा पनि नेपाली भाषालाई स्थान दिलाउन अथक प्रयत्न गरेको चर्चा गरेका छन् ।

रमा शर्माले चाहिँ ‘नेपाली भाषासेवी पारसमणि प्रधान’ शीर्षकमा भाषाक्षेत्रमा पारसमणि प्रधानले गरेका भाषिक क्षेत्रका कामका व्याख्या–विश्लेषण गरेकी छिन् । शरद्चन्द्र शर्मा, खेम कोइराला बन्धु, रामकृष्ण शर्मा, दयाराम सम्भव, प्रतापचन्द्र प्रधान आदि विद्वान् लेखकहरूले पारसमणिका विभिन्न पक्षलाई प्रकाश पारेका छन् । यहाँ

रामकृष्ण शर्माले पारसमणि प्रधानको आलोचना थोर र योगदानको चर्चा बढी गरेका छन् ।

पारसमणि प्रधानले ‘भारती’ मा लेखेको एउटा सम्पादकीय यहाँ उद्धृत छ, त्यसमा प्रधानले भनेका छन्–

“नेपाली भाषा र व्याकरणमा एकीकरण आउनुपर्छ” (पातो ६८) । प्रधानको ‘नेपाली हाम्रो मातृभाषा’ भन्ने लेख पनि पुनर्मुद्रित छ । एउटा गहकिलो अंश यस प्रकारको छ– ‘जुन बोलीमा व्याकरण लेखिएको हुँदैन, त्यसलाई भाषा भनिंदैन ।’ (पातो ७१)

अन्तर्वार्ता स्तम्भमा प्रकाशपिण्डले सोधेका प्रश्नका उत्तरमा प्रधान भन्छन्, ‘नेपाली साहित्यको विकास गर्नलाई व्याकरणद्वारा साहित्यिक भाषा नियन्त्रित हुनुपर्दछ’ आदि पातो (९३) ।

पारसमणि प्रधानले आफूले स्कुलमा पढ्दा नेपाली पढ्न नपाएको र पढ्न इच्छा भएको कुरा सम्झँदै त्यही प्रेरणाले नेपालीका लागि मरिहत्ते गरेको कुरा पनि भनेका छन् । उनले नेपाली त्रैमासिकको पूर्णाङ्क १३, १६, ३८ मा पनि आफ्नै बारेमा यस्ता धेरै कुरा लेखेका छन् ।

काठमाडौंबाट प्रकाशित ‘रत्नश्री’ द्वैमासिकले पनि वर्ष २४, अङ्क २ (२०४३) मा एउटा मजको चित्र गातामा छापेको छ र भित्र प्रधानसम्बन्धी लेख समावेश गरेको छ । दार्जिलिङ क्षेत्रको साहित्यिक विकासका क्षेत्रमा शोध गर्ने विद्वान् जगत क्षेत्रीले ‘सूर्यविक्रम ज्ञवाली र पारसमणि प्रधान’ भन्ने लेखमा ज्ञवाली र प्रधानले दार्जिलिङमा नेपाली भाषाको सम्वर्धन र उन्नतिका लागि धुमधामसँग गरेका कार्यको लेखाजोखा गरेका छन् । गंगाप्रसाद प्रधान र पारसमणि प्रधानको भाषाको तुलना गर्दा पहिलेको प्रधानको कथ्य भाषा थियो भनेका छन् । क्षेत्रीका तुलनाबाट रामकृष्णका विचार खण्डित भएको स्पष्ट छ ।

‘विन्दु’ का प्रसिद्ध सम्पादक के.वी. नेपालीले पनि १९९८ मा काशीमा पारसमणि प्रधानको जन्मदेखि लिएर ‘चन्द्रिका’ प्रकाशन, ‘भारती’ प्रकाशनका कुराहरू गर्दै प्रधानको अपूर्व रूपमा भएका भाषासेवाका कुराहरू लेखेका छन् ।

नेपालमा प्रजातन्त्र आउनुपूर्व भारतमा बस्ने नेपालीहरूले भाषा तथा साहित्यका क्षेत्रमा नेपाललाई ठूलो योगदान दिए, ठूलो प्रेरणा दिए । ती योगदातामध्ये सूधपा प्रमुख मानिन्छन् । सूर्यविक्रम र धरणीधर नेपाल आए, बसे, पारसमणि आएनन्, कालिम्पोङमै बसे । उनले गरेका कार्यबाट भाषा र साहित्यका धेरै लेखक, कवि

प्रोत्साहित भए । उनको शैली सरल थियो, रोचक थियो र परिष्कृत पनि थियो । उनी समितिको व्याकरणका नै अनुयायी भए, मतवादी भएनन्, शुद्ध लेखे, शुद्ध छापे, शुद्धताका दृष्टिले नेपाली प्रकाशनमा सायदै कसैले उछिनेको होला ! यस्ता नेपाली भाषाका रत्न पारसमणि हुन् । ‘मधुपर्क’ को पहिलो अङ्कदेखि नै पारसमणिका

लेख छापिएका छन् । ‘नेपाली’ आदि पत्रिकामा पनि उनका विचार प्रकट भएका छन् । संक्षेपमा, उनी नेपाली पत्रिकामा चर्चित छन् र उनको मूल्याङ्कन राम्रै रूपमा भएको छ । (कल्पवृक्ष, द्वैमासिक, फिदिम, वर्ष १, अङ्क २ – २०५५)

= = = = 

विश्वेश्वरप्रसाद कोइरालाको लेखोटमा पाइने वर्णविन्यास

२०५१ साल कार्तिक २५ गतेको ‘साप्ताहिक विमर्श’ (वर्ष २४, अङ्क १६) मा ‘यस्तो बेला वी.पी. हुनुभएको भए !’ भन्ने शीर्षकमा विश्वेश्वरप्रसाद कोइरालाले २०१३ सालमा ओमप्रसाद थकालीलाई लेखेको एउटा चिठीको फोटोकपी नै छापिएको छ । फोटोकपी भएकाले विश्वेश्वरका हातको लेखाइ यथावत् हेर्ने मौकालाई सदुपयोग गर्ने मेरो मन भयो ।

सर्वप्रथम त ‘लेखाइ अशुद्ध रहेछ, यस्तै छ हाम्रो नेताहरूको भाषाप्रतिको दृष्टिकोण ! विश्वेश्वर जस्ता वरिष्ठ विद्वान्को त यो हाल छ भने !’ भन्ने पूर्वाग्रही धारणाले नै टाउको उठायो, तर आफूले पनि सूर्यविक्रम ज्ञवालीका थालनी र माझका ‘इ’, ‘उ’ ह्रस्व र अन्तका ‘उ’ दीर्घ लेख्ने नियम ठीक हो भन्ने ठानेको र त्यो लेखोटमा पनि क्रमश : त्यस्तै लेखहरू भेट्दै गएकाले एक्कासि विश्वेश्वरप्रसाद कोइराला त सूर्यविक्रम ज्ञवालीका नजिकका लेखक पो त ! भन्ने कुराले मन–मस्तिकष्कलाई कुतकुत्यायो । शब्दहरू पनि छुट्याएर लेखेको पाउँदा हिन्दी र अङ्ग्रेजीमाझैं नेपालीमा पनि शब्द छुट्याएर लेख्ने राम्रो भन्ने मान्यता विश्वेश्वरको भएको छर्लङ्ग भयो ।

भरे जम्मै लेख पढेर ‘वर्णविन्यास सिद्धान्त’ ठम्याउँदा त आफ्नो नयाँ वर्णविन्यास सिद्धान्तलाई हास्यास्पद रूपमा हेर्नेहरूलाई भन्न मन लाग्यो– मैले मानेको नयाँ वर्णविन्यास सिद्धान्त वास्तवमा नै हाम्रा अग्रजहरूकै चिन्तनको फल हो, यो भुइँफुट्टा वस्तु होइन ! हाम्रो भाषिक तथा साहित्यिक क्षेत्रमा पढ्ने र घोत्लिएर चिन्तन गर्ने प्रवृत्ति कम्ती भएकाले विश्वेश्वरप्रसाद कोइरालाको यस्तो महत्त्वपूर्ण लेखोटबारे कतैबाट प्रतिक्रिया भएको मैले पढेको छैन । जहाँसम्म मेरो कुरा छ, मलाई कसैले सोधेन, मसँग लेख पनि मागेन । जब अहिले लेख माग भयो, तब तत्काल खेस्रा रूपमा लेखेको पुनर्लेखन गर्दैछु ।

सूर्यविक्रम ज्ञवालीलेझैं विश्वेश्वरले तद्भव शब्दका थालनी र माझका शब्दका ‘इ’, ‘उ’ ह्रस्व, र अन्तका ‘इ’, ‘उ’ दीर्घ लेखेका छन् अर्थात् ज्ञवालीका नियमको अनुसरण गरी थालनीमा ‘इ’, ‘उ’ हरस्व, ‘छु’, ‘हु’ क्रियाको ‘उ’ ह्रस्वबाहेक अन्तका ‘इ’, ‘उ’ दीर्घ– ‘अगाडी’, ‘पछी’, ‘यती’, ‘उती’, ‘माथी’, ‘पनी’, ‘लागी’ अदि लेखेका छन् ।

सूर्यविक्रम ज्ञवालीलेझैं तत्सम शब्दको यथावत् प्रयोग गरी (‘कती’ बाहेक) विभिन्न, उन्नति, निष्काम, प्रवृत्ति, व्यक्तिगत लेखेका छन् भने आगन्तुक शब्द पनि यथावत् नजीक, चुनाव लेखेका छन् ।

शिरविन्दुको प्रयोग हिन्दीको झैं छ । कांग्रेस, स्वतंत्र, सक्तछौं, सारांश, रंग, क्रांति, प्रजातंत्र आदि । यो लेखाइमा ङ्, न्, म् र चन्द्रविन्दु समेतको काम शिरविन्दुबाट गरेको देखिन्छ । यसर्थ, शिरविन्दुका क्षेत्रमा विश्वेश्वरको खास नौलो दृष्टि देखिंदैन । यसै गरी, आगन्तुक शब्दबारे पनि नौलो दृष्टि पाइँदैन ।

‘कोही’को ‘कोई’, ‘त्यस’को साटो ‘तेस’को प्रयोग पनि विश्वेश्वरले गरेका छन् । यो ज्ञवालीको नियमलाई महानन्द सापकोटाले र ईश्वर बरालले पनि अनुसरण गरेका छन् ।

विश्वेश्वरका लेखनको विशेष पक्ष हो शब्दहरू छुट्याएर लेख्नु । लेख्दा एक–दुई ठाउँमा विभक्ति जोडिएको जस्तो देखिए पनि सामान्यतया शब्दहरू छुट्याउने नियम भएको देखिन्छ । कतिपय समस्त शब्दबाहेक विभक्तिसमेत सबै शब्द छुट्याएर लेख्ने नियम हिन्दीमा छ, त्यही नियम विश्वेश्वरले मानेको प्रस्ट छ । विभक्ति (देश को, तपाई लाई, नेपाल को, कसै ले, एैले का, देश ले आदि), सम्युक्त क्रिया (सुनाइ दिनु होला, आउँदै छ, गर्नु पर्छ, हुनु पर्छ, बुझ्नु पर्छ, गरी रहे, लेखी रहनु परेन) द्वित्व (सानोतिनो) जस्ता शब्द मात्र होइन ‘सेवाव्रत’, ‘सेवाभाव’, ‘स्वार्थपूर्ति’ जस्ता समस्त शब्द अलग्गै (सेवा व्रत, सेवा भाव, स्वार्थ पूर्ति) लेखेका छन् । वास्तवमा अर्थ नबिग्रने ठाउँमा र (नाममा समेत) समास नगरी लेख्दा हुन्छ कि समास गरी जोड्ने ? यो लेखोटले यस प्रश्नलाई उभ्याएको छ ।

संक्षेपमा, उक्त लेखोटमा विभक्ति, द्विरुक्ति, केही समस्तपद, संयुक्त क्रिया नजोड्ने, ‘कोही’ जस्तामा ‘ई’ लेख्ने, ‘त्यस’का बदलामा तेस लेख्ने, आगन्तुक र तत्सम शब्द यथावत् (‘कती’ बाहेक) लेख्ने, तद्भव शब्दका थालनी र माझका ‘इ’, ‘उ’ ह्रस्व र अन्तका ‘इ’, ‘उ’ दीर्घ लेख्ने र शिरविन्दुको प्रयोग ‘ङ्’ ‘ञ्’, ‘ण्’ ‘न्’ ‘म्’ का साथै चन्द्रविन्दुका रूपमा पनि हुन सक्ने वर्णविन्यासको सिद्धान्त अपनाएको पाइन्छ ।

संक्षेपमा विश्वेश्वरप्रसाद कोइराला प्रचलित वर्णविन्यास पद्धतिमा ज्ञवालीले झैं केही सुधारका दृष्टि राख्दथे भन्ने कुरो उनको लेखोटबाट अङ्ग्रेजी हुन्छ । रत्नश्री, द्वैमासिक, काठमाडौं, वर्ष ३३, पूर्णाङक १६९, (२०५२) ।

‍‍‍‍= = = = 

सजिलोवादी श्यामप्रसाद

(व्याकरणको र भाषाको शुद्धि र सजिल्याइँमा त यो धेरै अघि उक्लेको छ) ।

तँ, तिमी, तपाई, हजुर एक घोत्ल्याइँ रूपरेखा द्वै. १–१ (२०१७) पातो ( ५०) उक्त कुरा तारानाथ शर्माले बालकृष्ण पोखरेल र आफूभन्दा सजिलो, राम्रो र मिठो नेपाली लेख्ने ‘तँ, तिमी, तपाई, हजूर’का लेखक श्यामप्रसादबारे लेखेका थिए ।

‘लेखक कसरी बन्ने’ ? र ‘बहिनीलाई चिट्ठी’ लेखेर प्रख्यात श्यामप्रसाद नेपाली भाषाका तपस्वी लेखक हुन् । उनले साहित्य पत्रिकाको सम्पादन गरे र स्वास्नी मान्छेको सम्पादनमा पनि प्रत्यक्ष–अप्रत्यक्ष धेरै काम गरे । नेपाली भाषाका चिन्तकमा उनी बढी चर्चित नभए पनि नेपाली भाषालेखनको २००७ सालपछि क्रमशः गम्भीरतापूर्वक अध्ययन गर्नेले के पत्तो पाउँछ भने नेपाली भाषाको लेखाइ सजिलो हुनुपर्छ, नेपाली ढङ्गको हुनुपर्छ, अङ्ग्रेजी, संस्कृत वा हिन्दीको थिचोमिचो नेपालीमा हुनुहुन्न भन्ने कुरा गर्ने एक व्यक्ति श्यामप्रसाद पनि हुन् ।

श्यामप्रसादबारे थोरै लेखिएका छन् । लेखिएकामा पनि उनको सही मूल्याङ्कन भएको छैन । बालमुकुन्द देव पाण्डेको भनाइ हेरौं –  पशुपतिदेव पाण्डे, लक्ष्मणराज पाण्डे र गोपालराज जोशी मिलेर २०१४ साल असारदेखि नयाँ समाज प्रकाशित गर्न थाल्नुभयो । श्यामप्रसाद शर्मा र धनुषचन्द्र गौतम त्यसमा काम गर्नुहुन्थ्यो । …श्याम दाइको कुनै शैक्षिक उपाधि थिएन, तर उहाँको अङ्ग्रेजी र नेपाली दुवै राम्रो थियो । उहाँ ‘नयाँ समाज’ मा काम गर्नुहुन्थ्यो र हाम्रो प्रेसबाट ‘साहित्य’ द्वैमासिक, शशिकलाको नाममा ‘स्वास्नीमान्छे’ निस्कन्थ्यो । त्यसको सम्पादन पनि श्याम दाइ नै गर्नुहुन्थ्यो । उमेर र अनुभवमा म भन्दा पाको भए पनि श्याम दाइले मलाई कहिल्यै हेय मान्नुभएन बरु भाषा लेख्ने तरिका कत्ति पनि झर्काे नमानी सिकाउन थाल्नुभयो । जे लेख्थें, उहाँलाई देखाउँथें, उहाँ त्यसलाई मेरै अगाडि सच्याइदिनुहुन्थ्यो । म त्यसलाई टपक्क टिप्थें, बिस्तारै उहाँले मलाई सम्पादकीय लेख्न सिकाउनुभयो । शुद्ध सरल र सबैले बुझ्ने भाषामा उहाँ जोड दिनुहुन्थ्यो ।…साहित्यिक र पत्रकारितका क्षेत्रमा गुरु श्यामप्रसाद शर्मालाई मान्न अलिकति पनि हिचकिचाउन्न । मधुपर्क, वर्ष २१, अङ्क १२, पूर्णाङ्क २३९ (२०४६), पातो २१ ।

यस्ता संस्मरण र अरु पनि सामग्री श्यामप्रसादबारे अप्रकाशित भएकाले उनीबारे नेपाली भाषाका क्षेत्रमा कम चर्चा भएको स्पष्ट छ । साहित्यिक पत्रिकाजगत्मा ‘शारदा’ जस्तै विशिष्ट पत्रिका हुन् ‘साहित्य, रूपरेखा, स्वास्नीमान्छे, रचना, अभिव्यक्ति’ आदि । यी कैयौं पत्रिकामा श्यामप्रसादले धेरै झर्रा शब्द प्रयोग गरेका छन् । ठेट शब्द प्रयोग गर्न सधैं रुचाउने श्यामप्रसादले आफ्ना विचारलाई टेवा दिने झर्राे आन्दोलन आएउपरान्त ‘साहित्य’ र ‘स्वास्नीमान्छे’ मा पनि झर्राेपनलाई अँगाले ।

उनका विचारअनुसार प्रेसले अक्षर छाप्न नसकेको देखिन्छ, तापनि श्यामप्रसादका कतिपय सम्पादकीय र प्रकाशकीयमा केही विशिष्ट प्रयोग पाइन्छ । सुरु र माझका शब्द ह्रस्व जस्तै ‘महिने’ लेखेको पाइन्छ । ‘हृदय’ पनि हिरदय’ लेख्ने प्रयत्न गरेको देखिन्छ । यसै गरी, ‘वर्ष’ लाई ‘वर्स’ र ‘रु’ लाई तल्कुरे दिएर पनि लेखेको पाइन्छ । ‘हरू’ र ‘लाई’ ह्रस्व लेख्ने नियम बनाई ‘हरु’ र ‘लाइ’ लेखेको पनि देखिन्छ । शिरविन्दु समस्यामा पनि श्यामप्रसाद सचेष्ट छन् । उनले ‘सम्झना’ लेखेका छन् । यसरी कैयौं कुरामा उनले हात हालेको देखिन्छ, तर काठमाडौंले वातावरणमा उनका परिर्तित वर्ण–विन्यास ढिम्कन पाएनन् । उसै गरी, साधनारत श्यामप्रसादका गम्भीर विचारप्रति धेरैको आँखा पुगेन ।

उनी हराए, सायद यसैले उनका कुरा पनि हराए जस्तो हुन गयो । अब फेरि श्यामप्रसाद बाहिर आएर कलम चलाउँदै छन् । उनको विषयमा शोधखोज हुँदैछ । भोलि हुने मूल्याङ्कनले श्यामप्रसादका भाषिक योगदानलाई अझ उज्यालो रूपमा ल्याउनेछन् भन्ने कुरा किटेर भन्न सकिन्छ ।

‘लेखक करी बन्ने ?’ पुस्तकभित्र, नेपालको भाषा समस्या र नेपाल भाषा (पासा २०११) तथा ‘आफ्नै भाषा आफ्नै नियम’ (साहित्य २०१७) लेखमा र महानन्द सापकोटासँग ‘स्वास्नीमान्छे’ र आइमाई शब्दमा छलफल भएको कुरा र विभिन्न प्रयोगमा उनका भाषिक दृष्टिकोणलाई ‘श्यामप्रसाद विश्लेषण र मूल्याङ्कन’

चूडा मणि रेग्मी ग्रन्थावली –२ द्धद्द भन्ने शोधग्रन्थमा धर्मराज अधिकारीले सामान्यै रूपमा भए पनि केही उल्लेख गरेको पाइन्छ । डा. तारानाथ शर्माले नेपाली साहित्यको इतिहासमा, ‘रूपरेखा’का समालोचनामा (१–१,२०१७) र ‘कृष्णप्रसाद पराजुली : ‘आस्थाका आयाम’ (२०४६) भन्ने ग्रन्थ (पातो ५५) मा श्यामप्रसादका भाषामा पाइने सहजता, सरलता र सरसताको चर्चा गरेका छन् ।

आनन्ददेव भट्ट, कृष्णचन्द्र सिंह प्रधान, कृष्णप्रकाश श्रेष्ठ, गोविन्द भट्ट, दोभान ज्यामी, सरिता ढकाल, मदनमणि दीक्षित नेपालका सचेत लेखक हुन् । तिनले ‘साहित्य’, ‘जनचेतना’, ‘साङ्ग्रिला’, ‘भानु’, ‘खलाँती’, ‘रूपरेखा’, ‘हालखबर’ आदि पत्रिकामा श्यामप्रसादका भाषिक पक्षबारे राम्रो ढङ्गले चर्चा गर्न सकेको देखिँदैन । नेपालका पुष्कर शमसेर, युदनाथ खनाल, बालकृष्ण समपछि नेपाली भाषामा उत्कृष्ट रूपमा आफ्नै ढङ्गको सरल, सहज, सरस, रोचक र चिन्तनपूर्ण भाषिक सामग्री प्रयोगकर्ताका रूपमा उनको मूल्याङ्कन भएको छैन । टी.आर. विश्वकर्माले ‘प्रज्ञा प्रतिष्ठान र पञ्चवर्षीय योजना (नेरावि ६ (२०२६) भन्ने लेखभित्र व्याकरणमा एकता ल्याउने कुरामा श्यामप्रसादको पनि भूमिका रहनुपर्ने कुरा लेखेकामा भने यो कुरा प्रशंसनीय रूपमा उल्लेख भएको मान्नुपर्छ ।

आफ्नो भाषा, आफ्नो नियम, सम्पादकीय साहित्य, १–४ (२०१७) मा उल्लेख भएका कुराहरू महत्त्वपूर्ण

भएकाले यहाँ केही बुँदा उल्लेख गरिन्छ :

क) नेपाली भाषामा जुनसुकै भाषाबाट आएका शब्दलाई पनि नेपाली भाषाको व्याकरण बमोजिमका नियममा ढालेर लेख्नु, जस्तै नेपाली व्याकरण अनुसार पद (शब्द) को अघिल्लो र बिचका अक्षरमा आउने ‘इ–उ’कार ह्रस्व हुन्छन् । पदको आखिरमा मात्र अवस्था हेरी ह्रस्व–दीर्घ दुवै हुन्छन् । त्यसैले ‘हामी’, ‘तालीम’, ‘कानून’, ‘महीना’ ‘जुलूस’, ‘इन्जीनियर’ र ‘प्रूफ’ जस्ता नेपाली व्याकरणका नियमसँग नमिल्ने रूपमा लेख्तैनौँ ।

ख) विच, दुध, नुन, गरिव र कसुर जस्ता शब्दमा आउने ‘इ–उ’ कारलाई हामीले दीर्घको सट्टा ह्रस्व नै लेख्न थालेका छौं ।

ग) नेपाली भाषामा तिन किसिमका ‘स’ (श, ष, स) नभई एउटै किसिमको ‘स’ छ । त्यसैले हामीले सरम, सहर, सायद, सिकार र सिफारिस जस्ता शब्दहरूमा तालव्य ‘श’ को प्रयोग नगरी दन्थ्य ‘स’ कै प्रयोग

गर्ने गरेका छौं ।

घ) ‘ब’ र ‘व’ को विषयमा उच्चारणअनुसार चल्नुपर्छ भन्ने हाम्रो मत छ ।

ङ) संस्कृतको सिको गरी नेपालीमा पनि संयुक्ताक्षरको अघिल्लो अक्षर आफ्नै वर्गको पाँचौं वर्ण हुन्छ भन्ने नियम बनाइयो, तर कठाङ्ग्रिनु, खन्ती र झ्याम्म जस्ता शब्दहरू यस नियम अनुसार लेखिए जस्ता देखिन्छन् तापनि यस नियमको नेपाली प्रकृतिसँग पटक्कै मेल खाँदैन, त्यसैले कुनै–कुनै विद्वान्ले ‘कान्छा’, ‘चम्चा’, ‘लाम्खुट्टे’, ‘निम्ति’, ‘चिम्टा’, ‘धम्की’, ‘चम्कनु’, ‘लम्कनु’, ‘पन्जा’, र ‘बन्चरो’ जस्ता थुप्रै शब्दहरूलाई अपवादमा गनेको देखिन्छ, तर यसरी अपवाद गन्नथाले सान्सानो कोश नै तयार हुन बेर लाग्दैन ‘सिन्की’, ‘गम्कनु’, ‘लाम्चो’, ‘वुङ्चे’, ‘घुम्टो’, ‘काम्नु’, ‘थाङ्नो’, ‘हन्बेर्नाे’, ‘अन्भरिनु’, अर्थहीन रूप तयार हुन्छन् ।

च) सर्कार, धर्ती र गोर्खा जस्ता शब्दलाई सरकार, धरती र गोरखा जस्ता रूपमा नलेखी सर्कार, धर्ती र गोर्खा नै लेख्ने गर्नुपर्छ भन्ने हाम्रो मत छ ।

छ) जुनसुकै भाषाबाट आएका शब्दलाई पनि नेपाली नियम अनुसार लेख्ने अठोटमा पुगी सोही अटोठअनुसार चल्न हामीले थालिसकेका छौं तापनि हाल केही समयका निम्ति संस्कृतका तत्सम शब्दहरूलाई भने हामीले छोएका छैनौं ।

ज) हामीले चन्द्रविन्दु ( ँ ) को सट्टा शिरविन्दु वा अनुनासिक ( ं ) बाट नै काम लिने गर्न थालेका छौं । त्यसैले हामी शिरविन्दुबाट ङ्, ञ्, ण्, न् र म् को काम नलिई चन्द्रविन्दुको मात्रकाम लिन्छौं । चन्द्रविन्दु भन्दा शिरविन्दु दिन सजिलो भएकोले यसको चलन बढ्दै आएको पाइन्छ ।

यथार्थ कुरा पाक्षिक, चन्द्रगढी, झापा । वर्ष १ अङ्क १० (२०५३) ।