मदन पुरस्कार विजेता वा अन्य स्वदेशी तथा विदेशी बेस्ट सेलर पुस्तकहरूको रहस्य:  

किन केही पुस्तकमा समेटिएका कथाहरूले हाम्रो मन, मस्तिष्कमा धेरै समयसम्म बास गरिरहन्छन् ?

किन केही लेखकहरूलाई हामी (पाठकहरूले) शब्दको जादुगरको दर्जा दिन्छौं ?

पाठकको हैसियतले, मैले थाहा पाएको–बुझेको कुराहरू यहाँ पस्कँदै छु ।

पाठकलाई पहिलो वाक्य देखिनै ‘हूक’ गर्न सक्ने क्षमता हुनु

हूक’ भनेको के हो ?

अंग्रेजी ‘हूक’को शाब्दिक अर्थ ‘बल्छी’ हो । जसरी बल्छीले सुन्दर तलाउमा रमाइरहेको माछालाई एक्कासि आफ्नो तिखो टुप्पोले घायल बनाएर  आफूतिर खिच्दछ, पुस्तकमा भएको हूकले पनि त्यस्तै काम गर्छ । यसले पाठकहरूलाई आफ्नो बसमा पार्छ, मन्त्रमुग्ध बनाइदिन्छ । प्रायजसो हूकहरूमा मानवीय भावनासँग खेल्न सक्ने क्षमता हुन्छ ।

भनिन्छ मानव जाति भावनात्मक प्राणी हुन् । हामी बेलाबेलामा आफ्ना भावनाको दास बनिरहन्छौं । तसर्थ, जब कुनै पुस्तक भावनात्मक हूकबाट सुरु हुन्छ,  त्यसको लहरहरूसँगै अनायासै बग्न थाल्छौं ।

धेरै पश्चिमेली बेस्ट सेलर हरूमा पाठकलाई सुरुमै ‘हूक’ गर्ने खाले वाक्यहरू प्रयोग भएका हुन्छन् । नेपाली बेस्ट सेलर तथा मदन पुरस्कार विजेता पुस्तकहरूको हकमा पनि यो कुरा लागु हुन्छ ।

उदाहरणको लागि बेस्ट सेलर अमर न्यौपानेको ‘करोडौँ कस्तुरी’ भन्ने पुस्तकको विषय प्रवेशलाई नियालौं ।

यस पुस्तकमा प्रयोग गरिएको ‘हूक’ बडो गजबको छ।

“भोकले रुनु, शोकले रुनु, दुःखले रुनु, बाआमाको गाली अनि पिटाइले रुनु, शिक्षकले दिएको सजायले रुनु र कथाकविताको संवेदनाले पग्लिएर रुनुमा कति फरक हुँदो रहेछ, जुन मैले पहिलो पटक महसुस गर्दै थिएँ ।  ती फरकफरक आँसुलाई पनि रगतलाई झैँ परीक्षण गर्न सक्ने हो भने त्यहाँभित्र केके देखिन्थ्यो होला ?”

कति सुन्दर, कति असाधारण उठान । सुरुमै प्रिय लेखकले शब्दको जादु चलाएका छन्, अनि पाठकहरूलाई प्रश्नहरूको भुमरीमा होमिदिएका छन् । यी लाइनहरू पढ्ने बित्तिकै मैले सोच्न थालें, ‘ओहो ! रोदनका पनि यति विधि लेयर्सहर हुँदा रहेछन् ।

केही रोदनभित्र खुशी मिश्रित हुँदा रहेछन् ।’

अर्को उदाहरण अफगानी लेखक खालिद हुसैनीद्वारा लेखिएको पुस्तक ‘अ थाउजेन्ट स्पलेनडिड सन्स’ लाई हेरौं । यस पुस्तकमा पनि लेखकले सशक्त हूक प्रयोग गरेका छन् ।

“मरियम पाँच वर्षकी थिइन् जब तिनले पहिलो पल्ट ‘हरामी’ भन्ने शब्द सुनिन् ।”

यो वाक्यले पनि पाठकको मनमा एउटा प्रश्न खडा गरिदिन्छ । किन यती सानी नानीलाई ‘हरामी’ भनिएको होला ? यही प्रश्नबाट आन्दोलित, पाठक खुरुखुरु पुस्तक पढ्न सुरु गर्छ । मैले पनि त्यसै गरेँ ।

लेखक बुद्धिसागरले पनि आफ्नो पुस्तक कर्नाली ब्लुजमा राम्रो ‘हूक’ प्रयोग गरेका छन् ।

“कोहलपुर टिचिङ हस्पिटलको ठुलो गेटमुन्तिर म ठिङ्ग उभिएँ । मेरो सास फुलिरहेको थियो । निलो जिन्स पाइन्टको घुँडानेर धब्बा बसेको थियो । सर्टबाट बसको चर्को गन्ध आइरहेको थियो । पिठ्युँको झोलाको हाल के होला, मैले हेर्ने जाँगर चलाइनँ ।’

यी माथिका लाइनहरू पढ्नासाथ, कथामा रहेको पात्रको मानसिक हलचलसँग मेरो साक्षात्कार भयो । हस्याङफस्याङ गर्दै जसोतसो हस्पिटलको प्राङ्गणमा कसैले आफूलाई पुर्याएको थियो । त्यो पात्रको मानसिक र शारीरिक पिडाको बाछिटाले मेरो मनलाई पनि सिञ्चित गर्‍यो । ‘मिरर इफेक्ट’ भएजस्तो लाग्यो ।

‘यो मान्छे किन र कसरी यहाँ पुग्यो टिचिङ ? हस्पिटलमा कोही आफन्त सिकिस्त बिरामी पो छन् कि ?’ भनेर सोच्न थालेँ ।

त्यसपछि हतारहतार पुस्तक पढ्नु बाहेक मसँग अरू कुनै विकल्प थिएन ।

====

कथाभित्र एउटा सशक्त थिम हुनु ।

थिम भनेको के हो ?

थिमलाई सामान्यतया विषयवस्तु भनेर बुझ्दा हुन्छ । तर थिमलाई यहाँ यसरी बुझ्दा झन् राम्रो – कथाको विषयवस्तु जसलाई एक वाक्य वा दुई वाक्यमा प्रकट गर्न सकिने कुरा ।

भनिन्छ राम्रा लेखकहरू थिमको बारेमा पहिले नै क्रिस्टल क्लियर हुन्छन् । ‘मैले मेरो पुस्तकबाट के सन्देश दिने’ भन्ने कुरालाई राम्ररी पहिले नै  निर्क्योल गर्छन् ।

फेरि एकपल्ट ‘करोडौँ कस्तुरी’तिरै लागौं । यो पुस्तकको थिम असाधारण छ ।

‘प्रत्येक मान्छेभित्र एउटा कस्तुरी हुन्छ, अद्भुत चिज हुन्छ । त्यसैले उसलाई सफल बनाउँछ । हामीले हामीभित्र भएको कस्तुरी पत्तो लगाउन सक्नु पर्छ ।’

माथि उल्लेखित खालिद हुसैनीद्वारा लेखिएको पुस्तक ‘अ थाउजेन्ट स्पलेनडिड सन्स’मा भने ‘अफगानी समाजमा नारीलाई हेर्ने दृष्टिकोण प्रस्तुत गरिएको छ । त्यहाँ ‘नारी भनेको फगत एउटा खेलौना मात्र हुन्’ भन्ने थिम बडो जोरदार तरिकाले प्रस्तुत भएको छ ।

‘पुत्र र पिताको सम्बन्ध’ देखाइएको कर्नाली ब्लुजले भने ‘छोराको आँखाबाट पिताको संघर्ष’ भन्ने थिम बोकेको छ ।

अझै केही पुस्तकलाई हेरौं ।

जीवन काँडा कि फूल

मलाई लाग्छ झमक घिमिरेले जीवन काँडा कि फूल लेख्नुभन्दा अगाडि ‘मेरो जीवनमा मैले भोगेको अनुभव अनुसार’ जीवन के होला काँडा कि फूल ? त्यो रहस्योद्घाटन यो पुस्तक मार्फत गर्नेछु भनेर सोच्नु भयो होला ।

पुस्तकभित्र  समेटिएका  घटनाक्रमहरूले पनि बारम्बार यसै थिमलाई सम्बोधन गर्छ ।

खलंगामा हमला

यो पुस्तकको हकमा भने विविध थिमहरू छन् ।

द्वन्द्वले के दिन्छ ?

नर्सपेसा के हो ?

मान्छेले मेहनत र हिम्मत गर्नु पर्छ । त्यसपछि मात्र बाटाहरू खुल्छन्

हामी गरीब हैनौ । हामी भन्दा पनि धेरै गरीब छन् – यो संसारमा ।

हामीले तिनीहरूको लागि केही गर्नु पर्छ ।

यिनै थिमहरूको सेरोफेरोमा कथा घुम्दछ ।

म्यान्ज सर्च फर मिनिङ

मानिसले जीवनमा बाँच्नुको अर्थ, आधार खोज्नु पर्छ । यी आधार र अर्थहरू भेटिएको खण्डमा तिनीहरूले कहिल्यै हिम्मत हार्दैनन् ।

यो पुस्तक यसै थिमको सेरोफेरोमा घुम्दछ ।

शिरीषको फूल

भनिन्छ  पहिलो र दोस्रो विश्वयुद्ध पश्चात्, निरसता, निराशता  र विसङ्गतिले भयावह रूप लियो ।

युद्ध लडेर घर फर्केका सैनिकहरूलाई युद्धको धङधङीले धेरै हदसम्म सतायो अनि भावनात्मक रूपमा एक किसिमले विक्षिप्त बनायो । त्यो विश्वयुद्धले उपहार स्वरूप दिएको खालीपनलाई इङ्गित गर्दै, दोस्रो विश्वयुद्धको सेरोफेरोमा धेरै समय बिताएका एउटा भूतपूर्व सैनिकको मानसिकतामा टेकेर कोरिएको उपन्यास हो – ‘शिरीषको फूल’ ।

सुयोगवीरले विश्वयुद्ध कालमा धेरै नारीहरूसँग रङिन रातहरू बिताइसकेको भए तापनि, साँचो प्रेमको अद्भुत स्वाद चाखेका हुँदैनन् ।   सुयोगवीर साँचो प्रेमको खोजीमा हुन्छ र भाग्यवश उसले सकम्बरीलाई भेट्छ । अनि फेरि गुमाउँछ ।

अधुरो मान्छे, अधुरै रहन्छ । मानिस जहिले पनि साँचो प्रेमको खोजीमा हुन्छ । शायद प्रेम भन्ने चिज दुई आत्माको मिलन हो, दुई शरीरको मिलन मात्र हैन ।

पारिजातले भन्न खोजेको कुरा यही हुनुपर्छ । पुस्तकको थिम यही होला ।

ब्रोकन विङ्स

खलिन गिब्रानले पनि यो पुस्तकमा “प्रेम के हो ? प्रेम कस्तो हुनुपर्छ ?” भन्ने थिम प्रस्तुत गरेका छन् ।

====

(क्यारेक्टर)

भावनात्मक रूपमा शक्तिशाली पात्र

माथि चर्चा गरिएका पुस्तकभित्रका पात्रहरू भावनात्मक रूपमा शक्तिशाली छन् । र नै  हामी कुनै न कुनै तरिकाले ती पात्रहरूसँग भावनात्मक रूपमा जोडिन्छौँ ।

राम्रा कथाकारहरूले यो कुरा बुझेका हुन्छन् ।

क्रयासिस (संकटको घडी)

कथाका मुख्य पात्र अचानक कुनै विषम परिस्थितिमा फस्नु ।

पुस्तक पढ्दै गर्दा कहिलेकाहीँ हामी एक्कासि झस्किन्छौं । ‘अब यो पात्रले कसरी यो परिस्थितिबाट बाहिर निस्किन्छ होला ? अब शायद पात्रले हार मान्छ होला ?’ यस्तै यस्तै कुराहरू हाम्रो मनमा खेल्छ ।

जब सुयोगवीरले प्रेमको लहरमा डुबेर एक्कासि सकम्बरीको सेतो गर्धन अँठ्याएर उसको कमलो ओठमा चुम्बन गरे, त्यहाँ एक्कासि संकटको घडी सुरु भयो । सुयोगवीरलाई ‘ के गरूँ, के भनूँ’ जस्तो भयो ।

त्यो दोधारको अवस्थालाई उसले यसरी व्यक्त गर्छन्, ‘डरलाग्दो सपनाबाट बिउँझे जस्तै म पसिनाले निथ्रुक्क भिजेको थिएँ, मुटु कामिरहेको थियो के गर्ने, स्थितिलाई साट्न सकिंदैन, त्यो दृष्टतालाई अब फिर्ता लिन सकिंदैन ।’

यो एउटा राम्रो ‘क्राइसिस’को उदाहरण हो ।

यसले एक्कासि सुयोगवीरको बारेमा पाठकहरूको मनमा सहानुभूति (सफ्ट कर्नर) उत्पन्न गरिदिन्छ । पाठकहरूले आफ्ना प्रिय पात्रले जसरी पनि त्यो विषम परिस्थिति माथि विजय प्राप्त गरोस् भन्ने चाहना राख्छन् । त्यसैले पाठकहरूले पढ्ने कार्य जारी राख्छन् ।

कनफ्लीक्ट (द्वन्द्व)

द्वन्द्व भनेको कथाका मुख्य पात्रहरूले सामना गर्नै पर्ने दोधारे स्थिति हो ।

‘प्रेम वा परिवार, आत्मसमर्पण वा आत्मदाह’ दुईमा एक चुन्नुपर्ने बाध्यता द्वन्द्वका उदाहरण हुन् ।

यसले पुस्तकमा भएको कथावस्तुलाई प्रभावित गर्दै विभिन्न अपत्यारिलो मोडहरू दिने गर्छ ।

यसले मुख्य पात्रलाई दुवै ‘ताप र चाप’ दिने कार्य गर्दछ । त्यही ताप र चापको फलस्वरूप, पात्रले निर्णय लिन्छ ।

====

कथाहरूमा प्रयोग हुने द्वन्द्वलाई निम्न प्रकारले वर्गीकरण गर्न सकिन्छ

१) पात्र–पात्र बिचको शारीरिक तथा मानसिक द्वन्द्व ।

२) पात्र र प्रकृति बिचको द्वन्द्व ।

३) पात्र र तिनले भोग्नुपर्ने परिस्थिति (समाज वा अन्य) बिचको द्वन्द्व ।

४) आफ्नो भावनाहरू सँगको द्वन्द्व ।

माथि उल्लेखित तीन प्रकारका द्वन्द्वलाई बाह्य द्वन्द्व भनी नामकरण गरिएको छ । यद्यपि, पात्रले आफ्नै भावनासँग गर्नुपर्ने द्वन्द्व भने आन्तरिक द्वन्द्व भनिन्छ ।

द्वन्द्व जे जस्तो भए पनि, यसले कथामा मसलाको काम गर्छ । राम्रा पुस्तकहरूमा द्वन्द्वको प्रयोग सटिक रूपमा गरिएको हुन्छ ।

यसले पाठकमा ‘ अब के हुन्छ होला ?’ भन्ने उत्सुकता जगाइदिन्छ। त्यही प्रश्नको उत्तर खोज्न, हामी पुस्तक पढाइलाई निरन्तरता दिन्छौं ।

चेन्ज (ममेन्ट अफ एपीफेनी)

(पात्रले कसरी विषम परिस्थितिबाट आफूलाई बाहिर निकाल्छ ? तिनले अन्ततः  के सिक्दछ । जीवनका कस्ता मूल मन्त्रहरू प्राप्त गर्छ)

जब कथा अन्ततिर पुग्छ, पात्रहरूले धेरै प्रश्नको उत्तर खोज गरिसकेका हुन्छन् । साथसाथै पाठकहरूले पनि धेरै कुरा थाहा पाउँछन् । पाठकभित्र रहेको चेतनाको आयतन बढेर आउँछ ।

मलाई लाग्छ यिनै माथि उल्लेखित कुराहरूलाई सशक्त ढंगबाट प्रस्तुत गर्न सक्ने क्षमताले गर्दा नै, केही लेखकहरू “शब्दहरूको जादुगर” बन्दछन् र तिनीहरूले लेखेका कथाहरू मदन पुरस्कार विजेता, बेस्ट सेलर बनिदिन्छ ।