मुक्तिप्रसाद उपाध्याय (१९५५) बाल विज्ञान उपन्यास ‘मालती’ का लागि साहित्य अकादमी बाल साहित्य पुरस्कारद्वारा सन् २०१५ मा पुरस्कृत उपन्यासकार हुन् । उपाध्याय सिलगढी कृष्णमाया मेमोरियल नेपाली उच्चतर स्कुलबाट अवकाश प्राप्त शिक्षकसमेत हुन् । सन् १९८२ डिसेम्बर २ मा सिलगढीबाट प्रकाशित हुने हिमालचुली दैनिक पत्रमा गरिब देशको महँगो कोसेली (निबन्ध) प्रकाशन गरी उपाध्याय नेपाली साहित्यमा औपचारिक प्रवेश गरेका थिए । उपाध्यायका विभिन्न विधाका गरी दुई दर्जन पुस्तक, डेढ दर्जन अनुवाद र ९ ओटा सम्पादन पुस्तक प्रकाशित छन् । असमीया, नेपाली, बाङ्लालगायतका भाषामा नाटक र चलचित्र लेखन, निर्देशन र अभिनयसमेत गरेका मुक्तिप्रसाद उपाध्यायका पूर्वायन प्रकाशन, गुवाहाटीबाट हालै समीक्षा गुच्छ (समीक्षा, २०२३), संस्मरण गुच्छ (संस्मरण, २०२३) र पदचिह्न  पहिल्याउँदै (उपन्यास, २०२३) गरी तीन वटा कृति प्रकाशित भएका छन् ।

समीक्षा गुच्छ (२०२३)

यस समीक्षासङ्ग्रहमा आठओटा समीक्षा रहेका छन् । साहित्यका तीन वटा रूपमध्ये दृश्य रूपअन्तर्गत पर्ने नाटकले समाजमा पारेको प्रभावका बारे ‘नाटक विधा अनि समाजमा यसको प्रभाव’ मा गरिएको छ । अलग अलग उपशीर्षक बनाएर दार्जिलिङ, खर्साङ, कालेबङु, सिक्किम, असम तथा पूर्वाञ्चल र दुवर्स तथा सिलगढीमा भएका पौराणिक नाटकहरूको लेखन तथा मञ्चनको रेखाङ्कन भारतेली नेपाली नाटकको पौराणिक सन्दर्भमा प्रस्तुत गरिएको छ ।

समीक्षा गुच्छ

समीक्षा गुच्छ

सन् १९४९ तिर पर्शुराम छेत्रीले लेखेको ‘हरिश्चन्द्र’ नाटक सिलगढीको सेभोकमोडमा मञ्चन भएदेखि सन् २०१९ को २ फेब्रुवरीमा राजु शाशङ्करको लेखन तथा कृष्ण गुरुङको निर्देशन र योजेन लामाको सङ्गीत रहेको गल्ती कसको नाटक मञ्चन भएसम्मको इतिवृतान्त ‘सिलगढीमा नेपाली नाटक मञ्चन: एक टिपोट’ नाटकमा रहेको छ ।

असममा नेपाली नाटकको प्रारम्भ पौराणिक र ऐतिहासिक नाटकबाटै भएको तथ्य ‘गुवाहाटी क्षेत्रमा नेपाली नाटक मञ्चन: एक टिपोट’ मा प्रस्तुत गरिएको छ । असम राज्यको तेजपुरदेखि पूर्व बटियामारी गाउँमा सन् १९१९ मा हरिनारायण विद्याभूषणले आफ्नै नेतृत्वमा नाटक मण्डली गठन गरेदेखि २३ एप्रिल २०१६ सम्म भए गरेका सन्दर्भहरू यस समीक्षामा प्रस्तुत गरिएको छ । नेपाली नाट्य जगतका शिखर पुरुष नाटककार मनबहादुर मुखियाको अनि देवराली रुन्छ (सन् १९७२) नाटकसँग सम्बन्धित समीक्षा रहेको छ अनि देवराली रुन्छको अर्ध शताब्दी ।

सन् १९४३ दिसम्बर ८ दिन दार्जिलिङको तीनधारे स्थित राजबाडीमा लक्ष्मण श्रीमलको जन्म भएको थियो । श्रीमलले सन् २००७ मा ‘कर्फ्यू’ एकाङ्की नाटकसङ्ग्रहका लागि साहित्य अकादमी पुरस्कारसमेत पाएका थिए । उनै लक्ष्मण श्रीमलका रेडियो नाटकसम्बन्धी समीक्षा ‘लक्ष्मण श्रीमलका रेडियो नाटकमाथि एक विहङ्गम दृष्टि’ मा रहेको छ ।

सन् २०१६ मा तेजपुर युनिभरसिटीको भवनमा राष्ट्रवाद एवम् भारतीय नेपाली साहित्यमाथि कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा लेखक मुक्तिप्रसाद उपाध्यायले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यही कार्यक्रममा प्रस्तुत गरिएको कार्यपत्र ‘राष्ट्रिय चेतना र भारतीय केही नेपाली कथाहरू’ रहेको छ ।

सन् २०१९ मा लेखक मुक्तिप्रसाद उपाध्याय बेलायत गएका थिए । त्यही मेसोमा विश्वदीप तिगेलाले विजय हितानसँग उपाध्यायलाई २१ अगस्टका दिन भेट गराइदिएका थिए । त्यही भेटदेखि हितानको ‘पँधेरीले लुकाएको अँध्यारो’ कथामाथि समीक्षा लेख्दाको अनुभवसम्म ‘विजय हितानको एउटा पर्या कथाको गहिराइतिर लम्किँदा’ शीर्षकमा प्रस्तुत गरिएको छ ।

१३३ पृष्ठ रहेको यस पुस्तकको मूल्य ३ सय रुपैयाँ रहेको छ ।

====

संस्मरण गुच्छ (२०२३)

यस संस्मरण सङ्ग्रहमा सम्झनामा नेपाली मन्दिर गुवाहाटी, सम्झनाको सेरोफेरोमा गोर्खा एम.ई.स्कुल गुवाहाटी, सम्झनाको तरेलीमा हरिप्रसाद गोर्खा राई, भानुभक्तसित म, चलचित्र जीवन काँडा कि फूल: आनन्द प्रसव वेदनाको, सम्झनाका केही मीठा झझल्काहरू र खोप गरी सात वटा संस्मरणहरू रहेका छन् ।

संस्मरण गुच्छ

संस्मरण गुच्छ

सन् १९३२ मा गुवाहाटी स्थित पानबजारमा स्थापना भएको नेपाली मन्दिरलाई केन्द्र बनाएर लेखिएको संस्मरण सम्झनामा नेपाली मन्दिर गुवाहाटी रहेको छ । त्यसै गरी ‘सम्झनाको सेरोफेरोमा गोर्खा एम.ई.स्कुल’ शीर्षकको संस्मरणमा सन् १९४६ मा स्थापना भएको स्कुलले १४ नोभेम्बर २०२१ मा ७५ औँ वार्षिक उत्सवको मनाउँदा सम्पन्न गरिएको सांस्कृतिक कार्यक्रम लेखकले सञ्चालन गर्दाको अनुभवहरू समेटिएको छ ।

भारतीय नेपाली कथा साहित्यका अग्रज हुन् हरिप्रसाद गोर्खा राई । कथाकार राई गुवाहाटी रेडियो स्टेसनका सहायक निर्देशकसमेत भएका थिए । २३ एप्रिल २०१६मा श्री माधवदेव अन्तर्राष्ट्रिय सभागृह पञ्जाबारी गुवाहाटीमा हरिप्रसाद राई शत वार्षिकी कार्यक्रम सम्पन्न भएको थियो । त्यही कार्यक्रम र भारतीय नेपाली साहित्यमा हरिप्रसाद गोर्खा राईको योगदान र लेखकसँग उनको सान्निध्यता ‘सम्झनाको तरेलीमा हरिप्रसाद गोर्खा राई’ संस्मरणमा उल्लेख छ ।

सन् १९५५ अर्थात् वि.सं. २०१२ देखि लीलबहादुर छेत्रीको नेतृत्वमा गुवाहाटीमा भानुजयन्ती मनाउन थालिएको सम्झना गर्दै भानुभक्तको कृतित्व र योगदानको चर्चा ‘भानुभक्तसित म’ संस्मरण उल्लेख गरिएको छ ।

झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ ले सन् २०१० मा मदन पुरस्कार पायो । यसको करिब दुई वर्षपछि सन् २०१२ को जुन महिनादेखि यस कृतिमाथि चलचित्र बनाउन लेखकका मित्रसमेत रहेका विनोद विष्टले राखेको प्रस्ताव राखे । उक्त चलचित्रको पटकथा लेखेका लेखक उपाध्यायले चलचित्र निर्माणकार्य गर्दाको आनन्द र दुःखलाई निक्कै सूक्ष्म रूपमा ‘चलचित्र जीवन काँडा कि फूल: आनन्द प्रसव वेदनाका’ मा समेटेका छन् ।

बी.बी.सी. नेपालीमा सेवा भट्टराई कार्यरत थिइन् । उनले बी.बी.सी. नेपाली सेवामा अन्तर्वाता प्रसारण गर्ने उद्देश्यले नेपाली चलचित्रकी प्रथम महिला सङ्गीतकार हुन् शान्ति ठटाल लक्खीदेवी सुन्दास, इन्द्रबहादुर राईलगायतलाई सिलगढी गएर भेटिन् । सिलगढी विगत लामो समयदेखि भारतीय नेपाली साहित्यका शिखर व्यक्तित्वहरू बसोबासको एउटा केन्द्र बन्दै गएको छ । त्यही केन्द्रमा ती शिखर व्यक्तित्वहरूसँग वि.वि.सी.सेवाका लागि सेवा भट्टराईलाई भेटघाट सम्बन्ध सेतु बनेका थिए मुक्तिप्रसाद उपाध्याय । उस बेलाको त्यही सन्दर्भ ‘सम्झनाका केही मीठा झझल्काहरू’ मा पाइन्छ । त्यसै गरी यस संस्मरण सङ्ग्रहमा कोरोनाको कहरको सन्दर्भ ‘खोप’ मा रहेको छ ।

१३४ पृष्ठ रहेको यस पुस्तकको मूल्य २ सय ५० रुपैयाँ रहेको छ ।

====

पदचिन्ह पहिल्याउँदै  (२०२३)

यस उपन्यासको आख्यानले इतिहासको रूपरेखामा यात्रा गर्छ । कुनै भौगोलिक र राजनैतिक सीमा नलाग्दैदेखि आरम्भ भएको नेपालीको यायावरीय चरित्र अहिले आएर नेपाली जातिकै एक विशेषता बन्न पुगेको छ । त्यही विशेषता वा चरित्रको औपन्यासिककरण यस उपन्यासमा पाइन्छ ।

पदचिन्ह पहिल्याउँदै 

पदचिन्ह पहिल्याउँदै

बर्माबाट कठिनाइ भोग्दै आसाम पस्नेहरूको अभिभावक भक्तलाल र बनारसबाट प्रवेश गर्ने श्रीकृष्ण, रविलाल र टिकाराम आदि यस उपन्यासका प्रतिनिधि पात्रहरू हुन् । यस उपन्यासमा करिब डेढदुई सय वर्षको इतिहासका सूक्ष्म अनुरेखाहरू रहेका छन् । नेपालदेखि निस्केका नेपाली पुर्खाहरू भारत र बर्मा हुँदै थाइल्यान्डसम्म पुगेको, भारतवर्षका विविध प्रान्तमा छरिएर भुटानतिर पुगेका, कोही फेरि उतै रमेर नेपाली संस्कृति बीज हुर्काउँदै बसेका, कोही मूलभूमि फर्केका, नफर्के तापनि विभाजित मन दुवैतिर छ । सम्बन्ध आवागमन दुवैतिर वा अनेकतिर छ । सम्पूर्ण नेपाली यही चरित्रमा हुर्किएर त्यही मानसिकतामा मुगलान, भोट, लाहुर, विदेश जस्ता शब्द र ती शब्दले बनेका बिम्बहरू यस उपन्यासमा पाइन्छन् ।

उपन्यासको आरम्भले पाठकलाई अन्तर्पाठको संसारमा निकै बेर भुल्याउनेछ । कथाको कालखण्ड केही अघिको भए पनि यहाँ उपन्यासकारले नेपाली समाजको व्यापार–व्यवसाय र शिक्षाप्रतिको अनुरागलाई विशेष महत्त्व दिएको पाइन्छ । ग्रामीण जीवनको चित्रणमा उपन्यासकार खप्पिस देखिएका छन् भने चरित्र निर्माण प्रक्रियामा उस्तो त्रुटि भेटिन्न ।

उपन्यासमा अस्वाभाविक प्रसङ्ग पनि रहेका छन् । एकातिर उपन्यासले लिएको समय र समाजमा बालविवाह गरिदिने परम्परा छ । अर्कोतिर रत्ना र गीता यौवन अवस्थामा प्रवेश गरे पनि उनीहरूलाई अविवाहित देखाइएको छ ।

अलिकति बहुविवाहप्रतिको उदार मनोभाव अनि यौनप्रसङ्गलाई निकै खुलेर प्रस्तुत गर्ने काम गरिएकोले केही पाठकलाई यो प्रसङ्ग दिक्क लाग्दो हुनसक्छ । त्यसबाहेक त्यो समयमा पनि गीताहरूले राणा पुलिसको हातबाट उम्कन गरेको साहसिक कदम, सुन्तली र उनका साथीहरू अनि रत्नाको उदार वैचारिकता, लक्ष्मीको सहनशीलता जस्ता प्रवृत्ति केलाउँदा उपन्यासकारमा नारीवादी चेतना धेरै मुखरित बनेको पाइन्छ । भारतीय नेपाली साहित्यमा यो उपन्यास सङ्गृहीत नै छ ।

२१८ पृष्ठ रहेको यस पुस्तकको मूल्य ४ सय रुपैयाँ रहेको छ ।