
‘आम्मामा… अर्जुन ! यति विघ्न पेपर किन थुपारेको ? के गर्न आँट्यौ ?’ मेरो कोठामा हिमालचुली दैनिक पत्रको थाक देखेर मलाई कर्म दिने आमा (माइज्यू) ले भन्नुभएथ्यो ।
‘यसमा राम्रा-राम्रा कुराहरू हुँदा रहेछन्, पढ्दै भाइ-बहिनीलाई पनि बुझाउनु पर्यो भनेर नि ।’ मैले यसै भने झैँ लाग्छ ।
‘ए ! त्यसो भए भाइ-बहिनीलाई यसमा भएका राम्रा कुराहरू राम्ररी सम्झाउनु है ।’ माइज्यूले भन्नुभयो ।
संवादको सम्झना ताजै छ ।
ती पेपरका थाक डा. पारसमणि प्रधानद्वारा सम्पादित ‘हिमालचुली’ दैनिकका थिए ।
सम्झेर ल्याउँदा यी कुराहरू आजभन्दा झण्डै चार दशकअघिका रहेछन् । म सिलगढीको प्रधान नगरस्थित भानुभक्त प्राथमिक पाठशालाबाट चौथो श्रेणी छिचोलेर पाँचौँ श्रेणीमा भर्तीका निम्ति दार्जिलिङको सेन्ट रोबर्ट्स विद्यालयमा प्रवेश पाए पनि त्यहाँ पढ्ने सोचलाई तिलाञ्जली दिँदै सिलगढीमै झरेर माइज्यूलाई दङ्ग्याउँदै ‘पढाए मलाई यहीँ पढाउनु, नपढाए म यहीँ भाँडा माझ्दै बस्छु’ भन्दाको समय थियो त्यो । आफूले स्कूल पढ्न नपाए पनि विद्याको महत्वलाई राम्ररी बुझेकी मेरी माइज्यूले तत्कालै सिलगढीको डा. आई. बी. थापा विद्यालयमा पाँचौँ श्रेणीमा भर्ती गराउनुभएको थियो । अध्ययनको निम्ति माइज्यूले निभाउनु भएको भूमिका मेरो जीवनमा टर्निङ पोइण्ट थियो ।
त्यसरी नै आज म पत्रकारिता क्षेत्रमा आएको टर्निङ पोइण्ट पनि ‘हिमालचुली’का प्रधान सम्पादक डा. पारसमणि प्रधान हुन् । १९८२ सालतिर हुनुपर्छ, सातौँ कक्षाको विद्यार्थी म, केवल पाठ्य पुस्तकलाई बढी महत्त्व दिनेमा गनिन्थेँ, मेरो प्रतिभा मलाई नै थाहा थिएन । ठीक त्यही समयमा मेरी मित्र सुनिता चहारको दबाउका कारण कनीकुथी केही लेख्ने प्रयास चलिरह्यो । रोमाण्टीसिज्मलाई अँगाल्दै तिनताकको समयमा कथा, कविता मात्र होइन नाटक र उपन्यास पनि लेखियो । ती रचनाहरू आज समजोपयोगी छैनन्, रचनाहरू केवल लहड र रहरमा सीमित थिए ।
यसैकारण त्यस अवधिमा लेखिएका तर प्रकाशित नभएका ती रचनाहरूलाई छापामा ल्याउने कहिल्यै प्रयास गरिनँ । तर मेरा केही सिर्जनाहरूलाई ‘हिमालचुली’ दैनिकले मजस्तो सिकारु कलमलाई जसरी स्थान दियो त्यो मेरो निम्ति पत्रकारितामा चढ्ने सिँढी भयो । अझ मेरा रचनाहरू हिमालचुलीमा प्रकाशनयोग्य थिए कि थिएनन् तर रचना प्रकाशनका निम्ति स्थान दिनका साथसाथै एकमुष्ट रकम (रचना प्रकाशित भएबापत्) १२ सय रुपियाँ स्वनामधन्य डा. पारसमणि प्रधानका हातबाट प्राप्त गर्नु मेरो जीवनमै सबैभन्दा महत्त्वपूर्ण पल थियो ।

डा. पारसमणि प्रधान
डा. पारसमणि प्रधानद्वारा सम्पादित ‘हिमालचुली’-मा मेरा रचनाहरू प्रकाशित नहुँदा हुन् अथवा उनले मलाई रुपियाँ नथमाउँदा हुन् त आज सायदै म पत्रकारिता क्षेत्रमा हुन्थेँ हुँला र ! यसकारण मैले डा. पारसमणि प्रधानलाई पत्रकारिताको क्षेत्रमा पहिलो गुरु मानेको छु । कसैलाई गुरु मान्नका निम्ति उनले पढाएकै हुनुपर्छ भन्ने मलाई विश्वास छैन, जसले व्यक्त-अव्यक्त रूपमा घुम्ती, गल्छेंडी, कान्ला, कटेरा पार गराउने उपाय दिन्छ अथवा सोझो बाटो नदेखाएर बाटो खन्ने औजार दिन्छ, उसलाई निर्धक्क गुरु मान्दा हुन्छ भन्ने मेरो व्यक्तिगत मान्यता हो ।
अब यस्ता नेपाली जाति र भाषाका मनीषी मान्न सकिने पारसमणि प्रधानको कुन पाटोसम्बन्धी लेख्ने भन्ने द्विविधामा अहिले पनि म यथावत् रूपमै छु । उनले नेपाली जातिको विकासको निम्ति प्रायः सबै क्षेत्रमा हात हालेका छन्, सबैमा उनी सफल पनि देखिन्छन् । पारसमणि प्रधानलाई अध्ययन गर्दै जाँदा उनका सम्बन्धमा प्रायः तीन विन्दुलाई मैले एकै ठाउँमा पाएको छु ।
हामीले इतिहास पढेर थाहा पाएको कुरा – नेपाली भाषीको यथार्थ इतिहास कसैले लेखिदिएन । कसैले सही दस्ताबेजका साथ लेखिदिएका भए यो जातिको यो गति हुने थिएन । नेपाली जातिको साहित्य भनौँ अथवा पत्रकारिताको पाउला फेर्न थालेको लगभग एक सय वर्ष हुन थालेछ । हामी २०२० को मध्यमा विश्व महामारी कोरोनाको चपेटमा छौँ । आजभन्दा झण्डै एक सय वर्षअघि २४ जुलाई, १९१८ को कलकत्ता ग्याजेटमा नेपाली भर्नाकुलर विषय म्याट्रिक, आई. ए. र बी. ए. -का निम्ति कलकत्ता विश्वविद्यालयले स्वीकृति दिएको कुरा छापिएको थियो ।
यसरी नेपाली भाषालाई भर्नाकुलरको मान्यता प्राप्त हुँदा सबै नेपाली समुदाय हर्षित बन्नु स्वाभाविक थियो तर यति सुफल पाउनका निम्ति उनले कस्ता-कस्ता खप्की र लाञ्छना सहनु पर्यो । त्यसको बेग्लै इतिहास छ । संक्षिप्तमा भन्नुपर्दा डा. पारसमणि प्रधानले आफू नवौँ श्रेणीमा हुँदा शिक्षा अधिकारी वर्गलाई ‘नेपाली भाषालाई म्याट्रिक परीक्षाको निम्ति एउटा विषयको रूपमा मान्यता दिइयोस्’ भनी अर्जी चढाउन जाँदा ‘नेपाली पनि कुनै भाषा हो र ? यो त कुल्लीले बोल्ने बोली मात्र हो ।’ भन्ने लाञ्छना खप्न नसकेर ‘नेपाली भाषा एक सभ्य जातिको एक उत्कृष्ट भाषा हो’ भन्ने प्रमाणित गराउन उनी जसरी लागिपरे त्यो नमेटिने इतिहास बनेर गडिएको छ ।
भनौँ उनले निर्माण गरेको घडेरीमाथि आज हामी नेपाली जाति आफ्नो उत्कृष्ट भाषामाथि गर्व गर्छौँ । त्यही समयदेखि दार्जिलिङ भेकबाट प्रथम ‘चन्द्रिका’ जस्तो गरिमायुक्त पत्रिकाको उदय भएको ठान्छन् इतिहास वेत्ताहरू । उनले नेपाली भाषाको शब्दकोशदेखि लिएर चाहिने जति सामग्री जोगाड गरे । ‘भारती’ पत्रिकालाई लगातार नौ वर्ष चलाएर नेपाली भाषी चाहेको खण्डमा जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहन्छन् भन्ने सन्देश उनले दिएका थिए । यो केवल संक्षिप्त आकलन मात्र हो ।
अब आउँछ ‘दिल्ली साहित्य अकादमी’मा नेपाली भाषालाई मान्यता दिलाउने सन्दर्भ । दिल्ली साहित्य अकादमी १२ मार्च,१९५४ मा स्थापित भएपनि आफ्नो स्थापनाको झण्डै २१ वर्षपछि १९७५ मा नेपाली भाषालाई साहित्य अकादमीले भारतको स्वतन्त्र आधुनिक भाषाको रूपमा मान्यता प्रदान गरेको थियो । अब प्रश्न उठ्न सक्छ । यसको निम्ति के-कस्तो पापड बेल्नुपर्यो ।
नेपाली जातिले सङ्घर्ष गर्नु नपरेको न ठाउँ छ न त समय नै । यसै र यसै प्रसङ्गमा भन्नु पर्दा २० डिसेम्बर, १९७३ मा बम्बईमा नेपाली भाषाको छानबिन गर्न र पारसमणि प्रधानका पुस्तकहरूमाथि विचार विमर्श गर्न विशेषज्ञहरूको सभा एक डाकिएको थियो । सो सभामा पनि नेपाली भाषामाथि शङ्का-उपशङ्का गर्ने कार्यहरू भएकै हुन् । ती शङ्का-उपशङ्काहरूलाई निराधार र बेबुनियाद बताउँदै पारसमणि प्रधानले ‘नेपाली जाति साहित्य अकादमीमा पस्न चाहेको नेपाली भाषा र विकासको निम्ति हो’ भन्ने जवाफमा प्रसन्न हुँदै बङ्गला साहित्यका प्रकाण्ड विद्वान् र तिनताकका साहित्य अकादमीका अध्यक्ष सुनीतिकुमार चट्टोपाध्यायले ‘नेपाली भाषालाई अकादमीमा मान्यता दिनु कुनै आपत्ति छैन’ भन्ने वाक्यसँगै नेपाली भाषीका निम्ति सुनौलो हस्ताक्षरित दस्ताबेज लिएर फर्किएका थिए पारसमणि प्रधान । यो उनको दोस्रो अध्याय थियो ।
उनको तेस्रो र अन्तिम अध्याय अझ रोचक र मर्यादायुक्त देखिन्छ । नेपाली भाषालाई संवैधानिक मान्यता दिलाउनका निम्ति भारतका विभिन्न प्रान्तमा स्थापित भइबसेका नेपाली भाषाहरू एकजुट बन्दै थिए । दार्जिलिङ, डुवर्स, असम, देहरादूर, भाग्सूका प्रतिनिधिहरू भारतकी भूतपूर्व प्रधानमन्त्री स्व. इन्दिरा गान्धीको शासनकालमा नेपाली भाषालाई संविधानको आठौँ अनुसूचीमा मान्यता दियाजावोस् भन्ने निवेदनका साथ ज्ञापन चढाउन जाँदा उनले भाषालाई भारतको संविधानको आठौँ अनुसूचीमा गाभ्नका निम्ति केही प्रावधानहरूको स्मरण गराउँदै ‘तपाईंहरूको नेपाली भाषामा कतिवटा दैनिक समाचार-पत्रहरू छन् ?’ भनी राखेको प्रश्नले नेपाली जातिलाई नै मर्माघात बनाएको थियो । तिनताकको समयमा नेपाली भाषामा एउटै पनि समाचार-पत्र नभएको स्थितिमा यो प्रश्न निकै चुनौतीयुक्त थियो ।
त्यसको समाधानको पहल पनि डा. पारसमणि प्रधानबाटै सम्भव भएको थियो । यहाँ धेरैले प्रश्न गर्नसक्छन्- अरू पनि थिए त । हो, यस आन्दोलनमा धेरै संघ, सङ्गठनदेखि लिएर विभिन्न राजनैतिक दलका प्रतिनिधिलगायत समाजका प्रबुद्ध मानिसहरूको पनि सहभागिता थियो । तर हामी सबैलाई थाहा भएको कुरा के हो भने घर बनाउनभन्दा पहिले नवीन सोच प्रादुर्भाव हुनुपर्छ । त्यसका निम्ति घरमूलीले नै पहल गर्नुपर्ने हुन्छ । त्यस्तै घरमूलीको काम गरेका थिए- पारसमणि प्रधानले ।
१९८० को दशकमा सिलगढीबाट ‘उत्तरबंग संवाद’ का मालिक सुवास तालुकदारको प्रकाशनमा ‘हिमालचुली’ दैनिक सुरु भयो । यसका प्रधान सम्पादक डा. पारसमणि प्रधान, संयुक्त सम्पादक कथा सम्राट् शिवकुमार राई थिए । यिनीहरूको नेतृत्वमा नेपाली भाषीले एउटा दिगो समाचार-पत्र पायो र भारतको केन्द्रको नेतृत्वलाई पनि गतिलो जवाफ । पछि डा. पारसमणि प्रधानको देहावसानपछि प्रधानमन्त्री पी. वी. नरसिम्हा रावको पालामा २० अगस्त, १९९२मा नेपाली भाषाले संविधानको आठौँ अनुसूचीमा मान्यता पायो । यसरी डा. प्रधानले नेपाली भाषीका निम्ति कहिल्यै नमेटिने र कसैले हेप्न नसक्ने दस्ताबेजहरू दिएर गएका छन् ।
यसरी भाषा-साहित्य होस् अथवा पत्रकारिताको इतिहास जहीँ पनि पारसमणि प्रधानको नाम नलिइए नेपाली जातिकै इतिहास अधुरो हुन जान्छ । आज नेपाली समाजमा पारसमणिलाई नपढेका न कुनै साहित्यकार छन् न त पत्रकार नै । उनले सङ्घर्षको अघि झुक्दै कलकत्ता विश्वविद्यालयले नेपाली भाषालाई म्याट्रिकको परीक्षामा र आई. ए., बी. ए. नेपाली भाषामा लेख्न पाउने अधिकार दियो । उनकै तर्कअघि झुक्दै साहित्य अकादमीले नेपाली भाषालाई मान्यता दियो । उनकै प्रयासमा शुरु भएको समाचार-पत्रको घडेरीमा उभिएर नेपाली भाषाले संविधानको आठौँ अनुसूचीमा मान्यता पायो । यसरी नेपाली साहित्यको श्रीवृद्धि र समृद्धिमा पारसमणि प्रधानले दिएको योगदानलाई कसरी कदर गरियो/गरिएन । यस विषयमाथि अलग प्रकारले बहस हुन जरुरी छ ।
हिन्दी भाषामा ज्ञानार्जन गरिरहेको समाजलाई शुद्ध आफ्नो मातृभाषा नेपालीमा शिक्षा-दीक्षा लिने, आफ्ना कुराहरूलाई आफ्नै भाषामा अभिव्यक्ति दिन सक्ने बनाउने पारसमणि प्रधान नेपाली जातिका निम्ति आकाश जत्तिकै फराकिला व्यक्तित्व हुन् ।
नेपाली जातिका एक भरपर्दा ‘क्षितिजको खोज’का उपन्यासकार असीत राईले पारसमणि प्रधानलाई दार्जिलिङका भानुभक्त भनेका छन्, अझ मेरो व्यक्तिगत विचारमा भारतीय स्तरमै नेपाली साहित्यमा पारसमणि प्रधानलाई भानुभक्त नै भन्दा केही फरक परोइन कि ? नानीहरूलाई क-ख, अ-आ चिनाउनदेखि लिएर भाषाको एकरूपतामाथि उनले चालेका कदमहरू, नेपाली जातिलाई आत्मनिर्भरशील बनाउनका निम्ति उनी आफै लागिपरेका कर्महरू पढ्दा र सुन्दा आजको पिँढी कति लाछी छ, यहाँ गीत आउन आवश्यक देखिँदैन । आजका वरिष्ठ पत्रकारहरूले जति नै हाँक पिटे पनि, स्थापित साहित्यहरूले आ-आफ्नो शान जति नै देखाए पनि उनीहरू सबै पारसमणिभन्दा बाउन्ने नै हुन् । उनका प्रत्येक कर्महरू प्रेरणादायी र फलयुक्त छन् । उनीमाथिको अध्ययन नेपाली समाजले अझ गर्न जरुरी छ । उनका सम्मानमा धेरै कार्यहरू भएनन् होइन, समृद्ध रूपमै भएका छन् ।
आज धेरै साहित्यकारहरू उत्तराधुनिकतावाद भन्दै स्यालको पुच्छर समाउन दौडिए जत्तिकै छन् । तर पारसमणिका कर्म र उत्कृष्ट कदमहरूलाई आफ्ना सिर्जनाहरूमा समाविष्ट गराउनु लज्जाबोध ठानेको स्थिति छ । सिक्किमकी प्रबुद्ध लेखिका डा. शान्ति छेत्रीले डा. पारसमणिका कृतिमा नैतिकता शीर्षकमा एक ठाउँ भनेकी छन्, ‘नैतिकता घोकाउनुभन्दा पहिले व्यक्तिकै नैतिकता बलियो हुनुपर्छ भने पारसमणि प्लेटो जतिकै बलिया नीतिवादी हुन्, मात्र उपदेशक होइनन्-नीतिका प्रतिफलक पनि हुन् । त्यसैले पारसमणि हाम्रा प्लेटो पनि मेथ्यू आर्नोल्ड पनि ।’
पारसमणि प्रधानले गरेका कर्महरू प्रगतिशीलताको खाँचामा ल्याएर समीक्षा, आलोचना अथवा प्रत्यालोचना हुनुपर्छ तर उत्तराधुनिकताको हाउ देखाएर उनका कर्महरूलाई नजरअन्दाज गर्न मिल्ला के ? नेपाली जातिको दिगो र दीर्घम्यादी विकासका निम्ति पारसमणिले जत्तिको धैर्यधारणका साथ कसैले पनि काम गरेको छैन भन्न मिल्छ कि मिल्दैन त्यो पनि बहसको घेरामा पर्नेछ तर भारतमै सुधपा त्रिमूर्ति हुन् तर उनीहरू तीनजनाले गरेको कामबाट एक्लो पारसमणि प्रधानले गरेका कामहरूलाई अलग छुट्याएर हेर्नुपर्दाको स्थितिमै सायद डा. सुनीति कुमार च्याटर्जी भन्न बाध्य भए- ‘पारसमणि खालि साहित्यिक होइनन् तर ती हुन् एउटा इन्स्टिट्यूशन ।’ यसैगरी प्रबुद्ध साहित्यकार असीत राईले उनलाई ‘उनी दार्जिलिङे नेपालीका निम्ति भानुभक्त ।’ भनेका छन् भने वरिष्ठ साहित्यकार डा. इन्द्रबहादुर राईले उनलाई ‘पारसमणि प्रधान अब हामीलाई तीर्थ हुनुभएको छ ।’
यसरी नै बङ्गलाका साहित्यका धुरन्धर साहित्यकार असितरञ्जन दासगुप्तले पारसमणि प्रधानलाई ऋषिसँग तुलना गर्दै बङ्गला साहित्यका महारथी विद्यासागर तथा राजशेखर बसु (परशुराम) का कृतिहरूसँग दाँजेर हेरेका छन् ।
समालोचनाको क्षेत्रमा एउटा अलग पहिचान बनाउने वरिष्ठ साहित्यकार तथा गीतकार प्रा. जश योञ्जन ‘प्यासी’ले पारसमणिलाई अझ बङ्किमचन्द्र चट्टोपाध्यायको रचना ‘खद्योत’ (नेपाली भाषामा जुनकिरी) सँग तुलना गर्दै अँध्यारो नेपाली समाजलाई जुनकिरी जस्तै मेहनतिलो हिसाबमा उज्यालो दिने व्यक्ति ठहर गरेका छन् ।
यी माथिका कथनबाट के अर्थ लाग्छ भने पारसमणि प्रधानले नेपाली समाजप्रति पुर्याएको योगदानको कदरलाई भारतका अन्य भाषा भाषीसमक्ष पुर्याउने कार्यमा के हामी पछि पर्दैछौँ ? बेलाबखत साहित्यिक कार्यक्रम अथवा भेला गोष्ठीतिर साहित्यानुरागीहरूको जमघट हुन्छ । त्यहाँ पनि पारसमणि प्रधानले गरेका कामको चर्चा कम र आफूले के लेखियो र के सुनाइयो भन्ने तर्क नै बडी हुने गर्छ । आफूले अरूका रचनाहरू पढेको अथवा सुनेको चर्चा नहुनु पनि उदेकलाग्दो स्थिति छ हामीमाझ ।
यसै प्रसङ्गमा एउटा घटना यहाँ उद्धृत गर्न चाहन्छु । एकदिन मेरै घरमा प्रगतिवादी साहित्यकार विजयकुमार सुब्बा, वरिष्ठ व्यङ्ग्य साहित्यकार तथा राजनैतिक आलोचक एम. एन. दाहाललगायत केही मित्रहरूमाझ साहित्य सन्दर्भ सम्बन्धमा चर्को बहस चलिरहेको थियो । चर्चामा बङ्गला साहित्य, हिन्दी साहित्य हुँदैहुँदै दार्जिलिङ भेकदेखि लिएर असमसम्मको चर्चाले ठाउँ पाउँदा पारसमणि प्रधानसम्बन्धीमा चर्चा हुँदा विजयकुमार सुब्बा यसो भन्थे-‘सिक्किमेली साहित्यमा पाठ्यपुस्तकको अभावमा पारसमणि प्रधानले पुर्याएको योगदान अतुलनीय छ । उनैले तयार पारेको पुस्तकका कारण आज हामी साहित्य अनुरागी बनेका छौँ र उनीप्रति हुनुपर्ने कदर र सम्मानका निम्ति सिक्किमले पनि भूमिका निभाउनेछ भन्ने आशा छ ।’
यसै कोणमा एम.एन. दाहाल यसो भन्छन् – हामीले बुझेका र सुनेका ‘सुधपा’ (सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, पारसमणि प्रधान) मा ‘सुध’ नेपालपट्टि लागे । ‘पा’ यतै बसे । ‘सुध’ – ले नेपाल राष्ट्रमा उनीहरूले नेपाली भाषाप्रति दिएको योगदानलाई कदर गर्दै राष्ट्रिय स्तरमा सम्मान पाए । डा. पारसमणि प्रधानको अथक प्रयासमा नेपाली भाषाले संविधानको आठौँ अनुसूचीमा मान्यता प्राप्त गरे पनि उनको समयमा नेपाली भाषालाई भारतमा मान्यता प्राप्त नभएका कारण पारसमणि प्रधानले राष्ट्रिय स्तरमा पाउनुपर्ने सम्मान नपाएको गुनासो छँदैछ । साथसाथै आजको साहित्यलाई पर्गेल्दै जाँदा नेपाली साहित्यका सर्जकहरूले पारसमणि प्रधानलाई पन्छाउन थालेको हो कि भन्ने भान हुन्छ ।’
यी माथिल्लो पङ्क्तिमा गरिएका उद्गारबाट मलाई अर्को कुरा के याद आउँछ भने एकदिन मलाई वरिष्ठ साहित्यकार तथा प्रसिद्ध जीवनीकार, (जसले पारसमणि सम्बन्धमा विस्तृत जानकारी राख्छन् र उनले यस विषयमा निकै काम पनि गरेका छन् ।) राज के. श्रेष्ठले भनेका थिए – कति सत्य कति असत्य उनै जानुन्, मलाई लाग्छ साहित्य सेवाका निम्ति मरिमेट्ने साहित्यकारले नेपाली जातिका निम्ति सर्वस्व लुटाउने साहित्यकारका सम्बन्धमा यति ठूलो झूट बोल्नै सक्दैनन्, पीयूष भाइ ! मैले सिक्किममा पारसमणि प्रधानको सालिक राख्नका निम्ति कति प्रयास गरेँ तर सफल भइनँ । यस कामका निम्ति म धेरै ठाउँ धाएँ तर कतिले त झन् पारसमणि त कालेबुङको होइन, उतै प्रयास गरी सालिक खडा गरे हुँदैन भन्दा साह्रै मन दुख्यो । यसैकारण भाइ ! अब सिलगढीतिर प्रयास गर्दैछु ।’
मलाई लाग्छ पारसमणि प्रधानले जे-जति काम गरे त्यो कुनै वर्ण, स्थानसम्म सीमित थिएन । जहाँ जहाँ पनि नेपालीहरू बसोबास गर्छन् ती सबैका निम्ति उज्यालो काम गरेका थिए पारसमणि प्रधानले ।
आज उनले लेखेका कविता, निबन्ध, कथा आदिको सैद्धान्तिक पक्ष खोजिन्छ भने त्यो गलत हुन जान्छ किनभने भानुभक्तले पनि कुनै सिद्धान्तमा वशीभूत भएर रामायणलाई मौलिक स्तरमा अनुवाद गरेका थिएनन् । त्यसै गरी पारसमणि प्रधानले पनि कुनै सिद्धान्तको पछि नलागेर नेपाली जातिका मानिसहरूले आफ्नो मातृभाषामा अध्ययन-मनन गर्न पाउनुपर्छ र आफ्नो अभिव्यक्ति पनि पोखाउन पाउनुपर्छ भन्ने ध्येयका साथ आफ्ना कर्महरूलाई अग्रता दिँदै गए ।
‘मलाई के खाँचो’ भन्दै उनी व्यवसायपट्टि लागिराखेका भए हामी जुन विकसित नेपाली भाषाको काखमा छौँ त्यो सम्भव थियो वा थिएन यसै भन्न सकिन्न । भाषा-साहित्य, कला-कलाकारिताको न कुनै सिमाना हुन्छ न त कुनै मुलुक नै । मुलुक र सिमानाको निम्ति मात्र काम गर्नु हो भने देवकोटा, सम, सिद्धिचरण श्रेष्ठ, भानुभक्त हामीले किन पढ्ने, नारायण गोपाल, बच्चु कैलाश, तारा देवीलाई हामीले किन सुन्ने । त्यसरी नै गगन गुरुङ, शान्ति ठटाल, यादव-बद्री खरेल, अरूणा लामालाई नेपालले किन सुन्ने भन्ने प्रश्नको उत्तर कसले दिने ? त्यसकारण डा. पारसमणि प्रधान दार्जिलिङका मात्र निधि होइनन् समग्र नेपाली भाषीका चम्किला नक्षत्र हुन् ।
अब यहाँ खरसाङको रिडिङ क्लबको उल्लेख नगरी हुँदैन । अङ्ग्रेजकालीन समयमा आफ्ना निम्ति पाइक परेको स्थान दार्जिलिङलाई चुनी नजानिँदो हिसाबमा प्रगतिमूलक कार्यहरू भएका थिए । सबभन्दा ठूलो काम शिक्षाको ज्योति फैलाउने काम भयो । त्यसै अवधिमा १९१३ समयलाई खुरमास हुन नदिन खरसाङमा ‘रिडिङ क्लब’ खोलिएको थियो । सायद अरूले त्यस क्लबलाई अर्कै कुनै रूप दिन्थे होला तर पारसमणि जस्ता शक्तिशाली प्रतिभाका दूरदृष्टिका कारण त्यो ‘गोर्खा लाइब्रेरी’बन्न पुग्यो । ११५ वर्ष पुरानो रिडिङ क्लबबाट लाइब्रेरीको रूपमा देखा परेको नेपालीको दस्ताबेज बनी उभिएको छ । अध्ययन-मनन-चिन्तनका निम्ति विशेष ठाउँ हुनुपर्छ भन्ने सोच राख्ने पारसमणिको पछिल्लो पिँढी पुस्तकालयको निम्ति निकै सुस्ताएको स्थिति देखिन्छ । अझ सबैभन्दा खतरनाक कुरा के हो भने उनैलाई गुरु मानी बनेका साहित्यकारहरूका घरमा समेत निजी पुस्तकालय नहुनु दुःखको कुरा हो । उनीहरूले आफ्ना अघिल्लो पुस्तालाई कस्तो शिक्षा-दीक्षा दिने होलान् भन्ने शङ्का उब्जिरहन्छ ।
पारसमणि प्रधानको अथक परिश्रमद्वारा झण्डै १०८ अङ्कका भारतीका माध्यमद्वारा नेपाली साहित्यको विकासमा जुन धरातलको निर्माण भएको छ, त्यसलाई आजको युगले कसरी सम्बोधन गर्छ, त्यो हेर्न बाँकी नै छ । १९८४ मा नेपाली साहित्य सम्मेलन, दार्जिलिङद्वारा प्रकाशित ‘दियालो’को वाङ्मय विशेषाङ्कमा डा. पारसमणि प्रधानले कुनै पनि कुराको सही तथ्य र जानकारीसहित लोकमा प्रस्तुत गर्नुपर्ने सम्बन्धमा आफ्नो भनाइ स्पष्ट राखेका छन्, आजका साहित्यिक मित्र तथा सम्पादकहरूका निम्ति यो प्रस्तुत गर्न लागिएको कुरा निकै गम्भीर देखिन्छ । लेखक बन्ने रहर र अरूले नै लेखिदिएका कुराहरूलाई एक ठाउँमा सङ्ग्रह गरी सम्पादक बन्ने लहडबीच कुनै तथ्यको तहसम्म नपुगी छाप्न तम्सनेहरूलाई पारसमणि प्रधानले सजग गराएका छन् । यसमाथि हामीले राम्ररी चिन्तन गर्न आवश्यक छ । उनले स्व. डा. जगत् छेत्रीलाई एउटा चिट्ठी लेखेका रहेछन् । त्यो यहाँ जस्ताको तस्तै राख्न चाहन्छु-
परिशिष्ट-क-२
डा. पारसमणि प्रधानको श्री जगत् छेत्रीलाई २२/९/८३-मा लेखिएको पत्रको सम्बन्धित अंश:
रूपरेखा २६७ मा तपाईंको लेख पढें । राम्रो छ तर शोधकर्ताले विचार गर्नु पर्ने ‘प्रमाण’ को अभाव खट्कन्छ । जस्तै, ‘उहाँले गोर्खाली साप्ताहिकको सम्पादन गर्नु हुँदै थियो ।’ डा. तुलसी बहादुरले पनि ज्ञवालीजीले ‘गोर्खाली’ को सम्पादक भनी डिक्लारेसन गर्नु भएको कुरा आफ्नो अन्तर्वार्तामा लेख्नु भएको छ । मसँग भएको ‘गोर्खाली’मा सूर्यविक्रमजीको नाउ प्रकाशक भनी छापिएको छ । सन् १८५६ को भारतको प्रेस एक्ट बमोजिम मुद्रक र प्रकाशकले डिक्लारेसन दिनुपर्छ सम्पादकले पर्दैन । पं. धरणीधरको भनाइअनुसार सुब्बा देवी प्रसादले ‘गोर्खाली’ सम्पादन गर्नु हुन्थ्यो । मसित भएको कागजपत्रले पनि त्यसै भन्छ । यहाँनेर कुरा बाझेको छ । तपाईंले आफ्नो शोध-प्रबन्धमा यस्तो अप्रमाणिक कुरा लेख्नु हुँदैन । पछि यस्ता कुरा ऐतिहासिक तथ्य हुन पुग्छन् ।
उनले भाषाको एकरूपतामाथि जति काम गर्ने प्रयास गरे, त्यतिको प्रयास अहिलेसम्म अरूले गरेको भेटिँदैन बरु स्थापित नेपाली भाषाका शब्दहरूलाई आफ्ना सुविधाअनुसार लेख्ने हठीपना देख्न थालिएको छ । यो हठीपनाले अझ विभ्रान्ति ल्याउने कोशिस गरेको देखिन्छ । दूरदर्शी व्यक्तित्व पारसमणिले आज देखा परेका यस्ता समस्याहरूमाथि ७०–८० वर्षअघि नै औँल्याएका थिए ।
उनका बारेमा धेरै कुरा धेरै समालोचक, आलोचक, विश्लेषकहरूले लेखिसकेका छन् । उनको राजनैतिक व्यक्तित्व पनि विशेष थियो भन्ने कुरा आजको पीढीका कमैलाई थाहा हुनसक्छ । उनको राजनैतिक व्यक्तित्वमाथि हाम्रा निम्ति देवीथानको स्थान लिइसकेका साहित्य महारथी डा. इन्द्रबहादुर राईलाई जति जानकारी कसलाई होला र ?
आजको उपभोक्तावादी परिवेशमा पारसमणि प्रधानलाई हेर्ने दृष्टिकोण अलग अलग हुन सक्छन् । कसैले उनीद्वारा लिखित-
कवि कविता होस् कविता कवि होस्
कविता तब पो हुन्छ ।
शब्द थुपारीकन के हुन्छ ?
भाव भए पो कविता हुन्छ ।
(सिकारु कविप्रति)
अथवा
कविको माने मालिक मनको
इन्द्रिय वशमा हुन्छ ।
विषय-वासना जसमा हुन्छ
त्यो कवि कसरी हुन्छ ?
(कवि र विषय वासना)
टिक टिक टिक गर्दै
भन्छ बेला बताई
समय नगर कैले
व्यर्थमा नष्ट भाइ ।
आदि कविताहरूलाई उपदेशात्मक रूपमा हेर्लान् अथवा कतिले प्रगतिशीलताको चस्माले हेर्लान् अथवा उत्तराधुनिकवादीहरूले ‘यस्तो पनि कविता हुन्छ र ?’ भन्दै कुनै तर्कै गर्न नचाहलान् । यस्ता कुराहरू आ-आफ्ना स्थानमा रहनेछन् । तर केवल नेपाली जातिको भाषा–साहित्यको विकासको निम्ति उनले निभाएको चहकिलो आभालाई खनजोत गर्दै मौलिन दिने जिम्मेवारीबाट कोही भाग्न सक्दैन ।
यस लेखको विश्रान्तितिर ढल्किँदै जाँदा मलाई के भन्न मन लाग्छ भने उनले शब्दहरूलाई जति परिमार्जित रूपमा सजाएका हुन्, ती शब्दहरू प्रगतिशीलताको झोलामा पर्छन् कि पर्दैनन् त्यो अलग विषय हुनसक्छ तर उनीभित्र रहेको सोच, चिन्तन भने अग्रगामी र भविष्यदर्शी पक्कै थियो । सपना बुनेर सपनालाई साकार तुल्याउँदै नेपाली समाजलाई बाँड्ने पारसमणि प्रधान हामी सबैका निम्ति ईश्वर हुन् । समाजमा आफ्नो वर्चस्व कायम राख्न तथाकथित अनुयायीहरूद्वारा निर्माण गरिएका ईश्वर, जसको कुनै अस्तित्व छैन, तीहरूलाई ईश्वर मान्दै आफूलाई श्रापित ठान्नुभन्दा अस्तित्वशाली व्यक्तित्व र नेपाली जातिलाई माथिल्लो दर्जामा ल्याएर शक्तिशाली जाति बनाउने पारसमणि प्रधानलाई ईश्वर मान्दा कुनै खति छैन भन्ने मेरो निजी मान्यता रहेको छ ।
सन्दर्भ सूची:
१. दियालोः वाङ्मय विशेषाङ्क, सम्पादक : रामलाल अधिकारी-नेपाली साहित्य सम्मेलन, फरबरी, १९८४ ।
२. डा. पारसमणि प्रधान (जन्म-शतवार्षिकी महोत्सव)
सम्पादक मण्डली : श्री भाइचन्द्र प्रधान, प्रा. सुधा गुरुङ, श्री योगवीर शाक्य, प्रा. कुमार छेत्री, प्रा. गोकुल सिन्हा
प्रकाशक : नेपाली साहित्य अध्ययन समिति, कालिम्पोङ, १९९८ ।
३. युगपुरुषः स्व डा. पारसमणि प्रधान, राज के. श्रेष्ठ, प्रकाशकः राज के. श्रेष्ठ, श्रीमती माला राणा पात्रो, १९९९ ।
४. हाम्रा युगपुरुष, राज. के. श्रेष्ठ, जनपक्ष प्रकाशन, गान्तोक, २०१३ ।
५. तीन दिवसीय विराट साहित्य महोत्सव, स्मारिका, सम्पादक मण्डली: साङ्गे डोमा डुक्पा-युवराज काफ्ले-मुक्तिप्रसाद उपाध्याय, नेपाली साहित्य प्रचार समिति, सिलगढी, १९९८ ।
६. अभिव्यक्ति, सम्पादन टोली : अर्जुन पीयूष, दीप प्रधान गान्तोके, हेमन्त गिरी, अर्जुन यावा, सिक्किम पत्रकार संघको वार्षिक पत्रिका, वर्ष-१, अङ्क-१, २०१४ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

