आज बिहान बिहानै मेरो रेडियो अग्लोबाट ड्याम्म बज्रियो, टायल टाँसेको कठोर भुइँमा र चकनाचुर भएर फुट्यो काँचको सपना झैँ । क्षतविक्षत भएर छरियो वरिपरि, युद्धमा बम र बारुदले छरपस्ट पारेका अबोधहरूका कोमल शरीर झैँ । जसरी त्यो टुक्रियो त्यसैगरी टुक्रियो मेरो मन पनि छातीभरी । यो एउटा भाँडो मात्रै फुटेको थिएन, विशेष सहयात्री मबाट एकाएक चुँडिएर गएको  थियो । सँगै हिँडेको साथी पहिरोमा परे झैँ, भेलले हुत्याएर लगे झैँ ।

निर्जीव थियो, तैपनि मसँग कुरा गरिरहन्थ्यो । चिसो हृदयको थियो, तैपनि मधुर गीत गाइरहन्थ्यो । विश्व विचरण गरिरहन्थ्यो एकै ठाउँमा बसीबसी । यति लामो समयसम्म ऊ मसँगै हुने गर्थ्यो । त्यसैले पनि यति प्रिय थियो । भर्खरैसम्म ऊ निर्जीव थियो, तर अब निष्प्राण भएको छ । ऊ ध्वनिमा जीवित हुने गर्थ्यो, अब ध्वनिरहित भएको छ ।

भएभरका टुक्राटाक्री बटुलेर झोलामा हालेँ र पूर्ण वेदनाका साथ फोहोरको ढ्वाङमा सेलाइदिएँ – मानौँ उसको महाप्रस्थानको विधि नै यही हो ।

अघि भर्खरै त हो, यसले राजनीतिका कुरा गरेको । अर्थतन्त्रका कुरा गरेको । फेरि कोरोनाले उभार ल्याउन थालेको कुरा गरेको । खेलकुदका कुरा गरेको । रुस–युक्रेन युद्धको कुरा गरेको । इजरायल–प्यालेस्टाइन युद्धको कुरा गरेको । मौसमको पारो झन् झन् तल झरेको  पनि कुरा गरेको । एकजना स्वनामधन्य नेताज्यूसँग भर्खरै वादविवाद सुरु मात्रै गरेको थियो, खै के ताल मिलेन कुन्नि ?  ठूलो असन्तुष्टि व्यक्त गर्दै बज्रियो भुइँमा । नेताज्यू पनि चुप लागे, प्रस्तोता पनि चुप लागे । रेडियोले पनि आफ्नो असम्मतिमा यति ठूलो बलिदानी देला भन्ने कसरी जान्नु ? एकाएक चकमन्न भयो सबैतिर । र बेखबर भएँ म दुनियाँदेखि । रेडियो थियो र पो जोडिएको रहेछु म जगत्सँग ।  हवाई अड्डासँग सम्पर्क छिनेको जहाज झैँ हराएँ म बादलभित्र ।

यो घटना घटित भएको स्थान मेरो स्नानगृह हो जतिबेला म स्नान गर्नका लागि तारतम्य मिलाउँदै थिएँ । जाडो याममा स्नान पनि एउटा चुनौती हो । नुहाउनु भनेको शरीर मात्रै होइन, मन पनि सुग्घर गर्नु हो । स्फूर्ति मात्रै होइन, आत्मविश्वास पनि बढाउनु हो । प्रकृतिले मन सुग्घर गर्ने पानी बनाउन बिर्सेछ । यो प्रकृतिको ठुलै खोट हो ।

यही गृहभित्र झ¥यो मेरो रेडियो सहस्र टुक्रामा विभक्त भएर । पीँध लर्केर झर्यो ? आफ्नै ध्वनिले थर्केर झर्यो ? वा विरह वेदनाले मन चर्किएर झर्यो ? केही पत्तो पाइनँ मैले । मैले नदेख्ने गरी उसले आफ्नै आत्मालाई हानि पुर्याउने मौका खोजेको पनि हुनसक्छ । कायर मन भएकाले यसो पनि गर्न सक्छन् । अरूलाई शङ्का  गरौँ भने त्यहाँ कि त म थिएँ, कि त उही थियो । न आफ्ना थिए, न पराई । न पक्षका थिए, न प्रतिपक्षका । न स्वदेशी थिए, न विदेशी । कतातिर शङ्का फर्काएर म जोगिऊँ ? यो रहस्यमयी बज्रलाई अझै बजार्ने कुनै उपाय सुझेन । कसैको षड्यन्त्रको गन्ध सुँघाइदिने ठाउँ नै भेटिनँ । श्रीमतीसामु ऐलान् गर्न बाध्य भएँ, मेरै असावधानीले रेडियो फुट्यो ।”

घरका सबै परिवार प्रसन्नता मिश्रित व्यङ्ग्य हाँसो पो हाँस्छन् बा ! न विस्मय, न विस्मात ? एउटा चिया खाने गिलास फुट्दा घरमा कम्पन हुने गर्थ्यो । आज कसैले सहानुभूतिमा ‘च्च’ पनि गरेनन् । कति दिक्दार रहेछन् मेरो रेडियोसँग सबैजना । जुरुक्क उठ्यो अनि रेडियो बटार्यो । कहिले यताको समाचार, कहिले उताको समाचार । कहिले यसको विचार, कहिले उसको विचार । बहस र  छलफल । गन्थन र मन्थन । त्यो पनि एक दिन होइन, दुई दिन होइन, हरेक दिन । अचेल त रेडियोका स्टेसनै स्टेसन । जता सुने पनि भयो । मेरा प्रातःकालीन कर्महरूमा रेडियो पनि एउटा अनिवार्य ‘विषय’ थियो । आज त्यही ‘विषय’ बज्रिएर फुट्यो । रेडियो टुक्रिँदा मुस्कुराउनेहरूलाई देखेर मैले पहिल्यै बुझ्नुपर्थ्यो, बिहानीपखको निद्रा प्रिय लाग्नेहरू मसँग एउटै धुरीमुनि वास गर्छन् । उनीहरूको अस्वस्थ बानी हो या मेरो अप्रीतिकर व्यवहार ?

बिहान ब्युँझिनु भनेको नयाँ जीवनको प्राप्ति हो । सायद त्यसैले हामी ईश्वरको स्मरण गर्छौं बिहानै, धन्यवाद भन्नका खातिर कि हे ईश्वर ! अर्को एकदिन उपहारमा प्राप्त भएको छ । आफू नवजीवनसहित ब्युँझिएपछि सारा जगत्का मानिसको हालखबर बुझ्नु पनि उत्तिकै वाञ्छनीय हुन्छ । त्यसैले बिहानी समाचार सुन्नु पनि लोकको भलो चिताएर गरिने सुभाव कर्म हो । एउटा गोलार्द्ध निदाउँदा अर्को गोलार्द्ध त ब्युँझिरहेकै हुन्छ । ककसले के के गरे ? कतै घात प्रतिघात पो भयो   कि ? सुनामीका छालहरू आउने अभिव्यक्ति कुनै महान् व्यक्तिका मुखारविन्दबाट चुहियो कि ? त्यसका बाछिटाले हामीलाई समेत छोला कि नछोला ? विज्ञहरूको अड्कल पनि सुन्नै पर्यो । छरछिमेकी मित्रहरू को को आए ? सद्भाव, भाइचारा र भरोसाका कोसेलीपात के कति ल्याए ? विज्ञहरू त्यसको पनि जोखना हेर्दै होलान् ? त्यो पनि सुन्नै पर्यो   ।

उपयोगिता सकिएको भन्ठानेर एक थान टेलिभिजन बिक्रीमा राखेको घोषणा गरेको मैले रेडियोको उपयोगिता कहिल्यै घटेको महसुस गरेको थिइनँ । किनकि म रेडियोको युगमा जन्मेको मान्छे । अरू त सबै आमन्त्रित सदस्य झैँ पछि थपिएका यन्त्र न हुन् । छेउमै रेडियो बजाउँदै मुखमा सुपारीको डल्लो टोक्दै हातका औँलाहरूमा सिगरेट च्याप्ने मान्छे मलाई गजबै ठुलो मान्छे लाग्थ्यो । सम्भ्रान्त परिवारको परिचायक, बडप्पनको आभूषण थियो रेडियो ।

यो रेडियो नेपाल हो । अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस् ।” समाचार नबुझे पनि म समाचार सुन्थेँ, कुरा नबुझे पनि म कुराहरू सुन्थेँ, भाका नटिपे पनि म भाकाहरू सुन्थेँ, केही नबुझे पनि म रेडियो सुन्थेँ । यतिचाहिँ पक्कै बुझेको थिएँ – यो रेडियो नेपाल हो ।

खबर कागतहरूको बाक्लो उपस्थिति नभएको युगमा यही रेडियो त हो जसले मायालु र शेर्पा साबुनले नुहाउन सिकायो, एभरेस्ट टुथपेस्टले दाँत माझ्न सिकायो, कन्काई बसमा यात्रा गर्न सिकायो । गायक सङ्गीतकारहरूका नाम कण्ठ गरायो, जे.टी.ए.का औषधी नचिने पनि बुढीआमैको ‘हरि शरणम् !’ कण्ठ गरायो । विज्ञापनै विज्ञापनको युगमा ‘विज्ञापन’ भन्ने शब्द सिकायो ।

रेडियोको विकल्प रेडियो नै थियो । रेडियो खर्साङ, बिबिसी नेपाली सेवा, रेडियो पेकिङ, अल इन्डिया रेडियोबाट फौजी भाइहरूका फर्माइसका गीतहरू, अनि रेडियो सिलोनबाट अमीन साहनीले मोहनी लगाउने बिनाका गीतमाला । जाडोले निलेको अँध्यारो रात । न्यानो सिरकभित्र रेडियोको मधुरो आवाजको सिरानी अनि मीठो निद्रा । असारको झरीको दर्को, मकैका पातको सङ्गीत अनि मास्टर रत्नदास प्रकाश । ढुङ्गामा खोपिएको नाम झैँ बाल्यकालमा मेरा हृदयमा खोपिएको रेडियोप्रतिको त्यो स्नेह घटेकै थिएन । वास्तवमा रेडियो एउटा अमर्त्य युग हो ।

आज रेडियो मात्रै होइन, मेरो बाल्यकालको स्नेह पनि सँगसँगै फुटेको छ । “यो रेडियो नेपाल हो ।” यही नै मेरा लागि सञ्चारजगत्को पहिलो शीर्षवाक्य हुनु पर्दछ जसले मलाई भूगोलसँग जोडेको थियो, ज्ञानसँग जोडेको थियो, चेतनासँग जोडेको थियो, मनोरञ्जनसँग जोडेको थियो । अहिले हरेक चोटि यो वाक्य सुन्दा म शैशवकालसँग जोडिन्छु, तन्नेरी उमेरसँग जोडिन्छु, बाँचेका हरेक क्षणहरूसँग जोडिन्छु ।

हेर् बाबै ! अलिकति खेलाँची त तैँले पनि गरिस् ।” मेरो मनले मसितै भन्यो । “अग्रजहरूले रङ्गीचङ्गी बुट्टेदार कपडाका फुर्केदार थैला सिलाएर त्यसको फितालाई किलामा तुर्लुङ्ग झुन्ड्याउने, काँधमा भिर्ने, धुलो पनि नछिर्ने गरेको बिर्सिस् ? मनले पनि खुच्चिङ भन्न थाल्यो ।

खरानीको पीँधबाट मधुरो राप आए झैँ फोहोरको ढ्वाङ्नेर गएर यसो कान थापेर सुनेँ, कतै टुक्रिएर पनि केही बोल्दै पो छ कि ? बिचरा ! के बोल्थ्यो ? रेडियो टुक्रिनु भनेकै संसारको ध्वनि टुक्रा टुक्रा हुनु रहेछ ।

घरका परिवारलाई कठोरतापूर्वक सावधान गराउँदै भनेँ, म नयाँ रेडियो किन्न जाँदै छु । भोलि नयाँ दिन झुल्किंदा नयाँ आवाजमा सुन्नु छ – यो रेडियो नेपाल हो ।”

 इति !