मानिस सामाजिक प्राणी भएको नाताले सत प्रतिशत तटस्थ रहन सम्भव छैन जस्तो लाग्छ । यदि तपाईं सन्यास धारण गरेको व्यक्ति हुनुहुन्छ भने पनि त्यो सम्भव छैन जस्तो हुन्छ । किनभने सन्यासी पनि समाजमा आश्रित हुन्छ । एउटा सन्यासीले पनि उपकार गर्ने ठाउँ समाज नै हो र सन्यासीको उपकार गर्ने पनि समाज नै हो । यदि समाजले दान दिन बन्द गर्ने हो भने हरेक सन्यासीहरूको ध्यान भंग हुनसक्छ ।
कुनैपनि कुराप्रति तटस्थ रहनु भनेको त्यो कुराप्रति सरोकार नै नहुनु जस्तो देखिन्छ । योगी दृष्टिमा तटस्थताको मतलब सरोकार नराख्नु हैन । विकार रहित सरोकार हो । एउटा योगीले व्यभिचार नगर्ला तर व्यभिचारीसँग नाता तोड्न सक्दैन । सिद्ध पुरुषहरूले समाजको हरेक विकारयुक्त व्यक्तिहरूसँग सम्बन्ध राख्छन् । तर उनीहरूको उद्देश्य फरक हुन्छ । उसको उद्धारको लागि केही तौर तरिकाहरू सिकाउनु र उसलाई नारकीय जीवनको दलदलबाट निकाल्न केही हदसम्म भएपनि बीजारोपण गर्नु उनीहरूको उद्देश्य हुन्छ । हर योगीले आफ्नो अनुभूतिको आधारमा ज्ञान पस्किन्छन् । कुनै धार्मिक ग्रन्थ कण्ठ पारेर त्यसको व्याख्या गर्नुभन्दा यो प्रभावकारी प्रविधि हो ।
तटस्थ रहन जान्नु भन्दा पहिला विकार कसरी उत्पन्न हुन्छ भन्ने बारेमा जान्नु आवश्यक छ । विकारको पहिलो खुड्किलो हो राग र द्वेष । मान्नुस् कसैले तपाईंको अगाडिबाट सुन्दर गाडी कुदायो । ओहो मलाई पनि यस्तै गाडि चाहियो । यो चाहियोले तपाईंमा राग उत्पन्न गरायो । त्यही गाडीले तपाईंलाई धुवाँ दिएर गयो द्वेष उत्पन्न गरायो । अब राग उत्पन्न हुनेहरुमा गाडी प्राप्तिको तीव्र अभिलाषा उत्पन्न भयो । रागले तपाईंलाई जुनसुकै मूल्य चुकाउन अभिप्रेरित गर्दछ । सही र गलत छुट्याउन नसक्ने बनाउँछ । द्वेषले तपाईंलाई कुण्ठित गर्दै लैजान्छ र यी दुवैले अपराधी बनाउन सक्छ । तटस्थताको मतलब हुन्छ राग र द्वेष त्याग्नु ।
मानव इन्द्रीयहरूद्वारा राग र द्वेष उत्पन्न हुन्छन् । आँखा, नाक, कान, जिब्रो, छाला तथा जननेन्द्रिय जस्ता कुराहरूबाट शरीरमा प्रवेश गर्दछन् । आँखाले राम्रो र नराम्रो छुट्याउँछ । राम्रोमा मनले राग राख्छ नराम्रोमा द्वेष राख्छ । त्यस्तै नाकले सुगन्ध र दुर्गन्ध, कानले मधुर र कर्कश, जिब्रोले मिठो र नमिठो, छालाले महसुस, जननेन्द्रियले उत्तेजना जस्ता कुराहरूबाट राग र द्वेष उत्पन्न गर्दछन् ।
यहाँ मनन गर्ने हो भने राग र द्वेष हर दृश्य, स्वाद, ध्वनि, गन्ध, स्पर्श तथा उत्तेजनाहरूमा समाहित भएका हुन्छन् । पाइला पाइलामा राग र द्वेषको खानी हुने गर्दछ । यसैको फलस्वरूप मनमा इच्छा पैदा हुन्छ । अंगिकार गर्ने इच्छा, बहिष्कार गर्ने इच्छा आदि । यही राग र द्वेषले मानिसलाई दिग्भ्रमित गर्छ । सही र गलतलाई बेवास्ता गर्ने बनाउँछ । राज्यले कानूनको कल्पना गर्नुभन्दा पहिला नै प्रकृतिले मानव स्वभावभित्रै दण्ड र पुरस्कारको व्यवस्था गरिसकेको छ । यसमा कुनै विलम्ब हुँदैन तत्काल प्रतिफल प्राप्त हुन्छ ।
त्यसैले योगीहरू परस्त्रीको अनुहार हेर्दैनन् । बाटोमा ४ धनुष भन्दा पर नजर लगाउँदैनन् । भजन बाहेकका संगीत सुन्दैनन् । अथवा, जुन चिजले मानवलाई दिग्भ्रमित गर्छ सो कुराको अम्मलबाट टाढा रहन्छन् । सात्त्विक भोजन, सादा पोशाक साधारण जीवनशैलीको अवधारणा त्यहीँबाट आएको हो । योगी हुनलाई भोगी हुनुबाट बच्नु पर्दछ । एउटा गृहस्थले योगी हुनु चुनौतीको विषय हो । सन्यासीहरू सजिलै योगी परम्परा निभाउन सक्छन् भने गृहस्थहरूलाई ठुलो चुनौती हुन जान्छ ।
आध्यात्मिक चेतबाट तटस्थ रहने कुराको उजागर गरिरहँदा एउटा कुराको डर पनि छ । कतै युवाहरु सन्यासको बाटो नरोजुन् । सबै जना सन्यासी बन्ने हो भने सृष्टि कसरी चल्छ ? यो सुन्दर सृष्टि बचाइराख्ने जिम्मेवारी पनि मानवमा छ । हरेक मानव वैरागी भए भने सृष्टि सौन्दर्यको हिस्सा को बन्छ ?
तटस्थताको मतलब हो चित्त माथिको विजय । इन्द्रीयहरू जितेको मान्छे इन्द्रजित । इन्द्रजित भएपछि मानिस अपराजित हुन्छ । चित्तमाथि विजय पाउनु एकैचोटी सम्भव छैन यो नियमित प्रयासबाट प्राप्त हुन्छ ।
कोही मानिस तपाईंको अगाडि बोलिरहेको छ । तपाईंले उसको बोली केवल सुन्नुभयो । कुनै प्रतिक्रिया दिनु भएन । उसलाई स्वीकार पनि गर्नु भएन र इन्कार पनि गर्नु भएन भने के हुन्छ ? अवश्य बोल्न छाड्छ र त्यहाँबाट हिँड्छ । के बुझ्नुभयो ? यही हो तटस्थ रहनु । तपाईंको विचार, तपाईंको भावना पनि त्यस्तै हो । त्यसलाई केवल हेर्नुस्, राग पनि नराख्नुस्, द्वेष पनि नराख्नुस् । आफै हटेर जान्छ ।
धेरैजसो मानिसहरू आफ्नो विचारको अगाडि कमजोर हुन्छन् र राग वा द्वेष राख्छन् । यसै कारण उसमा दुःख, पीडा या लोभ जस्ता कुराहरू उत्पन्न हुन्छन् । बिस्तारै यसले अन्तरमनमा गहिरो डेरा जमाउँछ । विचार पीडादायी या आनन्ददायी दुवै हुनसक्छ । पीडादायीबाट तत्काल छुटकारा पाउन मन अर्कोतर्फ मोड्छ मान्छे । आनन्ददायक भए राग राख्छ र यसलाई मनमा पाल्छ । यही कारणले मान्छे बेचैन रहन्छ ।
योग विज्ञानमा यस्ता कुराहरूबाट तटस्थ रहन सिकाइन्छ । मान्नुस् बाटोमा कसैको एक्सिडेन्ट भयो । मानव हुनुको नाताले तपाईंको कर्तव्य हो उसलाई उठाउनु । चोटपटक लागेको भए उपचार हुने ठाउँसम्म पुर्याउनु । त्यसभन्दा परको कुरा तपाईंको हातमा छैन । स्वीकार गर्नुहोस् । उसलाई हेरेर तपाईं दुःख मान्नुहुन्छ भने त्यो तपाईंको समस्या हो । उसलाई हेरेर तपाईं खुच्चिङ भन्नुहुन्छ भने झन् ठुलो समस्या हो । तपाईंको मनमा दुःख पनि लागेन र खुच्चिङ पनि भन्नु भएन तर उसलाई उठाउनु भयो र उपचार कक्षसम्म पुर्याउनु भयो भने तपाईं मानवधर्मी तटस्थ सच्चा मानव हो ।
यहाँ बुझ्नुपर्ने कुरा के छ भने तपाईंले दुःख नमान्नु तपाईं कठोर हुनु होइन । करुणाभाव तपाईंमा भएर नै उसलाई उठाउनु भयो र उपचार हुने व्यवस्था गर्नुभयो । व्यवहार बुझेर आर्थिक सहयोग पनि गर्नुभयो होला । यसबाट तपाईंमा न राग उत्पन्न भयो न त द्वेष । आफ्नो धर्म पनि निभाउनु भयो र बेचैनीबाट पनि बच्नु भयो । धर्म यही त हो । यो अवस्थामा तपाईंको मन आनन्दमय हुन्छ । तपाईंले आफैमा गौरवको अनुभव गर्नुहुन्छ ।
तर साधारणतया यस्तो हुँदैन । यस्तो हुन साधना चाहिन्छ । चित्तलाई परिष्कार गर्नुपर्छ । योगीहरू यस्तो साधना ध्यानयोगबाट गर्ने गर्दछन् । तपाईंको मन बेचैन छ । संवेदनाले भरिएको छ । उकुसमुकुस छ । रिस छ राग छ । यस्तै यस्तै छ भने योगीहरू आँखा बन्द गरेर बस्छन् र केही समय श्वासप्रश्वासमा मात्र ध्यान दिन्छन् । बिस्तारै मन शिथिल हुँदै जान्छ । केही समय पछि आफ्नो छाती वा पेटमा गुम्सिएको भावनालाई तटस्थ भावले नियाल्न थाल्छन् । नियाल्दा नियाल्दै त्यो भावनाको गाँठो हटेर जान्छ । जसरी एउटा मान्छेको कुरामा प्रतिक्रिया नदिँदा ऊ त्यहाँबाट हिँड्छ ।
हामी सांसारिक कुराहरूलाई कि कर्ताभावले हेर्छौं कि त भोक्ताभावले । द्रष्टाभावले पनि हेर्न सकिन्छ भन्ने हामीलाई थाहा नै हुँदैन । यस्तो हुन्थ्यो भने मानिस साम्प्रदायिक हुँदैन थियो । गुटबन्दीमा फस्दैन थियो । धर्मको नाममा फुर्का राख्दैन थियो । अरूमाथि अन्याय गरेर आफ्नो र आफ्नाको बचाउमा लाग्दैन थियो । उसले सत्य बुझ्थ्यो, अनुभव गर्थ्यो र सत्यको पक्षमा लाग्थ्यो ।
यो दुनियाँका हर बाठा मान्छेहरू यसै कुराको फाइदा उठाउँछन् । धर्मको नाममा दंगा गराउँछन् । एकअर्कामा दुष्मनी खडा गरिदिन्छन् । जातको नाममा लडाउँछन् । धनी र गरिबको नाममा पसाउँछन् । जसरी हुन्छ तपाईँको चित्तमा विकार उत्पन्न गराउँछन् र तपाईंमाथि नै साशन गर्दछन् । विभाजन गरेर शासन गर्न सबैभन्दा सजिलो उपाय हो तपाईँको मनमा विकार उत्पन्न गराउनु ।
हामीले मानिसलाई विभिन्न पार्टीको नाममा, धर्मको नाममा, तन्त्रको नाममा, जातको नाममा, वर्णको नाममा यस्तै यस्तै अनेकन् नाममा विभाजित गरेको पाउँछौं । जब कि हामीलाई थाहा छ प्राकृतिक रूपमा सबै मानिस समान हुन् । उही अङ्ग, उही बनावट, सम्पूर्ण अवयवहरू सबै मानिसको एउटै हो । यो विभाजन किन आवश्यक छ ? यसको आवश्यकता सिर्फ शासन गर्नको लागि मात्र आवश्यक छ । मानिसको धर्म एउटै हो । जात एउटै हो । जबसम्म तटस्थ भावले यसलाई हेरिंदैन तबसम्म हामी भ्रममा परिरहन्छौं । जुन कुराको भ्रममा अत्यधिक मानिसहरू पर्दछन् यही सम्प्रदाय मजबुत भएर निस्कन्छ ।
हामीलाई सरल जीवन, स्वच्छ वातावरण, मानवोचित रहनसहन, योग र विज्ञानमा आधारित धर्म, आध्यात्मिक र वैज्ञानिक चेतयुक्त शिक्षा तथा प्रगति उन्मुख दिनचर्याको खाँचो पर्ने हो । यहाँ जीवनलाई कठिनतातर्फ दिनानुदिन धकेलिएको छ । मानवलाई हैसियतको भ्रममा दानव बनाइएको छ । जबसम्म मानिसहरूले तटस्थ रहेर सत्यको दर्शन गर्दैनन् तबसम्म ऊ कसै न कसैबाट शासित भैरहन्छ । अन्यायमा परिरहन्छ ।
मान्छे समस्या पनि आफै हो समाधान पनि । आफू अनुकूल भए राग राख्ने र आफू प्रतिकुल भए द्वेष राख्ने संस्कारको कारण मान्छे दुःख र सुखको अनुभव गर्छ । जुन दिन राग र द्वेषको विकारबाट मुक्त हुने बाटोमा मान्छे लाग्छ त्यही दिनबाट उसको मुक्तिको बाटो सुरु हुन्छ ।
शरीर र मन यी दुई चिजहरू तटस्थताको बाधक हुन् । त्यसो भए के गर्ने त ? शरीर र मन त्याग्न सकिंदैन । शरीर र मनमा अनुराग नराख्न त सकिन्छ नि । सांसारिक प्राणी संसारप्रति आकर्षित हुनु नौलो कुरा हैन तर आकर्षणका कारणहरूको पहिचान सहित आकर्षित हुनु जागरूकता हो ।
मानिस बाहेक अन्य प्राणीहरू केवल वंशज वृद्धिको लागि सम्भोग गर्दछन् । एउटा मानिस नै हो जसले सम्भोगलाई मनोरञ्जन बनाएको छ । यो के कारणले होला ? यो विलासको अनुभव हो । मानिसलाई पनि वंशज वृद्धिभन्दा ज्यादा कुनै कार्यको लागि सम्भोगको जरुरत छैन । सम्भोग शारीरिक आवश्यकता होइन । के तपाईं यो मान्नुहुन्छ ? त्यसको प्रयास गर्नुहुन्छ ? गर्नुहुन्छ भने यो सम्भव छ । त्यस्तै धन, सम्पत्ति हुन सक्छ । विलासिताका अन्य कुराहरू हुन सक्छन् । त्यतिको मात्र चाहना राख्नुस् जति जरुरत छ । मानिसले जरुरतलाई सीमाहीन बनाएको कारण ऊ दुःखी छ ।
मन स्वभावैले लोभी हुन्छ । मान्नुस् बाटोमा कतै हिँड्दा तपाईंहरू एकअर्कामा आकर्षित हुनुभयो । पहिले तपाईं आफ्नो परिचय दिनुहुन्छ र परिचय लिनुहुन्छ हैन ? यो आकर्षण पछिको परिचयमा तपाईंको नजिक हुने आशय जोडिएको छ अथवा लोभ । तपाईंहरू एकअर्कालाई पाउन चाहनुहुन्छ । भोग गर्न चाहनुहुन्छ । अनि मौका अनुसार भोग गर्न चाहनुहुन्छ । तर, तपाईंको भोगको स्वतन्त्रतामा परिचय बाधक भैसक्यो हैन र ?
के नाम, ठेगाना या उसको परिचय खुल्ने कुनै जानकारी बिना सम्भोग सम्भव छैन ? भोली ऊप्रतिको आफ्नो लोभ जाहेर गर्ने सम्पूर्ण माध्यमलाई बन्द गरेर गरिने सम्भोग र माध्यम व्यवस्थित गरेर गरिने सम्भोगलाई तुलना गरेर हेर्नुस् त ! यही एउटा सम्भोगको अनुभवले तपाईं जीवन बिताउन सक्नुहुन्छ । एकअर्कालाई पूर्ण रूपमा स्वीकार गरेर अनुराग त्याग्नु ईश्वरीय गुण हो । त्यसपछि हुने परिणामको लागि आफूआफू जिम्मेवार हुनु, त्यही प्रकृति हो । यो परिपक्व तटस्थता हो ।
योगी दृष्टिमा सम्भोगको कुरा हास्यास्पद हुनसक्छ । तर आजको समयमा यस बारेमा योगी दृष्टि अत्यन्त जरुरी छ । आफ्नो जीवनकालभरि ब्रह्मचर्य असम्भव कुरा हो । जागरूक अवस्थामा सन्यासीको ब्रह्मचर्य भंग हुनु पनि असम्भव कुरा हो । तर तपाईँहरू एकअर्कामा कुनै समय आकर्षित हुनुभयो । पूर्णरूपमा स्वीकार गर्नुभयो । भोलीको लागि अनुराग पनि त्याग्नुभयो । परिणामको लागि आफै जिम्मेवार हुनुभयो भने तपाईँ पुरुष हुनुस् या महिला यो तपाईँको लागि एउटा स्वप्नदोष सरह हो ।
योग विज्ञानमा गृहस्थहरूलाई १४ दिनको ब्रह्मचर्य सिकाइएको छ । पाक्षिक ब्रह्मचर्य । यसमा लिङ्गसँग कुनै सम्बन्ध छैन । एउटा गृहस्थले १४ दिनसम्म ब्रह्मचर्य पालना गर्नु भनेको उसको शरीरलाई आवश्यक वीर्य संचित गर्नु हो । शरीरले आफूलाई चाहिने भन्दा बढी वीर्य जम्मा भएको अवस्थामा स्वप्नदोषको रूपमा वीर्य निष्काशन गरिदिन्छ । यो क्रिया कम्तीमा १४ दिनपछि हुनजान्छ । त्यसैले १४ दिनको ब्रह्मचर्य पालनाले गृहस्थहरूलाई आध्यात्मिक प्रगतिमा फाइदा गर्दछ । वीर्य प्रकाश हो । प्रकाशमा ताप हुन्छ र ताप शक्ति हो । त्यसैले योगीहरू शक्तिलाई रूपान्तरित गर्ने कलामा निपूर्ण हुन्छन् । एउटा ब्रह्मचारी योगीले आफ्नो वीर्यलाई प्रकाशमा बदल्छन् जसले गर्दा उनीहरू ध्यानयोगको चरम चरणमा प्रवेश गर्न सक्छन् ।
धन पनि त्यस्तै हो । धनमा तटस्थताको अर्थ हुन्छ आफ्नो ब्यालेन्स सिटको निर्माण । चाहिने भन्दा बढीको बाँडफाँड । चाहिनेभन्दा कम भए त्यसको पूर्तिको लागि दिगो योजना । एउटा मान्छेले वर्षमा २ करोड कमायो र लुकायो । (यहाँ कमाउनुको मतलब सबै खर्च भैसकेपछिको संचित धन हो) । अर्कोले पनि २ करोड नै कमायो र दान गर्यो । यहाँ लुकाउनेले आफ्नो भविष्यप्रति असुरक्षा देखेको छ उसलाई चिन्ता छ । दान गर्नेले आफ्नो दिगो योजना देखेको छ र चिन्ता छैन । जोसँग लिएर कमाएको महसुस हुन्छ उसैलाई फिर्ता नगरेसम्म फेरी कमाउने बाटो बन्द हुन्छ । झरना लगातार झर्छ । लगातार तबसम्म झर्छ जबसम्म उसको मुहानमा पानी हुन्छ । त्यही झरेको पानी नै फेरी मुहानसम्म पुग्ने हो । त्यसैले आर्जन, खर्च र दान नै धनको नियम हो । दान गर्नेले समाजमा मान, प्रतिष्ठा कमाउँछ र अझ कमाउने मार्ग प्रशस्त गर्दछ । यो उसको धन प्रतिको तटस्थताको कारणले हुने हो ।
यसरी हर कुराहरूमा तटस्थताको नियम हुन्छ । तटस्थको मतलब हुन्छ मन र शरीरबाट अलग हुनु । अथवा यिनीहरूको माध्यमबाट राग र द्वेषको उत्पत्ति हुन नदिनु । गहिराइमा गएर यसको मुख्य कारण पत्ता लगाउनु र त्यसलाई निर्मूल पार्नु । यो बाहिरी चेतनाले दबाएर सम्भव हुँदैन । दबाइयो भने त मौका पाउनासाथ राग र द्वेष झन् माथि उफ्रिन्छन् । दबाउने प्रयास कहिल्यै गर्नु हुँदैन । यसलाई मिहिन तरिकाले नियाल्नु र चित्तबाट अलग गर्नु पर्दछ । नियमित प्रयास गर्ने हो भने यो सम्भव छ । स्वर्ग यहीँ छ । मरेपछिको स्वर्गमा विश्वास गर्नुस् या नगर्नुस् तर जिउँदै पाइने स्वर्गमा अवश्य विश्वास गर्नुहोस् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।