प्रा.डा. यज्ञ प्रसाद अधिकारी सरको नाम सुनेको धेरै अगाडिदेखि हो । जब म पद्मकन्या क्याम्पस बागबजारमा आइ.ए. पढ्थेँ । त्यो बेला ने.वी. संघको राजनीतिक गतिविधिमा संलग्न हुँदा र बहस विमर्श हुँदा सरको नाम पनि सुन्थेँ । जननेता बी.पी.का सच्चा अनुयायी, बनारस हिन्दू विश्वविद्यालयबाट नेपाली काङ्ग्रेसको विदेश नीति सम्बन्धमा विद्यावारिधि गर्ने विद्वान व्यक्तित्व भनेर अग्रज गुरुहरूले उहाँको नाम  लिएको पनि सुन्थेँ ।

जब म जागिरको सिलसिलामा त्रिभुवन विश्वविद्यालयमा प्रवेश भएँ तब पेशागत हक हितका लागि विभिन्न कार्यक्रममा सहभागी हुन थालेँ । विभिन्न प्रायोगिक बहस अनि छलफलहरूमा सहभागी हुने अवसर मिलिरह्यो । ती अवसरहरूमध्ये सबैभन्दा उत्कृष्ट अवसर भनेकै प्रा.डा. यज्ञ अधिकारीज्यूले नेतृत्व गर्नुभएको प्रजातान्त्रिक समाजवादका विषयमा हुने प्राज्ञिक बहस थियो ।

प्रा.डा. यज्ञप्रसाद अधिकारी

प्रा.डा. यज्ञप्रसाद अधिकारी

जननेता बिपीद्वारा प्रतिपादित प्रजातान्त्रिक समाजवादका व्याख्याता डा. अधिकारी कहिले आफैं प्रशिक्षक भएर त कहिले अरू प्रशिक्षकको मार्गनिर्देशक भएर आफ्नो भूमिका निर्वाह गरिरहनुहुन्थ्यो । हामी नजिकबाट सहभागीका आँखाले नियालिरह्यौँ । विद्वानहरू भेला गर्ने, विभिन्न सेमिनार, गोष्ठी आयोजना गर्ने अनि कहिले प्रजातान्त्रिक समाजवादको विषयमा आफैँले कार्यपत्र प्रस्तुत गर्ने त कहिले अन्य विद्वानहरूले प्रस्तुत गरेका कार्यपत्रमाथि खरो समालोचना गर्ने साहस गर्नुहुन्थ्यो ।

काठमाडौं उपत्यकाभित्र मात्र सीमित नरहेर नेपालको पूर्व मेचीदेखि  पश्चिम महाकालीसम्म राष्ट्र, राष्ट्रियता र प्रजातान्त्रिक अधिकारका लागि बौद्धिक विचार प्रवाह गर्ने अभियानका अभियन्ता भएर दौडिरहेको देख्थ्यौँ हामी ।

बी.पी. लाई हामीले साहित्यकार र राजनीतिज्ञ भनेर चिन्यौँ ।  उनले साहित्य र राजनीतिलाई आफ्नै मार्गमा हिँडाउन सफल जसरी भए त्यसैगरी डा. अधिकारी पनि प्रजातान्त्रिक समाजवादको प्राज्ञिक अभियान र उच्च शिक्षाको विकास, अध्ययन, अनुसन्धानलाई सँगै अगाडि बढाउन लागिरहनु भयो । विभिन्न सभा, सेमिनार, सम्मेलन, आमसभा जस्ता स्थानहरूमा सुनेका उहाँका विचार र विभिन्न पत्रपत्रिका, स्मारिका, ग्रन्थहरूमा पढेका उहाँका आलेखहरूबाट पनि उहाँ समाजवादी चिन्तनका बौद्धिक चिन्तक हुनुहुन्छ भन्ने अवगत भएको हो ।

नेपालको प्रजातान्त्रिक आन्दोलन, आन्दोलनमा क–कसको कति योगदान, त्यसको उपलब्धि, प्रजातान्त्रिक समाजवादको औचित्य, अवस्था, परराष्ट्र नीति जस्ता गहन विषयलाई मूलधारमा राखेर उहाँले लेख्नुभएका ग्रन्थहरू, कार्यपत्रहरू चिनेर पढ्नेका लागि कालजयी लाग्छन् । विदेश नीति विषयमा नै विद्यावारिधि गर्नुभएको हुनाले यो विषयका ज्ञाता नै हुनुहुन्छ भनेर सगौरव बोल्न सकिन्छ ।

डा. अधिकारीलाई नजिकबाट अर्थपूर्ण संगत गर्नेले उहाँको प्रजातान्त्रिक क्रान्तिकारी इतिहास, प्रजातान्त्रिक बौद्धिक योद्धा, आदर्शको विरासत पक्षलाई हृदयदेखि नमन गर्नुपर्छ जस्तो लाग्दछ । प्रजातन्त्रकै लागि लडिरहँदा विभिन्न समयमा जेलनेल खेपेका, विभिन्न यातनाबाट पिल्सिएका उहाँ  वास्तवमा नै लोकतन्त्रका हिमायती हुनुहुन्छ ।

विभिन्न विश्वविद्यालयका लागि मात्र नभएर यो राष्ट्रका लागि नै डा. अधिकारीले दिएका योगदान अतुलनीय छन् । यस्ता व्यक्तित्वसँगको सामिप्यतामा रहेर हिँड्दै गर्दा मेरो परिवारलाई पनि तिर्नै नसक्ने गुन लगाउनुभएको छ उहाँले ।

मैले डा. अधिकारीलाई सम्झँदै गर्दा सम्झिरहनुपर्ने क्षण अनगिन्ती छन् । ती मध्ये पनि एउटा प्रसङ्ग म कहिल्यै भुल्न सक्दिन जो यहाँ पनि उल्लेख गर्न मन लाग्यो !

कसैको कुभलो नचिताउने, सबैलाई समान दृष्टिले हेर्ने, सकारात्मक सोचका धनी डा. अधिकारीको नजरमा थापाजी र म प्रिय भाइ र बहिनी थियौँ । दौडिएर कहिल्यै नथाक्ने यो नमुना जोडी भनेर सबै सामु हामी दम्पतीलाई चिनाउनुहुन्थ्यो उहाँले । “यु आर अ स्ट्रोङ लेडी, रियल्ली प्राउड अफ यू मेरो बहिनी” उहाँले बारम्बार मलाई सम्बोधन गर्ने भाषाशैली नै यस्तै हुन्थ्यो । उहाँको यो ऊर्जावान् सम्बोधनले अझै केही गर्नुपर्छ भन्ने मलाई नैतिक दबाब दिइरहे जस्तो लाग्थ्यो । थप ऊर्जावान् भएर उभिन्थ्यो समय ।

एक समयमा थापाजी त्रिवी केन्द्रीय बजेट शाखामा काम गर्दैगर्दा देशभरि रहेका त्रिवीका आङ्गिक क्याम्पसहरूको बजेट हेर्नुपर्थ्यो । उपत्यका बाहिरबाट आउनुभएको क्याम्पस प्रमुख र लेखा प्रमुखको भिड हुन्थ्यो सधैं । टाढा टाढादेखि आउनुभएको उहाँहरूलाई सकेसम्म चाँडो काम भ्याइदिऊँ भन्ने लागेर नै होला थापाजी जतिबेला पनि व्यस्त रहनुहुन्थ्यो । कार्यकक्ष अत्यन्तै चिसोका कारण र कामको चापले भोकको पनि वास्ता नगरेका कारण थापाजी धेरै पटक अस्पताल भर्ना गर्नुपर्ने गरी नै बिरामी पर्नुभयो । कम उमेरमा नै दमको सिम्टम देखियो । बाहिर अरूलाई नदेखाउने तर भित्रभित्रै धेरैवटा रोगले समातेर गाह्रो बनाइरहेको थियो । त्यही समयमा हजुरको नेतृत्वमा रहेको अफिसमा सरुवा ल्याइदिनु पर्यो ।

मलाई त यतिबेला मेरो पति र मेरा सन्तानका पिता चाहिएको छ अरू केही चाहिएन । समयले साथ दियो भने अरू त म आफैं पनि सामना गर्न सामर्थ्य राख्छु । यस्तै मेरा अनुरोधका शब्दहरू सुनिसकेपछि यज्ञ सरले प्रक्रिया पुर्याएर थापाजीलाई आफू डाइरेक्टर भएकै अफिस सिनास्टरमा सरुवा गराएर ल्याउनुभयो र घाम लाग्ने कोठामा आर्थिक प्रमुखको जिम्मेवारी दिएर राख्नुभयो ।

त्यसपछि यज्ञ सरसँगको सहयात्राले थापाजी पनि रिफ्रेश हुन थाल्नुभयो । जहाँ कामको ससम्मान मूल्याङ्कन हुन्छ त्यहाँ मान्छे आत्मसम्मान महसुस गर्छ र ऊर्जावान् भएर सेवामा समर्पित हुन्छ भन्ने चेतना भएकै कारण यज्ञ सरको व्यवहारले थापाजी रिफ्रेश हुनमा ठूलो मद्दत पुर्यायो । त्यो बेलादेखि अहिलेसम्म त्यस्तो बिरामी परिरहने हुँदैन थापाजीलाई ।

साँच्चै भन्दा रोग नै हरायो उहाँको । त्यो क्षण अहिले पनि म सम्झन्छु कि यज्ञ सरको मानव हृदयका कारण मैले मेरो पति र मेरा सन्तानले पिता गुमाउनबाट जोगियौं । त्योभन्दा अहोभाग्य हाम्रो परिवारको लागि के नै हुन्छ र ? यस्तै गुन त डा. अधिकारीले हजारौंलाई लगाउनु भएको हुनसक्छ । मानवीय संवेदना भएका मानिसले संवेदनशील हृदयको मर्मबोध गर्न सक्छन् भन्ने एउटा सगरमाथा जत्रै अग्लो अनि उस्तै निर्भीक प्रमाण उभिएको देखिरहन्छु म डा. अधिकारीको व्यक्तित्वमा ।

यसरी अरूको पीडालाई आफ्नै पीडा सम्झेर समाधानको दबाई पिलाउन तत्पर रहने स्वाभिमानी सहयोगी विद्वान व्यक्तित्व अहिले कहाँ हुनुहुन्छ त भनेर चासो राख्नेलाई मैले बताउनुपर्ने हुन्छ ।

वि.सं. २०७५ वैशाख २९ गते एक्कासि ब्रेन स्ट्रोक भएर अशक्त हुनुभएको र उपचार गर्दागर्दै नौ महिनापछि पुनः ब्रेन स्ट्रोक भएपछि डा. अधिकारीको चलायमान सक्रिय जीवन अस्पतालको बेडमा पुग्यो । अस्पतालका नर्स, स्टाफ, डाक्टरहरूको मेडिकल उपचार पद्धति र जीवनसाथी भुवन थपलीयको सहृदयी रेखदेखका कारण साथै डा. अधिकारीको दृढ आत्मशक्तिको कारण उहाँ होसमा फर्कन सफल हुनुभएको छ । भ्रष्टाचार नगर्ने, कुकर्म गरेर पैसा कमाउन नैतिकताले नमान्ने र आफ्नो प्राध्यापकको सुख्खा तलबले सभा, सम्मेलन, आन्दोलन, सहयोग, चन्दा सबैतिर खर्च पुर्याउँदै बचेको पैसाले काठमाडौंमा जग्गा किन्ने, घर बनाउने भन्ने सोच्न समयले साथ दिएन सायद । यसरी लामो समय डेराकै बास बस्नुभयो । अब आफू पनि थलामै र जीवनसाथी पनि आफ्नै सेवामा समर्पित हुनुपरेपछि आयआर्जनको बाटो बन्द हुँदै जाँदा काठमाडौँ डेराको बसाई पनि कठिन हुन थाल्यो अनि चितवनमा नै बसोबास गर्न थालेका छौँ भन्नुहुन्छ । उहाँ बेलाबेला फोन वार्ता हुँदा “अलिअलि उठेर हिँड्न थालेको छु कोठाभित्र अनि बरण्डासम्म बिस्तारै” भन्नुहुन्छ । उहाँलाई सुन्दासुन्दै म स्तब्ध हुन्छु र सोंच्छु !

एकजना राजनीतिक योद्धा, प्रजातान्त्रिक समाजवादका विज्ञ, विदेश नीतिका ज्ञाता, राजनीतिक विश्लेषक, प्रजातन्त्रका लागि क्रान्ति गर्ने एउटा सिङ्गो क्रान्तिकारी इतिहास, स्वाभिमानी, विद्वान, प्राध्यापक, रिसर्चर, निर्भीक नेतृत्व क्षमता भएका नेताको अवस्था यस्तो छ भने यो देशमा कसको हुन्छ ससम्मान सम्बोधन ? म पदमा हुँदा सबै मेरा आफन्तजन मित्रजन लाग्थे तर आज कोही पनि फर्केर आउँदैन भनेर किन आँखा भिजाउनुहुन्छ उहाँ र भक्कानिनुहुन्छ पटकपटक । उहाँसँगै जेलनेल परेका मन्त्री भए, राजदूत बने तर कसरी बिर्सन सके सहयात्रीलाई ?

नेपाली कांग्रेसको पहिलो जननिर्वाचित सरकारको विदेश नीतिमाथि शोध अनुसन्धान गरेर विद्यावारिधि उपाधि प्राप्त गर्नुभएका विदेश नीतिका ज्ञाता समाजवादलाई गहिरोसँग छामेर व्याख्या विश्लेषण गर्न सक्ने प्रख्यात विश्लेषक, नेपाली काङ्ग्रेस पाटीलाई आफ्नो बासस्थान सम्झेर नेपाली काङ्ग्रेसको थिङ्क ट्याङ्क प्रजातन्त्र संवर्द्धन केन्द्रको उपाध्यक्ष भएर देशभरि प्रजातन्त्रको बारेमा विचार प्रवाह गर्ने अभियन्ता यो अवस्थामा रहँदा किन बेखबर छ सानेपाको मूलघर ? हामी छौँ भनेर किन सान्त्वना दिँदैन कसैले ?

नेपाली काङ्ग्रेसले अवलम्बन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तलाई आत्मसाथ गरेर देशमा रूपान्तरण र समृद्धिको सपना साकार बनाउने उद्देश्य बोकेर भोक प्यास नभनी दुःख, कष्ट र यातना भोग्दै पदको लालचमा नलागी लोकतन्त्रको पक्षमा सगरमाथा जस्तै अडिग उभिने डा. अधिकारी जस्तै त्यागी समर्पित योद्धाहरूको अतुलनीय, अजोखनीय योगदानका कारण नेपाली काङ्ग्रेस पटक पटक सत्तामा पुग्यो, तर ती काङ्ग्रेसलाई सत्तामा पुर्याउने योद्धा किन गुमनाम हुन पुगे ? नेपाली काङ्ग्रेसको आफ्नो ऐतिहासिक दस्ताबेजमा यस्ता व्यक्तिहरूमा अरूको योगदानको उच्च मूल्याङ्कन तथा कदर गरेको उल्लेख गर्नु पर्दैन ?

यी ऐतिहासिक नाम गुमनाम नहोस् भनेर म जतिको सचेत नागरिकले खबरदार गरिरहनु पर्दछ भन्ने लागेर सोही प्रयोजनका लागि कोरिएको हो यो खबरदारी पत्र ।

ऐतिहासिक नामहरू गुमनाम नहुन् खबरदार !

त्रिभुवन विश्वविद्यालय