इतिहास : सैनिकमा बसोबास

राजा महेन्द्रले तराईमा आवाद गराउँदै बसोबास गर्न लायक बनाउने अभियान चलाएका थिए । यसरी भुतपूर्व सैनिकहरूलाई बसोबास गराउने योजना बनाएपछि झापाको सैनिकमा बसोबास गराएको तथ्य भेटिन्छ । राजा महेन्द्रले तराईमा पहाडी मूलका बासिन्दालाई बसोबास गराउन प्रोत्साहित गरे र प्रतिनिधित्वको नाममा केही मधेसी र जनजातिलाई संरक्षण दिएर सन्तुलनको नीति लिएका थिए । सोही नीति अनुसार हाल बिर्तामोड नगरपालिका बडा नं. १० मा पर्ने सैनिक बजारमा भुतपूर्व सैनिकहरूलाई अन्यत्रबाट ल्याएर बसोबास गराएको इतिहास छ ।

बिर्तामोडः उद्भव र विकास

त्यस कार्यका लागि विशेष भूमिका खेल्ने व्यक्तिको रूपमा नाम लिनुपर्दा पूर्व मन्त्री प्रकाशचन्द्र मुखिया (पीसी मुखिया) लाई सम्झनु पर्ने हुन्छ । पीसी मुखियाले २०१९ सालमा तत्कालीन पन्चायती ब्यवस्था अन्तरगत वर्गीय संगठनहरु गठन गर्ने अभियानमा नेपाल भुतपूर्व सैनिक संगठनको इलाम जिल्लालाई नेतृत्व गरेका थिए । उनै पीसी मुखिया पछि भद्रपुरमा सम्पन्न भएको त्यो संगठनको मेची अन्चल सम्मेलनबाट सभापतिमा निर्वाचित भएपछि संगठन विस्तारका क्रममा अन्चल निर्देशन अधिकारी सन्तोषकुमार राईको सहयोगमा र अरु भुपु सैनिकहरुको साथमा सैनिकमा बसोबासको योजना बनेको भेटिन्छ ।

ब्रिटिस, भारतीय र नेपालकै भूतपूर्व सैनिकहरूलाई सदस्य बनाउने अभियानमा लाग्ने क्रममा उनीहरूको आर्थिकस्तर बृद्धिसँगै राष्ट्रिय सुरक्षाका लागि उनीहरूलाई उपयोग गर्न सकिने नीति अन्तरगत मुखियाले तत्कालीन सहायक गृहमन्त्री काजीमान कन्दवाको सल्लाह अनुरूप राजा महेन्द्र समक्ष यो प्रस्ताव राखिएको थियो ।

त्यो समयमा सैनिकमा भूतपूर्व सैनिकहरूलाई बसोबास गराउन एक समिति नै गठन गरेर काम अगाडि बढाइएको पाइन्छ । त्यस क्रममा त्यो समितिले राजा महेन्द्र समक्ष २५०० बिगाहा जमिन माग गरेको थियो तर पछि महेन्द्रको इलाम भ्रमणताका फेरि बिन्ती गर्दा इलामका २ सय भूपू सैनिकका परिवारलाई बसोबास गराउने गरी १ हजार बिगाहा जमिनको हुकुम प्रमांगी भयो । त्यस कार्यका लागि प्रकाशचन्द्र मुखियाको संयोजकत्वमा पूर्नवास मूल समिति गठन भएको थियो । जुन समितिको उपाध्यक्षमा कप्तान धनबहादुर घले, सचिवमा कहरसिंह लोक्ताम र सदस्यहरूमा जहरमान सुनुवार, कप्तान जयप्रसाद देवान, अनरेरी लप्टन चिताहांग थेगिम, लप्टन गन्जबहादुर देवान, हवलदार विक्रम गुरुङ, हवलदार नरबहादुर सुवेदी, हवलदार लालबहादुर सुनुवार, हवलदार गुण्डाबहादुर राई, नायक नरबहादुर राई, नायक मानवीर लिम्बु, नायक डम्बरसिंह लिम्बु रहेका थिए ।

त्यसै समितिको पहलमा २०२१ सालमा सैनिकको बसोबास सम्बन्धी कार्ययोजना पेश भएपछि यो अभियान अगाडि बढ्यो । यसरी औपचारिक रूपमा कार्य सुरु गरेपछि २०२२ सालमा तत्कालीन रेन्जर तुलसीराम कुँवरको अगुवाइमा तत्कालीन गरामनी गाउँ पञ्चायतको बडा नं. ९ लाई केन्द्र बनाएर कार्य आरम्भ गरिएको इतिहास छ ।

त्यसबेलाकाे तस्बिर

त्यस टोलीले त्यो समयमा जग्गाको छनोट गर्न विभिन्न स्थानमा अध्ययन गरेको पाइन्छ । त्यो समयमा चारआली, टोकला, पृथ्वीनगर, हल्दिवारीमा विभिन्न ठाउँमा पुगेर सम्भावनाको अध्ययन गरेको भए पनि अन्ततः सैनिकलाई नै उपयुक्त ठानेर काम अगाडि बढाइएको थियो । सो समितिका सचिव कहरसिंह लोक्तामलाई उल्लेख गर्दै बिर्तामोड १० मा रहेको महेन्द्रज्योति माद्यमिक विद्यालयका पूर्व शिक्षक रूपनारायण मुखियाले लेखेका छन्, यस ठाउँ निवासी रणबहादुर राउतको घरमा बसेर एक हजार बिगाहा जमिनको सीमांकन गरियो । त्यस योजना अनुसार तीनवटा क्याम्प खडा गरियो । त्यतिबेला क्याम्प नं. १ को रूपमा सैनिक क्याम्पलाई आधार मानेर अगाडि बढाइयो र त्यसको वरिपरि अरू क्याम्प खडा गरिए । अरू क्याम्प कालीमुनि र चमरधापमा खडा गरियो ।

अहिले ओझेलमा परे पनि कुनै समयमा सैनिक चर्चित थियो । जब सैनिकमा बसोबासको योजना अगाडि बढाइयो । त्यो बेला नै यहाँ बिजुली बत्ती बलेको थियो । यहाँका अरू ठाउँहरूमा खासै विकास भएको थिएन तर सैनिकको नाम अगाडि आउँथ्यो । यस कार्यका लागि उनै पिसी मुखियाको योगदान गरेको स्मरण गर्नुपर्ने हुन्छ किनभने त्यो समयमा राजासँगको सम्बन्ध र संगतका आधारमा काम गर्ने प्रणाली थियो । त्यतिबेला नै पढेलेखेका र राजनीतिको माध्यमबाट अगाडि बढेका पिसी मुखियाले अगाडि सारेको सैनिकको बसोबासको योजनाले आजको सैनिकको रुवरूप निर्धारण गरेको हो । राजा महेन्द्रले पिसी मुखियालाई मन्त्री समेत बनाए । मुखियालाई राजाले बस्ती बसोबासको योजनाका बारेमा अध्ययन गर्न इजरायल पठाएको र त्यसै कारण उनलाई यस खाले काम गर्न लगाइएको थियो । त्यो समयमा राजाले सीमा सुरक्षाका लागि भूतपूर्व सैनिकहरूलाई आवश्यकता परेको समयमा खटाउने योजना अन्तरगत यो योजना बनेको इतिहासकारहरूले उल्लेख गर्ने गरेका छन् ।

जग्गाको सीमांकन गर्न र रुख, काठ, दाउरा हटाउनका लागि क्याम्प खडा गरेर त्यस योजना अनुरूप काम अगाडि बढाइयो । जस अनुरूप खडा गरिएका क्याम्पहरूमा काम हुन थाले । क्याम्प नं. १ मा एउटा सैनिक क्याम्प जस्तो टाँडे ब्यारेक खडा गरियो, जसको नेतृत्व कप्तान धनबहादुर घलेले गरेका थिए । क्याम्प नं २ को नेतृत्व जहरमान सुनुवारले र क्याम्प नं. ३ को नेतृत्व कप्तान जयप्रसाद देवानले गरेका थिए ।

बसोबासका लागि छनौट भएका घर परिवारलाई प्रारम्भमा काठ र फुसका घर बनाउन अनुमति दिइयो । त्यो बेला काठ सरकारले दाउरा निकासी गर्ने जिम्मा टिम्बर कर्पोरेशनलाई दिएको थियो । कर्पोरेशनले रोयल्टी खोलेको थियो । यसरी खुलेको रोयल्टी अनुरूप काठ दाउरा बिक्री गरेर सरकारी आम्दानी बढाउने काम हुन्थ्यो ।

त्यो समयमा विशेष गरेर इलामतिरका भूपू सैनिकहरूलाई यहाँ बसोबास गराइएको तथ्य छ । सबै जात, जातिका मानिसहरूलाई बसोबासका लागि मौका दिइएको रहेछ । राई, लिम्बु, मगर, तामाङ, गुरुङ र क्षेत्रीहरूलाई ल्याइएको रहेछ । त्यति बेला नै टोल आबादीमा केही ब्राह्मण जातिका मानिसहरू थिए, जो यहाँका पुराना बासिन्दामा पर्छन् ।

(‘बिर्तामोडः उद्भव र विकास’ पुस्तकबाट)