मैले सत्तरी टेकेँ । सत्तरी वर्षलाई अंग्रेजीमा प्लेटिनम जुब्ली भनिन्छ क्यारे ! तर सत्तरी टेकेकोमा भने मलाई ठूलो आश्चर्य लागेको छैन, जसरी माधवलाल कर्माचार्यलाई लागेको थियो । कर्माचार्यको नाम लिँदा म २४ वर्षपछि फर्कनुपर्ने हुन्छ ।

सन् १९९९ को कुरा । संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय वृद्धवर्ष मनाउन विश्वसमक्ष आह्वान गरेको थियो । संसारका प्रायः सबैजसो राष्ट्रले राज्यका विभिन्न अङ्गहरू मार्फत् वृद्धवर्ष मनाइरहेको अवस्था पनि थियो । यस्तै सिखो नेपालले पनि गरेको थियो र सरकारी तथा गैरसरकारी क्षेत्रबाट वृद्ध वा ज्येष्ठ नगारिकहरूलाई एकल वा सामूहिक रूपमा सम्मान गरिँदै थियो तर साहित्य जगत्बाट कसैले चासो राखेको देखिएन ।

मैले नेपाल प्रज्ञा–प्रतिष्ठानलाई गुहारेँ तर बजेट नभएको जानकारी प्राप्त भयो । त्यस वेला दायित्व वाङ्मय प्रतिष्ठान पनि जन्मेको थिएन । एउटा दायित्व साहित्यिक पत्रिकासँग के बजेट हुन्छ र के गर्न सकिन्छ ? तर आँट गरेपछि केही हुँदो रहेछ । गर्न नसकिने भनिएको काम पनि गर्न सकिँदो रहेछ । जे गरियो, आँटले गरियो, आत्मबलले गरियो ।

दायित्व परिवारले एउटा निर्णय ग¥यो —

१. सत्तरी वर्षमाथिका जीवित साहित्यकारलाई विशिष्ट साहित्यकारको संज्ञा दिने,

२. ती साहित्यकारहरूको खोजी गरी उनीहरूबाट आत्मसंस्मरण वा नवसिर्जित रचना लिने,

३. सङ्कलित रचनाहरू दायित्वमा प्रकाशन गर्ने र

४. ती विशिष्ट साहित्यकारहरूलाई एउटै मञ्चमा राखेर अभिनन्दन गर्ने ।

यसरी खोजी गर्दै जाँदा ४५ जना साहित्यकारहरू भेटिए । ती सबै साहित्यकारका जीवनी र रचनाहरू दायित्वको पूर्णाङ्क ३५ मा छापिए । आजको जस्तो सजिलो सञ्चारमाध्यम नभएको हुँदा लामो समयसम्म दार्जिलिङमा रहनुभएका इन्द्रबहादुर राई र सिमलामा रहनुभएका जगदीश समशेर राणाको सिर्जना लिनबाट वञ्चित भइयो । नेपालमा भएका साहित्यकारहरूको सिर्जना सङ्कलन गर्ने क्रममा म माधवलाल कर्माचार्यलाई भेट्न महाराजगन्ज पुगेँ । भेट्नुपर्ने मेरो प्रयोजन बुझेपछि उहाँ झस्कनुभयो र भन्नुभयो— ‘ए…म पनि सत्तरी पुगेँ ! मैले त उमेरप्रति ध्यानै दिएको थिइनँ । तपाईंले त मेरो आँखा खोलिदिनुभयो र उमेरप्रति सचेत हुन प्रेरणा दिनुभयो ।’

अहिले ती दिन सम्झँदा आनन्द लाग्छ, नेपाली साहित्य जगत्ले नगरेको काम गरियो । दुःख पनि लाग्छ, आज ती साहित्यकारहरू एक जना पनि जीवित हुनुहुन्न । सम्मान गरेको केही दिनपछि नै सर्वप्रथम दिवङ्गत हुनुभयो— जनकलाल शर्मा र अन्तिम व्यक्ति हुनुभयो — वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी ।

अब म आफैले आफैलाई मूल्याङ्कन गर्छु— मैले पनि त सत्तरी वसन्त टेकेँ । जति गर्नुपर्ने गर्न नसके पनि नेपाली साहित्य जगत्ले साहित्यकार भनेको छ र नेपाल प्रज्ञा–प्रतिष्ठानले साहित्यकार–कलाकार कोशमा नाम दर्ता गराएको छ । तर मलाई शंका छ, चौबीस वर्षअघि दायित्वले विशिष्ट साहित्यकारहरू खोजेजस्तै कसैले मलाई खोज्न आउला कि नआउला ? आयो भने र त्यस्तै कर्म ग¥यो भने अर्को चौबीस वर्षपछि म यस धरतीमा रहुँला कि नरहुँला ! मेरो उमेरका अरू साथीहरू पनि रहलान् कि नरहलान् ! आकाङ्क्षा राख्छु, कोही यस्तो जाँगरिलो र मन–मुटु भएको मानिस निस्कोस् र दायित्वको अर्को अध्याय बनाओस् । यसो गर्न सकियो भने पक्कै पनि नेपाली साहित्य जगत्मा त्यसले विशिष्ट अर्थ राख्ने छ, जसरी दायित्वको ३५अङ्क एउटा इतिहास बनेर रहेको छ ।

चौबीस दिने भारत भ्रमणमा हिँडेको बेला मलाई स्पष्ट थाहा भएको थियो— यात्राक्रम अनुसार मेरो ७० वर्ष प्रवेश ऋषिकेश वा हरिद्वारमा हुनेछ । सोचे अनुसार भयो पनि त्यस्तै । हरिद्वारको गंगानदी तटमा पितृहरूलाई तर्पण दिइसकेपछि मैले सत्तरी दीपज्योति बालेँ र सहभागी तीस जना यात्रीहरूलाई लड्डु बाँडेँ । योभन्दा सुखद क्षण मेरा लागि अरू के हुनसक्छ ? यसमाथि मैले पचास वर्षअघि अध्ययन गरेको विद्यावत क्षेत्र, जहाँ म पचास वर्षपछि पहिलो पटक पुगेँ र जन्मदिन मनाएँ । जीवनको बगाइमा यस्तो संयोग अरू हुन सक्ला र ! यसै बमोजिम खुसीको तुलना गर्न सकिएला र ?

यो त समय हो, समयको गति हो । समयले आफ्नो गति छोड्दैन र पछि पनि फर्कंदैन । कालान्तरमा गएर यही समय काल बन्छ र कालको मुखमा हामी कवलित बन्छौँ । यसैले हामीले समयको प्रतीक्षा गर्नुपर्छ र समयको गतिमा चल्नुपर्छ । न समय भन्दा अघि जान सकिन्छ, न त समयलाई पछ्याउनुको विकल्प सोच्न सकिन्छ ।

मलाई थाहा थियो, जागिरबाट एक दिन विश्राम लिनुपर्छ । ५८ वर्ष मेरो जागिरे आयु हो । त्यसपछि मेरो अर्को जीवन शुरु हुन्छ । यसका लागि म पहिलेदेखि नै पूर्ण तयारीमा थिएँ । त्यसै भएर मलाई नेपाल सरकारको उपसचिवको जागिर छोड्दा कुनै पीडा महसुस भएन । बिदाइको क्रममा मैले भनेँ— ‘आजसम्म म नोकर थिएँ, अब मालिक भएँ ।’ मैले यथार्थ कुरा भनेको थिएँ, तर साथीहरू हाँसेका थिए ।

यद्यपि मेरो जन्म २०१० साल पुस २३ गते भएको हो, तर बनारसी गुरुहरूले मेरो उमेर सात महिना बढाएर जेठ १२ गते (२५ मे १९५३ ई.) पुर्याइदिए । यसरी उनीहरूले मलाई मानवले सगरमाथाको शिर टेकेभन्दा सात महिना कान्छो बनाउनुपर्नेमा चार दिन जेठा बनाइदिए, तथापि म खुसी छु किनभने म सात महिनाअघि नै नोकरबाट मालिक बन्न पाएको छु ।

बिदाइ गर्दा रुने कर्मचारीका अगाडि मेरो बिदाइ साँच्चिकै एउटा नमुना बनेको थियो । हुन पनि म यति प्रफुल्ल भएको थिएँ— अब मलाई कुनै सचिव वा मन्त्रीले आदेश दिने छैनन् । फाइल लिएर आइज र फाइलको आशय बता भन्ने छैनन् । कुनै मिटिङ वा निरीक्षणमा जा भन्ने छैनन् । भत्ता खाने र विदेश जानेमा होडबाजी चल्ने छैन । कुनै कर्मचारीको असन्तुष्टि र अबगाल सुन्नुपर्ने छैन । कार्यालय समयभन्दा अगाडि नै कुनै साहित्यिक कार्यक्रमहरूमा जानुपर्दा माथिल्लो श्रेणीका हाकिमअगाडि मोलाहिजा वा बिन्तीभाउ टक्र्याउनुपर्ने छैन । अबदेखि मलाई १०–५ को ड्युटीमा बाँधिनुपर्ने छैन । अबदेखि म आफ्नो मनले चाहेअनुसार हिँड्न सक्नेछु, साहित्यिक कर्म गर्न सक्नेछु, साहित्यिक गोष्ठी समारोहहरूमा जान सक्नेछु र परिवारका इच्छा र चाहनाहरूमा सान्निध्य हुन पाउने छु ।

यस उमेरसम्म आइपुग्दा कति साहित्य लेखियो ? लेख्नुपर्ने मात्र लेखियो कि नलेख्नुपर्ने पनि लेखियो ? साहित्यको नाममा छिचिमिरो वर्णन गरेर पाठकको समय बर्बाद पो गरियो कि ? थाहा छैन तर मुखले प्रशंसा गर्ने त धेरै भए, मनमनै गाली गर्नेहरू पनि थिए कि ! यस बाहेक लेखनको सन्दर्भमा केही अग्रज र सहयात्रीहरूबाट मैले सुझाव पनि पाएको छु । सत्य साँचो भए पनि अरूको जीवनमा चोट पर्ने कुरा लेख्न नहुने रहेछ भन्ने कुरा महसुस गरेको छु । तर झुट कुरा लेखेर कसैको मानहानी नगरेको कुरामा भने म ढुक्क छु ।

मनमा यस्तो पनि लाग्छ, सत्य कुरा लेखेर दोषीलाई सतर्क बनाउन सकिएन भने साहित्यलाई समाजको ऐना भन्न पनि सुहाउँदैन होला ! यसो भन्दै गर्दा मैले साहित्य भनेको ‘सत्यम् शिवम् सुन्दरम्’ हो भन्ने कुरालाई पनि भुल्न सक्तिनँ । प्रश्न उठ्छ, सत्य, कल्याण र सुन्दरतालाई एकै ठाउँमा राख्न पनि त सकिँदैन । सत्य राम्रो पनि हुन सक्छ, नराम्रो पनि हुन सक्छ । त्यसैले त समाज भएको छ । समाजको यस्तो सत्यलाई उजागर गर्न थालियो भने साहित्यको सौन्दर्य पक्ष ओझेल पनि पर्न सक्छ । यसमा मेरो आफ्नै धारणा छ— यी सबै पक्षलाई एकै ठाउँमा राख्ने प्रयास गर्ने हो तर यी तीन कुराभन्दा बाहिर बहकिने प्रयास गर्ने होइन । म पनि यसै प्रयासमा छु र साहित्य लेख्दै छु ।

मनमा लाग्दै छ, साहित्य यस्तो लेखूँ— पाठकको मनमनमा बस्न सकूँ । जुनसुकै विचारधारा अपनाउने पाठकले पनि आफ्नै भावना र विचार मुखरित भएको देखुन् । नारीले आफ्नै कथाजस्तो ठानुन्, पुरुषले आफ्नै व्यथाजस्तो मानुन् । पर्वतेहरूले आफ्नै जनजीवन भेटुन्, मधेशीहरुले आफ्नै समाजको झल्को पाउन् । जुनसुकै भाषाभाषी भए पनि आफ्नो भाषाको सम्मानमा कुठाराघात भएको सङ्केत नपाउन् । जुनसुकै धर्मावलम्बीले पनि आफ्नो आस्था र भावनामा चोट पुगेको महसुस नगरुन् । यही त होला सत्यम् शिवम् र सुन्दरम् भनेको पनि ।

वीतराग महात्माहरू जस्तै मैले कसैको प्रशंसा वा निन्दाबाट आफूलाई पूर्ण रूपमा मुक्त गर्ने क्षमता त नराखुँला, तर कोशिसमा छु, अर्थात् कसैले ममाथि पुष्पवर्षा गरुन् वा ढुङ्गा हानुन्, त्यसबाट खुशी हुने वा निराश हुने स्वभावबाट मुक्त हुन सकूँ र त्यस्तो बन्नसक्ने क्षमता वा शक्ति मभित्र रहिरहोस् भन्ने चाहना राख्दछु ।

मुख्य कुरा हो कर्म । कर्म नै मेरो पूजा हो । भगवान् श्रीकृष्णले पनि कर्मयोगलाई प्राथमिकता दिनुभएको छ । हामीले कर्म गर्ने हो र त्यो हो सुकर्म । आत्मालाई साक्षी राखेर गरेको कर्म निष्फल हुँदैन भन्ने कुरामा म विश्वस्त छु, र असल कर्म गर्ने प्रयासमा छु ।

दायित्व साहित्यिक पत्रिकाले २०४४ सालदेखि निरन्तरता पाइहरेको छ । दायित्व वाङ्मय प्रतिष्ठानले २०५७ देखि गति लिइरहेको छ । अहिलेसम्म दायित्वका १४२ अंक प्रकाशित भइसकेका छन् भने दायित्व वाङ्मय प्रतिष्ठानबाट २०० अधिक साहित्यिक कृतिहरू सार्वजनिक भएका छन् । २०७६ सालमा ‘दायित्व भवन’ बन्नुमा प्रदेश सरकार, स्थानीय सरकार र साथीहरूको प्रतिबद्धता रहनु असल कर्मकै प्रतिफल हो भन्ठान्छु म । व्यक्तिगत रूपमा मैले अर्थाेपार्जनबाट सन्तुष्टि लिए पनि साहित्यिक वा सामाजिक कार्यबाट सन्तुष्टि लिने मनसाय छैन । मैले साहित्य वा आफूले नेतृत्व प्रदान गरिरहेको संस्थालाई जीवित राख्न व्यक्तिगत वा राज्यबाट अरू धेरै सहयोग लिनुपर्नेछ र प्रतिफल समाजलाई दिनुपर्नेछ । यस कुरामा म सचेत छु ।

सत्तरी वर्ष पुगेको मानिसले मासिक चार हजारका दरले वृद्धभत्ता खान पाउने सरकारी सुविधा छ तर म त्यो भत्ता खान्न । खान हुन्न, किनकि मलाई सरकारले पेन्सन दिएको छ । कसैले खानुपर्छ भन्छन्, खाएका पनि छन् तर म दोहोरो सुविधा नलिने निर्णयमा पुगेको छु । यो मेरो नैतिकताको पक्ष पनि हो ।

ज्येष्ठ नागरिकको कुरा गर्दा मेरो पनि ज्येष्ठ नागरिकबारे आफ्नै दृष्टिकोण छ । वृद्धभत्ता दिँदैमा र वृद्धाश्रम बनाउँदैमा ज्येष्ठ नागरिकप्रतिको दायित्व पूरा हुँदैन र सम्मान गरेको पनि ठहर्दैन । सबैभन्दा ठूलो कुरा त उनीहरूलाई मायाको खाँचो पर्दछ र अर्को कुरा सम्मानको । उनीहरू धेरै कुरा चाहँदैनन्, अस्तित्व र प्रतिष्ठा चाहन्छन् । आफू कतै हिँड्दा सोधेर हिँड्नु, केही काम गर्दा सोधेर गर्नु, बेलाबेलामा स्वास्थ्यस्थिति बुझ्नु, खानपिनमा ध्यान दिनु, यिनै हुन् ज्येष्ठ नागरिकप्रतिका मान्यता र चाहना ।

मेरो मान्यता अलिकति फरक छ— जो असहाय छन्, अशक्त छन् र एक्ला छन्, त्यस्ता नागरिकका लागि वृद्धाश्रम बनाइनु उपयुक्त होला तर परिवार भएका ज्येष्ठ नागरिकका लागि जति नै सुविधा दिए पनि उनीहरूलाई वृद्धाश्रम प्रिय लाग्न सक्तैन । सन्तानमा यस्तो चेतना हुनुपर्दछ, ‘मेरा मातापिता मसँग हुनुहुन्छ’ होइन, ‘म मातापितासँग छु’ भन्ने उदार दृष्टिकोण राख्नुपर्दछ । यति बोलीवचनले पनि ज्येष्ठ नागरिकमा आत्मसम्मानको भावना जागृत हुन्छ र भन्नेलाई पनि कुनै घाटा पर्दैन । परिवारमा सद्भाव वृद्धि गर्ने यस्ता तरिकाहरू अरू पनि हुन सक्छन् । त्यस्ता तरिकाहरूलाई हामीले पहिल्याउँदै जानुपर्दछ र सरकारले पनि स्वास्थ्य सेवा र यातायातमा दिएको सुविधालाई व्यावहारिक बनाउँदै उनीहरूको सार्वजनिक सम्मान गर्नुपर्दछ । यस्तो सम्मान मेरो आगामी जीवनमा मात्र होइन, सधैँभरि रहिरहोस् भन्ने दृष्टिकोण राख्छु म ।

मेरो धर्म साहित्य हो, मेरो कर्म साहित्य सिर्जना हो । त्यसैले अब म फेरि साहित्यतर्फ नै फर्कन्छु । साहित्यिक संस्था चलाउनु भनेको र साहित्यिक पत्रिकालाई निरन्तरता दिनु भनेको सजिलो रहेनछ । त्यहाँ पैसाले पनि काम गर्दो रहेनछ, भौतिक सम्पत्तिले पनि काम गर्दो रहेनछ र सेवासुविधाले पनि काम गर्दो रहेनछ । साहित्यिक क्रियाकलापहरू सञ्चालन गर्न र तिनलाई जीवन्तता प्रदान गर्न त्याग, तपस्या, निष्ठा र समर्पण भाव आवश्यक पर्दो रहेछ ।

मैले सुनेको छु, वि.सं. २००८ मा नेपाल सांस्कृतिक परिषद् गठन भयो । जुन संस्थामा कविशिरोमणि लेखनाथ पौड्याल, बालचन्द्र शर्मा, विश्वेश्वरप्रसाद कोइराला, भीमनिधि तिवारी, केदारमान व्यथित, पुण्यप्रभादेवी ढुङ्गाना, केशर समशेर, मृगेन्द्र समशेर आदि साहित्यकार तथा साहित्यप्रेमीहरू आबद्ध थिए । केशर समशेरबाट केशरमहलको ठमेलतर्फको भवनलगायत एक लाख रकम र एउटा गाडी उपलब्ध गराइएको थियो । त्यस संस्थाबाट प्रकाशित हुने सांस्कृतिक पत्रिकाको सम्पादन गर्न दिल्ली विश्वविद्यालयमा प्राध्यापन गरिरहेका डा. ईश्वर बराललाई बोलाइएको थियो तर पनि त्यो संस्था अघि बढ्न सकेन । केही वर्षभित्रै थला पर्यो ।

यसैगरी वि.सं. २०४६ मा केदारमान व्यथितको अध्यक्षतामा नेपाल साहित्यकार संसद् गठन भयो । केशवराज पिँडाली उपाध्यक्ष, कृष्णचन्द्र सिंह प्रधान महासचिव तथा जगदीश समशेर राणा, मोहन कोइराला, द्वारिका श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, अभि सुवेदी, विष्णुविभु घिमिरे आदि व्यक्तिहरू सदस्य भएको त्यो संस्था पनि चल्न सकेन । कारण, तपस्याको निरन्तरता र समर्पण भाव भएन । त्यस संस्थाको पनि दुःखद अन्त्य भयो ।

साहित्य लेखनलाई दिएजस्तो निरन्तरता संस्थालाई दिन नसकिँदो रहेछ । एकल प्रयासले साहित्य सिर्जना गरेजस्तो संस्था चलाउन नसकिँदो रहेछ । संस्थाका सञ्चालक पनि मन मिल्ने हुनुपर्यो र कामका कुराहरूमा पनि तेरो र मेरो गर्नुभएन । निस्वार्थ भावले सेवा गर्ने भावना सबै सदस्यमा विकसित हुनुपर्यो, अनि मात्र संस्था चलाउन सम्भव हुन्छ । यस्तो ज्ञान मेरो विगतको अनुभवले दिएको छ ।

दायित्व वाङ्मय प्रतिष्ठान त्यसै चलेको होइन, संस्थाका संरक्षक, सल्लाहकार र कार्यसमितिका सदस्यहरूको ऐक्यमत र सेवाभावका कारण सञ्चालन हुन सकेको छ । दायित्व भवन पनि एकल प्रयासले बनेको होइन, दायित्वले स्थापित गरेको गरिमा, दायित्वप्रति सरकारी दृष्टिकोण, अनुदान, जग्गाको प्राप्ति र दायित्वका सदस्यहरूको निस्वार्थ सेवाभाव नै भवन निर्माणका कारकतत्वहरू हुन् भन्ने कुरामा दुई मत छैन ।

दायित्वले कमाएको यसै प्रतिष्ठाको कारण नै शंकर कोइराला आख्यान पुरस्कार लगायत थुप्रै पुरस्कारहरूका अतिरिक्त विद्वत्शिरोमणि हेमराज पुरस्कार र कुमार–सरस्वती पुरस्कारको सञ्चालन जिम्मा पनि दायित्वका काँधमा आएको छ र अरू केही संस्थाहरूले पनि आफ्ना गतिविधिहरू सञ्चालन गर्ने जिम्मा दायित्वलाई दिने मनस्थितिमा पुगेका छन् ।
राष्ट्रकवि माधव घिमिरे भन्नुहुन्थ्यो— ‘पहिले कविता, जीवन थियो अहिले जीवन कविता भएको छ ।’ यसैगरी वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी भन्नुहुन्थ्यो— ‘पहिले संस्कृति जीवनमय थियो, अहिले जीवन संस्कृतिमय भएको छ ।’ उहाँहरूले भनेजस्तै दायित्व पनि साहित्यसेवाको क्षेत्रमा नाम मात्रको दायित्व नभएर काममा नै दायित्वमय भएको छ । सत्तरी वर्षको यस उमेरमा मैले यति भन्न पाउँदा गर्व लागिरहेको छ ।

नेपाली साहित्यको उद्गम स्रोत संस्कृत साहित्य हो र लिपि देवनागरी । संस्कृतबाट तत्सम र तद्भव हुँदै नेपाली भाषामा प्रवेश पाएका थुप्रै संस्कृत शब्दहरूले नेपाली भाषाको मान्यता प्राप्त गरेका छन् । यथार्थमा नेपाली साहित्यमा मिठास थप्ने काम पनि संस्कृत शब्दले गरेका छन्, जुन कुरा नेपाली साहित्य जगत्ले बुझेकै छ ।

संस्कृत भाषा मृतभाषा हो भनेर संस्कृत निकायहरूमाथि आक्रमण गर्ने र संस्कृत भाषाका किताब जलाउने मूढमति पनि नेपालमै देखिए । तिनीहरूलाई थाहा भएन— ‘संस्कृत व्याकरण, संस्कृत शब्दको उच्चारण, ध्वनि, स्पष्टता र शब्दको विविधताका कारण नासाले संस्कृत भाषालाई कम्प्युटरको भाषा बनाउँदै छ भन्ने कुरा । उनीहरूलाई यो पनि थाहा भएन— पाश्चात्य देशहरूमा संस्कृत विश्वविद्यालयहरू बढ्दै छन् र संस्कृत पढ्नेको संख्या वृद्धि हुँदै छ भन्ने कुरा । उनीहरूलाई थाहा भएन— संस्कृत भाषा विश्व भाषाको जननी हो भन्ने कुरा ।

हो, कुनै बेला पाकिस्तान, अफगानिस्तान, बंगलादेश, श्रीलंका, कम्वोडिया र इन्डोनेसियामा समेत फैलिएको संस्कृत भाषाको महत्वलाई सर्वसाधारणसम्म पुर्याउन नसकिएका कारण नेपाल र भारतमा मात्र सीमित हुन पुग्यो तर अब पाश्चात्य विद्वान्हरूले संस्कृत भाषाको महत्त्व बुझ्दै गएका कारण जर्मनी, अमेरिका, बेलायत र फ्रान्सजस्ता देशहरूमा संस्कृत भाषाले प्राथमिकता पाउँदै छ । म पनि संस्कृत भाषा पढ्न, लेख्न र बोल्न मन पराउने एउटा संस्कृत साहित्यको विद्यार्थी भएकोले अलिकति भए पनि संस्कृत पढेर राम्रो गरेछु भन्ने लाग्दछ र पछिल्लो चरणमा संस्कृतको निन्दा गर्नेहरूले पनि संस्कृत पढ्न नपाएकोमा पछुतो मानेको देखेर संस्कृत भाषाप्रति गौरव महसुस भएको छ ।

सत्तरी वर्षको उमेरमा विचरण गर्दै गर्दा नेपाली साहित्यमा आएको परिवर्तन र साहित्यको विकसित रूप देखेर मलाई अत्यन्त खुसी लाग्दछ । नवोदित साहित्यकारहरूले प्रयोगमा ल्याएको नवीनतम भाषा, शिल्प, शैली र उनीहरूले प्रयोग गरेका विम्ब प्रतीक र विचारहरू देखेर म आफूलाई यदाकदा पुरानो युगको मानिसजस्तो महसुस गर्न पुग्छु । गर्व लाग्दछ, नेपाली साहित्यले शिखर चुम्दै गएको देखेर । दुःख यस अर्थमा लाग्छ, नेताको झोले किन भएका आजका अधिकांश साहित्यकारहरू ? यसमा मेरो स्पष्ट मत छ— जसले राजनीतिको आड लिन्छ, त्यो इमानदार साहित्यकार हुन सक्तैन । किनभने राजनीतिक लिप्साले साहित्यकारलाई इमानदार बन्न दिँदैन ।

नेपालमा जस्तो राजनीतिक कुरूपताको चित्र सितिमिति अन्य देशमा देख्न पाइन्न । त्यस्ता नेताहरूको पछाडि स्वाभिमानी साहित्यकारहरू लाग्दा सिङ्गो नेपाली साहित्य नै कुरूप बन्ने डर हुन्छ । साहित्यकार, स्वाभिमानमा अडिनुपर्दछ र स्वार्थमोहमा फसेर नेताहरूको भजन–कीर्तन गर्नुहुँदैन भन्ने कुरामा म अडिग छु ।

म आफ्नो प्रशंसा पनि चाहन्नँ र निन्दा पनि । प्रशंसा र आलोचनाबाट म खुसी वा निराश पनि हुँदिनँ । श्रीओम श्रेष्ठ रोदनले नियात्रा शिरोमणि भन्दा, हरि गौतमले नियात्रा सम्राट् भन्दा र प्रतीक ढकालले नियात्राका सगरमाथा भन्दा पनि म मात्तिइनँ र समालोचकहरूले आलोचना गर्दा पनि म आत्तिइनँ । मलाई बुझ्ने मभन्दा अर्को मानिस छैन । मैले मलाई बुझ्छु, आफ्नो कमजोरी आफै पहिचान गर्छु र मूल्याङ्कन गर्छु— म कुन तहमा छु । म यो पनि भन्छु, मेरो प्रतिस्पर्धा कसैसँग छैन र कसैको प्रतिस्पर्धा मसँग पनि हुन सक्तैन । मेरो प्रतिस्पर्धी म नै हुँ र मभित्रको ‘म’ लाई उजिल्याउने प्रयास म आफै गर्दैछु ।

माथि भनिएजस्तै अरू पनि को कसले के के भने, त्यो सबै म सम्झन्न तर प्रा. गोपीकृष्ण शर्माले ‘साहित्य पुरुष’ भनी लेखेको र साहित्यकार सूब सेनले ‘साहित्य ऋषि’ भनी लेखेको कुरा लिपिबद्ध भएको छ । यसलाई म उहाँहरूको महानता भन्ठान्छु र फलेको वृक्षको हाँगोको संज्ञा दिन्छु । म उहाँहरूका अगाडि एउटा बामपुड्के मानिस मात्र हुँ । महाकवि कालीदासले भनेझैँ— प्रांशुलभ्ये फले लोभादुद्वाहुरिव वामनः ।

म कागजमै रमाउने मानिस । कागजमै लडिबुडी खेल्दै आएको छु र खेलिरहेको छु । मेरो कोठाभित्र कागजको बियाड छ । अध्ययन कक्षमा मात्र होइन, अतिथिकक्ष, शयनकक्ष र अन्य कोठाचोटामा पनि कागजका पाँजा फिँजिएका छन् । ती पाँजाहरूलाई बिनिबिनीकन रोप्नका लागि म बाउसे बनेर खेत सम्म्याउँछु र कागज रोप्छु । कागजको खेती कुनै समय राम्रैसँग सप्रिन्छ, कुनै समय धुलिया पनि लाग्छ । सधैँ एकनास नहुनु, अर्थात् मौसममा आश्रित हुनुपर्न फसलको बाध्यता हो र जति उब्जा हुन्छ, त्यसैमा सन्तोष गरेर धनसारमा थन्क्याउनु कृषकको कर्तव्य पनि हो । यसै कर्तव्यलाई मैले लेखकीय धर्म सम्झेर कागज खेतीलाई निरन्तरता दिइरहेको छु र सन्तुष्टि लिइरहेको छु ।

पुष्पवृक्षले फूल दिनु, फलवृक्षले फल दिनु, मयूरले प्वाँख फिँजाउनु, सङ्गीतकारले सङ्गीत दिनु, गायकले सुमधुर गायन गर्नु र कलाकारले सुन्दर कला दिनु उनीहरूको सर्वोत्तम खुसी भएजस्तै साहित्यकारले साहित्य दिनु उसको चरम खुसीको हो भन्ने लाग्छ मलाई । मलाई यस्तो पनि लाग्छ— संसार देख्न, समाज चिन्न र बुझ्नका लागि साहित्य एउटा कडी हो । वास्तवमा ईश्वर र साहित्यकार दुवै सृष्टिकर्ता हुन् । फरक यत्ति हो, अविनाशी ईश्वरले नश्वर संसार सृष्टि गर्दछ, नश्वर स्रष्टाले अमर कृति सिर्जना गर्दछ । त्यस सिर्जनामा यति ताकत हुन्छ, त्यसले औषधिको काम गर्छ र रोगीको रोग निको पार्छ ।

मानवीय जीवनमा अनगन्ती चाहना हुन्छन् र आवश्यकता पनि हुन्छन् । मानिसले कल्पना गरेका सबै चाहना पूरा नहोलान् तर आवश्यकता पूरा हुन सक्छन् । म पनि अनन्त चाहनाहरूको आकाङ्क्षी होइन । मलाई थाहा छ, सबै चाहनाहरू पूरा हुन सक्दैनन् तथापि म स्वस्थ जीवन, सुखी जीवन र सम्मानित जीवन जिउने अभिलाषा राख्छु । यस्तो जीवन मैले पाएको पनि छु र पाइरहने कुरामा विश्वस्त पनि छु । मैले गरेको कर्म स्वार्थप्रेरित छैन भने यसमा म सफल पनि हुन्छु र जीवनको अन्तसम्म कर्ममा लागिरहन्छु ।

मेरो चाहना छ— म काम गर्दागर्दै मरूँ, हिँड्दाहिँड्दै मरूँ, लेख्दालेख्दै मरूँ र दायित्व जप्दाजप्दै मरूँ । यसका लागि म यति नै वर्ष बाँच्नुपर्छ भन्ने केही छैन ।