पूर्वको माटै मलिलो !
त्यसमा पनि नेपाली साहित्य कला क्षेत्रलाई भरपुर पूर्णता दिने इलाम अनि इलामसँगै जोडिएको तेह्रथुम पनि उत्तिकै उर्वर भूमि हो भन्दा अतिशयोक्ति नहोला ।
गीत सङ्गीत, कला साहित्य आदि क्षेत्रमा नेपालको पूर्वी क्षेत्र सदैव सक्रिय भूमिको रूपमा रहेको पाइन्छ । यसो भनिरहँदा अन्यत्रको भूमिकालाई नजर अन्दाज गरेको त होइन तर पनि दार्जिलिङको हावापानी र सङ्गतले पूर्वको साहित्यिक झुकाव र उर्वरता बढी पढिन्छ ।
आजको लेखकीय सन्दर्भको पात्र हुन् साहित्यकार वसन्त श्रेष्ठ । उनी पूर्व कोशी तेह्रथुम तिनजुरे म्याङ्लुङ बजार आसपास जन्मिएका थिए । तेह्र चौध वर्षकै कलिलो उमेरदेखि नै वसन्त श्रेष्ठ नेपाली साहित्यिक क्षेत्रमा प्रवेश गरेका हुन् । बाल्यकालदेखि साहित्यमा झुकाव र रुचि भएका कारण उनले माध्यमिक स्कुल अध्ययन गर्दै गर्दा विसं २०२५ तिर तिनजुरे साहित्यिक हस्तलिखित पत्रिकाको सम्पादन गरेर आफ्नो साहित्यिक खुबी प्रस्तुत गरेका थिए जुन उनका भाइ विश्व विमोहन श्रेष्ठसँग मिलेर गरेका थिए भनेर मैले कतै पढेको थिएँ ।
तेह्रथुममा जन्मनुभएका वसन्त श्रेष्ठ त्यहाँबाट काठमाडौँ हुँदै विभिन्न परिवेशमा परिवृत्त हुँदै हाल उहाँ भर्जिनिया, अमेरिकामा बसोबास गर्नुहुन्छ । वहाँसँगको मेरो भेट भेटिनु भन्दा पहिले साहित्यले नै गराएको हो । जब म अर्किड व्यवसायी दीपाबाट कवि दीपाको यात्रामा हिँड्न निश्चित गरे । त्यति नै बेला परदेश यात्रा पनि थियो । डा. गोविन्द राज भट्टराई मेरो बाल्यकाल देखिको गुरु हुनुहुन्छ । उहाँले हो मलाई बोस्टन यात्रामा बसन्तजीको फोन न० दिएर पठाउनु भएथ्यो । म बोस्टन पुग्दा बसन्तजी त्यहाँ नभए पनि उहाँले गर्नुभएको विभिन्न योगदानहरूको चर्चा परिचर्चा प्रशस्तै सुनिन्थ्यो । असल कामहरूले बसन्तजीको व्यक्तित्व अमर थियो । त्यहाँबाट नै बसन्तजीको साहित्यिक र सामाजिक योगदानको पहिचान पाएकी थिए ।
बेला बेलामा फोन मार्फत कुराकानी हुँदै गए पनि हाम्रो प्रत्यक्ष भेटघाट भने २०१३ मा मेरो दोस्रो कवितासङ्ग्रह ‘स्पन्दनका रागहरू‘ को विमोचन हुँदा भएको हो । विमोचनको साक्षी भएको कुरा उहाँले आफ्नो ‘अँगालो भरिको अनुभूति’ संस्मरणमा उल्लेख गर्नु भएको छ । जुन ए एन ए को कार्यक्रम न्यूयोर्कमा भएको बेला साहित्यिक कार्यक्रमलाई पनि विशेष महत्त्व दिएर गरिएको थियो । बडो मिजासिलो र गम्भीर प्रकृतिको व्यक्तित्व बसन्तजीको । नाम जस्तै मान्छेको स्वभाव पनि । पछि उहाँ परिवारसँगै बोस्टन घरमा र थानकोट घरमा पनि पुग्नु भयो । अक्षरसँगै म फूललाई प्रेम गर्छु। बसन्तजी अक्षरलाई प्रेम गर्नु भए जस्तै विद्याजी फूललाई प्रेम गर्नु हुन्छ । यसैले पनि हाम्रो सम्बन्ध सौहार्द बनेको छ । माथि उल्लेख गरे झैं उहाँलाई स्पष्ट गम्भीर र शालीन लाग्छ । त्यस्तै साहित्यिक सिर्जना पनि ।
उहाँका बसन्त श्रेष्ठका कविता (कवितासङ्ग्रह, २०६४ ), भावनाका लहरहरू (कवितासङ्ग्रह, २०६६ ), उज्यालो खोज्ने आवाजहरू (कवितासङ्ग्रह, २०६७), अर्को गोलार्धमा उभिएको मान्छे ( कवितासङ्ग्रह) २०७७) जस्ता कृतिहरू प्रकाशित छन् । साथै २०७९ तिर आइपुग्दा अँगालो भरिको अनुभूति – संस्मरण तथा नारायणमान श्रेष्ठ इतिवृत्त – जीवनी नामक संस्मरण आदि पनि प्रकाशित भैसकेका छन ।
उनी नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाका अध्यक्ष छन् भने अरू धेरै सङ्घ संस्थाहरूमा पनि अबद्ध छन् । सम्पादक तथा समीक्षक पनि । विभिन्न पुरस्कारबाट सम्मानित उनी विदेशमा रहेर नेपाली साहित्यको सेवा र साधनामा समर्पित प्रतिभा भएको पाइन्छ । थुप्रै फुटकर साहित्यिक रचनाहरू पत्र पत्रीकामा प्रकाशन भैसकेका छन् ।
नेपालदेखि अमेरिका सम्मको बसाइ, भोगाइ र अनुभव अनुभूति पढिरहँदा उनी भाव प्रवाही साहित्यकार, लेखक हुन् । जीवन भोगाइले पनि कहिलेकाहीँ व्यक्तिको मोड परिवर्तन गरिदिन्छ । लाग्छ उनी पनि जीवनसँग प्रशस्त पौठा जोरी खेलेर पाकेका सर्जक हुन् । अमेरिका आगमनको सुरुवाती दिनदेखि नै नेपाल र नेपाली साहित्यका निमित्त केही गर्नु, गराउनु पर्छ भन्ने हुटहुटीले गर्दा उनीमार्फत धेरै साहित्यिक योगदानहरू बनिरहे ।
नेपाली साहित्यलाई अमेरिकामा बसेर टेवा दिने प्रयास स्वरूप – ‘बोस्टन साहित्यिक सम्पर्क’ खोलेर कोठे कविता गोष्ठीको आयोजना गर्ने कार्यको थालनी गरेको थिए भने सन् १९९८ मा नेपाली साहित्य समाजको अध्यक्ष भएर कार्य गरे । त्यसरी सन् २००० मा बोस्टनबाट वासिङ्टन डी.सी.मा बसाइ सरेपछि ‘एसोसिएसन अफ द नेपलिजइन द अमेरिका’ र ‘नेपलिज एसोसिएसन इन द साउथ इष्ट अमेरिका’ सँगको संयुक्त बृहत् सम्मेलन जर्जिया राज्यको एटलान्टा सहरमा ‘अन्तर्राष्ट्रिय कविता महोत्सव’को आयोजना समेत गर्ने कार्यमा नेतृत्वदायी भूमिका रहेको कुरा उनका विभिन्न रचनाहरूबाट पढ्न पाइन्छ ।
साथसाथै ‘ग्रेटर बोस्टन नेपाली कम्युनिटीमा सम्मिलित भएर नेपाली चाड पर्वहरूका साथै नेपाली भाषा, साहित्य, संस्कृति फाँटमा सक्रियताका साथ सहयोग गर्नेतर्फ अग्रसर भएका थिए । यसै सन्दर्भलाई प्रकाश पार्न उनी भन्छन्– ‘प्रवासमा आफ्नो भाषा, साहित्य र संस्कृतिले आफ्नो जातीय अस्तित्व र पहिचान कायम गर्नका लागि धेरै नै महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कुरा बुझेपछि मैले पनि नेपाली भाषा र साहित्यको जगेर्नाका लागि केही गर्ने अठोट गरेँ ।’ अठोटलाई पूर्णता दिन सक्नु उहाँको कटिबद्धता हो ।
त्यसो त आज भन्दा पच्चिस तीस वर्षअघि सम्म पनि अमेरिका आम नेपालीका निमित्त सपना नै थियो र एकदम कम नेपालीहरू मात्रै एक आपसमा भेटघाट हुने गर्दथ्यो । कम जनसङ्ख्या भए पछि साहित्यिक सभा भेटघाट, सम्मेलन आदि हुने कुरा पनि त्यो बेला बिरलै हुन्थे ।
उ बेला एउटा यस्तो समय थियो, जब कुनै उत्सव वा समारोह गर्नको लागि पाश्चात्य सङ्गीत र विदेशी भाषाको सहारा लिनु पर्ने बाध्यकारी अवस्था थियो । आफ्नो भेषभूषा र सहित्य, कला र पहिचानका निमित्त जीवन खोज्दा खोज्दै कहिले कहीँ त निरास हुने अवस्था हुने गर्दथ्यो सायद । प्रवासी धरातलमा आफ्नो सामाजिक तथा सांस्कृतिक पहिचानको लागि प्रत्येक पाइला पाइलामा निरन्तर खोज गर्दै हिँड्नु पर्ने अवस्था पनि थियो । कुनै विशुद्ध नेपाली कार्यक्रम हेर्न भोक ज्यादै नै भएको र त्यस परिवेशमा आफ्नो जातीय अस्तित्वका लागि आफ्नो पहिचानको लागि नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, संवर्द्धन र विकासका लागि एकजुट भएर कार्यक्रम गर्नु सर्वथा मुस्किल कार्य थियो । यी सबै परिस्थिति जन्य भावना बुझेर आफ्नो ठाउँबाट सकेको योगदान गर्ने सक्षम साहित्यकार मध्येका एक अग्रणी साहित्यकारको रूपमा मैले बुझेको छु ।
अमेरिकाका विभिन्न सहरहरूमा भए गरेका साहित्यिक गोष्ठी तथा कार्यक्रमहरूमा वसन्त श्रेष्ठसँग भेट हुँदा एक परिपक्व समयले पकाएको निखारिएको व्यक्तित्व जस्तो लाग्छ । जीवन अनुभूति, व्यावहारिक भोगाइ आदिको अनुभूति नै साहित्यिक सिर्जना हुन् । श्रेष्ठका सिर्जनाहरू अनुभूत गर्दा पाइएको अनुभव त्यस्तो लाग्छ । नेपाली साहित्यलाई विभिन्न गतिविधि र सङ्घसंस्था मार्फत चलायमान बनाइरहेका सर्जक लेखकमा निरन्तर प्रगतिको कामना ।
शुभकामना !!
बोस्टन, अमेरिका
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।