नेपाली गीत-सङ्गीतको इतिहासलाई हेर्ने हो भने गीतकारहरू सधैँ नै ओझेलमा पर्दै आएका छन् । जब कुनै एक राम्रो गीतको जन्म हुन्छ तब मानिसहरू त्यो गीतलाई स्वर दिने गायक/गायिकालाई मात्र हेर्छन् । फलानोको गीत भनेर गायक/गायिकालाई श्रेय दिन्छन् । त्यसपछि अलिक सङ्गीततर्फ ध्यान दिनेले सङ्गीतकार को रहेछन् त्यो खोजी गर्छन् ।
गीतकार को रहेछन्, गीतमा कसको शब्दरचना रहेछ, त्यसतर्फ ध्यान पुऱ्याउनेहरू कमै हुन्छन् । समाज र श्रोता मात्र हैन, प्रचार प्रसारका माध्यमहरू पनि यस्तै भएकोले गीतको असली आधार निर्माण गर्नेहरू सधैं नै ओझेलमा पर्ने गर्छन् ।
वास्तवमा शब्द रचना राम्रो, खँदिलो र सशक्त छ भने मात्र गीत सबैको लागि कर्णप्रिय बन्न सक्छ । उत्कृष्ट स्वर भएको गायक/गायिका र असल सङ्गीत दिन सक्ने सङ्गीतकार नै असल गीत बन्नलाई पर्याप्त हुँदैनन् । गीतको प्राण नै शब्द रचना हो ।
गीत र कविता दुवैमा पर्याप्त पार्थक्य भए तापनि दुवैमा धेरै सामञ्जस्य पनि छ । यसैले कविता कोर्न नजान्ने मान्छेले लेखेको गीत र काव्य चेतना भएका व्यक्तिले कोरेका गीतमा आकाश पातालको फरक पर्छ । किनभने एक प्रखर काव्य चेतना भएका कविले त्यही भावलाई आफ्नो शब्द चयन, अनुप्रास, उपमा, बिम्ब प्रयोग अनि लयचेतना आदिले एक सुन्दर गीत तयार पार्न सक्छन् । तर काव्य चेतना नभएका व्यक्तिले भने गीत त लेख्छन् तर विविध बिम्ब र रङ्गहरूमा भावहरूलाई लुकाएर राख्ने क्षमता उसमा हुँदैन र शब्दरचना निस्तो बन्छ ।
नेपाली गीत-सङ्गीतको अतीतदेखि वर्तमानसम्मको स्थितिलाई नियाल्ने हो भने साहित्यमा भिजेका कुनै पनि कविद्वारा लेखिएका गीतहरू मात्र कालजयी हुन सकेका देख्छौं । यस्ता गीतहरू सुन्दा श्रोताहरू गायकको स्वर स्तरीयता र सङ्गीत पक्षको साथ साथै शब्दकारको शब्दको मोहनीमा पर्छन् । यस्तै शब्दमा मोहनी लाउन सक्ने एक सशक्त गीतकार हुन् ईश्वर बल्लभ ।
० ० ० ०
अब गीतकार ईश्वर बल्लभमाथि केन्द्रित भएर कुरा गरौँ—-
विसं १९९४ असार २८ गते, जैसीदेवल काठमाडौंमा पिता पं. मुरलीधर भट्टराई र माता राममायाको कोखबाट ज्येष्ठ सुपुत्रका रूपमा जन्म ग्रहण गरेका ईश्वर बल्लभलाई नेपाली साहित्यमा एक सशक्त कथाकार, निबन्धकार, प्रयोगधर्मी कवि, सम्पादक, प्रखर वक्ता र चिन्तकको रूपमा मात्र जानिँदैन तर एक अति लोकप्रिय गीतकारको रूपमा पनि जानिन्छ । गीतकारमा पनि उनी प्रखर काव्यचेतना भएका गीतकार हुन् ।
उनी मूलतः कवि हुन् अनि कवि भएरै गीतकार भएका हुन् र यसैले उनका गीतहरूका आफ्नै आकाश छ, आफ्नै धरातल छ । कविता जस्तै गीतहरूमा पनि उनी काव्यिक सौन्दर्यले ओतप्रोत छन्, विविध बिम्ब, उपमा र प्रतीकहरूमा पोखिएका छन् । गीतहरूमा छरिएर बसेका सशक्त काव्यिक सचेतना र भाव गाम्भिर्यतालाई धेरै विज्ञहरूले ‘बल्लभियन थट’ भनेर भनेका छन् ।
हुन त साहित्यमा आयामिक धाराका मुख्य प्रवर्तकहरूमध्ये एक मानिएका बल्लभका कविताहरू बुझ्नलाई दुरूह हुन्छन् भन्ने धारणा हुँदा हुँदै पनि कविताले उनलाई जति खुलाउन सक्यो गीतले त्यति खुलाउन सकेन भन्नेहरू पनि छन् । कतिपय मर्मज्ञहरूका निष्कर्ष के छ भने नारायण गोपालले गाएका गीतहरूमा बल्लभका शैली र भाव खुबै सुहाँदिलो भएर हृदयग्राही हुन पुगेका छन् ।
बल्लभका गीतहरू उनका कविता जस्तै बुझ्नलाई क्लिष्ट हुन्छन् भन्ने कथनलाई नारायण गोपालले नै खण्डन गरेका छन् । आफ्नो जीवनको एक अन्तिम कार्यक्रम स्वर्णिम सन्ध्यामा मञ्चबाट नै नारायण गोपालले भनेका रहेछन्— “जनमानसले बल्लभका गीतहरू बुझिँदैन भन्छन् । मलाई लाग्छ ईश्वर बल्लभको जीवनलाई बुझे उनको गीत बुझ्न सकिन्छ ।”
हो पनि । बल्लभको जीवनलाई हेऱ्यौं भने उनले न बाल्यकालको उल्लासको अनुभव गर्न पाए, न जवानीको मदहोस अनुभूत गर्न पाए । आफू कलिलै छँदा उनले कसैले नभोगेका कष्टहरू झेल्न पऱ्यो । जीवनको जटिलता झेल्न पऱ्यो । पिता जेलमा परेका थिए । आफू जेठा छोरा ।
हेर्दा हेर्दै आफ्नो भाइ स्वतन्त्र बल्लभको मृत्यु देख्न पऱ्यो । बाबु जेल पर्दा बाबुको मुक्तिको लागि आमाले जुद्ध शमसेर महाराजको सवारी हुँदा भुइँ टेकेर महाराजको सामु हात जोडेको देखे । पछि बाबु कारावासबाट मुक्त भएपछि कान्छी आमा भित्र्याएर बाबुले अलग्गै घरजम गरेर बसेको देखे । घात प्रतिघात सहन गर्न नसकी आमाले आफैलाई खुकुरीले रेटेर आत्महत्या गरेकी देखे । यी सबै बल्लभका जीवनका पर्दापछिका भयावह यथार्थ भोगाइहरू थिए ।
यस्तो भयावह परिस्थितिबाट निस्केर कसरी बल्लभ नेपाली साहित्यमा यति महान् कवि बन्न सके, गीतकार बन्न सके ? यसको उत्तर खोज्न हाम्रो सामान्य सोचाइले पनि भ्याउँदैन । अन्तमा कान्छो भाइ विश्व बल्लभको देखभाल गर्ने दायित्व हुँदा हुँदै पनि भाइलाई एकलै छाडेर सबै पिर व्यथाहरू पर्दामा समेटेर उनी घरबाट निस्केछन् ।
उनका भाइ विश्व बल्लभ लेख्छन्, “छियाछिया भएर ईश्वर दाइको विद्रोह बाबु, सौतेनी आमा, घरपरिवार, समाजबाट सुरु हुन्छ, भौँतारिने क्रम ।” एक
दिन रामहरि जोशीको सिफारिसमा उनी मलंगवाको स्कुलमा पढाउन हिँडे । सो स्कुलमा पनि केही समय मात्र काम गरी उनी भारतको कटिहार हुँदै दार्जिलिङ पसेका रहेछन् ।
दार्जिलिङ आइपुगेपछि एकपल्ट त उनले पाठशाला भवनहरू निर्माण गर्ने कार्यमा ठेकेदार (सरदार)को रूपमा पनि काम गर्नु परेछ । त्यही समयमा इन्द्र बहादुर राई (जो त्यस समय नगरपालिकाको उपाध्यक्ष पनि थिए) सित उनको चिनजान र भेटघाट भयो साथै घनिष्ठता बढ्यो । दिनभरि निर्माण कार्यमा सिकर्मी, डकर्मी, राज मिस्त्री, रोडा, ढुङ्गा, बालुवा, सिमेन्ट इत्यादि बीच हुन्थे । बेलुकीको समय मात्र आफ्नो हुन्थ्यो र त्यै समयमा चाहेको सोच्थे र लेख्थे ।
एक दिन स्कुल भवनको निर्माण कार्य चलिरहेको समय साँझ पर्न लागेको बेला आई.बी.सर उनलाई भेट्न गएछन् । त्यहाँ पुग्दा काम सकेर प्रायः सबै श्रमिकहरू गइसकेका भए तापनि एउटा व्यक्तिलाई देख्नु भएछ र उसैलाई तिम्रो सरदार खोइ भनी सोध्नुभएछ ।
उसले अलि माथि घोप्टिएर केही लेखिरहेको व्यक्तितर्फ इङ्गित गरेछ । त्यहाँ पुगेर हेर्दा त एक कुनामा सिमेन्ट र बालुवा राखेको ठाउँमा बसेर बल्लभ एउटा कागजको सानो टुक्रामा केही लेख्दै रहेछन् । आई. बी. सरले सायद श्रमिकहरूको हिसाब वा निर्माण सामग्रीहरूको हिसाब लेख्नु भएको होला भन्ठान्नु भएछ तर छेउमा पुगेर हेर्दा त उनले लेखेको कागजको टुक्रामा त अति सुन्दर गीतको स्थायी पद लेखिएको रहेछ –
सारादिन अरूलाई बाँडे
सायद यी रात मेरा
मेरा सुख दुःख अरूको
सायद यी रात मेरा ।
आई. बी. सरले उनले लेखेका गीतको यो स्थायी पद साह्रै मन पराउनु भएछ । पछिबाट यही गीत बल्लभले दुवै अन्तरा पनि लेखेर पूर्ण गरेपछि गोपाल योञ्जनलाई दिएछन् । त्यसपछि गोपाल योञ्जनले यो गीत आकाशवाणी खर्सानमा गाए । यसो भएकोले धेरै मानिसहरूमा यो गीतको शब्द रचना गोपाल योञ्जनकै होला भन्ने भ्रम पनि धेरै पछिसम्म बसेछ । अझै पनि धेरैले यसै भन्छन् । पछि यो गीत नेपालमा रेकर्ड भयो । गोपाल योञ्जन जस्ता विलक्षण सङ्गीतकारले यसमा धुन भरेपछि उनैको सङ्गीतमा नारायण गोपाल जस्ता युग प्रवर्तक गायकको स्वरमा यो गीत नेपालबाट रेकर्ड भएर निस्कियो, जुन गीत आजसम्मै हामीलाई उतिकै प्रभावशाली लाग्छ ।
जीवनको क्लिष्टता र जटिलता नै बल्लभका कविता र गीतहरूका शब्दहरूमा, विविध बिम्ब र प्रतीकहरू भएर यत्रतत्र पोखिएका छन् । आफ्नो पिर, मर्का, आफ्नो भोगाइ, उच्छ्वास, कुण्ठा र विद्रोह सबै सबै परेलीभित्र लुकाएर अभिव्यक्त गरेका छन्, उनले गीतमा । जटिलतम र विषम परिस्थितिले चारैतिरबाट जकडिएको वल्लभले जीवन र जगतलाई जस्तो प्रकारले छामे र बुझे त्यही भाव गीतहरूमा लुकेर बसेका छन् ।
गीतमा उनी भन्छन्—
मलाई जिन्दगी यो लाग्दछ
तिमी भन्दछौ यो पिर हो
जे छन् सबै ती व्यर्थ छन्
तिमी भन्दछौ त्यो प्यार हो ।
यसै गीतको अन्तरामा उनी भन्छन्-
बहकिन्छु म सन्तापले सल्केर आगो जल्दछु
खाली भएर शून्य झैँ यहाँ खण्डर झैँ जिउँदछु
अझै उनी भन्छन्-
पोखिएँ कहीँ म पानी भै कहीँ शीत भै म अल्झिएँ
थाम्न नसक्दा वेदना कहीँ घाउ भएर बल्झिएँ…
नारायण गोपालको स्वर र गोपाल योञ्जनको सङ्गीतमा रहेको उनको यही रचना उनको वेदना, पिर र भोगाइको विचलन बुझ्नलाई पर्याप्त छ । यो गीत जस्तै नारायण गोपालले गाएका उनका अन्य गीतहरूमा पनि बल्लभियन भाव धेरै सुहाउँदिलो भएर मुखरित हुन सकेका छन् ।
बल्लभका एउटा शब्दरचना नारायण गोपालले आफ्नै सङ्गीतमा गाएका छन्, जसलाई पूर्वेली लोकगीत सङ्गिनीको लयमा आधारित रहेको बताइएको छ । त्यो हो-
दुइटा फूल देउरालीमा साथै राख्यौं जस्तो लाग्छ
कतै टाढा जाँदाखेरि सँगै हिंड्यौं जस्तो लाग्छ
देखेजस्तो पनि लाग्छ बोलेजस्तो पनि लाग्छ
कतै टाढा जाँदाखेरि सँगै हिंड्यौं जस्तो लाग्छ
यस गीतमा छुट्टै बिम्ब मात्र छैन तर फूलकै सुवासना हामी अनुभूत गर्न सक्छौं । प्रख्यात गीतकार दिनेश अधिकारी भन्छन्, “चाहे नारायण गोपालको ‘दुइटा फूल देउरालीमा साथै राख्यौं जस्तो लाग्छ’ होस् वा भक्तराज आचार्यको ‘हजार सपनाहरूको माया लागेर आउँछ, बाँच्ने रहर जस्तो फेरि भएर आउँछ’, यी शब्दहरूमा म जहिल्यै पनि उहाँलाई (ईश्वर बल्लभलाई) अनुभूत गरिरहन्छु ।’’
नारायण गोपाल आफैले धुन र सङ्गीत भरेर आफ्नै स्वरमा गाएका गजल शैलीकै गीतहरूमा सबैभन्दा उत्कृष्ट हो-
मेरो बेहोशी आज मेरो लागि पर्दा भो
छोपिए पिर सबै दुःख सबै पर्दा भो
यो गीत नारायण गोपालको कर्णप्रिय स्वरको साथै शब्द रचनाले गर्दा अति नै चर्चित र लोकप्रिय गीतको पङ्क्तिमा परेको छ । पछिबाट नारायण गोपालले आफ्नो एल्बम ‘मलाई नसोध’मा पनि यो गीतलाई सामेल गरेका छन् ।
यो हो नशा जिन्दगीको या हो नशा रक्सीको
के हो यो पिरती हो, नयाँ-नयाँ प्रेयसीको
जे थिए स्वप्न सबै पग्लिएर पानी भो
के बिहान साँझ सबै जिन्दगी नै पर्दा भो… ।
नेपाली गीत-सङ्गीत र सिनेमा क्षेत्रका अन्वेषक प्रकाश सायमी भन्छन्, “गीतमा महाकवि देवकोटा पछि ‘पर्दा’ शब्द प्रयोग गर्ने काबिल गीतकार ईश्वर बल्लभ नै हुन् । देवकोटाले मुना–मदनमा ‘पर्दाले ढाक्यो, पर्दाले छेक्यो ए दिदी मलाई’ लेखिसकेका थिए र त यो कुरा पुरानो भएन ।” पर्दा शब्दले धेरै कुरा बुझाए तापनि यहाँ बल्लभले एक विशेष बिम्बको रूपमा यसलाई प्रयोग गरेका छन् ।
बल्लभका गीतहरूमा पाइने अन्य शब्दहरू हुन्- सपना, आगो, बेहोशी, बिहान, पिर आदि । यी सबै शब्दहरू उनले आफ्नै जीवनबाट सापटी लिइएका शब्दहरू हुन् कि जस्तो लाग्छ ।
ईश्वर वल्लभ एक प्रखर कवि भएकाले नै उनका गीतहरू काव्यिक चेतनाको आकाश बोकेर उभिएका छन् । प्रसिद्ध गीतकार दिनेश आधिकारी भन्छन्, “ईश्वर दाइको गीत किन राम्रो हुन्थ्यो भने उहाँको गीत साहित्यको लागि हुन्थ्यो । हरेक कुराका थुप्रै उद्देश्य हुन्छन् । ईश्वर दाइका गीत के का लागि भनेर सोच्ने हो भने मनले एकसाथ भन्छ साहित्यका लागि ।”
बल्लभका पछि पछि नै उनकै अतिथि भएर नारायण गोपाल पनि दार्जिलिङ आएका हुन् । बल्लभका सुरुआत कालका गीतहरूमा धुन पर्ने र सङ्गीत गर्ने पहिलो श्रेय अम्बर गुरुङलाई जान्छ । उनले बल्लभका सुरुआतका र मध्यकालका प्रायः गीतहरू आफ्नै स्वर र सङ्गीतमा सजाएका छन् । जस्तै
मेरो वेहोशीलाई सन्ताप भनी बिर्सीदे
मेरो सबै मायाहरूलाई पाप भनी लेखि दे
मलाई छोडी दे, मलाई फेँकी दे मलाई भाँची दे
म विद्यार्थी नै हुँदाको कुरा । अम्बर गुरुङ नेपाल पलायन हुनुभन्दा पहिले नै यो गीत दार्जिलिङ्मा उनले कुनै कार्यक्रममा गाउँदा दर्शकहरू भावविभोर र मन्त्रमुग्ध भएका थिएछन् । त्यो अद्वितीय घटना देखिएको प्रसङ्ग लिएर त्यसै बेला सङ्गीत क्षेत्रमा समर्पित व्यक्तिहरूले चर्चा गर्दै गरेको मैले सानैमा सुनेको थिएँ ।
अम्बरले ईश्वर बल्लभकै अर्को उत्कृष्ट शब्दलाई आफ्नै सङ्गीतमा गाएका छन्, जुन अति विलक्षण र बेजोड गीतको रूपमा मानिन्छ । सुन्यौ उति सुनिरहने तृष्णा जाग्छ ।
यो जिन्दगीको के कुरा
यो सपना हो र के कुरा
तिम्रो रूपको पनि के कुरा
मेरो गीतको पनि के कुरा
बल्लभ दार्जिलिङ पसेपछि उनले लेखेका सुरुआती कालका कतिपय गीतहरू गोपाल योञ्जन र कर्म योञ्जनका सङ्गीतमा पनि दार्जिलिङका गायिकाहरूले गाएका छन् भने कतै नेपालका गायक गायिकाहरूले गाएका छन् । उनका शब्दमा “सम्हाल पछ्यौरी त्यो लत्री सक्यो भुइँमा” बोलको गीत कुमार सुब्बाले गाएका छन् भने “बिहान नभै बतासले शीत किन सुकाइ दिन्छ” बोलको गीत नारायण गोपालले गाएका छन् ।
भनिन्छ बल्लभलाई गीतकार बनाउने श्रेय शिवशंकर र अम्बर गुरुङलाई जान्छ अनि नातिकाजी पहिलो सङ्गीतकार हुन् जसले आफ्नो सङ्गीतमा बल्लभका शब्द वि सं. २०१४ मा रेडियो नेपालमा तारादेवीलाई गाउन लगाएका थिए । त्यो गीत थियो –
“फुलै फुल फुल न धरती…”
यही गीत रेकर्ड भएपछि बल्लभलाई अन्य समकालीन गीतकारहरूले पनि सम्मानको दृष्टिले हेर्न थालेका हुन् । गीतकार भनेपछि त बल्लभ जस्तो पो हुनपर्छ भन्ने धारणा पनि धेरैले व्यक्त गर्न थाले ।
त्यसपछि अम्बरले बल्लभका कैयौँ गीतहरूमा धुन भरेर सङ्गीतले सजाएका थिए तर कति त रेकर्ड हुन पाएनन् र नेपाली जन समुदायले ती गीतहरूका रसास्वादन गर्न पाएनन् । भनिन्छ, अर्का पुस्ताका गायक दीपक जङ्गमले तयार पारेका बल्लभका कतिपय गीतहरू पनि रेकर्ड हुन पाएनन् ।
आफ्नै स्वर टेक्निक र विलक्षण गायन क्षमता भएका सुप्रसिद्ध गायक दीप श्रेष्ठले पनि बल्लभका दुई गीतहरू गाएका छन्, ती हुन्, “पहाडको उकालीलाई मैले माया गरे जस्तो” अनि “यो बहकिँदो मन… ।” बल्लभका गीतहरूलाई गहिराइबाट बुझेर स्वर दिने गायकहरूमा दीप श्रेष्ठ पर्छन् ।
बल्लभियन रचनादेखि दार्जिलिङका ख्यातिप्राप्त गायक बन्धु बद्री दुर्गा खरेल पनि अलग रहन सकेका छैनन् । “कस्ता कस्ता मानिसहरू मलाई सताउन आउँदछन्” बोलको गीत खरेल बन्धुहरूले नेपालमा पलेटी कार्यक्रममा गाएर दर्शकहरूलाई मन्त्रमुग्ध पारेका हुन् ।
नेपाली गीत-सङ्गीतमा आफ्नो छुट्टै पहिचान बनाएर यशस्वी बनेका भक्तराज आचार्यले पनि ईश्वर बल्लभका गीतलाई जीवन्त राखेका छन् आफ्नै प्रकारले । “हजार सपनाहरूको माया लागेर आउँछ” बोलको गीत जति पटक सुने पनि श्रोतालाई उत्तिकै कर्णप्रिय लाग्छ ।
ईश्वर बल्लभले एवं रीतले कैयौँ अब्बल दर्जाका गीत रचनाहरू गरे, अझै कति रेकर्डमा रहेनन् पनि साथै कति यसै नष्ट भए होला । मलाई थाहा लागेका उनका कैयौँ गीतहरू छन्, जसलाई अम्बर गुरुङ, नारायण गोपाल, अरुणा लामा, दिलमाया खाती, कुमार सुब्बा, दीप श्रेष्ठ, तारा देवी, भक्तराज आचार्य, दीपक जङ्गम, बद्री दुर्गा खरेल लगायतका गायक/गायिकाहरूले गाएका छन् छन् साथै अम्बर गुरुङ, गोपाल योञ्जन, कर्म योञ्जन, दीपक जङ्गम लगायतका कैयौँ असल सङ्गीतकारले सङ्गीतले सजाएका छन् । यस्ता गीतहरू हुन् –
१. सम्हाल पछ्यौरी त्यो लत्रिसक्यो भुइँमा
२. सारा दिन अरूलाई बाँडे सायद यी रात मेरा
३. आँखाहरूसित मैले धेरै धेरै प्रश्न गरें
४. कति टाढा खोलाको किनार
कति टाढा सपना मेरा
५. आकाशमा एक्लो तारा कहिले कतै……
६. खोलाको तिरैमा बसिरहँदा मायालु
मन बग्छ खोलासित कता कता….
७. तिमीलाई हरेक पानीमा पग्लेको देखेको छु
तिम्रो कहानी भनेर जीवन लेखेको छु
८. दुइटा फूल देउरालीमा साथै राख्यौं जस्तो लाग्छ
कतै टाढा जाँदाखेरि सँगै हिँड्यौं जस्तो लाग्छ
९. धेरै भइसके की जीवनमा पीडा
आज फेरि के को खुशी याद आयो ।
१०. निरमायाको सम्झना नदी जस्तो लाग्छ
किनारहरू छोडी एक्लै कहाँ कहाँ भाग्छ
११. पहाड अझै सुकेको छैन है, पानी छ कतै पानी छ
बगेको खोला रुकेको छैन, जानु छ कतै जानु छ
१२. फुलाई फूल फुल न धर्ती आकाशले ल्याउला
मोहनी लाउला हिमालीले पन्छीले गीत गाउला
१३. फूलभन्दा धेरै मैले तिमीलाई नै चाहन लागें
माया हो कि मोह हो कि काँढाहरू सहन लागें ।
१४. बोटो भुलेर अल्झिरहेको सहारा नपाई
मानिसको संसारमा अन्याय हेर ।
१५. बिहान नभै बतासले शीत किन सुकाइदिन्छ
जस्तै मेरा पीरहरूले गीत सबै लुकाइदिन्छ
१६. बोलाउन त बोलाएँ नै तिमी कहाँ थियौ
जाँदा जाँदै बाटो बीच एक्लो छोडी गयौ ।
१७. मन त त्यसै दुखिहाल्यो माया मारेपछि
निर्मोहीले बाचा गरी बाचा भुलेपछि
१८. मनको कुनै कुनामा के भो भनेर हेर्दा
घाउ दुखेको पाएँ तिमीले छोएझैं गर्दा
१९. मलाई जिन्दगी यो लाग्दछ
तिमी भन्दछौ यो पीर हो
२०. मेरो वेहोशी आज मेरो लागि पर्दा भो
छोपिए पीर सबै दुःख सबै पर्दा भो
२१. मेरो बेहोशीलाई सन्ताप भनी बिर्सी दे
मेरो सबै मायाहरूलाई पाप भनी लेखि दै
२२. यहाँ एक मन छ, एक्लो लगन छ
सपना रातको छ नआओ यहाँ
२३. यो कथा सुरु गरेर कहाँ अन्त्य गर्नु मैले
यी सल्किएका आकाशलाई कहाँ शान्त गर्नु मैले
२४. यो कस्तो व्यथा हो
लिएर मनमा हिँडिरहेछु हिँडिरहेछु ।
२५. यो जिन्दगीको के कुरा
यो सपना हो र के कुरा
२६. यो बहकिन चाहने मन
२७. हजार सपनाहरूको माया लागेर आउँछ
२८. हावामा बहकिन्छु कहिले
फूल याद आउँछन्
गीतकार दिनेश अधिकारी लेख्छन्, “कसैले सङ्गीतमा मिलाउनका निम्ति गीत रचना गर्छन्, कतिले चलचित्रमा दिइएको दृश्यका निम्ति भनेर गीत लेख्छन्, अरू पनि थुप्रै उद्देश्य हुन्छन् । तर, ईश्वर बल्लभको गीतसँग कवि ईश्वर बल्लभ नै अर्को रूपमा गीतकार भएर प्रकट हुन्छ । रचनामा हुने साहित्यिक आनन्द नै उहाँको गीतको विशेषता हो । कतिपय गीत सङ्गीत भरेपछि मात्र आनन्द दिने हुन्छ । उहाँका गीत शब्दमै आनन्दित पार्ने हुन्छन् । ईश्वर बल्लभको गीत पढ्दा पनि आनन्द लाग्छ, सुन्दा पनि आनन्द लाग्छ ।”
बाल्य अवस्थामा नै उचित पालनपोषणको कमी, आमाको आत्महत्या, गाँस बासको अनिश्चितता, पढाइलेखाइको अस्तव्यस्तता, स्वार्थी समाजमा बाल्यकाल बितेको, खेल्ने रमाउने बेलामा जेठो भएको नाताले साना भाइको स्याहार सुसारको जिम्मा लिनुपरेको, समस्यै समस्याले चिथ्रा चिथ्रा भएको दिशाहीन जीवनमा पनि ईश्वर बल्लभलाई जस्तो प्रकारको गीतकार बनायो, त्यही एउटा कुण्ठाग्रस्त र असहनीय वेदनाले थिचिएको र चेप्टिएको मान्छे उनका गीतहरूमा लुकेर बसेको हामी देख्छौं ।
नेपाली गीत-सङ्गीतका चिन्तक प्रकाश सायमी जस्ता विज्ञहरूले ईश्वर वल्लभलाई मूल रूपमा नेपाली सङ्गीत दार्जिलिङसँग जोड्ने प्रमुख सेतु हुन् भनेर भनेका छन् ।
सन् १९६५ मा नारायण गोपाल बल्लभका अतिथि भएर दार्जिलिङ आएको समय दार्जिलिङका साहित्यकार, गीतकार, सङ्गीतकार र गायक/गायिकाहरूसित उनको भेट भयो । दार्जिलिङमा उनको स्वागतमा विशाल र भव्य कार्यक्रम भयो । उनलाई हिमालयन कला मन्दिर पुऱ्याइयो । बल्लभले त्यसै बेला सङ्गीतको क्षेत्रमा ठूलो सम्भावना बोकेर अघि बढिरहेका गीतकार, सङ्गीतकार तथा गायक गोपाल योञ्जनसित नारायण गोपालको मित नै लगाइदिए, महाकाल मन्दिरमा दुवैलाई लगेर, अग्नि साक्षी राखी ।
त्यसपछि दुई मिलेर धेरै कामहरू गरे, राम्रा राम्रा गीत-सङ्गीतका सिर्जना गरे । नेपाली गीत-सङ्गीतको इतिहासमा यो मितेरी सङ्गीतले जे जति योगदान पुऱ्याएको छ, त्यो इतिहासको पृष्ठमा एउटा छुट्टै अध्याय बनेर बसेको छ । त्यही मितेरी सङ्गीतबाट जन्मेका कायजयी गीतहरू सुनेर आज पनि हामी झुम्छौं । यसको श्रेय बल्लभलाई नै जान्छ ।
बल्लभलाई अर्को श्रेय दिनपर्ने कुरा प्रसिद्ध गायिका तथा सङ्गीतकार शान्ति ठटालसित सम्बन्धित छ ।
ईश्वर बल्लभले एउटा गीति नाटक ‘एउटा निलो सूर्यास्त’ पनि लेखे अनि त्यसमा ‘प्ले ब्याक म्युजिक’ दिने दायित्व दिदी शान्ति ठटाललाई दिए । त्यो नाटकमा शान्ति ठटालको सङ्गीत अति सफल रह्यो अनि सङ्गीतकारको रूपमा उनको परिचय अझ धेरै मुखरित भएर आयो ।
‘एउटा निलो सूर्यास्त’ले दिदीलाई निकै ठुलो प्रसिद्धि दिलायो, सङ्गीतकारको रूपमा नेपाली सङ्गीत जगतमा । सन् १९७८ मा ‘परालको आगो’ चलचित्रको पार्श्व सङ्गीत मात्र नभएर ‘स्कोर म्युजिक’ समेत उनैले लेखेकी थिइन् जुन आज पनि लोकप्रिय मानिन्छ, पुराना चलचित्रहरूको सङ्गीतको लेखा जोखा गरिँदा । ‘परालको आगो’ पछि प्रताप सुब्बाकै निर्देशनको अर्को चलचित्र ‘बाँच्न चाहनेहरू’-मा पनि सङ्गीतकारको जिम्मेवारी शान्ति दिदीले नै निर्वाह गर्नु भयो ।
यसरी नेपाली चलचित्रमा सङ्गीत निर्देशन गर्ने पहिलो महिला सङ्गीतकारको श्रीपेच उहाँकै शिरमा परेको छ । यस अतिरिक्त देवकोटाको मुनामदनमा पनि उहाँले सङ्गीत दिनु भएको छ । दिदी शान्ति ठटाल स्वयंले आफूलाई नेपाली चलचित्रको सङ्गीतकार बन्ने खुड्किलो भने बल्लभको ‘एउटा निलो सूर्यास्त’-ले नै दिएको बताउनु हुन्छ ।
काठमाडौंको जैसीदेवलमा जन्मेका ईश्वरवल्लभको २०६४ चैत १० गते आइतबार मृत्यु भयो । उनको नश्वर शरीर हामीमाझ नरहे तापनि उनका थुप्रै थुप्रै उत्कृष्ट गीतहरू सुन्दा उनी जीवितै छन् कि भन्ने भ्रम हाम्रो मनमा परिरहन्छ ।
दिल्ली
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।