असिम सागर

न कहिल्यै उसको अस्तित्व हराउँछ
न कहिल्यै उसको जीवन समाप्त हुन्छ
बग्न पाए बग्छ ऊ
बग्न नपाए बगाउँछ उसले

ऊ जब बग्छ
हावाहुरीसँग साउती मार्दै
निर्मल तरङ्ग भएर निसङ्कोच बग्छ
किनारसँग पिरती गाँस्दै
अनियन्त्रित छाल भएर खुशीले उफ्रदै बस्छ
पहाडको छातीमा लिप्स्सिएर
भुईंमा लत्रिएको मैचाङको पछ्यौराझैँ
झरना भएर आदिम गीत सुसेल्दै बग्छ
ऊ जहाँ बग्छ, निरन्तर बग्छ
बग्नु उसको स्वभाव हो
ऊ बगेको देखेर त मान्छे बग्न जानेको छ

उसले जब बगाउँछ
भेटेजति र सकेजति झिटीझाम्टी सबै
ग्वाम्लाङ्ग अँगालो मार्छ
र म्वाई खाँदै बगाउँछ
घर बगाउँछ
भन्दैन बिचरा गरिबहरूको झोपडी है
मन्दिर बगाउँछ
भन्दैन यो ईश्वरहरुको बास हो
ऊ जसलाई बगाउँछ
बेहालत बगाउँछ
बगाउनु उसको नियति हो
उसले बगाएको देखेर त
मान्छे होशियार हुन्छ

ऊ जहाँ उभिन्छ
निष्कपट, निष्पाप, निष्कलंक
छर्लङ्ग ऐना भएर उभिन्छ
सूर्य, चन्द्र र ताराहरू च्याप्प समातेर
स्वयं आकाश भएर उभिन्छ
पानी त हो
चलायो भने उसको ऐनालाई
कच्याककुचुक पार्छ
भत्काउँछ
बिगार्छ ।