तमाम स्वार्थले सजिएको
शहरमा किन तिमी रोइलो गर्छौ ?
एक पटक मरिसकेँ भन्छौ
तैपनि फेरि किन मर्न खोज्छौ ?

बाआमाले दिएको जैविक
खाना नपचेपछि तिमी सहर पस्यौ
सुन्दर झरना र ताल छोडी
जब तिमी नालीमा खस्यौ

ठीक त्यहीबेलादेखि तिम्रो
पतन शुरू भयो
जब तिमी आफ्नालाई पराइ
अनि परकालाई “डियर” देख्छौ।

गाउँको मकै र भटमासमा
घुन देख्ने तिमी
जब पपकर्न र ललिपपमा भुल्न थाल्यौ
ठीक त्यसैबेलादेखि तिमीले जात फाल्यौ।

मर्नु त छँदै थियो जीवनमा एक दिन
सबै मर्छन् रहर पूरा गरी
भड्केको आत्माझैँ तिमी किन
पटक पटक मर्यौ ?

छोड स्वार्थका झुन्ड

फर्क गाउँ
जहाँबाट फेरि शुरू गर

वास्तविक जीवन

बाँच बाँकी जीवन
जैविक गाउँको।