नदी पनि नेपालजस्तै एक राष्ट्र हो
पानीको बहाव यसको सरकार हो
माछा/भ्यागुताजस्ता जलचरहरू पहिचान सहितका नागरिक हुन् ।

विजय हितान

नदीको ढुङ्गा
नदीको माटो
नदीको बालुवा
नदीको पिंध
नदीका किनारहरू यसका भूगोल हुन् ।

हिमाल भएर बग्ने नदी…
पहाड भएर बग्ने नदी…
मधेस हुँदै समुद्रसम्म पुग्ने नदी ती सबै संघीय प्रदेश हुन् ।

नदी- राष्ट्रलाई सञ्चालन गर्ने एउटा सरकार छ
जुन हो सन्तुलित इकोसिस्टम
नदीलाई-
चाहिएको छैन ४७ सालको जनआन्दोलन
जसले नेपालका ठूला र पुरानो रुखहरूले भरिएको जंगललाई उजाड बनायो
जसले उग्र साम्यवादको नारा लगाएर
माइतीघर मन्डलालाई प्लास्टिकको फोहोर र उग्र नाराहरूले कुरुप बनायो
अस्पष्ट र दुर्भाग्यपूर्ण विकृत समाजवादी सिद्धान्त
अथवा
समाज रुपान्तरण र परिवर्तनको नाममा निर्दोष मान्छेको खुनले लतपतिएको माओवादी
यी सबैले –
नदी, वन, जङ्गल, पहाड, खोला र हिमालको कथालाई निरस बनायो

तर,
नदीलाई त केवल चाहिएको छ बगिरहने खोला
नदीले त मात्रै महसुस गरेको छ बगीरहनुको मज्जा
नदीलाई त्यस्तो संविधान चाहिएको छ
जसले मान्छे, रुख, नदी आकाश, हावा र घामका कथालाई समेट्न सकोस् ।