घरकै छेउको जङ्गलबाट एकोहोरो चराहरूको चर्को स्वर सुनिँदैछ। घरि-घरि कोइलीको कुहु-कुहु-ले ध्यान आकर्षित गरिरहेको छ। चारैतिर चकमन्न छ। मलाई भने झप्झपी निन्द्रा लागेर आँखै खोल्नु मन लागेन। अल्छी लागेको हो भने तङसिङले जबर्जस्ती आँखा खोल्न कर लगाइरहेको छ। निन्द्रा छ आँखामा। सुत्नु कि उठ्नु भइरहेको घिटघिटो समय छ। हत्तेरिका, निन्द्रा पुराएर उठेर हेर्छु तङसिङ, एक मनले सोच्दैछ। फेरि अर्को मन जुर्मुराएर उठ्न खोज्छ, तङसिङको गद्य कवितामा रमाउन खोज्छ।

तर निन्द्राले घ्वाप्पै छोपेको यो मन अहिले गहिरो निन्द्रा सुतेको छ। डल्लै पृथ्वीले थिचेको यो मनलाई श्वास-प्रश्वासमा बाधा उत्पन्न भइरहेको छ। साधारण भाषामा भनौ ऐंठन पारेको छ।

छट्पटिएको यो मनको आँखाले देख्छ चारैतिर निष्पट्ट अँध्यारो छ। अँध्यारो चिर्न खोज्दा निस्सासिने धुँवा छ। त्यो धुँवाले श्वास फेर्न साह्रो परिरहेको छ। हो कि? होइन भन्ने दोधार बीच थाहै नपाई एउटा उजाड भूमिमा पाइला टेकिसकेछु। वरिपरि केही छैन, उजाड, उराठिलो देख्छु। चिच्याउन खोज्छु, आवाजहरू आफ्नै कानको जालीमा ठोक्किन पुग्छन्। मज्जाले ठिम्याएर हेर्न खोज्छु, धमिलो देख्छु। यो संसार अँध्यारोमै बित्छ भन्ने मनमा कता-कता डर पसिरहेको छ।

ती धमिला देखिएका वस्तुहरूको छेउ पुग्छु, खुट्टाहरू लरबरिन्छन्, अल्झिन्छन्। खुट्टा जबर्जस्ती घिसार्छु, लाशै लाशमा ठोक्किन पुग्छ खुट्टा। अब म यहाँ एकछिन् पनि बस्न नसक्ने अवस्थामा छु। श्वास फेर्न झन् झन् साह्रो हुँदैछ। त्यो ठाउँ छिटो भन्दा छिटो त्याग्न चाहन्छु। त्यहाँबाट भाग्न चाहन्छु। जत्ति भागे पनि पृथ्वी भित्रै हो। पृथ्वीदेखि बाहिर भागेर जानै सक्तिन। भागेको भागै छु। अन्धकारमा कहाँ पुग्छु थाहा छैन। पाइलाहरू छिटो छिटो चाल्न खोज्दैछु, तर केमा अल्झिन्छ अल्झिन्छ पाइलाहरू।

श्वास फेर्न सबैलाई अक्सिजन चाहिन्छ, विचारा पशु-पंक्षी मूक छन्। मान्छे बाठे छ। पर पर मान्छेहरू अक्सिजन काँधमा हालेर भाग्दैछन्। एकार्का माझ झगडा पर्दैछन् अक्सिजनको निम्ति। श्वास फेर्नको निम्ति। मान्छेहरूको अमानवीय प्रवृत्तिप्रति टीठलाग्दो भएर मूक दर्शक भइदिएका छन्, पशु-पंक्षी। अक्सिजनको अभावमा यिनीहरू पुर्लुक पुर्लुक मर्दैछन्।

अक्सिजनको खोसा-खोसमा रगतपच्छे भएर मानिसहरू पनि मर्ने अवस्थामा छन्। चारैतिर भयावह दृश्य छ। चित्कार सुनिन्छ। अन्धकार व्याप्त छ। म त्यो दृश्य त्यो वातावरणबाट जसरी भए पनि निस्कनु चाहन्छु। त्यो ठाउँ छोडेर उकालोतिर प्रकाश पाउँछु कि भनेर उकालिन खोज्छु। पाइलाहरू अघि सर्न मान्दैनन्। ओरालो झरेको झरेकै छु। अन्धकार छ। गहिरो खाल्डा छ। खाल्डाको गहिराइ, लम्बाई , आयतन, आकार नाप्न र जान्न सकिरहेको छुइनँ। फगत: झरेको झरेकै छु। वरिपरि केही छैन। कोही छैन। यत्रो ठूलो पृथ्वीमा कसरी म एक्लै झरिरहेको छु, सोंच्न पनि सक्दिनँ। मनको कुना कुनामा डरले जरा गाड्दैछ। मुटु एक तमासले ढुकढुक गरिरहेको छ।

जत्ति खाल्डाको गहिराइमा झर्दैछु त्यति आगोको रापले पोले जस्तै भइरहेको छ । म झर्दा झर्दै डढेरै मर्छु कि भन्ने त्रास बीच एउटा रुखमा अल्झिन पुग्छु। एक्कासी झसङ भएर ब्युझिन्छु अनि सोंच्छु आहा मलाई यत्रो अन्धकार र आगोको राप बीच एउटा रुखले बचायो। धन्न म! बाँचेको रैछु। एउटा नौलो जीवन पाएको भान भयो। तर अहिले पनि निष्पट्ट अन्धकार छ। यो अन्धकारलाई चिरेर निस्कनु छ। प्रकृतिको सुन्दरता बीच रमाउनु छ। म बाँच्नु छ अनि प्रकृतिलाई बचाउनु छ। यो दुषित वातावरणलाई विशुद्ध बनाउनु छ। अन्धकार र धुँवा-कार्वनले भरिएको यो भू-मण्डललाई स्वच्छ र उज्यालो पार्नु छ। हामी बाँचे प्रकृति बाँच्छ भन्नु सरासर गलत हो किनभने प्रकृति बाँचे हामी बाँच्नेछौ भन्ने कुरा मनमा खिलेर राख्नुपर्छ।

देवराज शर्मा (दार्जीलिङ)

निश्चित रूपमा पृथ्वी बाँचे हामी बाँच्नेछौ। आजको समयप्रति चिन्तित हुँदै पर्यावरणलाई छेउबाट छामेर पर्या कविता रच्ने कवि राजा पुनियानीको दोस्रो कृति तङसिङले एउटा छुट्टै छाप छोड्ने कुरामा म विश्वस्त छु। हतार हतार तङसिङको अनुष्ठानमा जोडिन्छु।

तङसिङमा राखिएको पहिलो कविता जङ्गली फूल -मा जङ्गलको अस्तित्वप्रति चिन्तित कवि जङ्गली फूललाई नाम दिएर आफ्नो बनाउन चाहन्छन्। जङ्गलकै संसार सुन्दर हो भन्दै चुच्चेढुङ्गा कविता कोर्छन् कवि। कवितांश-

आदिम हुनु भनेको
तिमी फेरि एकचोटि
तिमी नै हुनु हो

कविता कुटुम्ब कथा- मा- कवि आज हामी कस्तो समयमा बाँचिरहेका छौं भन्ने कुरा उदाङ्गो पार्छन्। कवितांश-

कुटुम्ब खोज्दै
निस्केका मनुख्खे
आफ्नै काटिएको टाउको
हत्केलामा राखेर
समयको बन्द फाटक अघि
काँप्दै उभिएको समय हो
यो

प्रकृति पूजाको अनुष्ठान हो सोइसोइला कविता। प्रकृतिसित सिंग जुझाउने मान्छे प्रकृतिसँग हार्छ, केही गर्न सक्दैन। प्रकृतिको विनाशकारी रुप अघि मानवले शिरनत गर्नुनै पर्छ। महापैह्रो कवितामा कवि भन्छन् –

प्रकृतिले लेखेको
कविता हुनेछ
एउटा भयावह कविता

त्यसरीनै रातो रङ खतराको सङ्केत हो। तर कवि रातो रङमा नयाँ जीवन देखाउँदै महिनावारीमा छ युमा कवितामा भन्छन्-

महिनावारीको रगत
सृष्टिको सबैभन्दा पवित्र पहिचान हो
एउटा नयाँ जीवनको रातो रङ छ
त्यसमा

प्रकृतिप्रति आस्था राख्ने कवि राजा पृथ्वीलाई माया गर्छन्। कविताले मात्रै पृथ्वीलाई विनाश हुनदेखि जोगाउँछ र? भन्ने गम्भीर प्रश्न राख्छन्। कवि गफ गरम थिएट्री – मा सोझै भन्छन्, आजको जल्दोबल्दो समाचार हो ग्लोबल वार्मिङ बढ्दैछ। पृथ्वी विनाश हुने दिशामा। यो समाचारसँगै कवि नारा लगाउन चाहन्छन् – रुख रोपौं, पर्यावरण बचाऊँ।

वर्षैपछि पहाड़मा पैह्रोको डर! टिस्टाको विकराल रूप! हाइड्रो-पावर प्रोजेक्ट बीच निस्सासिएको टिस्टा! छटपटाइरहने टिस्टा! ह्वात्तै बढ्दा पहाड़ पर्वत सोरसार लिएर बग्ने टिस्टा। हाम्रो चिन्ता! यस्तै चिन्ता बीच जन्मिएको फिक्सन कविता अब घर मात्र छ टक्रक्क। कवितामा यथार्थ भाव छ भने वास्तविकतालाई रोचक पाराले सजाइएको छ कवितामा। कवि यो घरलाई पृथ्वीसँग तुलना गर्छन्।

उनी भन्छन् –
अब पृथ्वी मात्र छ टक्रक्क।
अत्याधुनिक विचारधारामा जन्मिएको अर्को फिक्सन कविता हो तङसिङ।

रुखलाई माया गर्नु, प्रेम गर्नु नै प्रकृतिलाई माया गर्नु हो भन्ने स्पष्ट विचार पाइन्छ श्रृंखला कविता रुख रिल -मा । रुख रिल -२ – मा हामीलाई पनि सोच्नु वाध्य बनाउने गम्भीर अर्थ बोकेको कवितांशलाई हेरौं-

जहाँ त्यो बुढो रुख ढालिएको थियो
त्यो विशाल एउटा ड्याम प्रोजेक्टको
साइट थियो

हाँगाको भ्रममा तारमै बस्ने चरा! एउटा सोचनीय विषय। रुखको अभाव, जङ्गलको अभाव, शहरीकरणको रमाइलो भ्रम पालेर रमाउने मान्छे हामी। कवि राजा कवितामा भन्छन् –

चराहरूको उठीवास लागेको दिन
शहरबाट उठीवास लाग्छ
मान्छेको पनि
(तारमा बसेको चरा- १)

श्रृंखला कविता तारमा बसेको चरा कविताले हामीलाई घोत्लिन कर लगाउँछ। हुनत, तार आजको समयमा सबैथोक हो, तर जुन दिन मान्छे तारै तारमा अल्झिन्छ उसले श्वास फेर्न समेत पाउँदैन। जसरी चराले आफ्नो रुख गुमाउँदै गइरहेको छ। कवितांश-

सधैँ तारमा बसेर चराले
आफ्नो सपनामा
काटिएर झरेको
एउटा उदास हाँगालाई देख्छ

विम्ब, प्रतीकमा रमाउने राजा शब्द शब्दमा वक्रोक्ति अलङ्कारलाई पनि प्रश्रय दिन रुचाउँछन्। हरियो प्रकृतिमा रम्न पाए जीवन साँच्चै खुशीसँग वित्ने कल्पना मात्र गर्न सकिन्छ अबका दिनहरुमा। कवि भन्छन् –

हरियोलाई
विस्तारो लखेट्दैछ
पहेँलोले
पहेँलिनु मृत्युको सङ्केत।

अत्याधुनिक विषय वस्तुलाई टपक्क टिपेर कविता उन्न खप्पिस राजाको अर्को श्रृंखला कविता बाइसौंँ शताब्दीको मन्त्र – मा मानव छ। रोबोट छ। एलियन छ। तर प्रकृति विलुप्त भइसकेको छ। कविता पनि त्यस्तै खाले छ। कवितांश-

कङ्कालको अम्लीबीच
चेप्टिएको छ
अक्षर मेटिएको प्रेमपत्रको
एउटा डिजिटल चिप

इको कविताभित्र जातिप्रतिको माया देखिन्छ। कवि गोर्खाको अस्तित्व र पहिचान जङ्गलमा नै हराइसकेको कुरा राख्छन् निर्धक्क। श्रृंखला कविता जङ्गल सेल्फी रोचक छ। कवितांश-

ङ्गलमा नै छ
हामीले उइलेनै हराएको
हाम्रो पहिचान
(जङ्गल सेल्फी -२)

नदी पोट्रेट श्रृंखला कविताहरुले नदीको वास्तविकता छर्लङ्ग पारिदिएको छ। कवितांश-

नदी
सभ्यताको इतिहासको धर्काचित्र
(नदी पोट्रेट -२)

इलेक्ट्रोनिक्स गतिविधिको बढ्दो स्थिति र डिजिटलाइजेशनले एकदिन नदी सुक्छ , समुद्र सुक्छ, सुक्छ सभ्यता। मान्छे रहन्छ र? ठूलो प्रश्न चिह्न छ।
कवि भन्छन् –

धर्तीमा बग्दै थियो इलेक्ट्रोनिक कबाड़

आकाश भरिएको थियो डिजिटल धुँवाले

पृथ्वीपीड़ा-प्रति अत्यन्त चिन्तित कवि राजाको मूल कुराको उदघाटन यी पृथ्वीपीड़ा श्रृंखला कवितामा भएको छ। एकदिन ” सास फेर्न छाडनेछ यो पृथ्वीले” भन्दै चिन्ता व्यक्त गर्छन् कवि। यो पृथ्वी बाँच्नको निम्ति प्रकृतिसँगै पशु-पंक्षी मानवभन्दा पनि आवश्यक छ भन्ने कुराको तर्क पाइन्छ कवितातिर।

चराहरू लुप्त हुँदै गएकोमा चिन्तित छन् कवि। भ्यागुताको आवाज साँच्चै मानवको निम्ति उपहार नै हो भन्दै कविता कोर्छन् कवि। कवितांश-

भ्यागुताले टरटराउनु
छोडेको दिन
निदाउँछ बर्खा

हराउँछ होश पृथ्वीको

“विनाश काले विपरीत बुद्धि ” भने झैं मान्छे जत्ति बुद्धिमानी हुँदैछ त्यत्ति नै विपरीत बुद्धिको परिचय दिँदै गइरहेको कुरालाई नकार्न मिल्दैन। पैसाको पछि भाग्ने मान्छे! कविले अन्तिममा राखिएको पृथ्वीपीड़ा – 7 कवितामा कसिलो व्यङ्ग्यात्मक भाव प्रस्तुत गर्छन्। कवितांश-

मान्छेले
माया गर्छ
माटोलाई


पृथ्वी खान्छ

डल्लै पृथ्वी बोकेर सम्भवतः पृथ्वी जस्तै आकारको टाउकोले पृथ्वीकै बारेमा सोच्नु लरतरो कुरा होइन। कवि राजा जहिल्यै नयाँ नयाँ विषयको खोजीमा तल्लीन देखिन्छन्। नेपाली कवितालाई एउटा नयाँ दिशा देखाउन तत्पर रहन्छन्। तर राजाको प्रयोग कतिले बुझ्दैनन्। वास्तवमा राजाले धेरै परसम्म सोचेर आउने दिनको चिन्तामा कलम कुदाउँछन्। हामी आज सोच्छौ राजा भोलि सोचेर चिन्तित हुन्छन्। आउँदो चालिस-पचास वर्षपछि पृथ्वीको दुर्दशा के हुन्छ भन्ने कुराको स्पष्ट संकेत पाइन्छ कवितातिर।

शब्द र भावको चातुर्यमा भाषा सजाउन सक्ने कविको कवितालाई सजिलो पाराले पनि बुझ्न सकिन्छ, तर आफू पृथ्वी भइदिनु पर्छ । बुझ्न खोज्दा खोज्दै नबुझिँदो रहेछ तर कसरी नबुझिएको कुरा सजिलै बुझ्न सकियो, कुनै कलाकारले कुँदेको चित्रजस्तै ।

कविको विचारमा दर्शन लुकेको छ। कताकता गद्य दर्शन पढ्दैछु जस्तो भान भए पनि कविताले तानिहाल्छ।

अन्तमा भन्नु पर्दा काव्य अनुष्ठान तङसिङले राजाको काव्यिक कलाकारिता खिपेको कुरामा विश्वास राख्न सकिन्छ। पृथक भाषा शैलीमा सजिएको तङसिङ एउटा स्तरले सहजै ग्रहण गर्न सक्छ भने साधारण पाठकको टाउको घुम्छ नै। तर बुझ्नुमा असजिलो हुँदैन । कवितातिर असाधारण भनाइहरूले ठाउँ ओगट्दा साधारण भन्दा साधारण पाठक अकमक्क हुन्छन् नै। असाधारण व्यक्तित्वका धनी राजामा सृजनात्मक क्षमता र कल्पना शक्तिको भरमार देख्न पाइन्छ कविता पढ्दै जाँदा। भाव र विचारसँगै भाषा शैली, शिल्पलाई पनि नयाँ आयाम दिनमा सदैंव तत्पर राजाका कविताहरूले उठान गरेका कतिपय विचारहरू साँच्चै ह्रदयस्पर्शी छन्। छोटोमा थुप्रै विचार पोख्नसक्ने राजाले कवितामा नौलो क्रान्ति नै ल्याउन चाहन्छन्। थुप्रै पढेर घोत्लिएर लेख्न रुचाउने राजाका कविताहरूले सोधेका प्रश्नका उत्तरहरू सोच्न वाध्य गराउँछन्। कविता रच्छन् राजा कुनै कलाकारले फिनिसिङ टच गरे जस्तै। कविता बुन्ने तरिका अनेक छन् राजाको। प्रयोगमा निर्धक्कसँग रमाउँछन् राजा।

कविता सङ्ग्रह तङसिङमा कविले पर्यावरणसँग अत्यन्त नजिकको सम्बन्ध गाँस्ने काम गरेका छन्। तङसिङ लिम्बु संस्कृतिको धार्मिक अनुष्ठान हो। प्रकृति पूजाको सुन्दर प्रस्तुति हो पर्या-कविता सङ्ग्रह तङसिङ । तङसिङ नेपाली साहित्यको थप आकर्षक कृति हो।