‘यसपल्ट गर्मीको मौसम खपिनसक्नु भएको थियो । गत वर्षहरूको भन्दा धेरै चर्को ।’ हिजो आज हामी प्रायः सबैले यसो भन्ने गरेका छौं । तर यसको कारण खोतल्न हामीले त्यति चासो राख्दैनौं । न त सोच्ने गर्छौं ।’ यसरी नै बढ्दै गयो भने आगामी वर्षहरूमा हामीले कसरी जिउनु होला ।

हाम्रा छङ्छङ् बग्ने नदी, खोलाहरू बिस्तारै सुक्न लागे । भूमितलको जलस्तर घटेर हाम्रा कुपहरूमा हिजोआज वर्षको बाह्र महिना पानी पाइँदैन। गहिरो ट्यूब वेल नगाढी नहुने भयो । मौसम चाँडै बदलिन लाग्यो । कतै अतिवृष्टि हुन लाग्यो त कतै खडेरी । बाढी र पहिरोको प्रकोप पनि बढेकै छ । चक्रवातहरू बर्सेनी आउन लागे । सुनामीको भयानक रूप हाम्रो मन (मस्तिष्कमा सिला लेखनजस्तो आलै छ । कोभिड १९ को त्रासदी अझै आलै छ । यी रोग सृष्टि गर्ने विषाणु उत्परिवर्तन भई अझ खतरनाक हुनसक्छन् । त्यसैले डरको कालो बादल हाम्रो मनबाट हट्न सकेको छैन । भ्याक्सिन लिए पनि ढुक्क छैनौँ ।

के कारणले गर्दा यस्तो भएको हो यो बारे सोच्ने बेला आएको छ । के सोचेर मात्र हुन्छ र यो अवक्षयणलाई सुधार्न हामीले के कसो गर्नुपर्ने हो यो बारे कारवाही गर्न अत्यन्त जरुरी भएको छ । यसबारेमा जनअनुभूति, जनचेतना, जनजागरण, जनकार्यन्वयन आदि गर्ने समय आइसकेको छ । धेरे भयो अब हुन नदिऊँ खाले भावना हामी सबैको मनमा जागृत हुनु अति आवश्यक भएको छ ।

प्रख्यात इटालियन लेखक उमवार्ट इकोले साहित्यलाई मानवजातिको अपरिमेय स्पर्शातीत शक्ति भनेका छन् । पृथ्वीमा यस्ता अभौतिक शक्तिको अस्तित्व छ जसलाई तराजुमा तौलन सकिँदैन तर यिनको आफ्नै भार हुन्छ । त्यसै कारणले होला साहित्यद्वारा ल्याएको परिवर्तन मानिसको सोच प्रक्रियामा स्थायी रूपले बस्ने गर्छ । यस परिप्रेक्ष्यमा पर्यावरणको यो जल्दोबल्दो मुद्दालाई सम्हाल्न साहित्य नै उत्तम माध्यम हुनसक्छ ।

डा. देवेन सापकोटा (असम)

पर्या वा इको-साहित्य भनेको के हो ?

वातावरण या परिवेश पर्यावरण साहित्यलाई इको लिटरेचर वा इको साहित्य पनि भन्ने गरिन्छ । अङ्ग्रेजी ‘इको’ शब्द ‘इकोलोजी’ या ‘इकोसिस्टम’को छोटो रूप हो । इकोलोजी पर्या (शास्त्र) इकोसिस्टमको अध्ययन हो । इकोलोजीले कुनै जीवित तत्त्व वा जीवधारीको सेरोफेरोसँग रहेको अन्तर्सम्बन्धको अध्ययनलाई बुझाउँछ । मानिसको वरिपरि हावा, पानी, रुख, पर्वत, अकास, समुद्र, नभोमण्डल आदि रहेको हुन्छन् । तसर्थ इको साहित्यले मानिसको यी सबैसँग रहेको सम्पर्कको बारेमा चर्चा गर्छ ।

अर्का पट्टिबाट भन्न जाँदा पर्या साहित्य उत्तर आधुनिकतावादको एउटा पाटो पनि हो । साहित्यका थुप्रै पाटाहरू छन्, त्यसमध्ये वातावरण साहित्य पनि एक हो । नेपाली साहित्यमा सामाजिक तथा राजनीतिकजस्ता मानवकेन्द्रित परिवेशका विषयवस्तुको मात्रै चर्चा गरेको पाइन्छ । तर वातावरण सम्बन्धीका कथावस्तुलाई खासै महत्त्व दिइएको हुँदैन । यद्यपि वातावरण साहित्यले सिङ्गो पृथ्वी, पृथ्वीमा रहेका सजीव तथा निर्जीव वस्तु र तिनीहरूको अन्तरसम्बन्धको चर्चा गर्ने गर्छ । जसरी हाम्रो परम्परागत साहित्यले मानव सभ्यता विकासमा ठुलो योगदान पुर्याइआएको छ, त्यसरी नै वातावरण साहित्यले वातावरणीय क्षयबाट मानव अस्तित्व जोगाइराख्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । त्यसैले अब वातावरण साहित्यको बिरुवा रोपेर मलजल गर्दै झाँगिलो वृक्ष बनाउनुपर्ने आजका साहित्यकारहरूको दायित्व भएको छ, बल्दो समयको माग भएको छ ।

अन्य साहित्य र पर्या-साहित्यमा रहेको भिन्नता

चरा चुरुङ्गी, पहाड जङ्गल, गाउँ सहर आदिका बारेमा हाम्रा साहित्यिकहरूले थुप्रै लेखिसकेका छन् । अङ्ग्रेज कवि वर्डसर्थले ड्याफोडिलु कविता लेखेर प्रकृतिसँग एकात्मक भई आनन्द अनुभव गरे, हामीलाई पनि गराए । हिन्दी कवि निधि अग्रवाल या अज्ञेय आदिले पनि फुलको सराहना गरी मिठा (मिठा कविता लेखे ।कविगुरु टेगोर कृत गीताञ्जलीका कविताहरूमा अनुपम प्राकृतिक वर्णन पाइन्छन् । हाम्रा आदिकवि भानुभक्तले कान्तिपुरी नगरीबाट प्रारम्भ गरेको कविताको माला लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, गोपालप्रसाद रिमाल, बैरागी काइँला, मोहन कोइराला आदिले गुथ्दै गए । यीमध्ये अघिल्ला पुस्ताका सर्जकहरूका कविताहरूमा प्रकृतिको सराहना गरिएको प्रशस्त पाइन्छ । यस्ता कविताहरूमा प्रकृतिले मानिसलाई आनन्द दिएको कुराको वर्णन हुन्छ, प्रकृतिको सराहना गरिएको हुन्छ । त्यसैले यस्ता साहित्यलाई ‘प्रकृति’ साहित्य भन्न मिल्ला । तर गत अस्सीको दशकतिरबाट पर्यावरणलाई सम्बोधन गर्न अङ्ग्रेजी साहित्यमा नयाँ खाले कविताका सृष्टि हुन लागे । यिनीहरूलाई पर्यावरणीय पर्या साहित्य या इको साहित्य भनिन्छ ।

अन्य कविता विपरीत पर्या-कविता

पर्या कविताहरू हाम्रा वातावरणलाई सम्बोधन गर्ने नैतिकता र दायित्वशीलताले घेरिएका हुन्छन् । यिनीहरू विश्वसँग जिम्मेवारीको रूपमा जोडिएका हुन्छन् (जेम्स एङगेलहर्ड)

पर्या कविताहरूले हाम्रा वातावरणीय कल्पना शक्तिहरूको अभ्यास गर्दछन्, यिनले हाम्रो नैतिक क्षेत्रलाई विस्तार गर्दछन् र मानवीय अहङ्कार बाहिरका चीजहरूका साथ समानुभूतिका सम्बन्धी बन्धन उत्पन्न गर्दछन् । ‘द इको पइट्री एन्थोलोजी’ पुस्तकको सम्पादक लौरा (ग्रे स्ट्रिट)।

पर्या कवितामा पृथ्वीको वातावरणीय अवनति र ग्रहहरूको इकोसिस्टममा भइरहेको अवक्षयणको चर्चा र यस बारेमा विशेष कार्यहरू गर्न सक्रिय आयाम हुनु पर्छ । (‘सस्टैनबल् प‌इट्री’का लेखक लियोनार्ड साइगज)

पर्या कविताहरू प्राकृतिक वा सामाजिक वातावरणको बारेमा होइन, तिनीहरू आँफै नै वातावरण हुन् । (अन्गुस फ्लेचर)

पर्या कविता प्राकृतिक कविताको बृहद रूप हो जसले मानव कार्यले गरेका खतराबारे बोलेको हुन्छ । यस्ता कविताले पर्यावरणको क्षति बारे दर्शाएर तत्काल ध्यान दिन पाठकलाई घच्घच्याएको हुन्छ । कविताले नैतिकताको महक बोकेको हुन्छ। पर्या कविता हुनुमा विश्वास राख्नुभन्दा गर्नुमा विश्वास लाग्दछ । (उर्सुला के हेइस )

पर्या कविताका माध्यमबाट हामीलाई आजभन्दा दस पुस्तापछिको कुरो सोच्न आग्रह हुन्छ । (कवयित्री जोरी ग्राहम) ।

कुनै पनि साधारण कवितालाई रुख र चराका विषयले सिगार्दैमा प्रकृति कविता पर्या कविता बनिँदैन, यसमा पाठकको सोचाइमा परिवर्तन ल्याइदिन सक्ने तत्त्व हुनुपर्दछ । पर्या कविताले पाठकलाई वातावरण सचेतक बनाउँछ । उचित अनुचितबारे उसको सोचको परिधि बढाउँछ, अनि मानविक अहङ्कार नास गरेर समानुभूति अङ्कुरण गर्छ । (कवि र प्रकृतिविद् डेरेक सीफ्फिल्ड ) ।

पर्या-साहित्यको विकास र विस्तार

वातावरण बिग्रेको कुरो हिजो प्रायः प्रतिदिनै देख्न पाइएको छ या पढ्न पाइएको छ । जलवायु परिवर्तन विषयमा अल गोरले सन् २००७ मै नोबेल पुरस्कार प्राप्त गरे । यो विषयप्रति सबैको ध्यान आकर्षित भयो । तर विषयवस्तुलाई जनमानससम्म पुर्याउन साहित्यको मद्दत नलिई हुँदैन । साहित्यमा नलेखिएसम्म कुनै पनि समस्याको गम्भीरतामाथि हाम्रो ध्यान आकर्षित हुँदैन । साहित्यकारले वातावरणप्रति चिन्ता राख्न थालेको आधा शताब्दी नाघी सक्यो । सन् १९६२ मा प्रकाशित अमेरिकान लेखिका रचेल कार्सनको साइलेन्ट स्प्रिङु शीर्षक कृतिबाट यो चेतना सुरू भएको हो । वर्तमान विश्व लेखनको एउटा ठुलो अंश नै मानवेतर जगततिर लक्षित छ । तर विडम्बनाको कुरो के हो भने, नेपाली इको साहित्य बिरुवा अवस्थामै छ ।

पर्या-साहित्यको सम्भावन र चुनौतीहरू

इको साहित्य भन्ने बित्तिकै मानिस विज्ञानको विषय हो भनी पर तर्किन्छन् । वास्तवमा यो हामी सबै जडित भएको विषय हो । हुन त इको साहित्यको चर्चा गर्दा कतिपय प्राथमिक विज्ञानका कुराहरू आउने गर्छन् । जस्तैः ग्लोबल वार्मिङ, खाद्य शृङ्खला, प्रदूषण आदि । तर समयले यी कुरा पनि सिकाउँदो रहेछ । जस्तैः ह्यान्ड सेनिटाइजर, सोसल डिस्टन्सिङ, होम आइसोलेसन, क्वारेन्टाइन आदि यतिबेर कोरोनाले हामीलाई सिकाएको छ । त्यसैले हाम्रा साहित्यिकहरूले इको साहित्यको बारे बढी ध्यान दिनु पर्ने समय आएको छ । यसबारे बहुल चर्चा गर्नुपर्ने खाँचो छ । इको साहित्यको चुनौतीहरू यिनै हुन् । तर जहाँ चुनौती हुन्छ त्यहाँ सम्भावना पनि उत्ति नै हुन्छ । यतिबेला हाम्रा साहित्यकारहरूले इको साहित्यको महत्त्व बुझे जस्तो लाग्छ, विशेषगरी नयाँ पिँढीले । त्यसैले यसको विस्तार ढिलै भए पनि पक्का छ । धेरै स्रष्टाले इको साहित्य रची सामाजिक सञ्जाल मलिलो र हरियो पार्नमा लागि परेका छन् । यो अति खुसीको कुरो हो ।

सैद्धान्तिक पक्ष समाउँदा

काठमाडौँबाट सन् २००८ मा प्रा.डा. गोविन्दराज भट्टराईद्वारा प्रस्तुत उत्तरआधुनिक विमर्शमा पर्या साहित्यमाथि विस्तार सामग्री आए । लन्डनका विजय हितानले पर्यावरण साहित्यलाई एक लामो समयदेखि दरिलो नेतृत्व दिँदै आएका छन् । उनले सन् २०१६ बाट बर्सेनी वातावरण साहित्यगोष्ठी गरी विश्वका पर्यावरण सचेतक नेपालीभाषी साहित्यकारहरूलाई एकै मञ्चमा उभ्याई यस दिशामा काम गरिरहन ऊर्जा भरेका छन् । यी गोष्ठीहरूमा पठित कविताहरू सङ्ग्रह गरी हितानले स्वच्छन्द सुसेलीहरू (वि. स. २०७४० र स्वच्छन्द सुसेलीहरू ) वि. स. २०७७० नाउँले दुई पुस्तक निकाले । यी दुवै पुस्तकका भूमिकाहरूमा पर्या साहित्य बारे धेरै चर्चा गरिएको छ । हितानका ‘थकित पृथ्वी’ कथासङ्ग्रह सन् २०१४० र ‘बाग्मती ब्लुज’ कविता सङ्ग्रह सन् २०१६० कृतिमा धेरै पर्यावरणीय स्वाद रहे तापनि सम्पूर्ण पर्या रसमा डुबेका कृतिहरू हुन् । इको उत्सर्जन निबन्ध सङ्ग्रह, सन् २०१६० र ‘ब्लु प्लानेट’ कथासङ्ग्रह, सन् २०२१० । असमका ज्ञान बहादुर क्षेत्री पर्यावरणीय साहित्यलाई मूल मञ्चमा ल्याउने समर्पित व्यक्ति हुन् । उनको उत्तरआधुनिक सिर्जना र समालोचनाका आधारहरू पुस्तक निबन्धसङ्ग्रह, सन् २०२०० अन्तर्गत ‘परिवृत्तीय सिर्जना र समालोचना अध्यायमा गहिरो मन्थन भएको छ । सन् २०२१ मा ४१ वटा इको कविता गर्भमा बोकी मेरो परिश्रान्त पृथिवी भूमिष्ट भएको छ । यो पुस्तकको भूमिकामा प्रा.डा. गोविन्दराज भट्टराई, विजय हितान र ज्ञान बहादुर क्षेत्रीले पर्या साहित्यलाई व्यापक समीक्षा गरेका छन् ।

सन् २०२२ मा इको साहित्यका दुईवटा उल्लेखनीय कृति प्रकाशित भएका छन्, गान्तोकबाट डा. देवचन्द्र सुब्बाको समालोचना ग्रन्थ नेपाली कवितामा परिवेश र सिलगडीबाट राजा पुनियानीको कविता सङ्ग्रह ‘तङ्सिङ्’। यतिबेला पर्या साहित्य, विशेष गरी कविताहरू सोसल मिडियाको फुलबारीमा ढकमक्क फुलिरहेका छन् । यस विषयमाथि शोध कार्यहरू ठाउँ ठाउँमा हुँदै छन्, कृतिहरू पनि निस्कदै छन् । यही वर्ष गुवाहाटीस्थित कटन विश्वविद्यालयले नेपाली भाषामा पी जी डिप्लोमा कोर्स आरम्भ गरेको छ । पर्या साहित्यको आवश्यकतालाई बुझेर यहाँ यस विषय पनि पढाइन्छ ।

पर्या-साहित्यको वर्गीकरण

इको राइटिङ्भित्र पनि आफ्नै विषयवस्तुहरू छन्, जसलाई विजय हितानले ११ वटा भागमा सूचीकृत गरेका छन् । खतिनीहरू हुन् ( विकासनिर्माण, पर्यानारीवाद इकोफेमिनिज्म ), परिवृत्तीय, प्रकृति सौन्दर्य, ग्राम्यता र नगरीकरण, प्रदूषण, जलवायु परिवर्तन, जैविक विविधता, वन्यजन्तु चोरीसिकार, प्रकृतिसँग आदिवासीको सामिप्यता, धर्म र पर्यावरण । यसमा पर्या राजनीति जोड्दा जम्मा जम्मी १२ ओटा भाग हुनेछन् ।

१. विकासनिर्माण

विकासनिर्माण र पर्यावरण संरक्षण विपरित दिशातिर कुद्ने धावक हुन् । आधुनिक विकासनिर्माणका गतिविधि वातावरणमा असन्तुलन ल्याउने प्रमुख कारणमध्ये एक हो । निर्माणकार्य बिना त मानव सृष्टि अघि बढ्नै सक्दैन । तर दिगो विकासका सिद्धान्त अपनाउनु अपरिहार्य देखिन्छ । इको साहित्यले यस विषयलाई समाएको हुन्छ ।

२. पर्या-नारीवादी (इको-फेमिनिज्म)

पुरुषभन्दा महिला प्रकृतिको समीपमा बढी हुन्छन् । पृथ्वी अथवा प्रकृति नारीको रूप हो । पर्यावरणका तत्त्वहरूलाई नारीवादी साहित्यमा ढालेर गरिएका इको राइटिङ अति नै प्रभावकारी हुने गर्छ । पर्यावरण संरक्षणमा महिला जति बढी सचेत हुन्छन् त्यति नै बढी पर्यावरण संरक्षित रहने सम्भावना हुन्छ ।

३. परिवृत्तीय

परिवृत्तीय अर्थात इकोसिस्टम इको (साहित्यभित्रको एक छुट्टै विषयवस्तु बन्नसक्छ । कुनै एक प्रजातिको पर्यावरणमा कस्तो उपस्थिति रहन्छ र त्यसको घट्बढमा अर्को प्रजातिलाई कस्तो प्रभाव पर्छ भनी लेखिएका सृजना यस वर्गभित्र पर्न सक्छन् । इकोसिस्टमसँग खाद्य श्रृङ्खलाको गहिरो सम्बन्ध रहेको हुन्छ । कुनै ठाउँको खाद्य श्रृङ्खलामा गडबडी आएमा त्यहाँका समूह जीवजगतलाई नै असर पर्न जान्छ ।

४. प्रकृति सौन्दर्य

नीलो आकाश, नीलै समुद्र, हरियो धर्ती, सेताम्मे हिउँको च्यादर ओढेको पहाड, सप्तरङ्गी फुल, पुतली, चरा चुरुङ्गीले भरिएको छ हाम्रो सुन्दर प्रकृति । तर विभिन्न कारणले गर्दा यिनको स्खलन हुँदैछ । प्रकृति सौन्दर्यमा आएको क्षय या पतन बोलेको साहित्य इको लेखनको भाग हुन सक्छ ।

५. ग्राम्यता र नगरीकरण

हाम्रा गाउँहरू हरियाली र सफासुग्घर हुन्छन् । सहर कङ्क्रिटको जङ्गल र फोहोरमैलाको खानी बन्न लागेको छ । गाउँबाट रोजगारीको सिलसिलामा मानिस सहर पस्छ । तर उसले भने हरियाली गाँउको चित्र मनमा बोकी हिँडेको हुन्छ । उता गाउँ पनि विकाशको मुसे दौडमा कुदेको हुन्छ । गाउँलाई सहर बनाउने क्रममा वरिपरिको वातावरण बिग्रेको हुन्छ । यस्तै विषयमा रहेर गरिएका इको राइटिङलाई यस वर्गभित्र राख्न सकिन्छ ।

६.प्रदूषण

हाम्रो वातावरणमा प्रदूषण दिन प्रतिदिन बढ्दै छ । हावा, पानी, अकास ,जमिन, नभोमन्डल , नदी, समुद्र कसरी प्रदूषित भइरहेका छन्, तिनका कारक के के हुन् र कसरी न्यून गर्न सकिन्छ भनेर सृजना कोरिन्छन् भने तिनलाई प्रदूषण इको राइटिङको वर्गभित्र राख्न सकिन्छ ।

७. जलवायु परिवर्तन

वातावरणमा जलवायु परिवर्तन वर्तमानको बल्दोजल्दो विषय हो । हरितगृह ग्याँस ( कार्बन डाइअक्साइड, नाइट्रोक्साइड र मिथेन आदिको बृद्धि नै यिनका मुख्य कारण हुन् । जलवायु परिवर्तनको प्रभाव वातावरणमा कस्तो पर्दैछ भन्ने लेखन इको राइटिङमा पर्छ ।

८. जैविक विविधता

एउटा वासस्थानमा जति धेरै प्रजातिका जीव र वनस्पतिको उपस्थिति रहन्छ त्यहाँको इकोसिस्टम त्यतिकै उत्तम मानिन्छ, स्वस्थ रहेको बुझिन्छ । पर्यावरणमा जैविक विविधताको विशेष महत्त्व हुन्छ । यसभित्र सानाभन्दा साना जीवदेखिन लिएर हात्तीजस्ता ठुला जीवहरू पर्दछन् । यी जीवहरू एक अर्कासँग सन्तुलन बनाएर रहेका हुन्छन् । जैविक विविधतामा ह्रास आउँदा वातावरणले स्वस्थ सन्तुलन गुमाउन पुग्छ ।

९. वन्यजन्तु र चोरीसिकार

असमको कार‌्ङा या नेपालको चितवन निकुञ्जका गैंडाका निर्मम हत्या हामीले अखबार या सोसल मेडियामा देखी आएका छौं । यी गैंडा, हात्ती, बाघ, शालकजस्ता वन्यजन्तु लोपान्मुख हुनमा चोरीसिकारको ठुलो हात छ । सन् १९७० देखि यता ६०५ वन्यजन्तु लोप भइसकेको वैज्ञानिक तथ्याङ्कले देखाउँछ । के कति कारणले वन्यजन्तुको सङ्ख्या घट्दै छ र तिनलाई जोगाउन के गर्न सकिन्छ भनी गरिने सृजना पर्यासाहित्यको वन्यजन्तु र चोरीसिकारको पाटोभित्र पर्दछ ।

१०. प्रकृतिसँग आदिवासीको सामिप्यता

सामान्यतः आदिवासीहरू प्रकृतिको धेरै समिपमा बस्ने गर्छन्, प्रकृतिमाथि उनीहरू बढी निर्भर रहन्छन् । त्यसैले कुनै कारणवश प्रकृतिमा क्षय या पतन आएको रहेछ भने उनीहरूलाई धेर पिरोल्ने गर्छ । यही विषय लिएर लेखिएको साहित्यलाई इको लेखन भन्न सकिन्छ ।

११. धर्म र पर्यावरण

हाम्रो हिन्दु धर्मको पर्यावरणसँग ओतप्रोत सम्बन्ध रहेको छ । आदिमकालदेखि नै मानवले प्रकृतिको महत्त्व बुझेर नै धर्म मार्फत त्यसको संरक्षणमा लागेको हो । हाम्रा पूर्वीय धर्मग्रन्थमा पर्यावरण संरक्षणका विषयवस्तुलाई अत्यधिक मात्रामा समेटिएको छ । जस्तैः कुशे औँशी, बटा सावित्री पुजन, ठुली एकादशी नाग पञ्चमी आदि । यिनै विषयमा निहित रहेर रचिएका सृजना इको राइटिङको धर्म र पर्यावरणको पाटोभित्र पर्दछन् ।

१२. पर्या-राजनीति

कुनै कुनै बेला राजनीतिले पर्यावरणलाई प्रभाव पारेको हुन्छ । राजतन्त्रले आयश्रोतको लागि या जनताको सुख सुविधाका लागि पर्यावरणलाई प्रयोग गरेको हुन्छ । यसले गर्दा पर्यावरणमाथि असर पर्न सक्छ । जस्तैः बलुवाको व्यापार या कोइलाका लागि खोदन या बाँध निर्माण ।

पर्यावरणीय चेतना या सोचले युरोपलाई धेर घच्घच्याए जस्तो लाग्छ । त्यसैले होला त्यहाँका कतिपय राजनैतिक दलहरूले वातावरणको विषयलाई आधार मानेका छन् या मुद्दा बनाएका छन् । यस्ता दललाई ‘ग्रीन पार्टी’ भनिन्छ । हालैमा भएको नेपालको चुनावमा पनि उम्मेदवारहरूले वातावरणको विषयलाई आधार मानेर भोटको अपील गरेको कुरा जानकारी भएको छ । यो अति सराहनीय कुरा हो । तसर्थ पर्यावरण चेत भएका नागरिकहरूले पनि हैँसेमा होस्टे मिलाउने समय आएको छ । साहित्य लेखनले यस्ता बिषयलाई छोएको छ भने पर्या राजनीति भन्न सकिएला ।