साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कालो मुन्टे र ठूलो टाउकेको झगडा

जनकप्रसाद हुमागाईँ

एक दिन महाभारत चुरे झाडीको कुनै ठाउँमा वनै थर्किने गरी कोही बाझाबाझ गरेको आवाज सुनिन थाल्यो । यस्तो बाझाबाझ र चर्काचर्की सुनेपछि ‘केको चर्काचर्की हो ? कसकसको झगडा हो ?’ भनी यताउताका घाँसी, गोठालाहरू, गाई, भैंसी, भेडा, बाख्राहरू, मृग, जरायी, खरायो, स्याल, वनबिरालाहरू, न्याउरीमुसा, मलसाप्रा, सालक, दुम्सीहरू सब लर्को लागी त्यही बाझाबाझ गरेको ठाउँतिर लागे । त्यताको सडक हुँदै चल्ने ट्रक, ट्याक्टर, गोरुगाडाहरू पनि सब त्यतै पुग्न थाले । त्यहाँ पुगी उनीहरूले यताउति धेरै खोजे तर झगडा गर्नेहरू कतै देख्न सकेनन् ।

bahulako diary small and inside post

तर चर्को स्वरमा कोही कराइरहेको थियो, “भएभरका रूखहरू कहाँकहाँ पु¥याई लाखौँलाख कमाउने र धन र धाकको बलमा वन विनाश गर्ने तँ । तैँले यसरी विनाश गर्दै गएपछि जताततै माटो बग्न थाल्यो । पैह्रो जान थाल्यो । हरियाली समाप्त हुँदै गयो । यस्तो नराम्रो हुन थालेको सहन नसकेर जति सकिन्छ त्यति माटो जोगाऊ, पैह्रो जान नदिऊँ भनेर, हरियाली जोगाउँदै जाऊँ भनेर बुद्धि र शक्तिले भेटेसम्म आफ्नो देशको माटो, आफ्नो देशको हरियाली जोगाउन लागिपर्ने म वनमारा कि तँ ? आफू वनमारा काम गर्छ । अरूलाई वनमारा भन्छ । लाज छैन तँलाई यसो भन्न ? तैँले नाम राख्दैमा मेरो नाम वनमारा हुन सक्छ ? मेरो नाम त कालो मुन्टे हो । कालो मुन्टे ! बरु वनमारा त तेरो नाम हो । ठुलो टाउके तेरो नाम हो ।”

फेरि आवाज आयो, “के हेर्छौ घाँसी, गोठालाहरू हो । के हेर्छौ गाई, भैंसी, भेडा, बाख्राहरू हो ! के हेर्छौ मृग, जरायो, खरायोहरू हो ! के हेर्छौ स्याल, वनबिराला, न्याउरीमुसा, मलसाँप्रा, सालक, दुम्सीहरू हो ! बोल तिमीहरू, खास वनमारा म हुँ कि यो ठुलो टाउके हो ? मनपरी गरी वन विनाश गर्ने पनि यही, मेरो बदनाम गरी नाम बिगार्ने पनि यही ? घेर यसलाई र सजाय गर । त्यसपछि मात्र यसरी वन विनाश हुन पाउने छैन । माटो बग्न पाउने छैन । पैह्रो जान पाउने छैन र हरियाली समाप्त हुन पाउने छैन ।”

एकछिनपछि फेरि आवाज आयो, “के हेर्छौ ट्रक र ट्याक्टरहरू हो ! के हेर्छौ गोरुगाडाहरू हो । के तिमीहरू नै होइनौ यो ठुलो टाउकेले विनाश गरेका काठहरू उसका इसारामा भने भनेका ठाउँमा रातारात कुदाउने र यसो गरेबापत उसले दिएको जुठोपुरो खाने ?”

ठुलो टाउकेका डरले कोही केही बोलिरहेका थिएनन् किनभने देशको वनविनाश गर्ने कालो मुन्टे झार थिएन । ऊ त जहाँजहाँ वन विनाश हुन थाल्यो त्यहाँत्यहाँ आइदिने गरेको थियो । अनि माटो बग्न, पैह्रो जान नदिई देशको भूमि जोगाउन, हरियाली कायम गर्न निकै सघाउ पु-याएको थियो । उसको नाम पनि वास्तवमा वनमारा होइन, परापूर्वदेखि नै कालो मुन्टे थियो । पश्चिमतिर हजारिया पनि भन्थे र अहिले पनि त्यसै भन्छन् । उसको मुन्टाको रङ प्याजी, गाढा हलुका कालो हुने गरेकाले पूर्वतिर सबैले कालो मुन्टे भन्ने गरेका हुन् । पश्चिमतिर हजारौँका हिसाबले फैलिँदै आएको हुनाले हजारिया भनेका हुन् । उसको साँचो सत्य कुरा यस्तो थियो । यस्तैमा माथिमाथि आकाशमा उडिरहेका पन्छीहरूले भने कत्ति नडराई चीँचीँ । गर्दै आफ्नो भाषामा भन्न थाले, “साँचो वनमारा ठुलो टाउके नै हो । यसलाई समात । सजाय गर ।”

यसपछि बिस्तारै खैलाबैला सुनिन छाड्यो । सबै घाँसी, गोठाला, गाई, भैंसी, भेडा, बाख्रा, मृग, जरायो, खरायो आदि आआफ्नो बाटो लागे । त्यहाँ पुगेका ट्रक, ट्याक्टर, गोरुगाडाहरू पनि जताजताबाट आएका थिए त्यतैतिर लागे ।

एक दिन डाँडाघरे ठुलाकान्छाले आफ्नी सानी छोरी जमुना र सानो छोरो सुन्दरलाई एकान्तमा सुनाइरहेको उसको एक दिनको सपनाको कथा पनि यहीँ समाप्त भयो । यस दिनदेखि डाँडाघरे ठुलकान्छा, गैराघरे जेठा र उनका छोराछोरी–घरपरिवार सबैले कालो मुन्टेलाई वनमारा होइन, कालो मुन्टे नै भन्न थाले ।

(गल्ती पत्ता लगाउने नाति बालकथासङ्ग्रह, २०५९ बाट)

प्रतिक्रिया
Loading...