पर्या कविता:रबर बोटको वेदना
————————-
रबरको रुखमुनि
तस्बिर लिन खोजेथेँ मैले।
एक झिनो बोलि कानको
पर्दामा ठोक्कियो…..
‘ए पथिक, पर्ख एकछिन सेल्फी लिनुअघि
हेरिदेऊ न मेरो बिडम्बना।
भत्भती पोलेको छ
मेरो छाला ताछिएको ठाउँमा
भल्भली रगत बगिरहेछ भाला रोपेको घाउबाट।
एक ब्यान्डेज त बाँधिदेऊ न त्यहाँ
मलम घसी
केही राहत त मिल्छ कि?
निर्दयी मनुष्यले चोपको लोभमा रोपेको यो
भाला पनि झिकिदेऊ न
साह्रै दुखिरहेको छ।
झस्किएँ म
अनि अनायासै मेरा आँखा रबरको बोटलाई नियाल्न पुगे,
बिचरा पातहरू करुण वेदनामा सुक्सुकाइरहेका छन्।
..
किङ्कर्तव्यविमूढ भई ठिङ्ग उभिरहेँ म
आफ्नै छाला कसैले ताछेको अनुभव गरेँ।
त्यतिबेलै
अट्टहास गऱ्यो
एक परित्यक्त गाडीको टायरले
केही परबाट
त्यसकै प्रतिध्वनि भ‌ई गुन्जिइरह्यो सारा बगान
हा हा हा हा हा हा
xxxxxxxxxxxxx
डा. देवेन सापकोटा
गुवाहाटी, असम