साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

हितानको ‘ब्लु प्लानेट’माथि अन्तरक्रिया

विजय हितानको पर्या साहित्य ब्लु प्लानेटमाथि शुक्रबार आराधना क्याफे बागबजार काठमाडौँमा अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।

कार्यक्रममा लगभग तीन दर्जन साहित्य अनुरागीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाली साहित्यमा लामो समयदेखि मानवीय जीवन वरिपरि मात्रै लेखनी केन्द्रित रहेको र सामान्य वातावरण झल्काउन मात्र प्रकृतिको सुन्दरताको बयान गरिने गरेको तर त्यही प्रकृतिमाथि गम्भीरतम् अवस्था आएकाबारे ध्यान पुग्न नसकेको कुरा औँल्याइयो ।

bahulako diary small and inside post

खासगरी लेखक विजय हितानले नेपाली साहित्य लेखन धेरैजसो मानवीय जीवनवरिपरि मात्रै केन्द्रित रहेको, कतैकतै प्रकृतिको सुन्दरता- हरियो वन, छङछङ छहरा, कोइलीको गीत, डाँफेको नाच इत्यादिमा कविता तथा कथा कोरिएको, गीत लेखेर गाइएको पाइने बताउनुभयो ।

उहाँले हिमरेखा किन झन् माथि चढ्दै छ ? बाघ, भालु, गैँडा किन लोप हुँदै छन् ? पोखरी र खोला किन दूषित हुँदै छन् ? तिनलाई सम्बर्धन र संरक्षण किन र कसरी गर्नुपर्छ भन्ने विषयमा साहित्यिक लेखन बिरलै पाइने गरेकामा अब आइन्दा लेखनीमा गम्भीरतापूर्वक प्रकृतिमाथि कलम चलाइनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘निरङ्कुश शासनको विरुद्धमा कलम उठाइयो । अब जलवायु परिवर्तनको विरुद्धमा कलम उठाउन जरुरी छ ।
छङछङ गर्ने झरना र चाँदीझैँ टल्कने क्या राम्रा हिमाल भनेर गीत लेखियो । अब सुक्दै गरेको झरना, पग्लिँदै गरेको हिमाल, लोपोन्मुख हिउँ चितुवा, बासस्थान गुमाउँदै गरेको उत्तरी ध्रुवको भालु, एन्टार्टिकाको पेनगुइनको पनि गीत लेख्न जरुरी छ ।’

उहाँले आफ्ना मानिसहरू दुर्घटनामा परेका कथाहरू लेख्ने कथाकारले अब आणविक दुर्घटना, सामुद्रिक प्रदूषण र बाढीपहिरोजस्ता प्राकृतिक प्रकोप र त्यसमा प्राण गुमाएका मानिस र वन्यजन्तुको पनि कथा लेख्न आवश्यक देखिएको जनाउनुभयो ।

कसैले घर आगोले डढाएर घरविहीन भएका मानिसको गाथा लेख्छ भने कसैले वन डढेलो लागेर बासविहीन बनेका पशुपक्षीको पनि गाथा लेखौँ न भन्ने उहाँको आग्रह थियो ।

शक्ति हत्याउन र स्वार्थपूर्तिका लागि छेडिएका युद्धले विस्थापित बनेका शरणार्थीको कहानी जति करुण हुन्छ, त्योभन्दा बढी मन छुने कहानी हुनसक्छन्- जथाभावी बस्ती बसाउन र खेती गर्न मासिएका रेनफोरेस्टले गर्दा बासस्थानको नष्ट भएपछि विस्थापित वन्यजन्तुका ।

उहाँले हवाइजहाज चढ्दै आधुनिक शहर घुमेर पाँचतारे होटेलमा बसेको र रेष्टुरेन्टमा खाएपिएको विषयमा संस्मरण कोर्न जति आनन्द आउला त्योभन्दा बढी आनन्द हात्तीमा सवार गरेर राष्ट्रिय निकुञ्जका वन्यजन्तुको दर्शन र तम्बुमा सुतेर अर्गानिक तरिकाले उत्पादित खाना खाएका नियात्रा लेख्नमा आउने बताउनुभयो ।

यस किसिमको सोच लेखनीमा आए मात्रै हाम्रो पर्यावरण संरक्षण गर्न सकिने उहाँको धारणा थियो । अन्यथा ६० मिलियन वर्षअगाडि डाइनोसर लोप भएर गएजस्तै मानव सभ्यता पनि लुप्त हुन सक्ने डरलाग्दो अवस्था रहेको साहित्यकार हितानले औँल्याउनु भयो ।

उहाँले लेख्नु भएको ब्लु प्लानेट सोही विषय केन्द्रित रहेको अन्य सहभागीहरूको धारणा थियो ।

प्रतिक्रिया
Loading...