देवेन सापकोटा

डा. देवेन सापकोटा

ग्रेनेड र मोर्टारका विस्फोटका बीचैमा
रातभरि ताण्डव चलिरह्यो सारा सहरमा
बिहानीपख मात्रै बल्ल यसो उसका आँखा लागे
कानै भनन्न गर्ने निस्तब्धतामा सुतेको छ ऊ।

तर
घरमा असीम मायाले पालिएको कुकुरको
एक्कासि आएको कुईँकुईँ शब्दले
झल्याँस्स ब्युँझियो ऊ।
ग्रेनेडका छर्राले फुटेका दुवै आँखा
रक्ताम्मे मुखमण्डल लिएर
चिच्च्याइरहेको जनावर विचरा।

देख्नसक्ने भए त उसले
पक्कै पनि गर्ने थियो खोजतलास
घरभित्र सुतेका आफ्ना स्वामीहरूको
कान ठाडा पारी बिचारी रहन्थ्यो होला
आफ्ना मालिकका विद्यमान हालत

के गरोस् बबुरो
कानै ठप्प बहिरो भएको छ
विष्फोटका प्रचण्ड शब्दले

बम र बारुदका विस्फोटले
ध्वाँसै पुरिएकाछन् रुखका पातहरू
टालिए पत्ररन्ध्रहरू पनि
सास फेर्न नपाई छट्पटाउँदै छन्
हरिया पातहरू
अब
कसरी बनिएला खाद्य
रुखलाई जिउँदै राख्न?

बम र ग्रेनेडका छर्राले
क्षत विक्षत ताछिएका अर्धनग्न हाँगाहरू!
कहाँ भागे होलान् कठै
त्यहाँ आश्रित चराबचेराहरू?

धुवाँका सल्फर नाइट्रोजन आदि रसायन
वायुमण्डलका अक्सिजन र जलकणिकासँग मिसिई
कति बने होला अम्ल वायुमण्डलमा?
भोलि पर्ने पानीमा घोलिएर भूमिमा खस्दा
कति छट्पटाउलान्
माटाका अणु विन्दुहरू
घमौरा चर्केसरि
आङ्ग भत्भति पोल्दा ?

अम्लढल बगेर मिसिँदा समुद्रमा
कुँडिदो पानीमा
कति तड्पिएलान्
जलज प्राणीहरू !
कतिको बोक्रिने होला चर्म?
कति मर्ने होलान् छटपटाई पीडामा
मानिसबिच घमण्डको अनर्थक बलि भई?

दूषित पानीले
कति भरिएलान् इनार तालतलैया नदीहरू?
यिनका पानी खाई
घोलिएको विषले रोगग्रस्त भई
कति कष्ट भोग्लान् निर्दोष प्राणीहरूले?

**

समयले पालुवा फेर्छ
युद्धपछि शान्ति आउँछ;
आउनै पर्छ ।

तर
कसले सुनिदिने मानवेतर जगतको पीडा
कसले गरिदिने यिनीहरूको क्षतिपूर्ती?

*

कुरुक्षेत्रमा जित चाहे कौरवको होस् या पाण्डवको
हानि त कुरुवंशकै हुन्छ।

युद्धको सन्त्रासबीच
छट्पटाइ रहेछ विचरा पृथ्वी ।