रमेश भट्टराई ‘सहृदयी’
असारे कुरुक्षेत्रमा
केवल मान्छेले आपूm बाँच्न
फुर्ति लडाउँछ
घुर्की देखाउँछ
पाखुरी चलाउँछ
एक हल गोरुलाई तह लाएर
खेतका लाखौँ निरीह गँड्यौलाको बध हुन्छ
मान्छेकै प्राण धान्न ।
अँचिला र आली तास्छ– लाखौँ गँड्यौला काट्छ
छट्पटाउँदा गँड्यौलाहरू– बाँच्ने सङ्घर्ष गर्छन्
अँचिलामा बसेर चाम्रे खाँदै गर्दा
कमिलाका ताँतीले एक घाइते गँड्यौला घिसार्छन्
छ्वाप्प खन्छ,
कमिलाको घरमा पहिरो जान्छ
आत्तिएर सेता बच्चा जोगाउन दगुरादगुर हुन्छ
कोही मुर्रै जस्ता फुल बोकेर माटाभित्र
घर खोज्छन्
अस्तित्व चित्कारमा
तर मान्छेले बेपर्बाह हरसाल लाखौँ कीरा मार्छ
गँड्यौला मार्छ ।
मान्छे त बस्त याक्सामा
लाखौँ जीव मार्छ असारमा अभैm
बारुला, भमराको घरमा हिलो छ्याप्छ
रोपाइँको रमाइलोमा असारे भाका छाँट्छ
हलो चलाएर, दाँदे लगाएर
सोइलो भाँचेर, ठेडी ठोकेर
अनौको आडमा
होरी फर्काउँछ मान्छे
खेतको धमिलो पानीमा
बाउसेले फ्याउरी तान्दै गर्दा
लाखौँ जीवको तर लाग्छ
छुपुछुपु धान रोप्छ मान्छे
लाखौँ जीवको चिहानमाथि
भोलिपल्ट समाहा चल्दा
डुङडुङती चिहान गन्हाउँदा
मान्छे हाँस्छ–
लाखौँ जीव कुहिएर मल भएछ !
पानीमाथिका जीवका सेता छालीलाई
फ्याउरीले तानेर बाहुसेले
खोल्याँसाबाट बग्ने गरी तान्छ
दाँदेका खुरमा अल्झिएको लुँडीमा
अड्किएका जीवहरू
गोरुका खुट्टामाथि, हलीका हातमा
आली–बाहुसेका हातखुट्टामा
हिलोसँग अड्किएका जीव
मानौँ– शरणको भिख मागिरहेका छन्–
त्राही–त्राही, बचाउ–बचाउ
सुनामी–पहिरो–बाढी–डुबान सबै एक्कैपटक
अनि, आडमा चढ्छन्– पाखुरातिर, पिडौँलातिर
दिक्क मान्दै मान्छे
उही हिलोमा फुत्त फाल्छ ।
मान्छे सर्वश्रेष्ठ
तर–
लाग्छ– यो पृथ्वी कमिलाको घर हो ।
संसारमा कमिलै–कमिलाको बास छ ।
ठेडी भाँच्चिँदा होस् या सोइलो हल्लिँदा
अनौ तास्दा या त जोतारा बाट्दा
हरिस, फाली, करुवा, पाटी–
हलो, अनौ, ठेडीको सङ्गममा
हल्लुँडको पुल जुवासँग
आलीमा बसेर हर्पेको घिउ हालेको चाम्रेमा
कुट््मिराको पातमा राखिएको गोलभेडाको चटनी अझ
पुदिनाको स्वादमा
अहो ! भोक मीठो कि भोजन कुन्नि !
हिलाको घाउ हिलैमा निको हुन्छ रे
ढोडले काटेर छिर्कैछिर्का बनाएको पैँतालो
फुटेर चिरा परेको कुर्कुचो
ठेला मरिसकेको हत्केलो
अरठ्ठ पर्छ
उक्किएर पाप्रापाप्रा
पटुकाभित्र पसेर चिल्ने चर्चरेलाई
मारेरै आनन्द लिन्छ
टोक्दा जस्तै पीडा
मार्दा उस्तै पीडा
आलीमा बस्दा टोक्ने मच्छडले पनि
मानौँ आराम नगरी काम गर्न शासन चलाउँछ ।
भदौरे भेल र मङ्सिरे खेलपछि
भरेर भकारी बसेर लतारी
जो दाइँमा घिउका चोइली हसुर्छ
धानका रासमा
भुस बत्ताउँदै खलामा
परालका छिरोल्ने जीवन
छरपस्ट
माडेर एकएक
जीवन र शौचालयको सम्बन्ध
उही जीवको रडाको
भो अब यो जीवन
असारे क्रान्ति नबुझ्दै
मङ्सिरे मीठो खोज्छ
प्राणीका प्राणभरि
मुसाका प्वाल हेर्छु– केवल
सानो पुण्यकर्मी बनेर
तर– म भिखारी बने पनि
सिकारी बने पनि
हरेक दानाभित्र
एक हत्यारा हुँ
प्रकृति निर्मित– एक अपराधी हुँ !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।