ड. देवेन सापकोटा
प्राध्यापक. असम कृषि बि. बि.
गुवाहाटी, भारत

एक्कासि बजेको मोबाइलले बिहानीको चकमन्नतालाई खल्बलायो। कमलले अल्छे पाराले ओछ्यानमै आङ् तानेl ह्यान्डसेट कानमा टँसाए। गएराति काजिरङा निकुञ्जको भिन्नाभिन्नै ठाउँमा पाँचवटा गैँडा मारिएछन्। घटनास्थलबाट पठाइएको यो समाचारले उनको तन्द्रा मिलिक्कै उडाई लग्यो। तुफानले सुकेको पत्करलाई उडाएसरि। मुटुको धड्कनले रकेटको वेग टिप्यो। उनले सासको बढ्दो गतिलाई रोक्ने प्रयास गरे। पठाइएका तस्बिर र भिडियोहरू हेर्दै गए। कसैलाई खाडलमा जाकेर त कसैलाई बन्दुकले ठोकेर खाग काटेर लगेको! कोही पीडामा छट्पटाइरहेका त कोही भल्भली रगतको पोखरीमा लत्पतिएका! आफू निकुञ्जमा हुँदाहुँदै यसरी गैँडाको निर्मम हत्या हुँदा आत्मग्लानिले भत्भती पोलिरह्यो उनलाई। स्वदेशमा अर्जन गरेको ख्याति विदेशको माटोमा पो धस्सिएर हराउला कि? शङ्कित भए उनी।

 

कमल, अर्थात् कमल जङ् कुँवर। गहुँगोरो, होचो कद भएका मुठे जुँगाधारी। देख्नमा केही गम्भीर जस्तो लागे पनि स्वभावमा शान्त प्रकृतिका। भगवान् श्रीकृष्णका परम भक्त भएकाले होला शिरको बिटे टुप्पी उनको ट्रेडमार्क थियो। तर कार्यालय या जङ्गल जाँदा हरदम काउब्वय टोपी भिर्ने हुनाले उनी विदेशी पर्यटक जस्ता देखिन्थेl चितवन राष्ट्रिय निकुञ्ज, नेपालका कुनै एक समयका प्रभावशाली मुख्य अधिकारी। गैँडा संरक्षणमा धेरै सह्रानीय काम गरेकाले सरकारबाट पुरस्कार तथा पदोन्नति पनि हासेल गरेका थिए उनले। आफ्नो कार्यकुशलताले गर्दा काजिरङा राष्ट्रिय निकुञ्ज, असमको विशेष प्रभारीका रूपमा प्रतिनियुक्ति पाएका हुन् उनलेl तीन वर्षका लागि। पृथ्वीमा जति पनि एक खागयुक्त गैँडा छन् तिनका दुई-तिहाई भाग यस निकुञ्जमा छन्। त्यसैले यसलाई विश्व धरोहरको रूपमा गनिन्छ। यस्तो प्रतिष्ठित स्थानमा काम गर्न पाएकोमा गर्वित छन् उनी।

उत्तरपूर्व भारत, असमको प्रख्यात राष्ट्रिय निकुञ्ज हो काजिरङा l पूराकालदेखि नै महाबाहु ब्रह्मपुत्रलाई सिह्रानीमा राखेर यो विराजमान छ। ४३० वर्ग किलोमिटर विस्तृत वनभूमिको वक्षस्थलबाट राष्ट्रिय राजमार्ग तन्किएको छl बिचबाट लम्किने यात्रुहरूले दुवैपट्टिका मनोरम दृश्य उपभोग गर्ने गर्छन्। पहाड अञ्चलमा बडेमानका रुखहरू अनि समतल भूमिमा बुट्टा भरेझैँ सम्मो पारेर काटिएका चियाका हरिया बोटहरूले सबैलाई मन्त्रमुग्ध पार्छन्l बिच बिचमा निलो आकाश क्षितिज ताकेर मुस्कुराइरहेको देखिन्छ। सडकमार्गबाट गुडेका गाडीभित्र यात्रुहरूका दृष्टिमा यी बोटहरू सँगसँगै गुडुली खेल्दै पछि पछि दौडिरहेका हुन्छन्।

यात्रुहरूका देह-मन-प्राण हरियालीमा निथ्रुक्क भिजिसकेका हुन्छन्। राजमार्गको भित्रपट्टिका तलाउमा कतै गैँडा झुल्किए भने यात्रुहरूले गाडीलाई सडकको छेउमा रोक्छन् l गैँडा हेर्न भनी घाँटी तन्काई तन्काई त्यतै एकोहोरिन्छन्। प्रायः सबै व्यस्त हुन्छन् आ-आफ्ना मोबाइलमा गैँडाका साथ सेल्फी उतार्न। कोही उत्साहीहरू त बाइनोकुलरको दृष्टिले गैँडालाई ताकेको ताकै रल्लिन्छन्l

निकुञ्ज नोभेम्बरदेखि एप्रिलसम्म पर्यटकका लागि खुल्ला रहन्छ।  निकुञ्ज भ्रमण गर्ने यही उत्तम समय हो। पिठ्युँमा गद्दी राखी त्यसमाथि तीनचारवटा कुर्सी बाँधिएका हुन्छन्, निकुञ्जका सफारी हात्तीमा। यिनैमाथि चढी ‘तैँ छाड् कि मै छाड्’ गर्छन् पर्यटकहरू टाढाबाट एकपल्ट भए पनि गैँडाको अवलोकन गर्न। नजरले हेर्न मात्र कहाँ हो र? साथमा लगेको क्यामेरामा पनि गैँडाका छवि कैद गरिछाड्छन्। फर्की फर्की सेल्फी लिँदा पनि कसैको त धित मरेको देखिँदैन। छिमेकी देशबाट आई यस्तो परिवेशसँग जोडिन पाउँदा कमललाई भित्रभित्रै आनन्द  नलागेको पनि होइन।

डा. देवेन सापकोटा

तर अहिलेको परिस्थितिले किङ्कर्तव्यविमूढ पारेको छ उनलाई। निकैबेरसम्म रन्थनिए र घोत्लिइरहे उनी। त्यतिबेरै उनको बन्द कोठाको ढोकाको चेपबाट कसैले त्यस दिनको समाचारपत्र भित्र छिराइदियो। उनले सास थामेर पढ्न लागे। मुखपृष्ठमै गैँडाका रङ्गिन तस्बिर छापिएका रहेछन्। यिनका मुनि लेखिएको थियो ‘जीव श्रेष्ठ मानिसको निर्बोध पशुमाथिको निर्मोह अत्याचार’। त्यसरी नै टिभी च्यानलहरू पनि दिनभरि तात्तिई रहे। कसैले सरकारलाई, कसैले वन अधिकारीलाई त कसैले व्यवस्थापनलाई दोसे।

गैँडाको हत्यालाई रोक्नका लागि नै काजिर‌ङा निकुञ्जमा उनलाई ल्याइएको थियो । उनले भरमग्दुर प्रयास नगरेका पनि होइनन्। तरै पनि निरीह प्राणीहरूको ज्यान जोगाउन नसकेकोमा उनी सोचमग्न भए। …..‘गैँडाको हत्या व्यापक रूपमा हुँदैछ। आफ्नो खाग नै बैरी भएको छ बिचरा यसको। अन्तर्राष्ट्रिय कालोबजारमा प्रायः एक करोड रुपियाँमा सौदा हुन्छ एउटा खागको। त्यसैले खाग हत्याउन मारणास्त्रसम्म लिएर लागिपरेका छन् चोर सिकारीहरू। पर्दाको पछि लुकेर साँठगाँठमा छन् सुरक्षाकर्मी, अधिकारी र मन्त्रीहरू पनि। तर यसको निराकरण कसरी गर्ने? गैँडालाई कसरी बँचाउने? कति चाँडो गर्ने? यस्तै सोचका किराहरूले उनको मस्तिष्कलाई दिनभरि कुटुकुटु खाइरहे।

गैँडाको हत्या रोक्नका लागि यिनको हिँडडुलमाथि निरीक्षण राख्न जरुरी हुन्छ। निकुञ्जको क्षेत्र विस्तृत छ। यसभित्र कुन गैँडा कहाँ छ कसरी निकाल्नु? यो चुनौती कमलसामु आई ठिङ्ङ खडा भयो। अब कसो गर्ने?

उनले निकुञ्जका सबै गैँडाका शरीरमा माइक्रोचिप्स जडान गरी भर्चुएल निगरानीमा राख्ने कुरा सोचे। काम सकसपूर्ण थियो तर अनिवार्य भयो। यसका लागि उनले गुवाहाटी भेटनरी कलेजको मद्दत नलिई नहुने भयो। पहिले त गैँडालाई टाढैबाट ट्र्याङ्कुलाइज गरी बेहोस पार्ने, त्यसपछि तिनको शरीरमा माइक्रोचिप्स जडान गर्ने। यस विषयमा विस्तृत कार्ययोजना बनाइयो। विशेषज्ञहरूले निकुञ्जमा आएर एक महिनाभित्रैमा यो काम सुचारू रूपले सम्पन्न गरिदिए! उनले बल्ल ढुक्कको सास फेरे।

विशेषज्ञका साथमा कतिपय विद्यार्थी पनि आएका थिए। तीमध्ये एउटीचाहिँ धेरै सक्रिय देखिइन्। मध्यम कद भएकी निलो जिन्स पहिरिएकी, बाटुलो अनुहारकी। अनारे दाँत खोली मुसुक्क हाँस्दा झन्डै मनिषा कोइराला; बत्ती जस्तै उज्याली। मनको उत्सुकतालाई थाम्न नसकी कमलले अघि सरेर सोधी हाले..

..“क्षमा गर्नुहोला बहिनी, तपाईंको अनुहार केही परिचित जस्तो लाग्यो, यद्यपि हामी पहिलो पटक भेट भएका हौँ। वन्यजन्तुमा काम गर्न साह्रै लगनशील देखेँ। परिचय गरौँ कि?”

“धन्यवाद, सर। म यतिबेला भेटेनरी स्नातकको पढाइ सकी इन्टर्नसिप गर्दैछुl आउँदो साता डिग्री प्राप्त हुन्छ। नाउँ करिश्मा बरुवा हो, घर गुवाहाटीमाl”

यसरी अपर्झट जवाफ दिनु पर्दा गोरी रङकी करिश्मा रातीपिरी भएर चम्किइन्।

“स्नातक भइसकेपछि के गर्ने विचार छ त?”

“यसरी नै वन्यजन्तुमा काम गर्ने इच्छा छ, सर”।

“ए,कति हाम्रो कुरा! कुनै-कुनै बेला विश्व वन्यजन्तु फाउन्डेसनले छात्रवृत्ति दिने गर्छ। यस्तो सुविधा मिलेछ भने तिमीलाई निश्चय जनाउने छु। चाहेमा तिमी आफैले यसको वेबसाइट खोतल्न सक्छ्यौ।तर के तिमी जस्ती छोरीले यस्तो सुनसान जङ्गली ठाउँमा एक्लै आएर काम गर्न सक्छ्यौ होली?”

“सर, हिजोआज छोरीहरूले सगरमाथा विजय प्राप्त गरेर अन्तरिक्षसम्म पुगिसके। म पनि त्यस्तै एउटी छोरी हुँ, केवल मौका पर्खेकी छु, पाउना साथ गरेर देखाउने छु”।

करिश्माका हाजिरीजवाफले कमल प्रभावित नभई सकेनन्। बिदा हुनुअघि दुवैले आ-आफ्ना मोबाइल नम्बर र इमेल ठेगाना साटासाट गरे।

यसै बिच कमलले सारा निकुञ्जको ठाउँ ठाउँमा वाई-फाई टावर लगाए। गैँडाका शरीरका माइक्रोचिप्सहरूले वाई-फाई टावरलाई सङ्केत पठाइरहन्थे, मोबाइल ह्याण्डसेटले पठाएसरि। टावरले यी सङ्केत कमलद्वारा संचालित मास्टर कम्प्युटरतिर सम्प्रेषण गर्थे। यसरी नै कृत्रिम बुद्धिमत्ताको प्रयोग गरी कमलले गैँडाहरू कहाँ छन् कम्प्युटरद्वारा चौबिसै घण्टा निरीक्षण गर्न सक्ने भए। चाहेमा आफ्नो मोबाइलसँग संयोजित गरी उनले अन्यत्रबाट पनि रेखदेख गरिरहने विकल्प निस्क्यो।

स्थान गुवाहाटीको आवास गृह। बिहान सखारै। सधैँझैँ आँखा मिच्दै करिश्माले मोबाइल खोलिन्। तर उनको ‘हाइ’ गर्न खोलेको मुख उघारै रह्यो। उताबाट कमलको इमेल रहेछ।’हार्दिक अभिवादनl तिमीले दर्ता गरेको बायोडाटा बेजोडको रहेछ! तिम्रो अनलाइन अन्तर्वार्तामा विश्व वन्यजन्तु फाउन्डेसन सन्तुष्ट भएछ। तिमीलाई

३ वर्षका लागि गैँडाको इकोलोजीमाथि शोधकार्य गर्न विद्धत्वृत्ति प्रदान गरेको छ। नियुक्तिपत्र यो मेलको साथमा संलग्न गरेँ । काजिर‌ङा निकुञ्जमा तिमीलाई स्वागत छ’।

इमेल पाएर करिश्मा आनन्दमा मानौं हावामा उड्ने बादल भईन्। पर्सिपल्टै उनी बेडिङ् बोकी काजिर‌ङा पुगिन्। अत्याधुनिक प्रयोगशालाले मानौं उनैलाई कुरिरहेको थियो। साथमा कार्यालय र आवासगृह पनि। खुसीमा उनलाई वनै थर्काउने गरी चिच्च्याउन मन लागेको थियो।

यतिबेरसम्म गरेको कार्यले निकुञ्जभित्र गैँडाहरू कहाँ कहाँ छन् थाहा लाग्ने भयो। तर तिनको ज्यान बँचाउने रक्षाकवच भने अझ फेला पार्न सकेका थिएनन् कमलले। करिश्मा आएपछि यसको खोजतलास जोड तोडले हुन लाग्यो। एकदिन करिश्मा गुगल खोतल्दै थिइन्। कम्प्युटरको स्क्रिन हेर्दै एक्कासि उत्तेजित भइन्

… “कुकुर त मानिसको एघार हजार वर्षअघिदेखिको मित्र पो रहेछ! लन्डनको क्रिक संस्थानले अनुसन्धान गरी थाहा पाएको। त्यसो भए कुकुरलाई नै गैँडाको रक्षाकवच पार्दा कसो पर्ला, सर?”

मुसुक्क हाँस्दै कमलले फर्काए “तिमीले ठिकै भन्यौ। तर कुकुरले मानिस देख्ने बित्तिकै भुक्ला। चोर सिकारीले या त सुइँकुच्चा ठोक्ला या कुकुरलाई नै ठोकिदेला”!

तर बाहिर प्रतिक्रिया देखाए पनि भित्र कमल सोचमग्न नै थिए। करिश्माको सुझाव ठिकै होला। नभुक्ने कुकुरको प्रयोग गरे कसो पर्ला ? अँध्यारोमा आक्रमण पनि होला; सिकारीले अत्तोपत्तो पनि नपाउला। उनले खोजेर निकाले अफ्रिकाको कङ्गो राज्यमा ‘बासेन्जी’ जातको नभुक्ने कुकुर। उनले यो कुकुरलाई निकुञ्जको सुरक्षाको काममा प्रयोग गर्ने उपयुक्त योजना बनाए। खोजी गर्दा बल्लबल्ल बासेन्जीका छाउरा बेच्ने व्यवसायी मुम्बई र बङ्गलुरू सहरमा पाइए। उनले २० वटा छाउरा मगाउने बन्दोबस्त मिलाए।केही दिन पर्खेपछि नै त्यहाँबाट ६ हप्ताका छाउरा आइपुगे। एकैनासे देखिने मायालाग्दा भकुल्ले छाउरालाई कमलले आफ्ना सन्तान सरह नै पाल्न लागे। देख्दा देख्दै ती ६ महिनाका पुग्न लागे।

अब छाउराहरूलाई अपराधी समाउने जासुसी तालिम दिनु पर्ने कुरो आयो। यसका लागि उनले मुम्बई पुलिसबाट सहायता लिने भए। योजनाअनुसार त्यहाँको ‘डग स्क्वाड्’बाट प्रसिद्ध प्रशिक्षक आउने भएl नाउँ अमर सावर्करl सात दिनमै उनी काजिरङा निकुञ्जमा टुप्लुक्क हाजिर भए। यिनले तालिम दिएका कुकुरले मुम्बई विमानस्थलमा धेरै तस्करहरूलाई पक्राउ पारेको रेकर्ड रहेछ।

कमलले नै सुरु गरे…”तपाईंलाई यस निकुञ्जमा स्वागत छ। हजुरलाई प्रशिक्षक पाएर हाम्रो ‘गैँडा बचाऔं’ अभियानले पखेटा भर्ला। तर यसमा मेरो जोड्नुपर्ने एउटा सानो कुरो छ। कुनैपनि जीवजन्तुको शरीरले सङ्कटका बेलामा कर्टिसल् नामक हर्मोनको स्राव बढाउँछ। यी छाउरालाई तालिम दिँदा यो हर्मोनको बस्नाप्रति बढी संवेदनशील बनाइदिनुहोला। त्यसै पनि कुकुरको गन्ध विश्लेषण गर्ने क्षमता मानिसको भन्दा एक लाख गुणा सम्म ज्यादा हुन्छ अरे”। एकक्षण रोकिएर उनले फेरि थपे …”हजुरले यिनलाई बिप् बिप् ध्वनिप्रति पनि धेर प्रतिक्रियाशील बनाइदिनु होला”।

“हवस् सर। निश्चय प्रयास गर्ने छु”। मृदुभाषी सावर्करले छोटो वाक्य मै भन्नु पर्ने कुरो टुङ्ग्याए।

तालिमका साथसाथै छाउराहरू चनाखो र साहसी बन्दै हुर्के। अर्को एउटा कुराले कमललाई अझ खुसी र उत्साही तुल्यायो– भुक्न त परै जाओस् यिनको मुखबाट चुइँक्क पनि शब्द ननिकाल्ने प्रकृति! तालिम सकिएपछि कमलले यी कुकुरको समूहको नाउँ ‘गोरिल्ला फौज’ राखे। निकुञ्जभित्र चोर सिकारी पस्ने ४ वटा गौंडा रहेछन्l यिनमा  पनि उत्तरपूर्वीचाहिँ धेरे चर्चामा आएको रहेछ। यी ठाउँहरूका छेवैमा कुकुर बस्नका लागि उनले चौकी निर्माण गरे। पाँच पाँचवटाको समूह बनाई कमलले यिनलाई त्यहीँ राखिदिए। कृत्रिम बुद्धिमत्ता प्रयोग गरी यी चौकीका ढोकाहरू वाई-फाई टावरबाट बिप् बिप् ध्वनि निस्कने बित्तिकै स्वचालित उघ्रिने पारे।

मनले खोजेजस्तै काम गर्ने सुविधा पाएर करिश्मा उत्साहमा थिइन्। एकदिन उनले कमलसित आफूले बटुलेका अनुभवहरू साझा गर्दै थिइन्…“हाम्रो जङ्गली इकोसिस्टममा गैँडाको स्थान मियोको जस्तो रहेछ। यो स्थूलकाय शाकाहारी प्राणी भएकाले वरपरको स्थान र जीवजन्तुहरूमाथि आफ्नो अस्तित्वको  प्रभाव पार्दो रहेछ। वनको भू-निर्माणमा गैँडाले अहम् भूमिका खेल्दो रहेछ। यसले आहाल बसेर पोखरीका प्राकृतिक प्वालहरू खुल्ला र सक्रिय पार्दो रहेछ। आहाल बस्दा जिउमा टाँसिएको मलिलो हिलो माटोलाई अर्को ठाउँमा सारी भूमिको उर्वरा शक्ति बढाउने काम गर्दो रहेछ। यो एउटाले दिनमा २० किलोभन्दा बढी  गोब्र्याउँछ। गोबरले माटोलाई उर्वर बनाउँछl धेरै प्रजातिका किरा फट्याङ्ग्राको जन्मथलो सृजन गर्छ। यिनलाई भोजन गर्न चराहरू आउने गर्छन्। त्यसरी नै गैँडाले खाद्य श्रृङ्खलाको एउटा दह्रिलो इकोसिस्टम तयार पार्दो रहेछ। जङ्गलमा कछुवा, खरायो जस्ता प्राणीहरू छोटा घाँस खाएर मात्र जिउँछन्।गैँडाले वनका अग्ला घाँस छोट्ट्याएर साना घाँसलाई फस्टाउनमा मद्दत  गर्छ। गैँडाको छालामा किर्ना जस्ता परजीवीहरू बसोबास गर्छन्। यिनलाई भक्षण गर्ने विभिन्न चरा या जलचर प्राणी हुन्छन्। गैँडाको छेउछाउ या पिठ्युँमाथि बकुल्ला जस्ता चराहरू रमाइरहेका देखिन्छन्। यिनको शरीरलाई आवश्यक प्रोटिनको माग किर्नाको भक्षणबाटै पूर्ति हुन्छ होला। यसरी नै गैँडाले एक महत्त्वपूर्ण खाद्य शृङ्खला निर्माण गरेको हुन्छ”।

कमलले मुस्कुराउँदै जोडे.. “बहिनीले यत्रो गहिरो अध्ययन गरिछ्यौ! स्याबास्l गैँडाले ठुला पोखरीका किनारामा आहाल बस्ने गर्छ। यी ठाउँमा स-साना खाल्डा बनिन्छन् । यस्ता ठाउँमा मृग, खरायो, जेब्रा आदि जन्तुले निडर भई पानी खाने गर्छन्। नत्र भने गहिरा पोखरीमा गोही जस्ता जलचर जन्तुद्वारा आक्रमण हुने जोखिम हुन्छ।त्यसैले गैँडाको निधन भएमा हाम्रो वातावरणमा नराम्रो प्रभाव पर्न जान्छ। गैँडाको मृत्यु हुनु नै यी इकोसिस्टम भत्किनु हो, खाद्य श्रृङ्खलामा कुठाराघात हान्नु हो। गैँडाको नास हुनु अरू जनावरको पनि मृत्यु घन्टा बज्नु हो”।

केही दिनपछि। हिउँदे औंसीको मध्यराती। चकमन्नतामा सुतेको थियो निकुञ्ज। सुकेको पात कतै सरक्क हल्लियो भने पनि चारैपट्टि प्रतिध्वनित हुने परिवेश! एक्कासि बिप् बिप् ध्वनि चर्कन लाग्यो।  साथै यसको प्रतिध्वनि सारा निकुञ्जमा गुञ्जियो। कमलको मोबाइल सेट पनि बज्यो सँगसँगै। यो रिङटोन शुभ सङ्केत थिएन। निद्राबाट उनी झल्याँस्स ब्युँझे। जऱ्याक्-जुरुक् उठे। ध्वनि उत्तरपूर्वी भागको वाई-फाई टावरबाट आएको रहेछ। उनले मोबाइलको स्क्रिनमा नजर डुलाए। गैँडाले त्यस ठाउँमा छाडेको सङ्केत प्रस्टै देखायो। उनले तत्काल त्यहाँका पहरेदारलाई सतर्क गराउन फोन लगाए। तर जवाफमा उनीहरू कुकुरका पछि पछि कुदिरहेका

बताए। चौकीका ढोकाहरू स्वचालित खोलिएछन्l गोरिल्लाहरू त्यहाँबाट फुत्केर निस्केछन्l

कमलले फोन काटे। आफै त्यहाँ जान सुरक्षाकर्मीलाई साथ लिए। बाहिर चुक घोप्ट्याए जस्तो अँध्यारो रहेछ। उनी गाडीमा बसे र स्टार्ट गरे ।

“सर, सर, सर पर्खिनुहोस् न” बोली अँध्यारो चिर्दै आयो। उनी झस्के। हेडलाइटको उज्यालोमा देखे करिश्मा हस्याङ र फस्याङ गर्दै कुदेर आएकी। कमलका विस्फोटित् नयन उघ्रेका उघ्रै भए।

“म पनि जान्छु चोर सिकारी समाउन हजुरसँग।” करिश्माको दृढतासामु कमलको केही चलेन।

“करिश्मा यो कस्तो आश्चर्य मध्यराति? तिमी त छोरी मान्छे हौ!”

“आश्चर्य त हजुरले पार्नुभो। मलाई सुइँको पनि नदिई यसरी सुटुक्क हिँड्ने।छोरी मान्छेले सगरमाथा र अन्तरिक्ष पुगेको कुरो गरेकै छु। अहिले यी! घना जङ्गलमा मध्यरातमा चोरी सिकारी खोज्दै तपाईँकै सामु।” यति भनी करिश्माले खित्का छोडिन्। कमल पनि हाँसे उसरी नै।

तर आज भिन्नै अनुभव भएको छ कमललाई। अरू दिनको जस्तो होइन। एक किसिमको ढुक्क लागेको जस्तो। केही बढी साहसी लागेको जस्तो। के यस्तो संवेदना करिश्माको सान्निध्यले भएको हो? सोचमा डुबिरहे उनी।

वनभित्रको बिप् बिप् ध्वनिलाई चिर्दै दगुर्दै थियो गाडी। गाडीभित्र फिँजिएको करिश्माको मगमग सुवासले बाहिरको पेट्रोलको गन्धलाई जितिसकेको थियो। जङ्गल बाक्लो थियोl तैपनि जिपिएसको सहाराले उनको टोयोटा फर्च्युनरले घोडाको वेग टिप्यो। चकमन्नताको घुम्टोभित्र चराचुरुङ्गीहरू पनि मस्त निद्रामा सुतेका थिए होलान् । टावरको बिप् बिप्, गाडीको घर् घर् शब्द र तिनका प्रतिध्वनिले सुनसान वातावरणलाई बिथोलिरहेका थिए।

प्राय: आधा घन्टाजति गाडी गुड्यो l तब मात्र घटनास्थलनेर पुग्न सके। उनीहरू जति जति गन्तव्य स्थानछेउ पुग्दै गए उति उति मानिसका कोलाहल र प्रतिध्वनि बढ्दै आए। ‘हान बेस्सरी। नछोड यी बजिया चोर सिकारीहरूलाई’। केही पर कतिपय मानिसले खाडलभित्र माटो, ढुङ्गा आदि हुत्याएर चिच्च्याइरहेका छन्। तिनीहरूको अनुहारलाई गाडीको हेडलाइटले टाढैबाट टल्कायो।

उनले गाडी थमाए अनि भुरुक्क ओर्लिए। करिश्मा पनि साथै ओर्लिइन्। त्यसपछि अङ्गरक्षकहरू। त्यहाँ थाहा लाग्यो चोर सिकारीहरूले गैँडालाई फँसाउन भनी भुईँमा खाडल खनेका रहेछन्। त्यसका एक कुनामा गैँडा खँदेडिएछन्l अर्को कुनामा उनीहरू आफै जाकिएछन्। टर्चलाइटको उज्यालोमा छर्लङ्ङ देखियो एउटा गैँडा खाडलभित्र छटपटाई रहेको। धन्न कतै अङ्गक्षत भएनछ! डिलमा उभिएर कतिपय वनरक्षीले त्यसलाई सजिलो गरी बस्न मद्दत गर्दै रहेछन्।

कमलले मनमनै बिचारे — ‘खाडलमा जाकिने बित्तिकै गैँडाको धड्कन र श्वास प्रश्वास बढ्यो होला। यसले शरीरको कर्टिसल हर्मोनको मात्रा  बढायो होला। शरीरको यस परिवर्तनको सङ्केत गैँडाको शरीरमा जडान गरिएका माइक्रोचिप्सले वाई-फाई टावरतर्फ सम्प्रेषण गरे, त्यसले टावरका सेन्सरहरू सक्रिय पाऱ्यो अनि बिप् बिप् ध्वनि निस्कन लाग्यो होला। यी ध्वनिका प्रभावले गोरिल्ला चौकीका ढोकाहरू स्वतः उघ्रिए र गैँडाको कर्टिसल वास्नातिर आकर्षित भई गोरिल्ला फौज उतै हामफाल्यो होलाl गैँडाको छेउमा पुगेपछि गोरिल्ला फौजका कुकुरहरूले सिकारीलाई झम्टिए होलान्। निस्पट्ट अँध्यारोमा एक्कासि आक्रमण भएकाले सिकारी आत्तिए। ज्यान जोगाउँदै तिनिहरू यताउति दगुर्न लागे। कोही आफैले खनेको खाल्डोमा जाक्किएl कोही बाहिरतिर भागे होला।

 

गोरिल्ला फौज कता गयो होला? कौतूहलमा डुबुल्की खेलिरहे कमल। करिश्माले पनि टर्चलाइट बाली खोजिन् यताउति। उनले कार्यालयबाट थप पहरेदार र वन सुरक्षाकर्मीलाई फोनमार्फत तुरुन्त मगाए। चोर सिकारीलाई ह्यान्डकफले बाँधी कार्यालयमा पुऱ्याउन आदेश दिएl खाडलभित्रको गैँडालाई माथि उकास्न अह्राए। आफू गोरिल्ला फौज खोज्न गाडीमा चढे। पछि पछि करिश्मा पनि।

 

‘कुखुरि काँ’। टाढैबाट बासेको भालेले बिहानीलाई निम्त्यायो। कमल निकुञ्जबाट निकासी बाटोमा गाडी हाँक्दै थिए। त्यति नै बेला करिश्मा आत्तिँदै चिच्च्याइन्  …”सर, सर, सर गाडी थाम्नुहोस् न.. उता हेर्नुहोस् त। जङ्गलतिर”। कमलले गाडी रोके। उतै नजर दौडाए। उनका गोरिल्ला फौजले धुरिएर कतिपय अनौठा मानिसलाई झम्टिँदै र लुछ्दै रहेछन्। सर्पले पनि बोल्दो हो। कुकुरले त चुइँक्क पनि गरेका थिएनन्।

मिर्मिरे उज्यालोमा सबै प्रष्ट देखिएl उनी हत्त र पत्त त्यतै लम्किए। गोरिल्ला फौजलाई छेउमा पुगेर शान्त बनाए।

ती अज्ञात व्यक्तिहरू डरले लग् लग् कम्पमान थिए। सोधखोज गर्दा त केही बोलेनन्। तर निलौँलाझैँ गरी हप्काउँदा मात्र आफ्नो गल्ती स्वीकार गरे। उनीहरू गैँडाका चोर सिकारी रहेछन्। तिनलाई ह्यान्डकफ् लगाएर तत्काल कार्यालयमा ल्याउन उनले आदेश दिए। यत्रो दिनको योजना र कठोर लगनपछि चोर सिकारी बल्ल पक्राउ परे। जब गाडीको स्टियरिङ घुमाउँदै कार्यालय फर्कन लागे, उनी तेन्जिङ नोर्गेले गरेको सगरमाथा विजयको स्वर्णीम आनन्दमा तैरँदै थिए।

भोलिपल्ट बिहान। इलेक्ट्रोनिक, प्रिन्ट र सोसल मिडियाहरू सबैमा कमल नै कमल छाएl ‘काजिरङा निकुञ्जमा चोर सिकारीलाई समाउन कृत्रिम बुद्धिमत्ता र नबोल्ने कुकुरको प्रयोग! कमलको असाधारण सफलताl’ उनलाई सबैले उचालेर चुलीमा चढाएl….‘एकजना विदेशी अधिकारीको कर्तव्यनिष्ठा र पशु प्रेमको अनुकरणीय उदाहरण’। ‘चोर सिकारीको त अन्तराष्ट्रिय गिरोह पो रहेछ! हिजो पक्राउ परेका मध्येमा थाइल्यान्ड, भिएतनाम, बाङलादेश र भारतका मात्र पाइए। चीनको मुख्य खलनायक झाङ वेईचाहिँ कसो कसो फुत्केछ। त्यसलाई पक्रन कमलले कस्तो तरिका अपनाउने छन् अब त्यो लक्ष्यणीय हुनेछ’।

त्यतिबेला सूर्य देवताले मुस्कुराउँदै रातो आकाश च्यात्ने तरखरमा थिए। तर मानिसको मूर्खतामाथि कमललाई भने अट्टहास गर्न मन लागेको थियो। यिनीहरू गैँडाको खागलाई कामोद्दीपक चिज भन्ने भ्रममा कुदेका छन्। यसलाई जसै गरेर पनि हत्याउन अन्धाधुन्ध पछिलागेका छन्l मरुभूमिभित्र मरिचीका खोजे जस्तै। तर खाग त नङ या खुर बनिने क्यारोटिन रसायनले नै बनेको असरहीन चिज मात्र होl उनलाई फेरि एकपल्ट अट्टहास गरी चिच्च्याउन मन लाग्यो…. ‘मानिस एक मूर्ख प्राज्ञिक प्राणी हो’!

 

हठात् एक सोचले बिथोल्यो कमललाई। ‘करिश्माको मद्दत नभएको भए के उनले यत्रो सफलता पाउने थिए होला र?’ ….करिश्माप्रति उनको कृतज्ञता घनिभूत हुँदै गयो।

समय दिउँसो। स्थान प्रयोगशाला। मोबाइलले ‘टिङ्ङ’ गऱ्यो। झस्किइन् करिश्मा। कमलको सन्देश रहेछ… “यी सबैकी हकदार तिमी नै हौ। किनभने चोरी सिकारीलाई समाउनमा कुकुरको प्रयोग गर्ने सुझाउ तिम्रै थियो। हार्दिक अभिवादन।” साथमा थिए अखबारहरूमा उनलाई सराहना गरी छापिएका खबरका क्लिपिङहरू। कमलको महानतामा करिश्मा पग्लन लागेकी थिइन्। व्यक्तिगत रूपले यत्रो सफलताको मान्यता आफूले नलिएर करिश्मालाई दिएको! सन्देशको अन्त्यमा लेखिएको थियो …’आज रात्रीभोजका लागी निम्तो गरेँ।आयोरा रिजर्टमा बेलुका सात बजे’। आउनु ल? एउटा विशेष कुरा गर्न पनि छ।”

सन्देश पाएर करिश्मा एक अनौठो, मिठो कल्पनामा द्रविभूत भइन्।ह्याण्डसेटमा  औँलाले स्वतः ‘ल’ लेखिहालिछन्। तर उनको अन्तिम वाक्यले करिश्माको हृदयमा धेरै भुमरी सृष्टि गरिरह्यो।  ‘ कस्ता विशेष कुरा होलान्? के उनको मनमा पनि मेरो जस्तै अनुभूति अङ्कुरित भएको होला?’ करिश्मा हतारिँदै उठिन्। बेलुकाका लागि आफूलाई तयार पार्न लागिन्। आज उनलाई साडी लगाएरै सजिन मन लाग्यो। स्वतः गुनगुनाउन लागिन्।

करिश्मा समयभन्दा केही अघि नै टुङ्गोमा पुगिछन्।आयोरा रिजर्ट बाहिरपट्टि तारे बत्तीले सजाइएको रहेछ। भित्रपट्टि रङ्गीन फुलहरूले। एक प्रकारको मिठो अनुभूतिले उनलाई भित्र खिंच्दै लाग्यो। रिसिप्सनिस्टले उनलाई एउटा रङ्गीन लिफाफा थमायो। टेबुलमाथि मोमबत्ती पिलपिल गरिरहेका थिए। विस्मृतिमा डुब्दै उनी टुसुक्क बसिन्। लिफाफा खोलिन्। भित्र लेखिएको रहेछ ‘आजको विशेष दिनमा तिमीलाई स्वागतम्’।

मोबाइलले ‘टिङ्ङ’ गऱ्यो। कमलको सन्देश रहेछ। ‘चोर सिकारीको खलनायक झाङ वेईको सुइँको पाएर म अहिले निकुञ्जको बाहिर आउनु पऱ्यो। केही क्षण प्रतीक्षा गर है। म नआउञ्जेल सम्म।

 

मिठा कल्पनाका लुम उन्दै करिश्माले कुरिरहिन्।

xxx—xxx