is grindr legal how to respond to hello on tinder how to change the name on tinder how to update grindr adam4adam net adam4adam mobile download
साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

बिचरा निमुखो परेवा

ratna book ads

बिहान घाम झुल्कदै मात्र थिए चौहान्नी बजैले आँगनमा मकै छर्दै एक सुरले परेवालाई बोलाउन लागिन्.. “माक्माकुर, लु आइज। यि मकै खा”।एकै क्षणमा आङ्गन नै धाके परेवाले। बजै आत्तिन्दै चिच्च्याउन लागिन् “यी जोडी नयाँ परेवा कहाँबाट आएछन्? उनले छेउमा गएर राम्ररी नियाल्न आँटेकी मात्र थिइन् स्वाट्टै उडेर गए । तर एउटाको नलीखुट्टामा बाँधेको कागजका टुक्रोलाई भने उनले बिर्सन सकिनन्।

कुरो क्षण मै  भाइरल भई हाल्यो। सारा गाउँ नै त्यसलाई हेर्न हाड्बडाउँदै निस्क्यो। कसैले क्यामेरा, कसैले बाइनोकुलर, कसैले त मोबाइलमै तस्बीर खिच्न सुरिए। तर परेवा कतै फेला परेनन् त्यसदिन।

भोलिपल्ट बिहानै। विद्यालयको धुरिमा झुल्किए ती जोडी। प्रातः भ्रमण गर्ने सबैले फर्की फर्की हेरे, मज्जले। हो त। अनौठा रहेछन्! काला, चिल्ला, लाम्प्वाँखे। तर एउटाको नलीखुट्टामा  कागजको टुक्रो बाँधेको प्लास्टिकको धागो चाहिँ झुन्डिइरहेको रहेछ।’ यी पक्कै पनि पाकिस्तानी जासुसी परेवा हुन्।अब पुलिस चौकीलाई सूचित गर्नु पर्छ’.. एउटाले आत्तिएर करायो। कुनै पत्रकारको नजरमा परेछ।भोलिपल्टै स्थानीय अखबरमा तस्बिरका साथमा छापियो …’जम्मू र कश्मीरको कठुआ जिल्लामा यताको सूचना प्राप्त गर्न पाकिस्तानले जासुसी परेवालाई पठाएको छ । जनता सावधान’!

कठुआबाट प्रायः २१ किलोमिटर टाडा पाकिस्तानको घारोता गाउँ। बेलुका मोल्ला अब्दुल्लाले बरण्डामा नामाज पढ्न निहुरिदै थिए,  खोर माथि नजर परेछ! एक जोडी अनौठा परेवा माक्माकुर गरी रहेछन्। हट्टाकट्टा, चिल्ला, काला प्वाँख भएका।  तर एउटाको नलीखुट्टामा कागजको टुक्रोको साथमा प्लास्टिकको धागो लत्रिई रहेको थियो।

तत्कालै  सनसानी फैलियो । छरछिमेकी दगुरेर आए। ‘हो त। कागज बाँधेको परेवा! पक्कै भारतीय जासुसी हो। कागज भित्र स्पाइक्यामेरा, माइक्रोचिप् आदि छिपेको होलान्।  शरीरमा स्पाइवेयर पनि त  प्रत्यारोपण गरेको होला। सावधान! उनीहरूले यताको चाल बुझ्न पठाएका’… एउटाले चिच्च्याउँदै आकाश-पाताल थर्कायो। प्रहरीलाई  तुरुन्त सूचित गरियो। गुप्तचर विभाग चौकान्ना भयो। सरकारले अनुसन्धान कमिटी बनायो।

दुई दिनपछि अखबारमा छापियो… ‘कमिटीको प्रतिवेदन पाएपछि सरकारले जासुसी परेवालाई जिउँदो या मृत, तत्काल समाउन आदेश दिएको छ। तर मार्दा बन्दुकको प्रयोग निषेध छ किनभने गोलीले त्यो कागजलाई उडाउला’।

भोलिपल्टै। परेवालाई समाउन अखण्ड प्रयास गरियो।तर सबै तरिका असफल। धनुष-काँड नचलाई भएन। तीर लाग्ने बित्तिकै परेवा ठहरै भयो। ऊ  फत्रक्क झर्यो, रुखबाट कुनै फल खसे जसरी।अर्कोचाहिँलाई तीरले छेडे पनि कसो कसो उडेर भाग्यो।  भेदेको काँड आकाश मै झर्यो। साथै खस्दै गए रगतका थोपाहरू हावामा, तप् तप् तप् तप्…।

शवलाई तुरुन्तै भेटेनरी परीक्षागारमा लगियो। शव परीक्षण टोलीमा एकजना आई टी  विशेषज्ञ पनि राखियो। सारा शरीरको एक्सरे गरियो। निकैबेरको शव परीक्षण पछि रिपोर्ट यस्तो आयो..’काँडले मुटु छेडेर आन्तरिक रक्तस्राव भएको लागी परेवाको मृत्यु। नलीखुट्टामा चिविङगमसँग टाँसिएको कागज र त्यस माथी प्लास्टिकका झुत्रा बेरिएका पाइए।यिनलाई हटाउन परेवाले बलजफ्ती गरेकाले त्यस अंशमा धेरै काटिएका घाउ भेटिए । शरीर भित्र अरू केही अस्वाभाविक चीज पाईएन’।

परेवाको शरीरमा न त स्पाइक्यामेरा पाइए न त माइक्रोचिप् आदि। यसरी नै दुई प्रतिद्वन्दी देशहरू बिचमा सन्देहको  घेरामा पारी शान्तिको प्रतीक निमुखो परेवालाई सहिद गराइयो।

तीरले छेडिएको घाइते परेवा चाहिँ रन्थनिदै सिमाना पारिको कठुआ गाउँमा पुग्यो। ऊ विद्यालयको छानोमा बस्दै मात्र थियो मानिसहरू मरणास्त्र लिएर उसलाई मार्न उद्यत भए। एउटा मट्याङ्ग्रो हावाको वेगमा आएर उसको कन्सिरी मैं बज्रियो।छेउको आँखो फुटेर खोपडी भत्किएछ। रन्थानिदै ऊ आफ्नो गुँड  तर्फ लाग्यो। दिनभर खान नजुटेर भोक-प्यासमा  ऊ आकुल थियो। बाहिरबाट चोटले धायल त थियो नै।  जस्तै तसै ऊ गुँड भित्र पस्यो र भ्यात्त लड्यो। आँखाबाट अश्रु र खोपडीबाट रगत भल्भली निस्किरहेका थिए।

उसलाई देख्नेबित्तिकै बचेराहरू कलिला स्वरमा च्याँ च्याँ गर्दै  झुम्मिए। दिन भरी भोकाएका तिनीहरू केही चारो पाउने आशामा आतुर थिए। अरु दिन यति बेरसम्ममा उनीहरूका बाबुआमा आएर पालो पालो गरी चारो खुवाएर जान्थे। बाबुआमाले ‘आँ’ गरेर बाएको ठूलो मुख भित्र उनीहरूले आफ्ना चुच्चा पसाएर घाँटीबाट खाद्य रस चुस्ने गर्थे।तर आज एक्कासी के भयो? बाबुको किन सारसुर छैन? किन  लडेको ठाउँबाट उठ्दैनन् ? आमा कहिले आउलिन्?

ती चारै आँखा कहिले सुतिरहेका बाबुतिर त कहिले उडी आउने आमातिर असीम आशाका साथ बाटो हेरिरहेका छन्।

*****

केशवले पढ्दै गरेको कथा पनि टुङ्गिएछ। एक्कासी विमानस्थल भित्र दिल्लीबाट टोरोन्टो जाने विमानको प्रवेश द्वार बद्लेको घोषणा भयो। उनि झल्याँस्स भए। लेप्टपमा प्रस्तुत गर्दै गरेका पावार पोइन्ट स्लाइडहरूलाई अन्तिम पल्ट राम्ररी नियाले। पर्सी ५ जुन, विश्व वातावरण दिवसका दिन अन्तराष्ट्रिय सम्मेलन। टोरोन्टोको योर्क विश्व विद्यालयमा। त्यहाँ जलवायु परिवर्तनले सृष्टि गरेका शरणार्थी सङ्कट माथी उनको पेपर प्रेजेन्टेशन छ।उनले स्लाइडहरूमा थप्दै गए ….

जलवायु परिवर्तनले गर्दा पृथ्वीमा यतिबेर प्रायः ५५० लाख मानिसले शरणार्थीको जिन्दगी कटाई रहनुपरेको छ। कतै अनावृष्टि त कतै अतिवृष्टि भएको छ। खेतमा उब्जनी घट्न लागेको छ। कतै बाढी त कतै पाहिरोले पिरोलेको छ। राम्रो ठाउँ खोज्दै बसाइँ सर्न बाध्य भएका छन् किसान ।बिचराहरू परिस्थिति वश: ‘जलवायु प्रवासी’ बनिनु पर्यो।

यत्तिकैमा केशवको ल्याप्टपमा एउटा इमेल फ्ल्यास गर्यो।पिताजीको रहेछ।

‘कहाँ पुगिस्?’

उसले जवाफ पठायो.. ‘काठमाण्डौबाट उडेपछि नयाँदिल्ली विमानस्थलमा छु, टोरोन्टो उड्ने प्रतिक्षामा’।

‘यहाँ सबै ठिकै छ। तर तेरा काकाको शरणार्थी शिविर मै देहान्त भयो। जीवनको अन्तिम श्वास सम्म उसले भुटानमा गणतन्त्र अधिकारकोलागि युद्ध गरिरह्यो। आफ्नो स्वाभिमान र अस्तित्वका लागि लडेर उसले त्यहीँ वीरगति प्राप्त गर्यो। शरणार्थी शिविरबाट निस्केर आफ्नै पाखुराका बलले व्यक्तिगत यत्रो विकास गर्न सकेपनि ऊ जस्तो आत्माभिमानी हुन म सकिन।त्यसैले ऊ मरेर पनि अमर भयो तर म मानसिक अपराधी…..’।

पिताजीको भावनात्मक ईमेलले उनलाई सोचमग्न गरायो।अतीतका स्मृतिहरू उनका आँखा अघि एकएक गरी नाच्न लागे। सन् १९९२। भुटानबाट युगौं देखी बसो बासो गरी आएका त्यहाँका रैथाने नेपालीभाषीहरूलाई लखेटिएको। मातापिताका साथमा झापा जिल्लाको शरणार्थी शिविरमा उनको आश्रय ग्रहण। केही वर्ष त्यहाँ कष्ट भोगेपछि पिताजीको सपरिवार शिविर त्याग। काठमाडौँ गमन र त्यहाँ सङ्घर्षमय जीवन आरम्भ। काठमाडौँका विद्यालयमा उनको विद्यार्थी जीवन शुरु। विद्यालयहरूमा अध्ययन पछी विश्वविद्यालयमा पठन। पर्यावरण विज्ञानमा विद्यावारिधी डिग्री प्राप्ति। अनि ऐले अन्तराष्ट्रिय सम्मेलनमा उनले भाग लिने प्रस्तुति। एक्कासी पिताजीको निन्याउरो अनुहार केशवको आँखा अघि देखा पर्यो। तर त्यो तस्वीर मिलिक्कै परेवामा बदलियो। बिल्कुल कथामा वर्णन गरेको जस्तो। केशव झस्किए। हो त। उनका पिताजीको स्थिति पनि परेवा कै जस्तो भएको रहेछ। यता नेपालकाले उनलाई भुटानी भनी हेप्ने, उता भुटानले उनलाई नेपाली भनेर होच्याउने।

बिचरा निमुखो परेवा।

—XX—

ड. देवेन सापकोटा
प्राध्यापक. असम कृषि बि. बि.,गुवाहाटी, भारत

प्रतिक्रिया
Loading...