हिजै जस्तो लाग्छ | हाम्रो आँगनमा पाहुना आए अनि कालापत्थरको गीत गाए | तामझाम बढ्यो | आशा बढ्यो – पृथ्वी सम्मेलनका अनेकौं संस्करणले हाम्रो दुखको निराकरण अबश्य गर्छ होला | प्यारीसको त्यो संस्करण पछि हरेक बर्ष कति संस्करण थपिए तर हाम्रा दुख जस्ताको तस्तै | कहिले त पखेटा छदैछ, उडेर जहाँ मन नाच्छ त्यहाँ पुगौं भन्ने लाग्छ तर त्यो न्यून चापीय बायू हामीलाई भाँजो हाल्छ | किन किन त्यो अनौठो बतास देखे पछि, बतासले प्वाँख भित्र छिरेर उछित्तो काटेपछि कसो कसो उर्जा घटेर आउँछ | शरीर भित्रै देखि गलेर आउँछ | मनले नजाउ भन्छ, शरीरले नजाउ भन्छ अनि म अनकन्टार पहरामा धुम्म परेर कुरिरहंछु – मेरो उज्यालो दिन पक्कै आउने छ |

डा. हिम लाल श्रेष्ठ

डा. हिम लाल श्रेष्ठ

मलाइ त लाग्छ, हावा चलोस् | चिसो, तातो अनि मध्यम बायूको बेग बगोस् | अझै मेरो पखेटाको शक्तिलाई माथ गरौ गरौ भन्ने हुण्डरी चलोस् र त्यो हुण्डरीमा कावा खाँदै कहिले बेशी कहिले लेक डुल्न पाइयोस् | तर फेरियो भन्छन् मौसम, फेरियो भन्छन् जल अनि बायू | चाहे जस्तो हावा चल्दैन, चाहे जस्तो पानी पर्दैन | चाहिए जति चिसो छैन, मन लोभ्याउने तातो छैन | शरीर रमाउने हावाको चाप छैन |

शैलुंग र नागीतिर बुकी फुलिसक्यो भन्छन् | बेंशीको चौरतिर गाइतिहारे फुलिसक्यो भन्छन् | आफुलाई मौसम बदलिएर छुट्टी, मनमा हुट हुटि | बेग हान्नु कसरी ? खरबारी चाहार्नु कसरी ?

रास्ट्रिय चरा भन्यो भनेर मख्ख पर्नु पर्ने पनि केहि छैन – संक्रमण काल छ | कति खेर कुन चरा मन पर्ने हो के थाहा ? रंगीचंगी प्वाँख छ भनेर मख्ख पर्नु पनि बेकार छ | खरमजुर र मयुरको पछि दगुर्न पनि कत्ति पनि बेर लाग्दैन | मलाइ त मान्छे भन्ने जातको कत्ति भर लाग्दैन |

जसरी पनि यो अत्यास लाग्दो मौसमी प्रतिकुलतासंग जुध्नु छ अनि मेरा दर-सन्तान जोगाएर फेरी आकाश देखि जमिनभर डाँफेको नाच देखाउनु छ | म मेरा सन्तानको खुशीका लागि मेरा प्रजातिका लागि कठोर समयलाई जित्नै  पर्छ | मैले जानेको कावा खाने कला, बेग हान्ने कला अनि मान्छेलाई मेरा नवै रंगले मोहित पार्ने कला भाबी पुस्तालाई सिकाउनु पर्छ | झुपुक्क उंघेको जस्तो के लागेको थियो – पूर्बबाट घाम झुल्किएर घाम पोतिएको घमाइलो पाखा पखेरो देखा परीसकेछ |

डा. हिम लाल श्रेष्ठ,
अश्राङ्ग, गोरखा
(हाल – कटुन्जे, भक्तपूर )