साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

शायद – कविता

माथि आकाशमा बसेर

सूर्य महाराज

हरेक महिना सङ्क्रान्ति ल्याउँछन्

वायुमण्डलमा ओजन तह नभएको भए

शायद क्रान्ति ल्याउँदा हुन् ।

 

समय चक्रमा रमेर

वसन्त महाराज

हरेक वर्ष नयाँ पालुवाले

प्रकृतिको भित्तो सिङ्गार्छन्

ऋतु चक्रमा शिशिर नभएको भए

शायद रङ्गकर्मी बन्न पाउने थिएनन् ।

 

हिउँदको प्रतिक्षामा

घिस्रिन्छ सर्प

शिशिरार्तव शयनका लागि

काँचुली फेर्न

वसन्तको स्वागतका लागि

हिउँदमा सर्पले काँचुली नफेरको भए

शायद वसन्त आउँदैन थियो कि ?

 

वर्षायामको निम्तामा

ट्वार ट्वार गर्छन् भ्यागुत्ताहरु

सम्बन्धित पोस्टहरु

बाग्मती दुःख

जमेको पानीमा सामूहिक सम्भोग गर्दै

आफ्नो वर्ग विस्तार गर्न

वसन्तले प्रकृतिको भित्तो नसिङ्गारेको भए

शायद भ्यागुत्ताले वर्ग विस्तार गर्ने थिएन ।

 

बदलिँदो पर्यावरणमा

मनमाफिक उडिरहेको चिल

उड्दा उड्दै प्वाँख झार्छ

मन्द मन्द बतासमा

नाचिरहेछ एक्लो प्वाँख

तर कति समयका लागि ?

शायद झर्नु नै छ धरतीमा त्यो एक्लो प्वाँखले ।

 

खोलाले मूलबाटो भुलेको बेला

ओल्टोकोल्टो सहँदै

साविककै ठेगानामा फर्कने आशमा

उभिएर खोलाको दुई भङ्गालोबीच

घुर्मैलो–घुर्मैलो रोमाञ्चक

मन्द–मन्द उत्तेजक

एक्लो प्वाँखको नाच नदेखेको भए

शायद यो कविता लेखिने थिएन ।

 

 

महाङ्काल –४, कालेश्वर, ललितपुर

प्रतिक्रिया
Loading...