बैद्य शिरोमणि जयलाल

वैद्य शिरोमणि जयलाल

मानिसले समाजमा दिएको त्यागको मूल्यलाई सदैव मनन र सम्मान गरिरहन्छ । समाजले मानवसेवालाई युगयुगसम्म याद गर्नुको मुख्य कारण त्यही त्याग हो । त्यस्ता त्यागी मानिसहरू बेला-बेलामा समाजले जन्माइरहेको हुन्छ । सबै मानिसहरूमा परोपकारी गुण नभए पनि कसैले आफ्नो सम्पूर्ण जीवनको महत्त्वपूर्ण समय समाजलाई जयलालले झैँ अर्पण गरेका हुन्छन् ।
 लोककल्याणका लागि जीवनको ऊर्जाशील समय अर्पण गर्ने महापुरुषहरूमध्ये बाग्लुङ्गमा जयलाल सापकोटाको नाम अत्यधिक आदरपूर्वक लिइन्छ । उहाँले आयुर्वेदिक उपचारको क्षेत्रमा पुऱ्याएको योगदान अतुलनीय भएको कुरा त्यहाँका स्थायी बासिन्दा लक्ष्मी सापकोटाले पङ्क्तिकारसँगको भेटमा बताएका थिए । उनका अनुसार ‘बाग्लुङ्गभरि आयुर्वेदिक वैद्य जयलाल सापकोटाले विक्रम संवत् २०१४ देखि २०४१ सालसम्म उपचारका क्षेत्रमा जति सेवा दिनुभयो अहिलेसम्म त्यस्ता वैद्य त्यो भेगमै जन्मेका छैनन् ।’
अर्का दमेकका बासिन्दा राम बहादुर पुनले ‘२०३३ सालतिर आफ्नो भैँसीले पाडो फाल्न नसकेर मर्ने अवस्था हुँदा वैद्य जयलालले नै आफ्नो भैँसीका माऊपाडा दुईतिर गराइदिएको कुरा स्मरण गरे । ‘उहाँले भैँसी मात्र नभएर भेडा,बाख्रा,गाई र मानिसको समेत प्रसूति गराउनुहुन्थ्यो । उहाँले पेटभित्र बच्चा मरेको छ भने पनि हातमा चक्कु लिएर पेटमै मरेको बच्चालाई काटेर सानो सानो बनाई बाहिर निकाल्नुहुन्थ्यो र आमाको प्राण बचाउनुहुन्थ्यो । उहाँले सयौँ आमाहरूलाई बचाउनुभएको छ । उहाँले पाठेघरबाट हातले सुरक्षित प्रसूति गराएका बच्चाहरू अहिलेसम्म आफ्नो जीविकोपार्जन गरेर बसेका छन् । केही त म आफैँ चिन्दछु । उनीहरूले वैद्यराज जयलाललाई सम्झिन्छन् कि सम्झिँदैनन् थाह भएन तर हामीले सम्झिरहेका छौँ । उहाँ कलियुगको महावैद्य अश्विनीकुमार नै हो ।’ दमेक निवासी टङ्कनाथ सापकोटाले गहभरि आँसु झार्दै वैद्यराज जयलाललाई सम्झिए ।
जब संसारको हितको कुरा आउँछ राज्यको हित गौण हुन्छ । त्यस्तै जब देशको वा समुदायको हितको कुरा आउँछ तब व्यक्तिको हित गौण नै हुन्छ ।  व्यक्तिगत स्वार्थले सामाजिक स्वार्थलाई परास्त गर्दै गएको वर्तमान परिप्रेक्षमा अहिले ९६ वर्षका आदरणीय परोपकार शिरोमणि जयलालको स्मरण गर्नुले मात्र पनि नयाँ पिँढीलाई पक्कै प्रेरणा दिनेछ ।
स्वार्थले प्रेरित समाजमा परोपकारको प्रकाशले निरन्तर आफ्नो प्रतिष्ठा अझै बढाइरहेको हुन्छ । जन्मँदा न त कोही कसैको आफ्नो हुन्छ न पराई । सबैलाई सनातनी सन्तको आँखाले हेरिन्छ । सन्तका आँखा वा परमज्ञानी आँखाबाट हेरिने हेराइ नै सृष्टिको सबैभन्दा सुन्दर हेराइ हो । वैदिक उपचार पद्धतिको अपार ज्ञान भएका जयलालजस्ता परमपरोपकारी सन्तका बारेमा लेख्न पाउनु पनि पङ्क्तिकारका लागि गौरवको विषय हो । आधुनिक समाजमा परोपकारी रुझानाका लागि जयलालजस्ता परोपकारी महापुरुषहरूका बारेमा खै कताबाट हो मलाई समेत लेख्ने प्रेरणा मिलिरहेको छ । यस्ता समाजका दुर्लभ पात्रहरूको खोजी गरेर लेख्दा मनमा आनन्द आउनुको साथै भावी पिँढीलाई समेत एउटा जीवन्त इतिहासको कोसेली हस्तान्तरण हुनेछ भन्ने लागेको छ ।
वैद्यशिरोमणि जयलालको हुन् ?
झन्डै एक शताब्दीको आसपास उमेर पुगेका बाग्लुङ्ग जिल्ला दमेकको कालापातलमा जन्मेका वैद्यशिरोमणि जयलाल सापकोटा एक परोपकारी वैद्य हुन् । उनले विनाअध्ययन पशु तथा मानिसको प्रसूति गराउने सिप आर्जन गरेका थिए । पेटमा उल्टो परेका बच्चालाई आफ्नो हातले नै जीवितै प्रसूति गराउँथे भने पशुको पनि त्यसरी नै माऊपाडा अलग गरेर दुवैको ज्यान बचाउँथे । त्यस्तै बिरामीको उपचारमा पनि उनको आयुर्वेदिक उपचारपद्धति अतुलनीय थियो । बाग्लुङ्गको दमेक पुगेर बुझ्दा वैद्य जयलालबारे धेरैले उनको उपचारबारे स्मरण गरे ।
 आयुर्वेदिक उपचारका झन्डै ७० वर्षको सिङ्गो युग आफ्नो अद्भुत सेवाले उचाल्ने ती महावैद्यसँग कति यस्ता ज्ञान छन् जसलाई पुस्ता हस्तान्तरण जरुरी थियो । नेपालको वैदिक उपचार पद्धतिका लागि नेपाल वैद्य खानाले ती विधिहरू उनीमार्फत सिकेर नपालको मौलिक चिकित्सापद्धतिको विकासलाई अझै विकसित बनाउन सक्थ्यो तर त्यता सम्बन्धित निकाएको अझैसम्म ध्यान गएको देखिँदैन ।
आयुर्वेदिक औषधि विज्ञानको प्रयोग, विकास र उत्पादन विधिबारे सोधिएको एक जिज्ञासामा ९४ वर्षीय वैद्य जयलाल सापकोटाले भने,”हरेक जडीबुटी सङ्कलनको एक विशेष मुहुर्त हुन्छ । त्यो औषधिमा औषधीय गुणको विकास हुन समय लाग्छ । जसरी एउटा मकैको घोगा लाग्दैमा दाना लागेको सम्झेर त्यो घोगा भाच्यौँ भने काम लाग्दैन । औषधि पनि त्यस्तै हो । परिपक्व अवस्थामा मात्र त्यसलाई निकालिन्छ । वैद्यहरूले कुन औषधि कहिले निकालेर भण्डारण गर्ने भनेर हमेसा हेक्का राख्नुपर्छ । ठुला दवाईहरूमध्ये केही अँधेरी रातमा टिपिन्छ । अँधेरी रातमा ती दवाईले छाडेको प्रकाशको कारणले चिनिन्छ । कुनै दवाई जेठको उज्याली पक्षमा चन्द्रमाको प्रकाशमा टिपिन्छ । ती औषधिका फूलहरूबाट चन्द्रको शीतल प्रकाशमा धुवाँ निस्केको  देखिन्छ । कुनै जडीबुटी नफुली खन्नु हुँदैन। कुनै औषधिको भालेमा मात्र औषधीय गुण हुन्छ, कुनै औषधिमा पोथीमा त्यो गुण हुन्छ । कुनै च्याउहरू जडीबुटी हुन्छन् जस्तो भोटे बुटी (यार्सागुम्बा)।’
‘गुर्जो तामातत्त्व बढी भएको निलो हुन्छ, क्षारीयतत्त्व बढी भएको रातो र फलाम तत्त्व बढी भएको कालो गुर्जो पनि दुर्लभ औषधि हो । कालो गुर्जो अँधेरीमा राति त्यसको पाचनप्रक्रिया सुरु भएका बेला खनेमा प्रभावकारी हुन्छ ।’ औषधि जतिसुकै बेला नटिप्न सुझाव दिँदै उनले औषधिमा प्राकृतिक गुण विद्यमान हुन पनि समय लाग्ने र कुसमयमा टिपेको औषधिले काम नगर्ने बताए ।  “औषधिले केवल अनुभवी वैद्यलाई मात्र चिन्दछ, औषधिको प्राकृतिक मुहूर्तमा म घुम्तेको लेकमा १५ दिन र गाँजा लेक एक हप्ता लगाएर औषधि सङ्कलन गर्दथेँ । केहि औषधि चौरासेतिर र केही हाम्रै वरपर पनि पाइन्छन् । ठुलो दवाई लिन प्राय घुम्टे जानुपर्दथ्यो । कुनै जेठको शुभमुहूर्तमा फुल्दछ र मुहूर्त सकिएपछि फूलसँगै बोट पनि मर्दछ ।”

उनले भन्दै गए, “मैले पनि गुरुहरूबाटै सङ्कलन र प्रयोगविधि सिकेको हुँ । केही प्रयोगबाट पनि सिकेँ ।  गुरुहरू धेरै हुनुहुन्थ्यो । आफूले जीवनभर निःशुल्क सेवा गरेँ तर मैले निःशुल्क वैदिक उपचार पद्धतिअनुसार परोपकार गर्ने उपयुक्त पात्र नै भेटिनँ । जनावरको रोग पहिचान र उपचारविधिबारे मेरा आफैँले विकास गरेका सूत्रहरू छन् । उपचारविधिमा उमेर तौल आदिले प्रभाव पार्दछ । जुन प्रयोगकै सिलसिलामा ज्ञान हुँदै जान्छ । वैद्यले समुद्रझैँ समभाव राख्नुपर्छ । सबैको प्राणको रक्षा गर्नु नै वैद्यको धर्म हो । वैद्यका लागि देश, काल, वर्ग, जातको भेद हुनुहुँदैन । न त वैद्यका कोही मित्र हुन्छ न शत्रु । भनिन्छ राजा र वैद्यका लागि सबै परिवारजस्तै समान प्रिय हुनुपर्छ ।“ उनले वैद्य कस्तो हुनुपर्छ भन्ने प्रसङ्गमा महाभारत र रामायणका प्रसङ्गहरू सुनाएर प्रस्ट पार्दै भने,  “रावणकालमा लङ्काका लङ्का निवासी महान् वैद्य सुषेण जसले आफ्ना राजा रावनका शत्रु लक्ष्मणलाई बचाएका थिए । त्यस्तै राजा भरतले राजामा हुने सुयोग्य गुण आफ्ना छोराहरूमा नदेखेपछि नागरिकमध्येबाट राजा चुनेका थिए । त्यसै सार्वजनिक जीवनमा भएकाहरूले समूहको स्वार्थलाई केन्द्रमा राखेर त्यागका अनुपम उदाहरण प्रस्तुत गरेका उदाहरणहरू संसारभरि प्रशस्त पाइन्छन् ।

सुषेण वैद्य र राजा भरतजस्तो समभावी गुणसम्पन्न पात्रमा मात्रै युद्ध, शिक्षा तथा चिकित्सा विद्या प्रदान गर्नु उपयुक्त हो । आयुर्वेदिक विद्या जीवनभर सिकेर पनि नसकिने विद्या भए पनि यसको प्रारम्भिक ज्ञान हासिल गर्नका लागि कम्तीमा पनि ५ वर्ष लाग्छ । राज्यले चाह्यो वा उपयुक्त पात्र भेटियो भने अझै केही शिक्षा हस्तान्तरण गर्न सकिन्थ्यो जस्तो लाग्छ तर अहिले धेरै बुढो भएँ त्यसैले कान कम सुन्छु, हिँड्न अलिक गाह्रो हुन्छ । मेरो ऊर्जाशील कालमा सय दिनमा दश दिन पनि परिवारलाई दिन सकिनँ । परिवार पनि बिस्तारै बानी पर्दै गयो । सबै समय समुदायलाई दिन सक्ने मान्छे भेट्टाउँन एकदम गाह्रो हुन्छ ।
यो ज्ञान सुयोग्य मान्छेलाई हस्तान्तरण गर्ने चाहना थियो । समय दिन सक्ने पवित्र सोच भएको शिष्य अझैसम्म पाएको छैन । अयोग्य शिष्य पऱ्यो भने अश्वस्थामाको जस्तो हाल हुन्छ । हस्तिनापुरका राजगुरु दोर्णचार्यले आफ्नो पुत्रमोहमा फसेर अश्वस्थामालाई ब्रह्रमास्त्रको शिक्षा दिए, जसको परिणामले झन्डै पृथ्वी ध्वस्त हुन पुगेको थियो । त्यसैले पराजित हुँदासमेत प्रकृतिलाई सम्मान गर्ने, परोपकारी, दयावान्  र सन्त भाव भएको व्यक्ति चिकित्सा विद्याका लागि आवश्यक हुनुपर्छ भनिएको हो । ‘मैले धेरै औषधि चिनेको थिएँ । औषधि चिनेर मात्र हुँदैन ।  मात्रा मिलाएर खुवाउन सकिएन भने मान्छेलाई काम गर्दैन । ठुलो दवाई थोरै बढी भयो भने मान्छे तुरुन्तै मर्दछ । कतिपय झोल बनाएर मिलाउनुपर्छ भने कतिपय धुलो बनाएर सेवन गर्नुपर्छ र केही बोझोझैँ मुखमा छाप्ने दवाई पनि हुन्छन् ।
सञ्जीवनी पनि जडीबुटी हो, भनिन्छ त्यो धेरै जडीबुटीको मिश्रणबाट बन्दछ । जसमा आवश्यक मात्र मिलाएको हुनुपर्छ । सञ्जीवनीले रोगका शरीरका कोष क्षय गर्ने चक्रलाई उल्टो दिशाबाट ध्वस्त पार्छ । शरीरको एक जीवित कोष मर्दा १० कोष निर्माण गर्ने औषधि भएकाले मृत सञ्जीवनी भनिएको हो । यसले जीवित कोषलाई पुनर्जीवित गरिरहने भएकाले मान्छे नमर्ने बनाउन सक्छ । सृष्टिको नियमविरुद्ध हुने भएकाले मृत सञ्जीवनी औषधिको सूत्र शुक्राचार्य ‍जस्ता यो विद्याका ज्ञाताहरूले पुस्ता हस्तान्तरण गरेनन् ।”
उनको भनाइ अनुसार ‘जङ्गलमा भएका प्रकृति प्रदत्त हरेक औषधिहरूको अथाह सम्मान आवश्यक छ । एक वैद्यले औषधिको जरा प्रयोग गरेपछि एक जरासहित त्यो औषधि त्यहीँ सारिदिनुपर्छ वा पूरै उखेल्नु हुँदैन । काण्ड प्रयोगमा एक काण्ड छोडिदिनुपर्छ । त्यसो गरियो भने अर्को वर्ष त्यही स्थानमा औषधिले वैद्यलाई पर्खेर बसेको हुन्छ र दुर्लभ औषधिहरू लोप हुँदैनन् । कालो गुर्जो अत्यन्त दुर्लभ औषधि हो । त्यसले शरीरमा भएका ३३ थरीका गुलिया, अम्लीय रोगहरूको निवारण गर्छ । उनका अनुसार मध्यपहाडी जङ्गलमा पाइने दमदमे सूक्ष्म जीव प्रतिरोधी, क्याल्सिय र फस्फोरस युक्त जडीबुटी जसले काटेको घाउमा सङ्क्रमण हुन दिँदैन । त्यस्तै प्राकृतिक रूपमा पहराको रसानमा पाइने दङ्केर्नायस्तो जडीबुटी हो जसले रोगको अवधि हेरेर पन्ध्र दिनदेखि दुई महिनासम्म सेवन गरेमा अल्सर, क्यान्सर, आन्द्रा र आमाशयको घाउ र चिनी रोगलाई ठिक पार्छ । यो त्यस्तो औषधि हो जसलाई न त नर्सरीमा उमार्न सकिन्छ न सारेर सर्दछ । यो चुन डुङ्गाको पहरामा बढी फैलिन्छ । त्यस्तै सिलाजित पोटासियम र शरीरलाई चाहिने खनिज तत्त्वहरूको स्रोत हो।

अन्त्यमा, उनले ‘कलियुगका मान्छेहरू धेरै अवगुणी, स्वार्थी र दानवीय प्रवृत्तिका भएकाले संसारले दुःख पाएको’ बताउँदै परोपकार मऱ्यो भने मानवसमुदाय समाप्त हुने धारणा राखे ।

“जीवनमा तीनपटक बसाइँ सरेँ ।  मैले परोपकारको रथ कहिल्यै छोडिनँ, हाँकिरहेँ । मलाई कालापातलबाट लामखोरिया बसाइँ सर्दा त्यस्तो केही भएन । लामखोरियामा ३१ सालमा ठुलो पैह्रो आयो ।  घरको आँगनसम्मै खसाल्यो । कहालीलाग्दो थियो त्यो रात । अब यहाँ केटाकेटी राख्न हुन्न भन्ने लागेर भुसालबासे जिम्वालको घर किनेर केटाकेटी सारियो । फटाहा परेछन् किनेपछि धुरीखाँबो र बारीमा भएका सुन्तलाका बुटा मैले बेचेको छैन भनेर झगडा गरे । राम्जाली काण्ड सम्झेँ, डर लाग्यो र धुरीखाँबो उखेलेर लान दिएँ । धेरै समयसम्म मैले किनेको बारीका सुन्तला उनले टिपेर लागे । संसारमा किनेका घरको धुरीखाँबोसमेत लुट्ने विचित्रका फटाहा पनि बनहुँमा थिए भनेर सम्झँदा अति दुःख लागेर आउँछ । तिनै जिम्वालको घरमा समेत पुगेर धेरैपटक बालक, वृद्ध तथा वस्तुभाउको निःशुल्क उपचार गरेको छु तर उनले त्यो गुण कहिल्यै सम्झेनन् ।

त्यसैले आफूमा भएको कुनै पनि नकारात्मक सोच वैदिक सनातनीय सेवाभावको महासागरमा अलप भएको दिन देखिने मानव दानवबाट देवता बन्नेछ ।  त्यसैलाई शास्त्रमा सत्य युग भनिएको हो । सेवाभावमा रातो, सेतो, निलो,पहेलो, हरियो र कालो कुनै रङ्ग देखिनु हुँदैन, संसार पानीजस्तै सङ्लो देखिनुपर्छ ।” परोपकारका रथी जयलालले भनेका माथिका यी वाक्यहरू मानवका प्रेरणा र कालजयी बनून् । अस्तु :

प्रस्तोता,लेखक-बाग्लुङ्ग, हाल- बेल्जियम।