अचेलका बच्चाबच्ची के साह्रो ज्याद्रा भा’ हँ ? तपाईंलाई अचेलका युवतीहरूको उत्साह हेर्दा त्यस्तै महसुस हुनसक्छ ।

मलालाको कुरै नगरौँ, कम उमेरमा नोबेल शान्ति पुरस्कार हात पारिन् । ग्रेटा थनबर्गको त झन् कुरै भएन, उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समेत ‘हाउ डेयर यु’ भन्न सक्ने हैसियत बनाइसकिन् । अचेल भने यी नयाँ मैयाँको चर्चा चुलिन थालेको छ ।

यिनको नाम हो, ‘बर्डगर्ल’ उर्फ मिया–रोज क्रेग । १३ वर्षको उमेरदेखि उनी आफ्ना पिताजीसँग संसार डुलिरहेकी छन्, त्यो पनि दुर्लभ चराहरूको खोजी र तिनको संरक्षणका लागि ।

यतिबेला १९ वर्षकी भइसकिन् । उनको संरक्षण अभियानलाई प्रख्यात व्यक्तित्व डेभिड अटेनबरोले समेत वाहवाह भनिरहेका छन् ।

यी बर्डगर्लले संसारमा रहेका १० हजार ७ सय ३८ चराहरूमध्ये आधाजसो ५ हजार ४ सय १० चरा चिन्ने भइसकिन् । ३८ देशको भ्रमणमा उनले ती चरा हेरिसकेकी हुन् । उनको चराप्रेम देखेर बेलायतको युनिभर्सिटी अफ ब्रिस्टोलले उनलाई मानार्थ उपाधि, डक्टर अफ साइन्स, दिइसकेको छ । अचेल उनले आफ्नो निजी ब्लगमा डा. मिया रोज क्रेग भनी लेख्न थालेकी छन् ।

अरु त अरु उनले आफ्नो वातावरण संरक्षण अभियानलाई बल पुगोस् भनी हालै ‘वि ह्याभ अ ड्रिम’ नामक पुस्तक बजारमा ल्याइसकेकी छन् । उनले यो आफ्नो संस्मरण मात्र बनाएकी छैनन्, आफूजस्तै वातावरण संरक्षणमा भूमिका खेलिरहेका दूरदराजका युवाहरुलाई नायक बनाएकी छन् ।

हुन पनि उनीजस्तै कम उमेरका ३० जना जनजाति तथा आदिवासीहरुदेखि धनीमानी मुलुकका गम्भीर संरक्षणवादीहरुलाई यहाँ ठाउँ दिएकी छन् । उनले यिनलाई किन ठाउँ दिइन् त ? ‘किनभने प्रायः मूलधारका मिडियाले यिनलाई कतै कहीँ ठाउँ दिएनन् जबकि उनीहरुले अद्भुत काम गरिरहेका छन्,’ उनी भन्छिन्, ‘मैले पनि उनीहरुलाई संसारमाझ चिनाइनँ भने कसले पो चिनाउला । चिनाउने जिम्मेवारी मेरो पनि हो ।’

उनको चरा संरक्षणप्रति गम्भीरता कति छ भने सन् २०१६ मा नै ब्ल्याक टु नेचर नामक अभियान शुरु गरेकी थिइन् । यस अभियानमा उनले युवापुस्तालाई जोड्ने काम गरिरहेकी छन् । खासगरी अल्पसंख्यक युवाहरुलाई यसमा जोडेर उनीहरुलाई वातावरण संरक्षणका लागि हौस्याइरहेकी छिन् । उनी भन्छिन्, ‘वातावरण संरक्षण भनेको गोराहरुको मात्र जिम्मेवारी होइन । सबैखाले नयाँ पुस्ताको जिम्मेवारी हो ।’

नयाँ पुस्ता प्रकृतिसँग डराएको देखेपछि उनले यो अभियान शुरु गरेकी थिइन् । भन्छिन्, ‘जाबो गाईसँग पनि नयाँ पुस्ताहरु डराएको देखेर म दंग परेँ । जबसम्म हामीले प्रकृति चिन्दैनौँ, जनावरबारे बुझ्दैनौँ, हामी नयाँ पुस्ताले प्रकृति जोगाउन सक्तैनौँ ।’

हामीले अब उनलाई क्या बात् नभनी रहन सकौँला त ?