यही अगस्ट ८, २०२१ तदनुसार साउन २४, २०७८ का दिन २७ औं अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा हिमाली संरक्षण समूह र ‘सिर्जना र असार’ पोखराको संयुक्त आयोजनामा सिर्जनात्मक अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रम सम्पन्न भयो।
नेपाल, नेदरल्याण्ड, पोर्तुगल, अमेरिका, बेलायत र क्यानडा गरी विभिन्न देशहरुबाट कविहरुको उपस्थिती रहेको थियो। उक्त कार्यक्रममा संस्कृति र प्रकृति विषयमा केन्द्रित विभिन्न कविता तथा मुक्तकहरु वाचन गरिएका थिए। सो अन्तराष्ट्रिय साहित्यिक कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्त प्रमुख अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो भने समकालीन साहित्यकारहरु नीलम कार्की ‘निहारिका’, रोशन शेरचन, अभय श्रेष्ठ, र विजय हितानले समीक्षा तथा अन्तरक्रियामा प्यानल मेम्बरको भूमिका निभाउनु भएको थियो ।
सह-आयोजक “सिर्जना र असार”को तर्फबाट कवि धन प्रसाद तामांगले प्रकृति, संस्कृति र प्रविधिको तादात्म्य सम्बन्ध रहेको र भूमि पुत्र/आदिवासीहरुको प्राकृतिक श्रोतमा पहिलो अधिकार हुनुपर्ने र यसमा कवि कलाकारले अनवरत कलम चलाई रहनु पर्नेमा जोड दिनुभयो।
कविहरू तीर्थराज अधिकारी, ईश्वरी भट्ट, भीम रानाभाट, कविराज तामाङ, हरिशरण परियार, ध्रुव सापकोटा, सजना गोले, मुक्ति गौतम, राजेन्द्र अर्याल, सुरेश रानाभाट, नारायण मरासिनी, अभय श्रेष्ठ, दिपक बाईबा, कुमार शर्मा, अरुण श्रेष्ठ, देवेन्द्र सापकोटा, शिखर दुलाल, रोशन शेरचन, विजय हितान, विकास लुङ्गेली, र सरुभक्तले आफ्नो मुक्तक वा कविताहरू वाचन गर्नुभएको थियो।
प्रस्तुत गरिएका रचनाहरू मानवको लोभ र लालचले भैरहेको प्राकृतिक श्रोतको दोहन र यसले निम्त्याई रहेको विपत्तिबारे जनचेतना जगाउने सशक्त थिए।
कार्यक्रमको दोस्रो सत्रमा कवि ऋषि बस्ताकोटीले समीक्षात्मक तथा अन्तरक्रियात्मक कार्यक्रमको सुरुवात गर्नको लागि अहिले प्राकृतिक स्रोतलाई हेर्ने विभिन्न दृष्टिकोणहरूमध्ये मानव केन्द्रित र वातावरण केन्द्रित दृष्टिकोणहरू रहेको र संरक्षणसम्बन्धी हामी साहित्यकार-कविहरुले खेल्नुपर्ने दायित्वबारे भूमिका प्रस्तुत गर्नुहुँदै कवि सरुभक्त र अन्तरक्रियामा प्यानल मेम्बरहरूलाई आफ्नो मन्तव्यका लागि आमन्त्रण गर्नुभयो।
प्रमुख अतिथि वरिष्ठ साहित्यकार सरुभक्तले २०५५ सालमा सुरुवात गरेको संरक्षण कविता यात्राको “संरक्षण नै जीवन हो जीवन नै संरक्षण” भन्ने मूल नारा अझै पनि विश्व वातावरण संरक्षणको लागि मूलमन्त्र भएको बताउनु हुँदै हाम्रा हरेक क्रियाकलापले भविष्यका सन्ततिलाई एउटा सुरक्षित वातावरण प्रदान गर्न सकोस् भन्ने कामनासहित पोखराबाट सुरु भएको संरक्षण यात्रा विश्वव्यापी होस् भन्ने चाहना व्यक्त गर्नुभयो ।
सो कार्यका लागि विश्वका विभिन्न संरक्षण आन्दोलनका कवि कलाकारहरुसँग सम्वाद भैराखेको र निकट भविष्यमा सहकार्य गर्न सकिने कुरा बताउनुभयो ।
साहित्यकार नीलम कार्की ‘निहारिका’ले सम्पदा र संस्कृति माथिको अतिक्रमण र यसले निम्त्याएको बिपत्तिहरु बारे बोल्नुहुँदै हालसालै भइराखेको मेलम्चीको बिनासबारे उदाहरणसहित प्रस्तुत गर्नुभयो ।
पर्यावरण र संस्कृतिमाथि भइराखेको अतिक्रमण बारे जनचेतना जगाउन र सरकारलाई पनि घचघच्याउन हामी साहित्यकारहरुले कलम चलाई राख्नु पर्ने आवश्यकता रहेको भन्ने विषयमा उहाँले बोल्नुभयो।
साहित्यकार रोशन शेरचनले हामी मानव जातिले आफूलाई इकोसिस्टमको एउटा अङ्ग हो भन्ने महसुस गरी अन्य जीवहरुलाई पनि उत्तिकै महत्व दिने हो भने पर्यावरण संरक्षणमा हाम्रो जिम्मेवारी पूरा हुन सक्छ भन्ने विषयमा प्रकाश पार्नुभयो । उहाँले रचनाहरू तयार गर्दा पर्यावरणीय जोखिमलाई पनि मध्यनजर गरी लेख्ने हो भने पर्यावरणलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्न सकिने कुरा बताउनुभयो ।
यसैगरी अभय श्रेष्ठले पर्यावरण जोगाउनलाई आदिवासी/जनजातिहरूको ज्ञान असाध्यै आवश्यकता हुने बताउनुभयो।आदिवासी जनजातिहरूको प्रकृति र वातावरणसँग अत्यन्तै निकटको सम्बन्ध हुने र उनीहरूसँग ज्ञानको भण्डार हुने हुनाले हामी सिर्जना गर्नेहरुले पनि उनीहरूको ज्ञानलाई विस्तार गर्ने क्रममा महत्वपूर्ण योगदान दिनुपर्ने कुरा उठाउनुभयो ।
हाल बेलायतमा बसेर वातावरणसम्बन्धी आन्दोलन “इको-साहित्य”लाई विस्तार गर्न लागी पर्नु भएका साहित्यकार विजय हितानले इको साहित्य विभिन्न विधामा जोड्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । मानिसको अतिक्रमणले जंगलीजन्तु र जंगललाई समेत असर पारिराखेको कुरालाई साहित्यकारहरुले आफ्नो रचनामा सधै उठाई राख्नु आवश्यक रहेको कुरा उहाँले औल्याउनु भयो।
प्रकृतिलाई नारी पात्रको रुपमा लिने गरेका छौं त्यसैले वातावरण संरक्षणका लागि पनि हामीले नारीहरुलाई सशक्त बनाउन सकियो भने महत्त्वपूर्ण भूमिका निर्वाह हुन सक्ने कुरा बताउनुभयो।
यसै प्रसंगमा कवि मुक्ति गौतमले आदिवासीहरूको प्रकृति जोगाउने कुराको ज्ञानलाई बसाइसराई गरेर आउने नयाँ बासिन्दाहरूले प्रभाव पार्दै त्यसलाई बिर्सदै गएको हुनाले यसको संरक्षण गर्नसके अझै पर्यावरण जोगाउन सकिने कुरामा जोड दिनुभयो ।
सभापतिको आसनबाट भरतमान श्रेष्ठले आदिवासी दिवसको उपलक्ष्यमा आयोजित यस कार्यक्रममा अहं भूमिका निभाउनु हुने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । यसै प्रसंगमा उहाँले आदिवासीहरुसँग रहेको अथाह ज्ञानको भण्डारलाई हामीले प्रयोग गर्न सक्यौँ भने वातावरण संरक्षणमा अवश्य ठूलो भूमिका निर्वाह गर्न सकिन्छ भन्ने कुरामा विश्वास व्यक्त गर्नुभयो ।
प्रकृतिमाथि अत्याचारको लागि हामी आफै र मानवीय क्रियाकलापहरू नै जिम्मेवारी भएको र यसले विभिन्न प्राकृतिक विपत्ति सिर्जना गरेको र यसमा हामी सम्पूर्ण साहित्यकार, कलाकार लगायत बुद्धिजीवीहरूले आफ्नो भूमिका निभाउनु पर्ने कुरामा जोड दिनुभयो ।
यस कार्यक्रम हिमलाल श्रेष्ठ र ऋषि बस्ताकोटीले संयुक्त रुपमा सञ्चालन गर्नुभएको थियो । ज्योति भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सन्दर्भबारे हिमलाल श्रेष्ठले प्रकाश पार्नुभएको थियो भने संरक्षण कविता आन्दोलन र संरक्षण साहित्यमा विभिन्न प्रसंगहरु जोड्दै ऋषि बस्ताकोटीले आकर्षक रूपमा कार्यक्रम संचालन गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।