यो माटो छ र त म बाँचेको छु
यो बाटो छ र त म नाचेको छु
मेरो अस्तित्व भन्नु नै सहअस्तित्व हो-
यो पाटो छ र त म हाँसेको छु ।
माटोको पूजारी हों ऊ धर्तीकै पुत्र हो,
जे गाउंछ उसले त्यो धर्तीकै स्तोत्र हो,
माटोमै मितेरी लगाई पुस्तौपुस्ता गुज़ार्यो-
पुस्तान्तर हूँदै सिकेको त्यो जीवनसूत्र हो।
पहाडमा पहिरो झर्नुमा पनि,
अतिवृष्टि अनावृष्टि पर्नुमा पनि,
मांछेकै गल्ती छ कि झै लाग़छ अचेल-
प्रकृतिले यो तमाशा गर्नुमा पनि!
हेर्दाहेर्दै सेतो हिमाल कालो भयो भने,
च्यातिएको ओजोनको जालो भयो भने,
सम्झनु कि संकटले घेर्न थाल्यो अब-
उल्टोपाल्टो मौसमको पालो भयो भने !
मेरै धर्ती, मेरो मात्रै आकाश भन्यो भने,
प्रकृतिको दोहनलाइ बिकास भन्यो भने,
साझा घर हो, सहँदेन प्रकृतिले पनि-
आफ्नो मात्रै समस्याको निकास भन्यो भने !