विष्णु एस राई
म आफ्नो घरमा खुसी थिएँ मलाई बेघर बनायो मान्छेले
मेरा अङ्ग–प्रत्यङ्ग काटी–काटी बेचेर पैसा कमायो मान्छेले
आरा मेसिनमा मलाई धुलोपिठो पारी कागत बनाएर
त्यसैमा “रूख जोगाऔँ” भनी लेखेर नारा लगायो मान्छेले
वार्ड न – १०
तीनटोलिया
प्रतिभा चोक
विराटनगरमा एउटा घर छ । बोटबिरुवाहरूले झ्याम्मै छोपिएको छ त्यो घर । कसै-कसैले ता भूतबङ्ग्ला पनि भन्छन् । घर मेरै हो तर हामी यहाँ धेरै बस्दैनौँ । मान्छेले सरसफाइको सनकमा बोटबिरुवाहरू रोप्दैनन्, छन् भने काटिदिन्छन् । हामीलाई यो मन पर्दैन । श्रीमतीजी कहाँ-कहाँबाट बोटबिरुवा ल्याएर रोप्छिन्, म त्यसलाई हुर्काउन सघाउँछु । हुन त ठाउँ धेरै छैन बिरुवा उमार्न तर जति छ त्यसैमा ६ जवान नरिवल, ३ भाइ आँप, एउटा सपाटु, ३ बहिनी सुपारी, एक परिवार केरा, एउटा लिची (उसको भाइ गत साल बितेछ), एउटी अनार र एउटा नीम छन् । हुर्किसकेको बेललाई कुन्नि कुन रोग लागेर मर्यो र उहीसँग मर्यो मेदाकाठ पनि । यी सबै घरअगाडि छन् दुआरमा । घरपछाडि पछुवारमा, टीकको ठूलो परिवार थियो तर छिमेकीले नगरपालिकामा कम्प्लेन गरेपछि (उनको कम्पान्डमा पात झरेर फोहोर भयो रे) उसको परिवार नियोजन गर्नुपर्यो । अहिले एक दम्पती मात्र छ । त्यस्तै कटहरको परिवारलाई पनि नियोजन गरेपछि अहिले एउटा बाँकी छ । जामुन र महुवा एकअर्कालाई असाध्यै माया गर्थे, सँगै हुर्के बढे र सँगै बिदा पनि लिए यस संसारबाट । कदम्बको कोमल मनले यो देख्न नसकेपछि ऊ पनि मर्यो । अब एउटा आँप छ जुन साथीहरूको त्यस्तो हविगत देखेर अति तर्सेको छ; फल्नै छाडिसक्यो । “तिमीलाई केही हुँदैन बाबु, उनीहरू पर्खालसँगै टाँसिएकाले त्यस्तो भयो” भनी कति फकाउँछु तर डर उसको मनबाट जाँदै जाँदैन । तीन वर्ष भइसक्यो, कुन्नि अब फल्छ कि ! यसपालिको वसन्तमा फूल त आएका थिए । उसैको छेउमा एउटी दुब्लीपातली मेहदी पनि छिन्, अति लोकप्रिय । महिला र केटीहरू जहिले पनि उसको पात टिपिरहन्छन् तर उनी गुनासो गर्दिनन् र आजसम्म पनि बाँचेकी छन् । शायरका शब्दहरूमा सन्देश दिन्छिन् हामीलाई-
रङ लाती है हिना पत्थर पे पिस जाने के बाद
सुर्खरु होता है इन्सा ठोकरेँ खाने के बाद ।
जहिले पनि घर आउँछु, नरिवलका लामालामा र नीमका ससाना पातहरूले हावासँगै हल्लिँदै मधुरो स्वरमा गुनगुनाउँदै स्वागत गर्छन्, आँप र लिचीका पातहरू हलचल नगरी कान ठाडो पारेर सुन्छन् । घरको आधीजस्तो छतलाई नीमले कब्जा गरेको छ र त्यसैले काटिदिन्छन् कि भनेर होला हाम्रो चम्चागीरि पनि सबैभन्दा बढी उसैले गर्छ । घाम चर्किनासाथ मलाई निम्तो गर्छ उसको शीतल छायामा बस्न । अहिले पनि उसैको छायामा बसेर म यो कम्प्युटर टाइप गर्दै छु । उसको चम्चागिरी देखेर माथिबाट नरिवलका हाँगाहरू पेट मची-मची हाँस्छन् । साथीसँगीहरूले छतमा यसरी नीमका हाँगा किन बढ्न दिएको, नराम्रो देखिन्छ, छत पनि कमजोर हुन्छ भनी काट्ने सलाह दिन्छन् तर म काट्दिनँ । नीमले कुरा सुनिरहेझैँ लाग्छ, कसरी काट्नु ? यसको हाँगाहरूले आधी छत ढाकेको छ र यसमा बस्ने, राता राता रोटे कमिलाले कतिपटक टोकेर मेरा हात र खुट्टाका औँलाहरू नराम्रोसँग सुन्निए पनि यी हाँगाहरूलाई यथावत् छाडिदिएको छु मैले किनभने यिनको माझ आउनासाथ जस्तै गर्मी पनि शीतल हुन्छ र नहाँस्नुहोला, मेरो कल्पना शक्ति पनि बढेको जस्तो पो लाग्छ मलाई ।
हामी बोटबिरुवा हौँ
हरियाली छ : जीवन छ
किनभने हामी छौँ
हामी छैनौ : जीवन छैन
उजाड मरुभूमि छ
रूखपातले झ्याप्पै भएकाले थरी थरीका चराहरू घरजम गरेर बसेका छन्, कति पाहुना भएर आउँछन् र केही समय बिताएर जान्छन् । एउटा काग जत्रो, लामो कालो पुच्छर, गेरु रङ्गको पखेटा र राता आँखा भएका दम्पती चराले गुँड बनाएको छ नरिवलको रूखमा । उनको एउटै सन्तान छ, कहिलेकाहीँ उसलाई गुँडबाट झिक्छन् उनीहरू र ऊ पनि आफ्ना स्याना पखेटा फिँजाएर उड्ने प्रयास गर्छ, बाआमा हेर्छन् । बूढाबूढीको एउटै काम छ छोरोका लागि खाना ल्याउनु । खाना प्रायःजसो गड्यौला, फट्याङ्ग्रा यस्तै केही हुन्छ । चुच्चामा च्यापेर आउँछन् अनि हाँगामा बसेर एकछिन मलाई हेर्छन् र कुनै खतरा नलागेपछि गुँडभित्र पस्छन् । बचेरो असाध्यै चकचके छ । एकदिन म नीमको शीतल छायामा बसेर कम्प्युटरमा काम गरिरहेका बेला मैमाथि हगिदिएछ । हातमा र कम्प्युटरभरि सेतैसेतो । टाउको उठाएर माथि हेर्छु केटो त पातलो हाँगामा बसेर मज्जाले झुल्दै रहेछ । छोरोको फटाही देखेर होला उसकी आमा हतार-हतार उड्दै आउँछिन् र अलि पर बसेर मतिर हेर्दै कराउँछिन् “हो कोरोरोरो, हो कोरोरोरा”, छोरोको बदमासीका लागि माफी मागेजस्तै । छोरोलाई कुनै वास्ता पनि छैन, डर पनि छैन —मान्छे सबैभन्दा खतरनाक प्राणी हो भन्ने अहिलेसम्म उसलाई थाहा भएको छैन । आमा छोरोलाई डोर्याएर लैजान्छिन् । मैना चरीलाई मान्छे खतरनाक प्राणी हो भन्ने थाहा भएकाले मेरो ध्यान अन्तै मोड्न गाउन थाल्छिन् र म कवि पेट्रिक कवानाझैँ कुनै अर्कै दुनियाँमा पुग्छु ।
द बर्ड्स स्याङ अन द वेट ट्रीज
एन्ड एज आइ लिस्न्ड टु देम इट वाज अ हन्ड्रेड ईयर्स फ्रम नाउ
एन्ड आइ वाज डेड एण्ड समवन एल्स वाज लिस्निङ टु देम ।
बट आइ वाज ग्ल्याड आइ ह्याड रिर्कोडेड फर हिम
द मेलनचली ।
सुनको चुच्चा र खुट्टा भएको मैनाको जोडी पनि आउँछ । उनीहरूले नयाँ घरजम गरेका छन् क्यारे । दुवै ससाना मसिना हाँगाहरू चुच्चामा लिएर नीमको बोटमा पस्छन्, पक्कै घर निर्माण गर्दै छन् । यिनीहरू पनि मसँग डराउँदैनन् तर अलि परै बस्छन् र छतको पर्खालमा आफ्ना चुच्चालाई तिर्खाछन्, पखेटालाई टकटकाउँछन् अनि सँगै बसेर बूढाबूढी सल्लाह गर्छन्, एउटाले भन्छ, “ट्रिक ट्रिक, टटटटटट”, अर्काले टाउको तलमाथि गर्छ , त्यसपछि उडिहाल्छन् । एक हुल कचबचियाहरू पनि आउँछन् र आउनासाथ कचकच गर्न थाल्छन् । सम्पूर्ण शरीर खैरो रङ्गमा रङ्गिएका यी चराहरू जहिले पनि जिउ फुलाएर मोटो देखाउँछन् आफूलाई । यी सधैँ हुलमै आउँछन्, मेरो कुनै वास्ता नगरेर छतमा छरिएका नीमका फलहरू टिप्छन्, बाझाबाझ गर्छन्, एकअर्काका जुम्रा टिप्छन् र अनि भुर्रर्रर्र —उडिहाल्छन् । कहिलेकाहीँ ढुकुरको जोडी पनि आउँछ तर धेरै बस्दैन, टाउका तलमाथि गर्दै आफ्ना राताराता आँखाले मलाई हेर्छन् र एकछिन चनाखो भई बसेर गइहाल्छन् । गुच्चा जत्री जिउ र जिउभन्दा दुई गुणा लामो चुच्चो भएकी फूलचोभी, फूलको रसमात्र खाने चरी पनि आउँछिन् । हेलिकप्टर घरमाथि स्थिर भई उडेजस्तै यो सानी चरी पनि फूलमाथि नबसी फूलमाथि स्थिर रूपले उड्दै पाइपजस्तो चुच्चाले रस तान्छिन् । कोइली आँपमा फूल लागेदेखि फल पाकिन्जेलसम्म आउँछिन् । उसको विरहगान निःस्तब्ध मध्यरातमा वा उषाकालमा मात्रै सुन्न पाइन्छ । घरमा भएका बेला यिनका मिलन र विरहका मैथिल गीतहरू सुनिरहन्छु ।
आधी–आधी रतिया के कुहुके कोइलिया हाय राम
कुहुके कोइलिया से बेरिनिया भेलै ना
मोरा अँखिया के निनिया राम बेरिनिया भेलै ना
घरको छतमा नरिवल र नीमको छहारिमा लेखक
तर जहिले पनि आएर आँपको रूखमा ठकठक गरी चुच्चाले हिर्काएर प्वाल पार्ने कठखोदी, सर्वाङ्ग कालो र लामो पुच्छर भएको धनछोहा, नीलो घाँटी भएको नीलकण्ठहरूले आउन छाडे । कहाँ गए होलान् उनीहरू । बसाइँ सराइ गरे पनि सबै ता नजानुपर्ने हो । हिजो आज चोँचा (दमैचरा) ता देखिँदै देखिँदैनन् । पहिला यी नरिवलको पातमा गुँड बनाउँथे, सबैभन्दा बेस्ट गुँड, पानी नछिर्ने, सर्पको आक्रमणबाट सुरक्षित उँधो मुन्टो झुन्डिएका । गजब हुन्छ यिनको सौन्दर्यबोध । राति जुनकिरीहरू टिपेर गोबरसँग गुँडमा टाँसिदिन्थे, घरमा दीपमालिका गरेझैँ । अब आउँदैनन्, लोप भइसके सायद । उनीहरूले गुँड बनाउनलाई प्रयोग गरिने लामा-लामा कास र कुस पनि ता पाइँदैन अब । त्यसैगरी जुनकिरी देखिन छाडिसके । पहिला अमावस्या आउनासाथ आउँथे उनीहरू झुन्डका झुन्ड अब ता एउटै पनि देखिन्नन् ।
छिमेकीका अगाडि एउटा झ्याम्म परेको जामुनको बोट थियो । अहिले त्यसको ठाउँमा सटर उभिएको छ । पहिला सूर्यास्त हुनासाथ झुन्डका झुन्ड चराहरू त्यो जामुनको बोटमा बास बस्न आउँथे र सारा वातावरण उनको रसमय वार्तालापले मधुर हुन्थे । अब साँझ पर्नासाथ हुलका हुल केटाहरू भेला हुन्छन्, त्यहीँ रक्सी किनेर पिउँछन् र होहल्ला गरी वातावरणलाई थर्काउँछन् । सटसरको छेउमा जामुनको ठुटो अझै पनि देख्न सकिन्छ –मानौँ कसैलाई पर्खिरहेको छ । कवि एनिस कजका शब्दहरूमा-
ब्रेक माइ ब्रान्चेज
सो मी इनटु डस्ट
द्य बर्ड्स विल स्टिल सिङ
इन माइ रुट्स
चरा, मुसा, लोर्खके, कमिला आऊ है आऊ, आफ्ना इष्टमित्रलाई पनि लिएर आऊ ! स्वागत छ तिमी सबैलाई हामी बूढाबूढी भइन्जेल । जङ्गलभित्र साधुको कुटीजस्तो रूखहरूले झ्याम्मै छोपिएको यो मेरो घरमा हामी दुई जना बूढाबूढीबाहेक यिनैहरू बस्छन् । घर हामीजस्तै पुरानो भइसक्यो र दुई जनाका लागि बढी पनि । कहिलेकाहीँ बूढाबूढीमध्ये एक जना नहुँदा अर्काका साथी यिनैहरू हुन्छन् बात मार्नलाई । कविताबाट सुरु गरेको आफ्नो भनाइलाई कविताबाटै बिट मार्ने अनुमति चाहन्छु ।
धेरै भयो
मैले आफ्नो पुर्ख्यौली घर
चराहरूलाई बस्न दिएको छु
सम्झौताअनुसार
अब त्यसमा आरामसाथ बस्छन्
परेवा र भँगेराका केही परिवार
कहिलेकाहीँ आउँछन्
रुपी र ढुकुरका जोडीहरू पनि
र दिनभरि पाहुना बसेर
साँझपख फर्किहाल्छन्
गाउँ जानुपर्यो भने
त्यहाँ जान्नँ म
उनीहरूलाई असुविधा होला भनेर
कुनै छिमेकीको घरमा बसिदिन्छु
सोच्छु, हुन सक्छ
म त्यहाँ एक्कासि पुग्दा
कुनै आलिङ्गनबद्ध जोडीलाई लाज लाग्न सक्छ
वा के थाहा
कुनै परेवी फुल पार्न बसेकी हुन सक्छे
अथवा
जीवनङ्ग्राममा थाकेर
आराम गर्दैगरेको कुनै वृद्ध भँगेरोलाई
डिस्टर्ब पनि हुनसक्छ
तर यसपालि गाउँ जाँदा
सम्झौता बिर्सेर घरै पुगेछु
ढोकामा मलाई अकमकिएको देखेर
स्वागत गरे मलाई
परेवाहरूले पखेटा फटफाटाएर
भँगेराहरूले चिरबिर गरेर
र म भित्र पसेँ अनुमति पाएर
सम्झौता ता चराहरूसँग गरेको थिएँ
तर असङ्ख्य कमिलाहरूले घर बनाएका रहेछन्
मेरो सुत्ने कोठाको पर्खालमा
मेरो अनाधिकार प्रवेश उनीहरूलाई मन परेनछ
त्यस्तै माथि पुरानो सिलिङमा
मुसाको ठूलो परिवार रहेछ क्यारे
निदाउनै सकिनँ
रातभरि कुदेर आफ्नो अप्रसन्नता जाहेर गरेछन्
तर परेवा र भँगेराहरूले बस्न दिएपछि
म बोल्ने को हुँ र ?
बिहान जब हिँड्न आँटे
मुसो त क्यारे लाजले बाहिर आएन
कमिलाहरू अफ्ना काममा व्यस्त रहे
परेवाहरूले बिदा गरे मलाई
गुनगुनाएर एउटा गीत
तर त्यो गीत
स्वीकृतिको थियो कि विरोधको
म मान्छेले त्यसलाई बुझ्न सकिनँ
………………………….
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।