पुरुषको शुक्रकीटमा पहिलेजस्तो दम छैन । संसारभरि नै सन्तान जन्माउने दर घट्दै गइरहेको छ । कुनै समयमा उच्च जन्मदर रहेको ठाउँमा पनि घटिरहेको छ, उदाहरणका लागि, सहारा मरुभूमि वरपरका अफ्रिकी मुलुकहरुलाई लिन सकिन्छ । यो चाहिँ स्त्रीहरुका लागि ज्यादे खुसीको कुरा हो । त्यति मात्र होइन, परिवार र समाज तथा वातावरणका लागि पनि उत्तिकै खुसीको कुरा हो । उसो भए हामी किन चिच्याई चिच्याई हामीलाई बढीभन्दा बढी बालबालिका चाहियो भनिरहेका छौँ त ? किन हामीले इटालीका केही मातृ कक्ष र भूताहा शहरका बारेमा बढाइचढाई बोलिरहेका छौँ त ? खासगरी मिडियामा !
यसको दुई तुक जवाफ छ, जनसंख्याका बारेमा सोच्न थालिएको कति नै समय भएको छ र ? जम्माजम्मी अढाई सय वर्षदेखि जनसंख्याको लगत राख्न थालिएको हो । यी अढाई सय वर्षमा देखिएको उतार चढाव के हो भने कहिलेकाहीँ जन्मदर र मृत्युदरमा परिवर्तन आइरहन्छ । हालै जारी गरिएको अमेरिकाको जनसांख्यिक तथ्यांक अथवा चीनको दुई सन्तान नीतिका कारण मानिसको दिमागमा झट्का परेको मात्र हो– कतै हाम्रो वंश नै नाश हुने पो हो कि ?
अर्को चाहिँ, हाम्रो अन्तसमा स्वस्थ र जीवन्त समाजको परिकल्पना हिजोको अनुभवबाट निश्रित छ । जबकि हिजोको भन्दा आजका मानिसहरु लामो समय बाँच्न सकेका छन्, उनीहरुको स्वास्थ्य हिजोको भन्दा निकै राम्रो अवस्थामा छ । समाजले हिजो जुन उमेरको मान्छेलाई बूढो मान्थ्यो, अहिले त्यो मान्ने अवस्था छैन ।
१९ औँ शताब्दीमा कारखाना चलाउनका लागि युवापुस्ताको बल चाहिन्थ्यो । युद्धमा लड्नका लागि तिनैकै बल चाहिन्थ्यो । २० औँ शताब्दीसम्म आइपुग्दा युवापुस्ताको उमेर अझ घट्दै जान थाल्यो र २१ औँ शताब्दीमा त युद्ध लड्नका लागि कुनै युवक नै चाहिन्छ भन्ने देखिँदैन । कुस्ती भिड्न अब मेसिन तयार भइसके, जो मानिसभन्दा हजारौँ गुणा शक्तिशाली छन् ।
अहिलेको समयमा उमेर पुगेको स्वस्थ व्यक्ति बढी उत्पादनशील हुन्छ कि जवान बढी भन्ने बहस बढेर जान थालेको छ । एउटा जवान केटोभन्दा अनुभवी वृद्धले बरु काम बढी राम्रोसँग गर्न सक्छ, उत्पादनशील हुन सक्छ । २० वर्षे लक्का जवान केटोको भन्दा ५० वर्षे अधवैंसेको चेतना लोभलाग्दो हुन्छ भन्ने सराह हार्परले गरेको एउटा अध्ययनले देखाएको छ ।
अबको समय कुल ग्राहस्थ उत्पादनको कुरा मुलुकअनुसार होइन, व्यक्तिअनुसार निकाल्नुपर्ने अवस्था छ । जन्मदर बढी भएका मुलुकको उत्पादनशीलताभन्दा कम भएका मुलुकको उत्पादनशीलता बढी छ ।
यसको अर्थ, घट्दो जन्मदरप्रति चिन्ता नगर्ने भन्ने कुरा होइन । चिन्ता गर्नुपर्छ तर अहिलेको पारम्परिक अर्थमा चिन्ता गर्नुपर्छ भन्ने होइन ।
उत्पादनशीलता बढाउने कुरामा हाम्रो ध्यान बढी जानु पर्छ । अहिलेको समयमा बढीभन्दा बढी आयु भएका मानिसलाई ६० वर्षमा नै कार्यालयबाट बिदा गराउने होइन कि उसले काम गर्न सक्ने अवस्थासम्म काम गर्न दिनुपर्ने वातावरण बनाउनुपर्छ । १९ औँ शताब्दीमा ल्याइएको अनिवार्य अवकाशको नियममा अब सोच्ने बेला भएको छ ।
त्यसो त सिर्जनशीलता कुनै उमेरविशेषको पेवा होइन । त्यसो हो भने ८० वर्षे वृद्धको सिर्जनशीलताको पनि खोज हुनुपर्छ, १४ वर्षे किशोरको पनि ।
अचेल सिर्जनशीलता खोज्ने, काम गर्ने जाँगर र युवा खोज्ने नयाँ चलन आएको छ । तेस्रो मुलुकका युवालाई बसाइँसराइका लागि उत्प्रेरित गर्ने । अमेरिकाले डाइभरसिटी भिसाको कुरा लागू गराएको निकै वर्ष भयो । युरोपेली मुलुक, इजरायल, मध्यपूर्वका मुलुक तथा जापानले कामदारहरु भित्र्याएर काम गराउन थालेको निकै भइसक्यो । बसाइँसराइ र यस किसिमको कार्यले सबैलाई फाइदा पुर्याएको छ । गरिब मुलुकमा रेमिटेन्स पुगिरहेको छ, तिनले पेटभरि खान पाएका छन् र यता सम्पन्न मुलुकको अर्थतन्त्र चलायमान पार्न पनि भूमिका खेलेका छन् ।
कहिलेकाहीँ यस्ता कुरामा रोक लगाइनुपर्ने कुरा उठ्छन्, जुन आत्मघाती कुरा हुनेछ ।
ठीक यही बेला जन्मदर घट्यो भन्दै मानिसलाई बढीभन्दा बढी सन्तान जन्माउन प्रेरित गर्नुचाहिँ अर्थहीन नै छ । चिनियाँ नीतिका कारण त्यहाँ जनसंख्या घटेको कुरा हेरेर मात्र भएन, चीनबाहेक सम्पन्न दक्षिणपूर्वी एसियामा पनि जन्मदर आश्चर्यजनक तरिकाले घटिरहेको छ । सन्तान जन्माउन जोडबल गर्ने अभिभावकलाई सरकारले आर्थिक सहयोग गर्ने कुराले पनि संख्या बढाउन सहयोग पुगेको देखिन्न ।
जब जब बाल मृत्युदर कम हुन्छ, स्वाभाविक रुपमा अभिभावकले बढी जन्माउनेभन्दा पनि जन्माएकालाई समुन्नत जीवन दिलाउन चाहन्छन् । धेरै जन्माएर तिनको राम्रो लालनपालन नहुनुभन्दा बरु थोरै जन्माएर राम्रो लालनपालनमा उनीहरुको रुचि बढेको देखिन्छ ।
बरु यसो गरौँ न, पृथ्वीलाई जोगाउन थोरै सन्तान जन्माऔँ या सन्तान नै नजन्माऔँ न ! तर के सन्तान नजन्माउँदैमा यस ग्रहमा देखिएको वातावरणीय समस्या समाधान हुन्छ त ? केही करोड सन्तान नजन्मदा यो पृथ्वीलाई केही फरक पर्ला ? यसबारे अध्ययन हुन बाँकी नै छ । तर अहिलेसम्म के चाहिँ थाहा पाइसकेका छौँ भने वातावरणीय समस्या र जनसंख्याबीच सम्बन्ध छ तर कसरी सम्बन्ध छ भन्नेबारे अझै ठोस जानकारी हुन बाँकी नै छ ।
धेरै सन्तान जन्माउनुभन्दा थोरै सन्तान जन्माउनु त्यतिबेला मात्र बुद्धिमतापूर्ण देखिन्छ, जब हामीले तिनलाई वतावरणीय रुपमा सचेत बनाउँछौँ । हामीले अहिलेसम्म प्लास्टिकका फोहोर र कार्बन उत्सर्जनमा जे जति मूर्खता गरिसकेका छौँ, अबका पुस्तालाई यस्ता कुरामा सचेत बनाउन सकेको खण्डमा कम सन्तान जन्माउनुको अर्थ देखिन्छ ।
(लउरा स्पाइनी विज्ञान पत्रकार तथा लेखक हुन् । हालै उनको पेल राइडरः द स्पेनिस फ्लु अफ १९१८ एन्ड हाउ इट चेन्ज्ड द वर्ल्ड पुस्तक बजारमा आएको छ । यो आलेख गार्डियन पत्रिकाको गार्डियन म्यागेजिनबाट साभार गरिएको हो ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।