अचेल मानिसहरु एउटा बिरुवा रोपेर फोटो खिच्छन् र ङिच्च दाँत देखाउँदै सोसल मिडियामा हाल्छन् । तर कयौँ यस्ता मानिसहरु पनि छन्, जसलाई प्रकृति बचाउनु, वृक्षारोपण गर्नु आफ्नो धर्म र परम् कर्तव्य ठान्छन् ।

दक्षिण भारतका एक जना व्यक्ति दरिपल्ली रामय्याले एक करोडभन्दा बढी विरुवा रोपेर पनि कहिल्यै हल्ला गर्दैनन् ।

दरिपल्ली रामय्या पढेलेखेका, प्रकृतिप्रेमी, साइकलमा यात्रा गर्ने सरल व्यक्ति हुन् । उनलाई रुख र मानिसको जीवन एकअर्कामा कसरी गाँसिएको छ भन्ने थाहा छ ।

त्यो थाहा पाएपछि उनले मानिसले उनलाई पागल भने पनि केही मतलब नगरी वृक्षारोपणमा जीवन बिताइरहेका छन् । उनको वृक्षारोपणको पागलपनलाई केहीले वास्तवमै पागलपन ठानिरहेका छन् । उनले आफ्नो महत्त्वपूर्ण समय बर्बाद गरेको भनी हकार्छन् पनि तर कहिल्यै पनि उनी हतोत्साही भएका छैनन् ।

भारतको तेलंगाना राज्यको खंमम जिल्लाका निवासी रामय्याको वृक्षप्रेम बुझेका मानिसले भने उनको नाम चेट्टला रामय्या नाम राखिदिएका छन् । तेलुगु शब्दमा चेट्टूको अर्थ, वृक्ष हुन्छ ।

अचेल उनलाई वृक्षवाला रामय्या भनेर नचिन्ने कमै होलान् । हुन पनि उनले वृक्षारोपणको जागरण नै ल्याएका छन् ।

रामय्याले शुरुमा आफ्नो जिल्लाका स्थानीय नेतालाई हातमा लिए । उनले वृक्षारोपणका लागि खंमम जिल्लामा रहेको एउटा नहरको जिम्मा लिए । यो नहरका दुवै किनारामा चार किलोमिटरमा उनले वृक्षारोपण गरे । उनी वृक्षारोपण मात्र गर्दैनन्, यसलाई हेरचाह पनि गर्छन् । उनी आफ्नो साइकलमा चार किलोमिटरको वृक्षारोपणको हालचाल लिने गर्छन् ।

यसरी हेरचाहपछि केही महिनामा नै उनको मिहिनेतले कर्तब देखाइहाल्यो । नहरका दुई किनारा हरिया हुँदै आए । उनले एउटा बिरुवा पनि मर्न दिएनन् ।

रामय्या दिनदिनै बिरुवामा व्यस्त हुन थालेपछि उनकी पत्नी पनि घरमा अल्छी मानेर बस्नु भन्दा यी विरुवाको रेखदेखमा लाग्न थालिन् ।

अहिले दुवैलाई यस कार्यमा आफूले सन्तोष पाउने गरेको प्रतिक्रिया दिन्छन् ।

यो चार किलोमिटर क्षेत्रमा हरियाली छाएपछि उनले आफ्नो कामलाई अझ बढी व्यावसायिक बनाउन रुखविरुवाको वैज्ञानिक खेती कसरी गर्ने भन्नेबारे नजिकैको पुस्तकालयबाट पुस्तक भेला पारी अध्ययन गर्न थाले । यसपछि उनले बिरुवा उमार्ने, बिरुवा अरुलाई बाँड्ने गर्न थाले । यति मात्र होइन, त्यसलाई कसरी रोप्ने, रोपेर कसरी हुर्काउने, हुर्काइसकेपछि यसबाट कसरी काम लिने भन्नेसमेत प्रशिक्षण दिने गर्छन् ।

अचेल उनले ‘वृक्षो रक्षति रक्षिता’ (वृक्षले आफ्ना रक्षकहरुलाई रक्षा गर्दछ) नाराका साथ रामय्याले आफूसँगै अरुलाई पनि जोड्ने प्रयास गरिरहेका छन् । यसको सोच कसरी शुरु भयो त ?

एक पटक उनी साइकल दुर्घटनामा परे । उनको गोडा भाँचियो र केही महिना हिँडडुल गर्न गाह्रो भयो । टाढा जान नसके पनि उनी घरैमा काम त गर्न सक्छन् नि ! यसपछि घर वरिपरिको खाली ठाउँमा आफ्नो शिल्प प्रयोग गरेर हरियाली बनाउन थाले ।

एक दिन उनले छिमेकीको छोराको बिहेमा सघाएको भन्दै पाँच हजार रुपैयाँ दान गरे । त्यो पैसा पनि उनले वृक्षारोपणमै लगाए ।

केहीले उनलाई भने, रामय्या तिमीले धेरै बिरुवा रोप्यौ र ती अहिले ठूला रुख पनि भइसकेका छन् । ती बेचेर तिमीले कुस्त कमाउन सक्छौ ।

रामय्या भन्छन्, यी रुख मैले आफ्नो निजी फाइदाका लागि लगाएको होइन । मैले त सबैको फाइदाका लागि लगाएको हुँ । मैले यी रुख बेचेँ भने मलाई मात्र फाइदा हुन्छ तर बेचिनँ भने गाउँभरिका सबैलाई फाइदा हुन्छ ।

हुन पनि बढीभन्दा वृक्षारोपणले स्वच्छ हावा पाइने मात्र होइन, वर्षा र पर्यावरण पनि सन्तुलित हुन्छ । प्रकृतिले मान्छेलाई नसोधी मानव जातिका लागि उपयोगी हुने सबै किसिमका बोटविरुवा उमार्ने गर्छ । यसले राम्रा राम्रा फलफूल दिन्छ । ‘त्यसैले हामीले प्रकृतिको रक्षा गर्नु जरुरी छ र यो हाम्रो कर्तव्य पनि हो,’ प्रायः रामय्या भन्ने गर्छन् ।

वृक्षारोपणलाई अघि बढाउन आफ्ना सन्तानहरुलाई फलफूल खान मात्र नसिकाई कसरी फलफूल फलाउने वृक्ष रोप्न सकिन्छ र रोप्नुपर्छ भनी सिकाउनुपर्ने उनको धारणा छ । सानै छँदा बालबालिकालाई बिरुवा दिएर रोप्न सिकाउने, तिनलाई हुर्काउने जस्ता कुरा सिकाएर ठूला भएपछि तिनै रुखका मीठा फलफूलको स्वाद लिन सक्छन् । आफैँले रोपेको बिरुवाबाट पाइने फलफूलको खुसीको कुनै सीमा हुँदैन, त्यसको कुनै मोल हुँदैन ।

उनको बिरुवाप्रेम देखेर भारत सरकारले सन् २०१७ मा नै उनलाई विभिन्न सम्मान दिइसकेको छ । अचेल उनी पर्यावरण रक्षकका रुपमा चिनिइन्छन् ।