
उम्केपछि ओसिलो छायाबाट
सताइरहने अक्टोपस झारहरूबाट
उन्मुक्त हाँसेकी हुँ
पर्खिँदै एउटा कलिलो घाम !
आहत छु लामो समयदेखि
हिंसाका चक्रवाती हमलाहरूबाट
गभारोले मूल जरै काटेपछि
पलाएकी हुँ अस्तित्वको नयाँ जरा
पटक पटक पहेँलिएका पात जोगाउँदै
चोटले भाँचिएका कान्डमा
आफ्नै साहसको मलम लगाउँदै
पुनः बौरिएकी हुँ
यो जङ्गली भूगोलमा

रजनी ढकाल
पृथक् उभिएको परिचयमा
नदेखेर सुकसुकाउँदो हरित पत्रदल
नबोलेर विभेदमा बाँचेको इतिहास
पितृसत्ताका आँखाहरूले
सुन्दरताको एकाङ्गी अर्थमा सीमित हुँदै
‘दर्फराउँदो शरीर र गाँठा परेका हाँगाहरू…’
लगाउन सक्छन् अनेक आरोप !
वास्ता छैन मलाई
कसैको उपेक्षा अनि प्रशंसामा पनि
मात्र गौरव छ मेरै बचाइसँग
सङ्घर्षले भरिएका सङ्घातहरूसँग
स्नेहिल समयका हातसँग
जसले सिकाए एउटा पहिचानको पाठ
सगरबाट पग्लेको अहम्
हरदम रुझाइरहन्छ र
पखालिरहन्छ जराले भेटेको माटोको माया
घाम र जूनको रङ बोकेका
झरीका जलकणलाई
स्विकार्दै उपहारमा
अनि आफ्नै गर्भको सौन्दर्य
पोतेर मुहारमा
फक्रिदिन्छु परिवेशभरि
बाँच्नुको गौरव बाँच्नेलाई मात्र थाहा हुन्छ
विशेषाधिकार पाएकाहरूमा सहानुभूति छर्दै
फेरि हाँसिरहेछु आज
उम्केपछि ओसिलो छायाबाट
सताइरहने अक्टोपस झारहरूबाट
उन्मुक्त हाँसेकी हुँ
पर्खिँदै एउटा कलिलो घाम !
२०७८ असार २



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२० कार्तिक २०८२, बिहीबार 









