दायाँ बायाँ हरियाली तिर्खाएका घाँटी
पँधेरीमै खाली घडा पँधेर्नीको ताँती
छैन भनूँ पानी यहाँ खहरेको नाच
आउँछ लान्छ एकै क्षण घरखेत नास ।

डा. वीरेन्द्र केसी

खडेरीको झिल्का कैले अति वर्षा कैले
कलकल नागबेली नदी बग्थे पैले
सुँगासरि हरिया ती वनपाखा भिर
बिलाइगए कयौँ जीव प्रकृतिका शिर ।

भोकमारी बढेकै छ संसारको ताप
वर्षा भेल संख्या थोरै चढेकै छ नाप
समुद्रको सतहले माथिमाथि छुँदै
बस्ती डुब्दै लाखौँ जन बेघर हुँदै रुँदै ।

अन्न फल्न सृष्टि चल्न पानी पैलो शर्त
पानी पर्न हरियाली वन पैलो शर्त
वन मासी पानीका ती मुहानमै घर
बन्यो तब वर्षायाम भाग्यो पर पर ।

रोपौँ रुख रोकौँ आजै वन पाखा काट्न
नदिनाला ताल तलाउ पशुपंक्षी मास्न
अनि बाँच्छ जल थल स्वर्गसरि लोक
नबुझेर सुती राखे हुन सक्छ शोक ।

(पेशाले सिँचाइ इञ्जिनियर डा. वीरेन्द्र केसीको प्रकाशोन्मुख कृति ‘आमाको काखमा दुखेको देश’ कविता संग्रहबाट।)

 

हालै सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा आएको बाढीले तहस नहस पारेका घरहरू अवलोकन गर्दै स्थानीय जनता । तस्बिरः रविन श्रेष्ठ/मेलम्ची