मौरी ! सानो झोला बोकेर भुनभुन गर्दै परागकण टिप्न र पुष्परस पिउन उडेको एउटा आर्थोपोडा, भनिन्छ यो हामीले खाने एक तिहाई खानामा यसैको योगदान छ। चाहे ती फलफूल हुन् या तरकारीहरू या कपास या घाँसे मैदानमा फैलिएका घाँसहरुको जीवनको निरन्तरता कीटपतङ्गहरुमै आधारित हुन्छन्।

दिपेश मूर्ति पन्त

फूल फुल्ने वनस्पतिहरुको प्रजनन या नयाँ जीवनको लागि विज उत्पादनको लागि परागसेचन हुनु अनिवार्य छ। फूलहरूको पुरुष अङ्ग पुँकेशरबाट परागकण फूलको स्त्रीअङ्ग स्त्रीकेशरसम्म पुर्याएर गर्भाधानको प्रक्रिया हुँदै विजको उत्पादनमा योगदान यिनै मौरी, पुतली, पतङ्ग आदिले गर्छन्।

८७.५ प्रतिशत वनस्पतिको परागसेचन प्रक्रिया प्राणीहरूको क्रियाकलापले हुन्छ भने झण्डै ८४ प्रतिशत वनस्पतिहरूको परागसेचन विभिन्न प्रजातिका मौरीहरुले गर्छन्। युरोपियन मह मौरी Apis mellifera परागसेचनमा विश्वमै सर्वप्रथम स्थानमा आउँछ। त्यसैले हामीले खाने एक तिहाई खानामा यिनै मौरीको योगदान छ भनेर भनिन्छ।

सबैभन्दा महत्त्वपूर्ण परागसेचक

मौरीहरू किन सबैभन्दा राम्रा परागसेचक हुन् त ? उत्तर सजिलो छ: मौरीको जीवनको सबैजसो समय पराग सङ्कलन गर्दैमा बित्छ किनकि मौरीले आफ्ना बच्चाहरूलाई खुवाउने प्रोटिनको मुख्य स्रोत नै यिनै परागहरु हुन्। जब मौरी कुनै फूलमा बस्छ, उसको शरीरमा रहेका रौँहरुले electrostatic forces को माध्यमबाट परागकणहरु आकर्षित गर्छन्। उनीहरूका खुट्टामा रहेका रौँहरुको सहायताले पराग थैलीहरुमा जम्मा गर्छन् अनि आफ्नो गोलामा ल्याउँछन्।

प्रायः एक समयमा एउटा मौरीले वनस्पतिको एकै प्रजातिको फूलहरूको भ्रमण गर्छ त्यसैले वनस्पतिको त्यो प्रजातिको परागसेचन हुने सम्भाव्यता धेरै उच्च हुन्छ। मौरीको फूलहरुलाई भ्रमण गर्ने दर पनि अन्य जीव भन्दा धेरै तीव्र हुन्छ। यस क्रममा मौरीले त्यो वनस्पतिको पनि सफल परागसेचन गराउन सक्छ, जुन वनस्पतिको पुरुष अङ्ग र स्त्री अङ्ग छुट्टा छुट्टै फूलमा या बोटमा हुन्छ।

वनस्पतिको विभिन्न प्रजातिको क्रस परागसेचन गर्दा प्राकृतिक मिश्रित प्रजाति पनि निस्कन्छ। त्यसैले मौरी परागसेचनको मामिलामा सबैभन्दा प्रभावशाली जीव हो भन्दा कुनै अत्युक्ति हुँदैन। यसको लागि मौरीले पनि अमूल्य पुष्परस प्राप्त गर्दछ। वातावरणीय चक्र यसरी नै सन्तुलित हुन्छ।

ठूलो परिवार

विश्वमा २०००० भन्दा बढी प्रजातिका मौरीहरू पाइन्छन्, जसलाई सात वटा ठूलो परिवारमा बाँडिएको छ। कुनै मौरी ठूलो गोला बनाएर समाजमा बस्छन्, जस्तो महमौरी (Honey Bee) भमरा (Bumblebee) भने कुनै एक्लै पनि बस्छन्। मौरीहरू एन्टार्कटिका महादेशबाहेक सबै महादेशमा पाइन्छन्।

हाम्रो घरतिर पालिने सानो एसियाली प्रजाति Apis cerana हो भने जङ्गलमा पाइने पातमा गोला बनाउने अझै सानो मौरीलाई कठ्यौरी (Apis florea) भनिन्छ। आजकाल व्यावसायिक रुपमा अलिक ठूलो युरोपेली मौरी (Apis mellifera) पनि अत्यधिक रुपमा पाल्न थालिएको छ।

नेपालमा मह शिकार भनेर बर्सेनि मह सङ्कलन गरिने रिसाहा र निकै ठूलो मौरी जुन विशाल भीरहरुमा गोला बनाएर बस्छ, त्यसलाई भीर मौरी (Apis laboriosa), वन मौरी (Apis dorsata) भनिन्छ।
यीबाहेक पनि धेरै जातिका मौरी, भमराहरु नेपालमा पाइन्छन्, जसले हाम्रो कृषि क्षेत्रदेखि वनस्पतीहरुको परागसेचन गराई हाम्रो खाद्य शृङ्खलादेखि जैविक विविधतासम्मको सन्तुलन कायम राखेका छन्। यति हुँदाहुँदै पनि मौरीहरुको विनाश क्रम निकै डरलाग्दो छ, जसले सम्पूर्ण वनस्पति तथा प्राणी जगत एक गम्भीर सङ्कटको किनारमा उभिएको छ।

मौरीको विनाश: विश्वव्यापी गम्भीर सङ्कट

जलवायु परिवर्तन, बढ्दो कीटनाशक विषादीको प्रयोग र तीव्रगतिमा घट्दै गइरहेको वनस्पतिहरूको कारणले मौरीको सबै प्रकारका जाति-प्रजातिहरूको संख्यामा तीव्रतर ह्रास आइरहेको छ। यो ह्रास कुनै एक खास क्षेत्रमा मात्र नभएर विश्वव्यापीरुपमा निकै गम्भीर स्तरमा छ।

२०२० मा गरिएको University of Ottawa को एक अध्ययनअनुसार मौरीको जनसङ्ख्या एक मानव पुस्ताको अन्तरालमा औसतमा ३० प्रतिशतसम्म घटेको छ। यसले परागसेचनको व्यवस्थामा गम्भीर प्रभाव पर्ने स्पष्ट छ। एसिया क्षेत्रको उदाहरण दिने हो भने सबैभन्दा बढी मारमा परेको मौरीको प्रजाति Apis cerana हो जुन हामीले स्थानीय जातको मौरी भनेर घरमा पनि राखेका छौँ। त्यसपछि ठूलो आकारको जङ्गली मौरी Apis dorsata र हिमाली भीर मौरी Apis laboriosa को सङ्ख्या पनि उत्तिकै घटिरहेको छ। एसिया क्षेत्रमा मौरीको संख्याको बारेमा धेरै अध्ययन नगरिएको भए पनि युरोप र अमेरिका मौरीको घट्दो सङ्ख्या र त्यसको प्रभावहरूको व्यवस्थित अध्ययन गरिएको छ।

जलवायु परिवर्तन

जलवायु परिवर्तनले मौरी मात्र होइन हरेक प्राणी, वनस्पति र वातावरणीय चक्रलाई गम्भीर असर पारिरहेको छ। छोटा हिउँदहरुले जमीनमा पानीको चिस्यानको समयलाई पनि छोटा बनाइरहेका छन् भने फूल फुल्ने मौसम पनि समयअगावै आइदिन्छ र फूल फुल्ने मौसम पनि निकै छोटा छन्। यसले वनस्पतिको फूलमा आधारित प्राणी जगतलाई धेरै गम्भीर असर पारिरहेको छ। वृक्षरेखाहरूको सराई, वनस्पतिहरूको मृत्यु, वर्षा र तापक्रमको असन्तुलन आदिले मौरीलाई उत्तिकै प्रभाव पार्छन्। जलवायु परिवर्तनको प्रत्यक्ष र अप्रत्यक्ष दुवै प्रभावहरू धेरै गहन र जटिल छन्।

वन विनाश

तीव्र गतिमा भइरहेको वन विनासले रुखहरूको धोत्रोमा गोला बनाउने मौरीहरूलाई बासस्थानकै अभाव भइरहेको छ। Apis dorsata जस्ता रुखका ठूला बलिया हाँगामा गोला लगाउने मौरी पनि उत्तिकै समस्यामा छन्। कठ्यौरी मौरी (Apis florea) लाई झाडिदार वनस्पतिहरू चाहिन्छन् भने Apis andreniformis लाई घना जङ्गलको आवश्यकता हुन्छ। बढ्दो वन विनाशले यी मौरीको वासस्थान नै नष्ट हुन पुगेको छ।
एकातिर वन विनाशले बासस्थान मात्र होइन मौरीको चरन क्षेत्र पनि नष्ट भइरहेको छ। कृषिको विस्तारले गर्दा एकातिर वन विनाश भइरहेको छ, चरन क्षेत्रमा वनस्पतिहरूको सन्तुलनमा असर परिरहेको छ। विस्तारित खेतीमा अर्थात् ठूलो क्षेत्रमा लगाइएका एकै किसिमका केही वनस्पतिहरूले मौसममा अत्यधिक चरन क्षेत्र त सृजना गर्छन् तर त्यो लामो समयको लागि हुँदैन। यसले मौरीको वर्षैभरि उनीहरूको आवश्यकताको परिपूर्ति हुँदैन।

विषादीको प्रयोग

चरन क्षेत्र कृषि क्षेत्रका तरकारी तथा फलफूल खेतीमा प्रयोग गरिने कीटनाशक, विषादीजस्ता रासायनिक पदार्थहरू पनि मौरी विनासको अर्को कारण हो। एसियाका रैथाने प्रजातिमा कीटनाशक विषादीको असरको बारेमा त्यति अध्ययन गरिएको पाइएन तापनि हामीले मौरीमा परेको असरलाई नजर अन्दाज गर्न सकिँदैन। Contact Poison हरुले मौरी फूलमा भ्रमण गर्दा नै असर गरेर तत्कालै मार्न सक्छ भने Systemic Poison हरुले फूल, पराग र पुष्परसलाई विषाक्त बनाएर मौरीको पुरै समूहलाई नै गम्भीर असर पार्छ। जब मौरीले ती विषाक्त पराग र पुष्परस आफ्नो गोलामा लैजान्छ त्यसको उपभोग रानी मौरीदेखि अन्यले गर्छन्।

केही अध्ययनहरूले ती विषाक्त पदार्थले मौरीको ती बच्चाहरुको मस्तिष्कको विकासमा नराम्रो असर पर्ने स्पष्ट पारेका छन्। यसैले पुरै गोला नै नष्ट (Colony Collapse Disorder) हुन्छ। Systemic विषादी neonicotinoids ले गर्ने प्रभाव सबैभन्दा गम्भीर तथा लामो हुन्छ। धेरै जसो systemic विषादीहरु U.S. Environmental Protection Agency (EPA) ले तोकेको मापदण्ड भन्दा तीन गुणा बढी प्रभाव पर्ने छन्। जस्तो १ चम्चा neonicotinoids ले १,२५०,०००,००० मौरीहरुको मृत्यको लागि प्रशस्त हुन्छ। बीजको संरक्षणको लागि प्रयोगमा आउने यस्ता विषादीहरु वनस्पतिहरूले सजिलै ग्रहण गर्छन्। ती रसायनहरू सजिलै वनस्पतिको फूल, पराग र पुष्परसमा पुग्छन्। त्यसको शोषणले मौरी तुरुन्त मरेन भने पनि उसले आफ्नो गोलालाई पनि असर पुर्याउँछ।

महशिकार

मौरीको विनासको अर्को कारण विनाशकारी मह शिकार हो जसमा मह काड्नेले मह भएको भाग मात्र होइन पुरै चाका नै नष्ट गर्छन्, जसमा मौरीका बच्चाहरु पनि रहेका हुन्छन्। यसले जङ्गली मौरीको जनसङ्ख्या तीव्र दवाव परिरहेको छ। नेपालको हिमाली पहाडी भेगमा रहेका भीर मौरी (Apis laboriosa), ठूलो वन मौरी (Apis dorsata) र कठ्यौरी (Apis florea) छन्। यसरी अवैज्ञानिक ढङ्गले मह काड्दा रानी मौरी नै पनि मर्छ अनि पूरै समूह अस्तव्यस्त हुन्छ। समूहको विभाजनको लागि हुर्किंदै गरेका रानी बच्चा पनि नासिन्छन्। यसले मौरीको समूह विस्तारमा मात्र होइन, पुरै व्यवस्थामा असन्तुलन ल्याउँछ। अझ रातमा गरिने मौरी शिकार जसमा आगो, विषालु रसायन आदिले पार्ने गम्भीर प्रभाव छँदैछ।

अंगीकृत मौरीहरूको बढ्दो प्रभाव

केही किसानहरू जसले एसियाली रैथाने मौरीको (Apis cerana) को व्यावसायिक पालन गरिरहेका छन्, उनीहरुले आफ्नो अनुभवमा युरोपेली मौरी (Apis mellifera) पनि सङ्गै पाल्दा त्यसले Apis cerana लाई गम्भीर प्रभाव पारेको सुनाएका छन्। उनीहरूको विचारमा Apis cerana ले Apis mellifera सँग प्रतिस्पर्धा गर्न नसकेको उनीहरूले आफ्नो अनुभव बताएका थिए। यसको बारेमा विस्तृत अनुसन्धान गर्नुपर्ने आवश्यकता छ। महमौरी मात्र नभई यी माथि उल्लेखित कारणहरूले अन्य जाति प्रजातिका मौरी र भमराहरु पनि उत्तिकै प्रभावित छन्।

एसियामा धेरै अध्ययन नगरिएको भए पनि युरोपमा गरिएका अध्ययनले त्यहाँ रहेका ८०० भन्दा बढी जङ्गली मौरीको प्रजातिहरूमा १३ वटा विलुप्त भइसके भने International Union for Conservation of Nature (IUCN) ले ७ वटा एकदमै गम्भीर, ४६ वटा खतरामा, २४ असुरक्षित र १०१ पनि समस्याग्रस्तको सूचीमा राखेको छ। उसका अनुसार गत १० वर्षमा मौरीको संख्यामा ३०% को गिरावट र ९७% घाँसे मैदानहरु नष्ट भएका छन्।

अमेरिकाले २०१७ मा इतिहासमै पहिलो पटक Bumblebee (Bombus affinis) लाई अति खतराको सूचीमा राखेको छ। ३१ वटा राज्य र क्यानाडामा पाइने भनिएको यो मौरी (भमरा) पछि १३ वटा राज्यमा मात्र फेला पारिए र अध्ययनले यसको संख्यामा ८८% सम्मको गिरावट देखिएको थियो। अमेरिकी किसानहरूले २०१८ मा झण्डै ४१% मौरीको जनसङ्ख्या गिरावट अनुमान गरेका थिए। त्यसैले मौरीहरूको यो जटिल तथा गम्भीर अवस्था विश्वव्यापी रुपमै देखिएको छ।

प्रभाव

मौरीहरूको सङ्ख्या यसरी घट्दै जानुले प्राणी र वनस्पति दुवैको विविधता र जनसङ्ख्यालाई धेरै गम्भीर प्रभाव पार्छन्। हामीलाई स्पष्ट थाहा छ कि मानिसले उपभोग गर्ने जति पनि वनस्पति र वनस्पतिजन्य पदार्थ छन् ती वनस्पतिहरू मध्ये ८४% वनस्पतिहरूको परागसेचन मौरीले गर्छन्। यसलाई हेर्ने हो भने मौरीले प्रत्यक्ष रुपमा २३५ – ५७७ बिलियन अमेरिकी डलर बराबरको खाद्य उत्पादन हुन आउँछ। अझ फलफूल र तरकारीहरू विषेशगरी मौरीबाट नै परागसेचन गरिएका हुन्छन्। मानव मात्र होइन अरु घरपालुवा हुन् या उद्योगमा पालिएका जनावर या जङ्गली जनावरहरूको खाद्य व्यवस्थामा पनि मौरीको योगदान उत्तिकै हुन्छ। किनकि वनस्पति र प्राणी जगत धेरै गहन र अटुट खाद्य शृङ्खलामा बाँधिएको छ।

के गर्न सकिन्छ त?

मानिसले अब बुझ्नु पर्ने भइसकेको छ, मौरी जोगाउनु भनेको ऊ आफैँ भोकै नमर्नु हो। मौरीको सङ्ख्या यसरी नै घट्दै जाने हो भने विश्वव्यापी भोकमरी धेरै टाढा छैन। त्यसैले जलवायु परिवर्तनका प्रभावहरू न्यूनीकरण गर्ने उपायहरूसहित केही प्रत्यक्ष हस्तक्षेपकारी कार्यहरूको पनि आवश्यकता छ।

हाम्रो वन सम्पदाको गुणस्तर र परिमाण दुवै बढाउनेतर्फ ठोस कदम चाल्नु पर्छ। विस्तृत खेतीमा एकै जातका वनस्पतिहरू अत्यधिक लगाउँदा हुने असन्तुलनलाई अब घटाउनु पर्छ। त्यसैले वनस्पतिहरूको सन्तुलित मिश्रणतिर वैज्ञानिक अध्ययन अनुसन्धान गरी ठोस कदम चाल्नु पर्ने आवश्यकता छ।

कृषिमा प्रयोग हुने दुवै Contact र Systemic विषादीको प्रयोग अब घटाउनेतिर ठोस कदम चाल्नु पर्ने तीव्र आवश्यकता छ। मौरीहरुको संख्यामा सबैभन्दा बढी प्रभाव यसैको छ भन्नेमा अत्युक्ति छैन। GMO वनस्पतिहरू उत्पादन गर्नेहरूले यस वनस्पतिमा विषादी प्रयोग गर्नु नपर्ने दाबी गरे पनि अमेरिकी अध्ययनहरूले त्यसलाई अस्वीकार गरेका छन्। त्यसैले यस्ता विषहरुको प्रयोग नै न्यून गर्नुपर्ने आवश्यकता छ।
मह शिकारलाई नियन्त्रण गर्नु नै जङ्गली मौरीहरूको संरक्षणको प्रमुख उपाय हो। दिगो मह शिकार गर्ने विधिहरू मह शिकारीहरुलाई सिकाउनु पर्ने जरुरी देखिन्छ ताकि उनीहरूले मह काड्दा बच्चाहरु रहेको भागको संरक्षण गरुन्। मह शिकार गर्दा आगो, विषालु रसायनहरुको प्रयोग न्यूनीकरण गर्न उचित तरिका र यन्त्रहरू उपलब्ध गराउनेतिर सरकारी स्तरबाटै ध्यान दिनुपर्ने देखिन्छ।

अंगीकृत प्रजातिहरूको रैथाने प्रजाति माथिको प्रभावलाई बेलैमा अध्ययन गरेर त्यसलाई कसरी न्यूनीकरण गरी दिगो मौरी विकास गर्ने त्यसको उचित योजना सरकारी तवरबाटै बन्नुपर्ने आवश्यकता देखिन्छ।
मौरी लगायत पुतली कीटपतङ्गहरुको वातावरणीय चक्रमा रहेको महत्त्वलाई बाल मस्तिष्कदेखि नै सिकाउन सकियो भने अब आउने पुस्ताले मौरी संरक्षणमा ठूलो योगदान दिन सक्छ। जति पनि वेवास्ता हामी पर्यावरणीय चक्रप्रति देखाउँछौं त्यो अज्ञानताकै कारण हो भन्नेमा अत्युक्ति छैन। त्यसैले वातावरणीय शिक्षालाई महत्त्वका साथ घर-घरमा पुर्याउनु अहिलेको प्रमुख आवश्यकता हो।