कोही नझुक्किनुहोस् –
मुड्खुमा प्रेम लुकेको छ ।
जब कालोपत्रे छोडेर उक्लिनु हुन्छ माथि माथि
कुमारी बतासले स्पर्श गरिहन्छ
कान्लाभरि टुसाएका काली निहुरोहरूले
टाउको निहुराएर स्वागत् गर्छन्
सानो गोरेटोले घुमाउँदै लैजान्छ – गाउँका अवयवहरू
रूखहरूले साउती मारिरहन्छन् जो कसैलाई पनि ।
कोही नझुक्किनुहोस् –
मुड्खुमा प्रेम लुकेको छ ।
नशाझैँ सल्बलाएका छन्
पानी बोक्ने पाइपहरू मुड्खुमा
क्षणक्षणमा पानी र मुड्खुको सम्बन्ध टुक्रिरहन्छ
तर पाहुनालाई प्यासी राख्दैन मुड्खु
पोखरीडाँडा होस् वा बतासेडाँडा
वर पिपलको पवित्र हावाले सुम्सुमाइरहन्छ
बाटोभरि फिँजारिएका छन् पातहरू
कस्सम !
यही पातहरूमा प्रेम पोखिरहन्छ मुड्खु ।
हो, बाँदरहरू छन् मुड्खुमा
तर यही बाँदरलाई अनुशासन सिकाउनेहरू पनि छन् मुड्खुमा
हो, बरालिएकाहरू बरालिन पनि आउँछन् मुड्खुमा
तर यहीँ श्रम गर्दै सीप सिकाउने समूहहरू पनि छन्
एकनासले चियाइरहन्छ काठमाडौँको गन्जागोललाई मुड्खु
अनि आफ्नै गन्जागोललाई उधारिरहन्छ ।
कोही नझुक्किनुहोस् –
मुड्खुमा अर्गानिक प्रेम पाइन्छ ।
(* मुड्खु = काठमाडौ नयाँ बसपार्कबाट ४.५ किलोमिटर उत्तरमा रहेको पवित्र गाउँ हो, जहाँ आचार्य दीक्षितहरूको थाक्थलो छ ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।