कतिपयले भने—इकोलोजी विज्ञानको विषय हो, वातावरणविद् विज्ञानीबाहेक यसमा अरुको काम छैन। वास्तवमा, पर्यावरण भनेको जीव मात्रले स्वास फेर्ने वायुजस्तो सर्वव्यापी तत्त्व हो। यसमा हरेक व्यक्तिको समान अधिकार छ; कर्तव्य र दायित्व पनि कसैको कम छैन। त्यसैले यो विषयलाई शिक्षानुष्ठानहरुले पाठ्यक्रममा अन्तर्भूक्त गरेका छन् भने कलाकार, लेखकहरुले पनि आफ्ना सिर्जनामा समेटेका छन्। वातावरणलाई मुख्य विषय बनाएर लेखिएको परिवृत्तीय साहित्य अहिले खुबै महत्त्वपूर्ण भएको छ। पर्यावरण चेतना हाम्रो साहित्यमा पहिले नभएको होइन, हाम्रा ऋषिमुनिहरुले द्यौशान्तिरापशान्तिरोषधय शान्ति भनेकै हुन्। लेखनाथ पौडेलको तरुण तपसी (नव्यकाव्य) परिवृत्तीय साहित्य कै नमुना हो। चरीले छादेको रगतको थोपामा सिङ्गो पृथ्वी नै डुबेको देख्ने कवि लेखनाथलाई श्रेष्ठ नेपाली इको-कवि भन्न सकिन्छ। मान्छेले गरेको अविवेकी कर्मले पर्यावरणको सन्तुलन बिग्रिँदै खतराको तहमा पुगेपछि परिवृत्तीय सिद्धान्त विकसित भयो। सैद्धान्तिक रुपमा पश्चिमेली जगतमा यो चेतना 1960 को दशकदेखि विकसित भएको हो। यसमा परिवृत्तीय विज्ञानको आधारमा साहित्य सिर्जना र समालोचना गरिन्छ। इकोलोजी (जर्मन okologie) शब्द सर्वप्रथम जर्मन विज्ञानी अर्नेस्ट हेकेलले प्रयोग गरेका हुन भने जर्जिया विश्वविद्यालयका प्रोफेसर इउजिन ओडम (1913-2002)लाई इकोलोजीका जनक मानिन्छ।
सन् 1992 मा अमेरिकामा स्थापित द एसोसिएसन फर द स्टडी अफ लिट्रेचर एन्ड एन्भायोमेन्ट नामको संस्थाले निकै काम गरेको छ। भारतको उत्तराखण्ड अञ्चलमा सन 1973 मा ख्यातिप्राप्त गान्धीवादी नेता सुन्दरलाल बहुगुनाको नेतृत्वमा छेडिएको ‘चिपको आन्दोलन’ सारा विश्वको दृष्टि आकर्षण गरेको थियो। असम राज्यको माजुली टापुमा यादव पायेङ(1963-) नाम गरेका एकजना फरेस्टरले अरण्यको संरक्षणमा समर्पित भएर ‘अरण्य मानव’ आख्या पाएका छन्। उऩले आफ्नो निवासको छेउछाउमा रुख रोपेर कृत्रिम अरण्यको सृष्टि गरेका छन। यसरी कतै व्यक्तिगत कतै संस्थागत रुपमा पर्यावरण सुरक्षाका काम हुँदै छन् ।
समसामयिक विश्वसाहित्यमा परिवृत्तीय साहित्य सिर्जनाको महत्त्व बढेको छ। रचेल कार्सनको द साइलेन्ट स्प्रिङ इकोलोजीको विज्ञानलाई ध्यानमा राखेर लेखिएको साहित्यको पहिलो दृष्टान्त कथा हो। सन 1962 मा प्रकाशित कार्सनको यस कृतिले परिवृत्तीय लेखनको इतिहासमा ठूलो परिवर्तन ल्यायो। कीटनाशकको अत्यधिक प्रयोगले पर्यावरणमा प्रतिकूल असर पर्छ भन्ने कुरा यस ग्रन्थमा उल्लेख गरिएको छ। मलेरिया निर्मूल गर्न व्यापक रुपमा डिडिटीको प्रयोग गर्नाले वनस्पति र प्राणीजगत सखाप हुनसक्छ भन्ने चेतावनी एउटा मिथकको माध्यममा दिइएको छ। रेमन्ड विलियम्सको द कन्ट्री एन्ड द सिटी शीर्षकको ग्रन्थमा उद्योगीकरणका कारणले इङ्लैन्डको जनजीवनमा आएका सामाजिक, अर्थनैतिक र सांस्कृतिक परिवर्तनको चर्चा गरिएको छ। पर्यावरणमा पनि यसको नकारात्मक प्रभाव परेको स्पष्ट छ। अर्को सन् 2003 मा नोबेल पुरस्कारले सम्मानित ग्रन्थ छ, जे. एम कोत्जीको ‘डिस्ग्रेस’ । 1999 मा प्रकाशित यस उपन्यासमा लैङ्गीक र नृगोष्ठीय हिंसामाथि प्रकाश पारिएको छ। जीवजन्तुको अधिकारका विषयमा पनि कोत्जीले वकालत गरेका छन्। इन्द्र सिन्हाको बहुचर्चित उपन्यास ‘एनिमेल्स पिपुल’ भारतको भोपालमा भएको ग्यास त्रासदिमा आधारित छ। सन् 1984 को 2-3 दिसम्बरमा भोपालको युनियन कार्बाइड इन्डिया लिमिटेडको कीटनाशक उद्योगबाट विषाक्त ग्यास निर्गत हुनाले हजारौं जीवकुलको मृत्यु भयो, बाँचेका कति पङ्गु भएका थिए। यो पर्यावरण विनाशकारी भयङ्कर दुर्घटना थियो। यस उपन्यासमा चार पाउका भरमा पशुसरह हिँड्न बाध्य भएको किशोरको करुण कथा छ। उसैगरी रिचर्ड पवार्सको ओभरस्टोरी परिवृत्तीय मूल बनाइएको एक उत्कृष्ट उपन्यास हो। युक्रेनको चेर्नोबिलमा 1986 मा घटित न्युक्लियर विस्फोटको आधारमा अमेरिकी सिने डाइरेक्टर क्रेग मेजिनले ‘चोर्नोबिल’ भन्ने पटकथा लेखेका छन्। अंग्रेजी लगायत अन्य विकसित भाषाहरुमा परिवृत्तीय साहित्यका अनगिन्ती ग्रन्थ रचिएका छन्। नेपाली भाषामा केही फुटकर रचना प्रकाशित नभएका होइनन् तर पुस्तकाकारमा भने कृतिको संख्या नगण्य छ।
नेपाली साहित्यमा यस सिद्धान्तलाई भित्र्याउने र यस सिद्धान्तको आधारमा कृतिको समीक्षा गर्ने र यसको विकासमा निरन्तर लागिपरेका समालोचक डा. गोविन्दराज भट्टराई हुन्। उनको उत्तरआधुनिक विमर्श शीर्षकको ग्रन्थमा एउटा सिङ्गो अध्याय नै परिवृत्तीय साहित्य र समालोचनामा केन्द्रित रहेको छ। उसैगरी उनको निबन्ध संग्रह ‘मिर्मिरेमा दस पाइला’मा समेटिएका दशवटा निबन्ध पर्यावरणका दृष्टिले महत्त्वपूर्ण छन्। अमर नेम्बाङको सम्झनाका तरेलीहरु (संस्मरण संकलन) नेपाली परिवृत्तीय साहित्यको उत्कृष्ट कृति हो। यसमा मौसम परिवर्तन गर्दा उब्जाउ खेतहरु मरुभूमिमा परिवर्तन भएको, बाढी, पहिरो र त्यसका भयङ्कर परिणाम अनिकाल, भोकमरी आदि समस्याको उल्लेख पाइन्छ। हामीले वातावरण सन्तुलनलाई भत्काउँदै गयौँ भने त्यसको भयङ्कर परिणाम हुने चेतावनी भन्न सकिन्छ। लेखक नेम्बाङ वनस्पतिसँग सम्वाद गर्दछन्। ग्रन्थमा पशुप्राणी, माटो, हावा, पानी आदि प्रकृतिका सबै तत्त्वहरु प्रेमपूर्ण छन्। मान्छेको छल-कपट र विश्वासघाती चरित्रलाई समेत लेखकले उदाङ्गो पारेका छन्। मान्छे चरा-चुरुङ्गी, नदी-पहाड आदिलाई लिएर सुन्दर कविता लेख्छ तर व्यवहारमा उल्टो छ। ध्रुवचन्द्र गौतमको जेलिएको (उपन्यास), सञ्जय वान्तवाको त्यो गाउँमा-त्यो बस्तीमा (कविता संकलन), अविनाश श्रेष्ठको करोडौं सूर्यहरुको अन्धकार, मनप्रसाद सुब्बाको आदिम बस्ती, राजेन्द्र भण्डारीको क्षर अक्षर आदि कृतिलाई नेपाली पर्यावरण साहित्यका उदाहरणका रुपमा लिन सकिन्छ।
पर्यावरण विज्ञानमा स्नातकोत्तरको डिग्री हासिल गरेर पर्यावरण विशेषज्ञका रुपमा लन्डनमा कार्यरत विजय हितान इकोराइटिङमा समर्पित सर्जक हुन्। उनका कृतिहरुमा थकित पृथ्वी (कथा संग्रह) र वाग्मती ब्लुज (कविता संग्रह) परिवृत्तीय सिर्जनाका नमुना हुन। इ-पत्रिकामा प्रकाशित हितानको वुहान, कोरोना र ब्लु प्लानेट शीर्षकको कथालाई नेपाली भाषाको परिवृत्तीय थिमको दृष्टान्त आख्यान मान्न सकिन्छ। विगतका केही वर्षदेखि 5 र 6 जूनका दिन हितानको अगुवाईमा विश्व पर्यावरण दिवसमा नेपाली साहित्य संगोष्ठीको आयोजन गरिन्छ। गत वर्ष (2020) का जसरी यो वर्ष पनि पर्यावरण एक्टिभिस्ट उऩै विजय हितानको संयोजनमा लन्डनबाट भर्चुअल संगोष्ठी हुने अनि त्यस दिन स्वच्छन्द सुसेलीहरु-2 (पर्यावरण कविता सङ्कलन) र असमका कवि डा. देवेन सापकोटाको पर्यावरण थिममा रचित कविताहरुको सँगालो परिश्रान्त पृथ्वीको लोकार्पण हुने जानकारी पाइएको छ। यी दुवै कृतिले नेपाली पर्यावरण काव्य साहित्यको घडेरी दर्बिलो पार्नेछन्, त्यसमा कुनै शङ्का छैन।
मान्छे जीवश्रेष्ठ प्राणी हो। जीवश्रेष्ठ भनेको अरु जीवहरुको हक खोसेर उनीहरुलाई अत्याचार गरेर मौज गर्नु होइन। जीव होस वा जड, पृथ्वीका सबै तत्त्वहरुको संरक्षण गर्नु जीवश्रेष्ठ प्राणी हुनाको नाताले मान्छेको परम कर्तव्य हो। तर अविवेकी मान्छेले आफ्नो भौतिक सुखसुविधाका लागि विज्ञान र प्रयुक्तिको नाममा नाना थरिका सङ्कटलाई निम्त्याएको छ। ओजन लेयरमा ठुला ठुला प्वाल पर्नाले त्यसबाट सूर्यको विनाशकारी आल्ट्राभायोलेट रश्मि छिरेर पृथ्वीको जीवजगतलाई खतरामा पारेको छ भने ग्लोबल वार्मिङले गर्दा मेरुप्रदेशको हिउँ पग्लेर सबै जलमग्न हुने डर छ। मान्छेको भौतिक सुख र चाहनाले पृथ्वीलाई नै विध्वस्त पार्ने डरले त्रस्त छन् सबै। अक्सफोर्ड युनभर्सिटीबाट विद्यावारिधि गरेका जेरुसलेमको हिब्रु विश्वविद्यालयका प्रोफेसर तथा लेखक नोवाल हरारीले उनको सेपिएन्स भन्ने ग्रन्थमा मान्छेले आफ्नो भौतिक सुखका लागि पर्यावरणमा आतङ्क मच्चाएको कुरा उल्लेख गरेका छन्। यतिखेर ग्रेटा थनबर्ग नामकी किशोरी पर्यावरण एक्टिभिस्ट सारा विश्वको दृष्टि आकर्षण गर्न सफल भएकी छन्। उनी राष्ट्रसंघको वातावरण कन्फरेन्समा भाग लिन इंग्लैन्डदेखि पानीजहाजमा चौध दिनको यात्रा गरी न्युयोर्क पुगेकी थिइन्। उनले विकसित राष्ट्रका टाउकेहरुलाई हाउ डेयर यु…. भनेर ललकारेकी छन्।
इकोलोजी भन्नाले वनस्पति र प्राणीबीच प्राकृतिक रुपले रहने अन्योन्याश्रित सम्बन्धलाई बुझाउँछ। इकोलोजीले प्राणी, वनस्पति, भूगर्भ र मौसमको प्राकृतिक तालमेलको विज्ञानलाई अध्ययन गर्दछ अनि त्यो प्राकृतिक तालमेल यथावत राख्ने प्रयत्न गर्दछ।
प्राकृतिक स्रोतलाई रित्याउने गरी अत्यधिक उपभोग गर्नु, रित्तिने गरी माछा मार्नु, जङ्गलका चरा मारेर सिध्याउनु, पशुप्राणीको सिकार गर्नु, खानि खन्दै पहिरो लडाउनु, जङ्गललाई साफ गर्नु—गम्भीर चिन्ताका विषय हुन। पशुपालनका परम्परित विधि हराएपछि, कृषिमा नयाँ प्रविधिले प्रवेश गरेपछि धेरै नोक्सान हुन थालेको छ। भारतको धनवादस्थित चासनाला कोइला खानीको दुर्घटना (1975), भोपाल ग्यास विपद् (1984), युक्रेनको चेर्नोबिलमा 1986 मा घटित न्युक्लियर बिस्फोट, अस्ट्रेलियाको जङ्गलमा भएको आगलागी, असमको बाघजानमा भर्खरै हुनगएको ग्यास लिक(2020) तथा आगलागी र यस प्रकारका अरु धेरै मान्छेको गैरजिम्मेदारी र लापर्वाहीले गर्दा घटित दुर्घटनाहरुले पर्यावरणमा ठूलो क्षति पुर्याएका छन्। यी कुराको विरोध गर्नु वा रोक्नु नै पर्यावरणवादको अभीष्ट लक्ष्य हो। परिवृत्तीय साहित्यमा र तिनको समालोचनामा तिनै कुरा हुन्छन भनेर भट्टराईले विषयलाई छर्लङ्ग पारेका छन् । फेरि इकोराइटिङलाई छ वटा दृष्टिकोणले हेरिन्छ भन्ने कुरा पनि भट्टराईको ग्रन्थमा उल्लेख छ। ती हुन—
1. इकोलोजी। यसमा इकोसिस्टम, इकोलोजिकल निस र फुड चेनका हाँगा छन्।
2. मानवकेन्द्री तथा पर्यावरणकेन्द्री
3. इकोफेमिनिजम
4. प्रकृतिको महत्त्व
5. ग्राम्यता र अप्रदूषित परिवेश र
6. रोमान्टिकता
इकोकृटिसिजमको दृष्टिले कृतिलाई मूल्याङ्कन गर्न खोज्ने आजको समालोचकले उल्लेखित बुँदाहरु बुझेको हुनु पर्दछ।
परिवृत्तीय समालोचना र यसका आधार
विज्ञानको सहारा लिएर पृथ्वीलाई नष्ट गर्ने काममा मानिस लागेको लाग्यै छ। त्यस कार्यको विरोधमा लेखिएको साहित्य नै पर्यावरण साहित्य हो। यस्तो प्रकारको लेखनलाई इकोक्रिटिसिज्मले मात्र मूल्याङ्कन गर्न सक्तछ। कथा, कविता, निबन्ध, नाटक आदि शून्यमा लेखिँदैनन्। कुनै ठाउँ, त्यसको प्रकृति, भूगोल, इतिहास संस्कृति आदि तत्त्वहरुले व्यक्तिको दिमागमा क्रिया गरिरहेका हुन्छन् अति ती सबै कुरा लेखकको सिर्जनामा आउँछन्।
लरेन्स बुयल (1939– ) पारिस्थितिक समालोचनाका अग्रदूत हुन्। उनको द इन्भाइरोमेन्टल इमाजिनेसन (1995) कृति परिवृत्तीय समालोचनाको महत्त्वपूर्ण मानक ग्रन्थ हो। यस ग्रन्थमा बुयलले केही महत्त्वपूर्ण कुराको उठान गरेका छन् । ती हुन्ः
1. मानवेत्तर वातावरण भनेको एक प्रकारको सीमाक्षेत्र मात्र होइन, तर यो एउटा यस्तो उपस्थिति हो जसले बताउँछ—प्रकृतिको इतिहासभित्रै मानवइतिहास अन्तर्निहित वा निर्मित छ। मानव र मानवेतरको कुनै भेद हुँदैन।
2. मानवको इच्छामात्र अन्तिम र वैध इच्छा हो भन्ने ठान्नु हुँदैन।
3. वातावरणप्रति मानिसको उत्तरदायित्व भन्नु नै उसका कृतिभित्र आउनुपर्ने नैतिक दायित्वबोध हो।
4. वातावरण भनेको मानवलाई दान गरिएको कुनै वस्तु होइन, यो एउटा परिवर्तनशील, कमजोर र सधैं संरक्षण चाहने प्रक्रिया (अस्तित्व ) हो।
यी कुरालाई अनुधावन गरेपछि मानिस उसका पहिलेका अविवेकी कर्मदेखि तर्सिन्छ र आफ्नो मूर्खताका लागि पश्चाताप गर्छ। योग्यभोग्या वसुन्धरा भनेर धरालाई बलात्कार गर्न खोज्नेलाई पनि बाधा दिन्छ। यसरी ऊ जिम्मेदारीपूर्ण आचरण गरेर सही अर्थमा जीवश्रेष्ठ बन्न सक्तछ। परम्परित शास्त्र रटेको समालोचकले नयाँ कुराहरु देख्तैन, देखे पनि बुझ्दैन। अबको समालोचकले इकोप्रति लेखक सजग छ कि छैन, उसको कृतिमा कुन तरिकाले इकोलोजीलाई प्रस्तुत गरेको छ ती कुराहरुलाई हेर्नु पर्दछ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।