१.
पृथिवीवाद
मियोमा अन्योल खडा छ
पर्यावरणीय समाचारहरूका ठेलमठेल झेल्दै
मेरो पृथिवी।
फोहोरको भारी बोकी हिँडेको धेरै भो उसले
च्यात्तिन लागेछन् आङ्का वस्त्रहरू पनि
अझै कति बोक्नु छ उसले यो भारी ?
कति टाढासम्म?
कति नाङ्गीनु छ उसले अझै?
धेरै आशावादी थियो ऊ
आइपिसिसी1 अनि अल्बर्ट गोरले2 घन्टी बजाउँदा,
सन् 2007 मै
नोबेल पुरस्कार जितेर
सबैको आँखा उघ्रे जस्तो लागेको थियो उसलाई।
तर भुस्निद्रामै सुतिरहे सब
ग्रेटा थनवर्गले४ विश्वका देशाधीषहरूलाई
राता आँखा नपल्टाई भएन एघार वर्षपछि
संयुक्त राष्ट्रको जलवायु परिवर्तन अधिवेशनमा
‘कसरी आँट गरेऊ’ भनी औँला ठड्याउँदै।
पहिरो लाग्छ, बाढ खनिन्छ, सुनामी उर्लिन्छ,
महामारी फैलिन्छ, चक्रवात घुम्छ, ग्लेसियर फुट्छ
निरन्तर
तर
सीमित रहन्छ यिनको चर्चा
टिभी पर्दामा, अखवार या शोधपत्रमा
अल्पिन्छन् चिया गफे बाफका साथसाथै
अनुसोचना देखाए जस्तो गर्छन् मानिसहरू
प्रत्येक दुर्घटनाको लगत्तै पछि
तर
मसान वैराग्यमा3 पो रहेछन् उनीहरू त!
त्यसैले
दुःखी छ आज पृथिवी
आफ्नै सन्तानहरूसँग
के सबै पर्खिरहेका छन् महाप्रलय आउनलाई
केही नबुझेको जस्तो स्वाङ पारी ?
…….
1 आईपिसिसि = IPCC, The Intergovernmental Panel on Climate Change, विज्ञान सम्बन्धित जलवायु परिवर्तनको मूल्याङ्कन गर्ने संयुक्त राष्ट्र सङ्घको एक अङ्ग।
2 अल्बर्ट गोर = अमेरिकाका भूतपूर्व उपराष्ट्रपति (१९९३- २००१)
3 मसान वैराग्य = मसानमा गएका बेलामा आफूले गरेका दुष्कर्म सोचेर मनमा सृष्टि भएको अनुभव जुनचाहिँ भुलिन्छ बाहिर निस्केपछि, बिस्तारै।
४ ग्रेटा थुनबार्ग = एक स्विडेनी पर्यावरणीय कार्यकर्ता, जसले अन्तर्राष्ट्रिय रूपमा विश्वव्यापी नेताहरुलाई जलवायु परिवर्तनको विरूद्ध तुरुन्त कारबाही गर्न चुनौती दिएकी छन्। यो कविता उनलाई नै समर्पित ।
२.
प्वाल परेको छाता
खुसीको सास फेर्दै घर फर्के चेतनारायण
सिएको छाता बोकी
“अहो, कति राम्रो सिउनु भएछ हाम्रो छाता”
भुडुक्क छाता उघार्दै
उफ्र्यो नाति, बुर्कुसी खेल्दै
घुमाउँदै छाता फिरिरी
“डढ्नु, भिज्नु पर्ने थिएन होला मैले
बेलैमा यसलाई टालेको भए”….
सुस्केरा हाल्छन् चेतनारायण, अनायासै।
..
भावुक बन्छ नाति….
“हाम्रो पृथ्वीले पनि
ओजोन ग्यासको छाता ओढेको छ अरे,
बादलपारि अनि अकाशतल
तर छिंडैछिंड परेको छ अरे त्यहाँ
तिनै प्वालबाट
सूर्यको पराबैगुनी रश्मि छिरी
हानि गर्दै छ रे यो सारा विश्वलाई
…हाम्री गुरुआमाले बुझाउनु भएको, स्कुलमा
पृथ्वीलाई पनि पीडा भएको छ होला
हजुरलाई भए जसरी नै।
के ती दुलालाई मर्मत गर्न सकिँदैन, बाजे?
यो छाता टाले जसरी नै”?
सुमसुम्याउँछ नाति सिएको ठाउँमा
उसका सुकोमल औँला डुलाउँदै।
(ओजोनका प्वाललाई सियो धागो जसरी टाल्न सकिंदैन, नातिले विज्ञान पढेको छ।)
“निश्चय सकिन्छ नाति
मानिसले
एयर कन्डिसनर र गाडीको प्रयोग कम गरेर
चाहिने खाद्य, फलफूल आफैँ उब्जाएर
वृक्षारोपण गरेर ।”
..
केही क्षण घोरियो नाति
अनि उत्साही बन्दै
लिई कोदालो, थुर्पी साथमा
डोहोर्याउँदै लग्यो हजुरबालाई
बारीका कान्लातिर।
पृथ्वीलाई अझ हरियो बनाउन
ओजनको प्रकोप केही थोर पार्न।
पराबैगुनी= ultraviolet
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।