साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

वातावरण साहित्य: आजको आवश्यकता

१. पृष्ठभूमि
साहित्यका थुप्रै पाटा हुन्छन्, तीमध्ये वातावरण साहित्य पनि एक हो । यसलाई अङ्ग्रेजीमा ‘इको लिटरेचर’ भनिन्छ । नेपाली साहित्यमा प्राय:जसो सामाजिक तथा राजनैतिक जस्ता मानवकेन्द्रित परिवेशका विषयवस्तुको मात्रै चर्चा गरेको पाइन्छ तर वातावरण सम्बन्धी कथावस्तुलाई खासै महत्त्व दिइएको हुँदैन । यद्यपि वातावरण साहित्यले सिङ्गो पृथ्वी र पृथ्वीमा रहेका हरेक वस्तु (सजीव तथा निर्जीव) र तिनीहरुको अन्तरसम्बन्धको व्याख्या गर्ने गर्दछ ।

विजय हितान (बेलायत)

नेपाली साहित्यमा प्राकृतिक सुन्दरताको वर्णन खुबै गरिएको पाइन्छ । यो वातावरण साहित्यको एक सोनो अङ्श मात्रै हो । जसरी हाम्रो परम्परागत साहित्यले मानव सभ्यता विकासमा ठुलो योगदान पुर्याआएको छ, त्यसरी नै वातावरण साहित्यले वातावरणीय क्षयबाट मानव अस्तित्व जोगाइराख्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । त्यसैले अब वातावरण साहित्यको विरुवा रोपेर मलजल गर्दै झाङ्गिलो वृक्ष बनाउन पर्ने आजका साहित्यकारहरुको दायित्व भएको छ । तर साहित्यको यस नवीनतम फाँटमा शयर गर्नुअघि वातावरण के हो बुझ्न आवश्यक छ ।

२. विषय प्रवेश: वातावरण र यसको वर्तमान अवस्था
वातावरणका प्रमुख तत्त्वहरु वायुमन्डल, जमिन र पानी हुन् । यिनैमा मानव, वन्यजन्तु र बोटबिरुवाको जीवन निर्भर गर्दछ । वातावरण, वन्यजन्तु, र वनस्पति मानिसका लागि प्राकृतिक स्रोत साधन हुन्, जोसँग मानिसले अन्तरसम्बन्ध राख्दै सर्वश्रेष्ठ जीवन बाँच्दै आएको छ । प्राकृतिक स्रोतलाई मानिसले अतिक्रमण र जथाभावी उपभोग गर्दै गरेको छ । मानवको सेवामा सधैं उपलब्ध यी स्रोतहरुको नवीकरण आफैँ हुने गर्दछ । उदाहरणका लागि पिउने पानी पँधेरामा आफैँ उम्रन्छ, माटोलाई उर्वरा राखिराख्ने गँडेउला जमिनमुनि आफैँ सलबलाउँछन् । तर मान्छेले कदापि भुल्न भएन कि तिनीहरु असीमित छैनन् । कुनै दिन रित्तिन सक्छन् ।

मानवीय अस्तित्व जोगाइराख्न स्वस्थ पृथ्वीको खाँचो परिरहन्छ । आजको अति विकसित भौतिक युगमा यस तथ्यलाई बिर्सिन खोजिएको पो हो कि जस्तो भान हुन्छ । मानिसको स्वार्थनिहीत क्रियाकलापले प्रकृतिको सन्तुलन गुम्न लागेको छ । जमिनमुनिबाट जलभन्डारको मूल फुट्न छोडेको छ भने हिमालमा हिउँको तह पातलिंदै जाँदा नदीहरू सुक्न थालेका छन् । रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले पहाडका पाटा र मधेसका गराको उर्बरा शक्ति घटेको छ । ताल, खोला र समुद्रका माछाको सङ्ख्या घट्दै गएका छन् । बाघ, भालु, गैँडा, चिम्पान्जी, हात्ती जस्ता वन्यजन्तु लोपोन्मुख बनेका छन् । पानी, हावा, र जमिन प्रदूषित बन्दै गएका छन । वायुमन्डल तात्दै गैरहेको छ । भूमध्यरेखीय वनजङ्गल (रेनफोरेस्ट)को विनाश द्रूत गतिमा भैरहेको छ । प्रकृतिमा स्वत: उपलब्ध यार्चागुम्बाजस्ता जडिबुटीहरू बिस्तारै विलिन हुँदै गएका छन् । मुगा-चट्टान (coral reef), जसलाई सागरको रेनफोरेस्ट उपनामले चिनिन्छ, तापक्रम वृद्धि र मानवजन्य प्रदूषणको कारणले दिनानुदिन सखाप हुँदैछ । अन्ततः जैविक विविधतामा ह्रास आइरहेको छ । यी सबै समस्या मानिसले प्रकृतिमाथि गरेको अतिक्रमणको परिणाम भएको वैज्ञानिक बताउँछन् । अन्ततः वातावरणविद्हरू र सबै सचेत व्यक्तिलाई यो एउटा ठुलो चिन्ताको विषय बनेको छ ।

३. वातावरण संरक्षणको गतिविधि
खस्कदो वातावरणीय परिस्थितिलाई सम्बोधन गर्न विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना गरिन्छन् । Earth Hour, जसलाई विश्व वन्यजन्तु संरक्षण कोषले आयोजना गर्दछ, प्रत्येक वर्ष मार्चको अन्तिम शनिबार विश्वभर बेलुका ८:३० – ९:३० सम्म बिजुली बत्ती निभाएर मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघले जुन ५ का दिन विश्व वातावरण दिवस मनाउँदै आइरहेको छ । यस दिन वृक्षारोपण तथा चेतनामूलक सम्मेलनहरु गरेर मानिसको बानीब्यहोरा र उत्पादनका प्रक्रिया वातावरणमैत्री बनाउन जरुरी छ भन्ने सूचना प्रवाह गर्ने गरिन्छ । त्यसैगरी विश्वका सबै मुलुकलाई आबद्ध गर्दै जलवायु परिवर्तन सम्मेलनको आयोजना गरेर हरित गृह ग्यास न्यूनीकरण गर्ने उपायको बारेमा छलफल गरिन्छ । अनि जलवायु परिवर्तन नियन्त्रणका नियम कानुन तर्जुमा गरेर लागु गराइन्छ । जलवायु परिवर्तनसँग लड्न गरिब राष्ट्रहरुलाई एउटा ठुलो कोष स्थापना गरिनु यी सम्मेलनहरुको आजसम्मकै एक उल्लेखनीय उपलब्धि मान्न सकिन्छ। चीनको पान्डा संरक्षण, विश्वको बाघको सङ्ख्यालाई सन् २०२२ सम्म दोब्बर पार्ने जस्ता अभियान पनि पर्यावरण सुरक्षाका अन्य उदाहरणहरू हुन् ।

नेपालको सन्दर्भमा विश्व वन्यजन्तु संरक्षण कोषले पर्यावरणलाई संरक्षण गर्नमा विशेष भूमिका खेलेको छ । पाटे बाघ र गैंडा चोरी शिकारी रोक्ने प्रयास यसका ज्वलन्त उदाहरण हुन् । राष्ट्रिय निकुन्जहरु खोल्न र तिनको व्यवस्थापनमा यो संस्थाको ठुलो योगदान छ । तराईमा लोपान्मुख गिद्द र राते पान्डा बचावमा यसले अतुलनीय सहयोग प्रदान गरेको छ । दर्जनौँ सरकारी तथा गैरसरकारी संस्थाहरु यसमा सहकार्य गर्दै जुटेका छन् । प्रत्येक सप्ताह गरिने वागमती सरसफाइ एउटा उदाहरणीय कार्यक्रम हो ।

यसमा व्यक्तिगत मानिसहरु पनि लागिपरेका छन्। अमेरिकि पूर्व उपराष्ट्रपति अल गोरले विश्वका सातै महादेश, भूमध्यसागरीय जङ्गल, उत्तरी तथा दक्षिणी दुवै ध्रुव भ्रमण गरेपश्चात An Inconvnient Truth नामक पुस्तक लेखे । केन्याकी पूर्व वातावरण मन्त्री वांगारी माथाएले अफ्रिकी महिलालाई परिचालित गर्दै Greenbelt Movement को नेतृत्व गरिन् । फलस्वरुप दुवैलाई नोवेल शान्ति पुरस्कार प्रदान गरियो । जेन गूड्अलले तान्जानियाको जङ्गलमा वर्षौं चिम्पान्जीसँग बिताएर तिनको व्यवहारको बारेमा अध्यन गरिन् । चिम्पन्जी बचाऊसम्बन्धी दर्जनौँ पुस्तक प्रकाशन गरेकी उनले ‘जेन गूड्अल’ संस्थान स्थापना गरेकी छन् । भारतमा सुरुगरिएको ‘चिप्को अभियान’ ले रुखबिरुवाको संरक्षणमा सहयोग पुर्याउँदै आएको छ। यद्यपि विश्व पर्यावरणको अवस्था दिनानुदिन नाजुक हुँदै गैरहेको छ । यसमा विद्यार्थी, राजनेता, कृषक, व्यावसायी सबैको सहकार्य जरुरी छ । त्यसैगरी साहित्यकारले पनि केही गर्नुपर्ने आवश्यकता देखिन्छ ।

४. वातावरण साहित्यको महत्त्व
वैज्ञानिकले विज्ञानका सत्य तत्थ्य पत्ता लगाएका छन् । वातावरणविद्ले तिनलाई कार्यान्वयन गर्ने प्रयास गरेका छन् । साहित्यकारले पनि यस विषयमा कलम चलाएर समाजमा जनचेतना फैलाउने कार्य गर्न सक्छन् । कलम शक्तिवान् हुन्छ । समाजमा ठुलाठुला परिवर्तन गराउनमा यसको ठुलो हात हुन्छ । साहित्यको सहायताले निरङ्कुस शासन पल्टेको; छुवाछुत, रङभेदजस्ता सामाजिक कुरीति र भेदभावलाई निमिट्यान्न पारिएको त सबैलाई विदितै छ । अब इको साहित्यको माध्यमबाट पनि पर्यावरणीय समस्या जनतामाझ लग्ने, मानिसको क्रियाकलाप वातावरणमैत्री बनाउने र यस हराभरा पृथ्वीलाई हाम्रा सन्ततिमाझ जस्ताको तस्तै हस्तान्तरण गराउन सकिन्छ ।

५. वातावरण साहित्यको विषय
जसरी एक रेन फोरेस्टको पारिस्थितिका (इको सिस्टम) विविध हुन्छन्, त्यसरी नै पर्यावरण साहित्य आफैँमा धनी छ । यसमा कलम चलाउन प्रयास गर्ने साहित्यकारले निम्न बमोजिमका विषयवस्तुमा केन्द्रित रहन सक्छन् :

१. इकोफेमिनिज्म- प्रकृति नारीजस्तै नाजुक तर सुन्दर हुन्छ । नारी प्रकृतिसँग पुरुषभन्दा नजिक हुने हुनाले इकोफेमिनिस्म लेखनले यी दुवैको मुक्ति मिल्न सक्छ ।

२. परिवृत्तीय – वातावरणका तत्त्वहरु प्रकाश, हावा, तापमान, जमिन र पानी हुन् । एकमा आउने परिवर्तनले अर्कोको विशेषतामा प्रभाव पार्दछ । यिनैलाई प्रमुख विषय बनाएर साहित्य कोरिन्छ भने शायद राजनैतिक उथलपुथलमा आधारित साहित्य भन्दा कम मनोरन्जनात्मक हुँदैन होला ।

३. प्रकृतिको सौन्दर्य- सेताम्मे हिउँ, हरियो वन, नीलो समुद्र, नीलै आकाश, खैरो माटो यी सबैले आआफ्ना रङहरू प्रदर्शन गरेका हुन्छन् । त्यही प्रकृतिमा रमेका वन्यजन्तु, चरा चुरुङ्गी, कीरा फट्याङ्ग्रा, जलचर, भाइरस र ब्याक्टेरिया इत्यादिले पनि आफ्नै रङहरू पोखेका हुन्छन् तर तिनका रङहरू खुइलिँदै गएका छन् र तिनको संरक्षण कसरी गर्ने भन्ने विचारका साहित्य कोर्न सकिन्छ ।

४. ग्राम्यता र अप्रदूषित परिवेश- गाउँ र शहरबीच ठुलो द्वन्द्व छ । एउटा निर्जन, शान्त, चोखो, शितल र सफा हुन सक्छ । अर्को भिड, कोलाहल, तातो र तनावपूर्ण । यो पनि लेखनको एक चाखलाग्दो विषय हो ।

५. जलवायु परिवर्तन- असन्तुलित वातावरण जलवायु परिवर्तनको कारक हो । यसले तापक्रम बढाएर, बाढीपैरो ल्याएर, वर्षात् गराएर, खेडेरी पारेर मानिस तथा वन्यजन्तुको बसाइलाई असजिलो पार्दछ । तर मानिस आफ्नो परिवेश वातानुकूल बनाएर जिउन सक्छ भने कति वन्यजन्तु यसो गर्न सक्दैनन् । साहित्यमार्फत यसको रोकथामका लागि जनचेतना फैलाउन सकिन्छ ।

६. जैविक विविधता– मानिसको रङ कालो, गोरो, खैरो नभएर एक मात्रै भएको भए यो संसार कस्तो हुन्थ्यो ? पृथ्वीको भूभाग समथर, खोँच, मधेस, मरुभूमि, हिउँ, नभएर पहाडै पहाड मात्र भैदिएको भए कस्तो हुन्थ्यो ! जङ्गलमा अन्य वन्यजन्तु नभै सबै बाघले मात्रै भरिएको भए कस्तो हुन्थ्यो होला ! धरापमा परेको जैविक विविधतालाई मुख्य विषय बनाएर सिर्जना गरिने साहित्य पनि अति जरुरी र आकर्षक देखिन्छ ।

७. वन्यजन्तु चोरी शिकारी- वन्यजन्तु चोरी शिकारी र यसको अवैध व्यापार जैविक विविधतामा आएको ह्रासको एक मुख्य कारण हो। विश्वभरि यसको बिलियन डलर बराबरको व्यापार हुन्छ । बाघ, भालु, गैँडा, हात्ती, चिम्पान्जीजस्ता स्तनधारी जीव सङ्कटग्रस्त अवस्थामा हुनुको पछाडि यसैको कारण छ । चेलीबेटी बेचबिखनमा आधारित रहेर कथा लेखेजस्तै हात्तीको दाह्रा, गैँडाको खाग र बाघको छालाको लागि तिनलाई मारेर तिनका अङ्गप्रत्यङ्गको तस्कर गरेको झनै रमाइलो कथा कोर्न सकिन्छ ।

८. आदिवासी र पर्यावरण बीचको अन्तरक्रिया– आदिवासी पर्यावरण संरक्षणका खम्बा हुन् । तिनीहरू प्रकृतिका सच्चा पूजक हुन् । तिनीहरुमा परिस्थितिको ज्ञानको भन्डार हुन्छ अनुभवको आधारमा, न कि वैज्ञानिक आधारमा । वैज्ञानिकले पनि आदिवासीबाट पर्यावरणलाई कसरी जोगाइराख्न पर्छ भन्ने कुरा सिकेका हुन्छन् । तर विडम्बना, आधुनिक विकासको नाममा वातावरणलाई विनाश गर्दै आदिवासीको पहिचान मात्रै होइन सिङ्गो वातावरणलाई नै नष्ट पार्ने कार्य भैरहेको छ । यस्तै आदिवासी जनजीवनमा र वातावरणीय मुद्दामा केन्द्रित रहेर साहित्य लेखनलाई अगाडि बढाउन सकिन्छ ।

९. धर्म र पर्यावरण- आदिमकालदेखि नै मानव प्रकृतिको महत्त्व बुझेर नै धर्ममार्फत् यसको संरक्षणमा लागेको हो । विश्वका त्यति बेलाका सबै धर्म अहिलेका संविधान भनेजस्तै कानुनी प्रणाली हुन् । अहिलेको नेपालको संविधानमै स्वच्छ वातावरणमा जिउन पाउनु जनताको मौलिक हक हो भनेर व्यवस्था गरिएको छ । हाम्रा हिन्दु तथा अन्य पूर्वीय धर्मग्रन्थमा पर्यावरण संरक्षणका बिषयवस्तुलाई अत्यधिक मात्रामा समेटिएका छन् । यसरी हाम्रा शास्त्रमा अन्तर्निहित पर्यावरण संरक्षण र यसको महत्त्वका कुरालाई साहित्यमार्फत् उजागर गर्न सकिन्छ ।

६. वातावरण साहित्य लेखनको अवस्था
नेपालको सन्दर्भमा लेखनाथ पौड्याल, माधव घिमिरे, धर्मराज थापाका श्रीजनामा प्रक्रिती सुन्दरताको सुगन्ध पाईन्छ । शाकुन्तल, प्रक्रिती पोखरा, र तरुण तपसि जस्ता श्रीजनामा प्रकृतिको रोमान्टिकता र निर्मलताको बर्णन गरिएका छन । सरु भक्तको सम्रक्षण कबिता एक बातावरण साहित्य आन्दोलन थियो । ड रुपक श्रेष्ठको पोख्तक प्रकृतिप्रधान मुक्तक संघ्रह हो । यस कृतिमा पोखराका प्राकृतिक महत्ता, यसलाई जोगाउनु पर्ने कारण, यसको क्षयिकरण, मानिसले ल्याएको प्रदुषणको बारेमा पचासभन्दा बढी मुक्तक समाबेश छन् । अंबर नेम्बाङ को सम्झनाका तरेलीहरु, गोपाल बस्नेतको आफ्नै सेरोफेरो भित्र, ध्रुब चन्द्रको जिलिएको, कर्ण शाक्य को सोच, राजेन्द्र पराजुली को अनायिका, मोहन कोइराला को सिमसारको राजादुत इत्यादिले पर्याबरणलाई केन्द्र बनाएर लेखिएका कृतिहरु हुन ।

बिदेशमा रचेल कार्सनको साइलेन्ट स्प्रिङ्ग पर्याबरण सम्रक्षणको चेतना दिने पहिलो उपन्यास हो। लेज्ली मार्मोन सिल्को को सेरेमोनी, लिन्डा होगान को सोलर स्टोर्मज अरु यस्तै पुस्तक हुन । अन्तररास्ट्रिय स्तरमा केरोल आडम, स्टाफनी काजा, जोन ब्रुनर, जोन क्रिच्टन जस्ता अरु केही नामचलेका इको साहित्यकार छन ।

७. वातावरण साहित्यलाई कसरी अघि बढाउने ?
नेपाली साहित्य लेखनहरु धेरैजसो मानवीय जीवन वरिपरि मात्रै केन्द्रित छन् । कतै कतै प्रकृतिको सुन्दरता- हरियो वन, छङछङ् छहरा, कोइलीको गीत, डाँफेको नाच इत्यादिमा कविता तथा कथा कोरिएको, गीत लेखेर गाएको पाइन्छ । हिमरेखा किन झन् माथि चढ्दैछ; बाघ, भालु, गैँडा किन लोप हुँदैछन्; पोखरी र खोला किन दूषित हुँदैछन्, तिनलाई सम्बर्धन र संरक्षण किन र कसरी गर्नुपर्छ भन्ने विषयमा कलम चलेका विरलै पाइन्छन् ।

निरङ्कुश शासनको विरुद्धमा कलम उठाइयो, अब जलवायु परिवर्तनको विरुद्धमा कलम उठाउन जरुरी छ । छङ्छङ् गर्ने झरना र चाँदीझैँ टल्कने क्या राम्रो हिमाल भनेर गीत लेखियो । अब सुक्दै गरेको झरना, पग्लिँदै गरेको हिमाल, लोपोन्मुख हिउँ चितुवा, बासस्थान गुमाउँदै गरेको उत्तरी ध्रुवको भालु, अन्टार्कटिकाको पेङ्गुइनको पनि गीत लेख्न जरुरी छ । आफ्ना मानिसहरु दुर्घटनामा परेका कथाहरु लेख्ने कथाकारले अब आणविक दुर्घटना, सामुद्रिक प्रदूषण र बाढीपहिरो जस्ता प्राकृतिक प्रकोप र त्यसमा प्राण गुमाएका वन्यजन्तुको पनि कथा लेख्न आवश्यक देखिन्छ । कसैले घर आगोले डढाएर घरबिहिन भएका मानिसको गाथा लेख्छ भने कसैले बन डढेलो लागेर बासबिहिन बनेका पशुपक्षिको पनि गाथा लेखौं न । सक्ती हत्याउन र स्वर्थ पुर्तिका लागि छेडिएको युद्दले बिस्थापित बनेका शरणार्थिको काहानी जती करुण हुन्छ त्यो भन्दा बढी मनछुने जथाभावी बस्ती बसाउन र खेती गर्न मासिएका रेन फरेस्टले गर्दा बासस्थानको नस्ट भएपछी बिस्थापित बन्यजन्तुका कहानि हुनसक्छ । हावाइजहाज चढदै आधुनिक शहर घुमेर पाँचतारे होटेलमा बसेको र रेस्टुरेन्टमा खाएपिएको बिषयमा संसमरण कोर्न जती आनन्द आउँछ त्यो भन्दा बढी आनन्द हातिमा सवार गरेर राष्ट्रिय निकुन्जका बन्यजन्तुको दर्शन र तम्बुमा सुतेर ओर्गानिक तरिकाले उत्पादित खाना खाएका नियात्रा लेख्नमा आउँछ । अनी मात्रै सम्रक्षण गर्न सकिन्छ हाम्रो पर्याबरण । अन्यथा मानव सभ्यता ६० मिलियन बर्ष अगाडि डायनोसोर लोप भएर गएजस्तै हुन सक्छ ।

भानु जयन्ती सँगसङै भालु जयन्ती पनि मनाऔं । किनकी उत्तरि ध्रुबका हिउँभालु लोपान्मुख अवस्थामा छन । मोती जयन्ती मात्रै होइन माटो जयन्तीको महत्व पनि त्यत्तिकै छ । किनकी भुछय र रासायनिक मलको प्रयोगले माटोले उर्बरासक्ती गुमाएको छ । पृथ्वी नारायण जयन्ती मात्रै कती पृथ्वी ग्रहको पनि जयन्ती मनाऔं न अब हामी । ‘हे भगवान हामीलाई बचाउ’ र ‘हे मानिस पशुपंक्षिको सम्रक्षणमा लाग’ भन्ने भजनहरु सङ्गै लेखौँ सङ्गै गाऔं । भुखको मात्रै कती अब रुखको पनि कथा लेखौं । घोँडा चढेर गाउँ डुल्ने मालिकको साहित्य लेखेर थाकिएन र ? अब साइकल चढेर कवाडी सङ्कलन गर्नेको पनि साहित्य लेखौँ । नदि नाला, सामुन्द्रिक तट, गल्ली र पार्क सरसफाइ; ब्रिक्षारोपण; बाताबरणिय समस्याहरु र तीनलाई कसरी सुल्झाउन सकिन्छ इत्यादी बिषयमा कथा लेख्ने, कबिता पढने, गीत गाउने, नाटक खेल्ने, चित्रकला तथा फिल्म पर्दसन गर्नेगरेर मनाऔं अब साहित्य गोष्टी ।
यसरी बातावरण साहित्यलाई अस्विक्रित बिचार साहित्य, भयबाद, श्रीजनशिल अराजकता जस्तै कुनै बादको रुप दिएर एक आन्दोलन बनाइ अगाडि बढाउँदा अझ प्रभावकारी हुनसक्ने सम्भावना देखिन्छ ।

८. चुनौती तथा अवसर
बातावरण साहित्य त्यती नौलो बिषय भने होइन । लामोसमय देखी कुनै न कुनै रुपमा लेखिदै आएको बिषय हो । मुख्य चुनौती भनेको स्रजगले बातावरण क्षयका कारक र परिणामको सिद्दान्त, यसको व्याबहारिक पक्ष र महत्व, सुधारका उपाय बुझ्न जरुरी छ । यसको सम्बन्ध अलिकती बैज्ञानीक कारणसँग सम्बन्धित भएकोले लेखकमा बैज्ञानीक ज्ञान भैदिएमा उत्तम हुन्छ । बिज्ञानको समिश्रणले गर्दा बातावरण साहित्य नेपाली मुलधारको साहित्यमा अङ्गाल्न न सकिएको हो ।

बातावरण एक फराकिलो धरातल भएकोले लेखनका प्रसस्तै अवसर पाईन्छन । यसले विश्व देखी बायुमन्डल, जमिन मुनिको पानी देखी आकाशमाथि बादल, कमिला देखी हात्ती जस्ता प्राणी, घिस्रने जन्तु देखी उडने पंक्षी, निर्जिव ढुङ्गा माटो देखी सजिव सर्प जस्ता बिषयलाई समेट्छ । त्यसरिनै शहर जस्ता भौतिक सम्रचना देखी आणबिक भट्टिको रासायनी प्रतिकृया, सितल जुन देखी चर्को घाम, शान्त तलाउ देखी उर्लदो समुन्द्र, मन्द हावा देखी बहकिने आँधी बेहरी लेखनका बिषय बन्नसक्छन । मानिसका गूडाउने, उत्पादनगर्ने, भत्काउने, उडाउने कृयाकलाप; घाँसे मैदान, रेन फोरेस्ट, हिमालय, ध्रुबिय हिउँ, सुख्खा मरुभुमी, ओसिलो सिमसार जस्ता कुरामा कलम दौडाएर मनका भावना पोख्न सकिन्छ । त्यसैले यस्तो साहित्यमा इन्द्रेनिका सबै रङ पोत्न र पोख्न सकिन्छ भन्दा अत्तुक्ती नहोला ।

९. उपसंहार
जैबिक बिबिधतामा ह्राश; प्रदुसित, जमिन, हावा, र पानि; मरुभुमिकरण; जङल फंडानि; ओजोन अबछय इत्यादी अैलेका जल्दाबल्दा बातावरणिय समस्या हुन । यस्ता समस्याको उज्गार गर्नु र तीन देखी कसरी पार पाउन सकिन्छ भन्ने कुराहरु मात्रै लेख्नु होइन कि तिनको महत्व र अस्तित्वलाई बुझेर पाठकलाई बुझाउन प्रयत्न गर्नु पनि बातावरण साहित्य हो । पृथ्वी एक सुन्दर बगैंचा हो, मानिस यसका मालिक । तर बगैंचामा फुलहरु फुल्न र भमराहरु झुल्न छोडेका छन । तिनको सम्रक्षणको लागी एउटा बलियो साहित्यिक कलम उठाउनुपर्ने बेला आएको छ । बगैँचालाई सधैं हराभरा र जैबिक बिबिधताले सजाइ राखेर त्यसबाट आनन्द लिन र दिन पनि बातावरण साहित्यमा लाग्नुको अर्को औचित्य हुन आउँछ ।

सन्दर्भ सामाग्री:
• Bhattarai, G. R. (2007) Postmodern Discourse. Kathmandu: Modern Books
• Carson Rachel, (2000) Silent Spring. Modern Classics
• Gore Al, (2006) An Inconvenient Truth. Rodale
• Hitan Bijay, (2013) Thakit Prithvi. Nepali Prativa Pratisthan
• Hitan Bijay, (2018) Swochchhanda Suselihru. Bulbul Publication
• Hitan Bijay, (2021) Swochchhanda Suselihru 2. Global Federation of Nepali Literature South UK
• Shrestha, T. K. (2003) Wildlife of Nepal. Curriculum Development Centre Tribhuvan University.

फोक्सटोन, केन्ट, बेलायत

प्रतिक्रिया
Loading...