प्रिय परदेशी,
गएको हिउँद विदेश उड्दा भनेका थियौ-
‘तिम्रो बाउआमाले घरज्वाइँ बनाएर राखे पनि
बस्ने छैन तिम्रो सहरमा’
थाहा थियो,
सदाबहार रेनफोरेस्टझैँ मौलाइरहेको हाम्रो प्रेम
प्लास्टिक फोहरमैलासरि फ्याकेर मलाई
अरब लागेका थियौ तिमी ।
खै ! अैले कत्तिको याद गर्छौ कुन्नि ?
तिमी ओझेल परेपछि आकाशमा
संवेदनशील घाँसे मैदानजस्तै मेरो मन डढेलोमा जलिरह्यो
तर पर्खी बसेँ डढेलाको धुवाँमा रुमलिँदै
को आउँथ्यो र डढेलो मार्न !
महिनौँसम्म जलि नै रहेँ
अहिलेसम्म जलि नै रहेको छु ।
तिम्रो गाउँजस्तो कहाँ हुन्छ र मेरो सहर ?
स्वच्छ, शून्य र हरित !
सहर त
-हल्ला र कोलाहलको अन्तर्घुलन
-दुर्गन्ध र सुगन्धको मिश्रण
-धुलो र धुवाँको सङ्गम न हो
यिनै परिवेशमा समाहित पार्दै आफूलाई
जिउन बाध्य भएकी
तिम्री प्रेमिकाको घर हो सहर ।
ए प्रवासी,
तिमीले भिसामा च्यापेर लगेको मेरो सहरको अनुभव
अब त्यस्तो छैन
थाहै होला तिमीलाई अहिले
-उड्न
-गुड्न
-कुद्न
-र चल्न
सबै बन्द भैसकेका छन मेरो सहरमा
हिजोआज त तिमी
मेरो आँखामा सहजै झल्केको देख्न सक्नेछौ हिमाल
मेरै आखीभौँको कौसीबाट हरदिन मुस्काइरहेको हुन्छ चोमोलोङमा
मेरो कानको नजिकै आएर तिमी
प्रेमिल सुसेलीहरू हाल्न सक्नेछौ
म तिम्रा सङ्गीतसरी कानेखुसीहरू सुनिरहने फुर्सदमा छु
किनकि,
अहिले मलाई सुन्नु छैन
-सवारी साधनका कर्णच्छेदन हर्नहरू
-विवाह/भोज/भजनबाट कुर्लने माइकहरू
-मन्दिर र गुम्बाबाट गुन्जने घण्टीहरू
-हवाइजहाजहरूबाट निस्कने गगनभेदी ध्वनिहरू
बरु म सुन्न व्याकुल छु
तिम्रा उही रोमान्टिक वाक्य- ‘आई लभ यू !’
आजकाल मलाई सुँघ्नुछैन
-ट्रकबाट निस्कने नाइट्रोक्स अक्साइड
-ट्याक्सिले फाल्ने पेट्रोलको गन्ध
-इट्टाभट्टाबाट उत्सर्जित धुवाँको मुस्लो
बरु म सुँघ्न आतुर छु
तिम्रो शरीरबाट सृजित प्रेमरागको सुगन्ध ।
एउटा कुरा,
लामो समयपछि अस्ति
निस्केकी थिएँ स्कुटीमा बाहिर
सडकमा कोरिएका सेता धर्काहरूलाई पच्छ्याउँदै र जेब्रा क्रसिङ्गलाई क्रस गर्दै
अनि त पहिलाजस्तो
-गनाएन ठुस्स बाग्मती पुल्चोक काटेर पारि तर्दा
-बसेनछ हेल्मेटमा धुलाको कण
-पखाल्न परेन महँगो खर्च गरेर ब्युटीपार्लरमा मेरो कपाल
त्यसपछि
पुतली सडकबाट हिँडेर आइपुग्दा बागबजार
अनि त पहिलाजस्तो
-लागेन रत्तीभर मैला मेरो सेतो स्यान्डलमा
-बसेनछ कुनै दाग नङपालिस पोतिएका मेरा खुट्टाका औँलामा
त्यसैले लागिरहेछ मेरो सहर
तिमीले छोडेजस्तो प्रदूषित पक्कै छैन अहिले
त्यसैले आऊ फर्केर छिट्टै मेरो अँगालामा बेरिन
हैन भने
चार्टर गरेर पठाउन नपरोस् उद्धार गर्न तिमीलाई
मेरो सपनाको प्लेन
अहिले नै आयौ भने फर्केर झट्टै
नराखी क्वारन्टिनमा तिमीलाई
सिधै प्रवेश गराउनेछु मेरो मनको मझेरीमा ।
अन्त्यमा,
कोरोना महामारीमा बन्दाबन्दीको कारणले स्वच्छ बनेकी
उही तिम्री ह्रिदयकी
-प्रकृति
(१२ जुलाई २०२०- नेपाली साहित्य विकास परिषद्को रजत जयन्ती भर्चुवल समारोहमा वाचित कविता)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।