प्रिय खोला

बर्सौँदेखि माफियाहरूले तिम्रो दोहन गरिरहे

तिमीलाई बेचेर करोडौँ सम्पत्तिका मालिक बने

तैपनि किन चुपचाप बस्छौ तिमी ?

मलाई थाहा छ एकदिन तिमी जाग्नेछौ

यसरी कि सारा विश्व चकित हुनेछन्

अरबौँ वर्षदेखि कठिन समय र अवस्थासँग

जुध्दै आएकी महान् पृथ्वी माताकी सन्तान हौ

तिमी त्यति कमजोर पक्कै छैनौ

आफ्नो अस्तित्व दिनदहाडै लुटिँदा पनि चुपचाप सहेर बस्ने ।

 

प्रकृतिलाई जिस्काउनेले बुझेर पनि नबुझेझैँ गरेका छन्

तिमीले एकदिन सिकाउनेछौ बारबार जिस्काउनुको नतिजा

एकदिन तिमी गड्गडाउनेछौ, आफ्नो मिचिएको भाग खोस्नेछौ

तर

तिमीले आफ्नो बाटो खोज्दा

तिमी उर्लँदो बाढी बनी बग्दा

आफ्नो हक खोज्दा

तिमीलाई सकेसम्म दोहन गर्नेहरू

बाँच्नेछन् त्योबेला पनि

अनि तिनै निमुखाहरू तिम्रो सिकार बन्नेछन्

जो तिम्रै सामीप्यमा बसेका छन्

जीवन जिउने सहारा तिमीलाई नै ठानी

तिम्रै किनारामा बसेर, गिट्टी कुट्छन् ।

फेरि पनि राजनीति नामको पहुँचमा तिनै माफियाहरू तिमीलाई दोहन गर्न छाड्ने छैनन् ।।

त्यसैले खोला,

मेरो बिन्ती छ

तिमी यसरी उर्लिदिनू कि

माफियाहरू हारून्

शासकहरूले शिर झुकाऊन्

त्यसपछि तिमीलाई लुट्ने दुस्साहस कसैले गर्न नसकून् ।

इलाम, नेपाल