सजाएर सौन्दर्य यी नयनभरि।
मृदु ह्रदय मोहित हुन्थे घरिघरि।
कैवल्य प्राप्तिको गर्थेँ अनुभूति।
हेरी कञ्चन बग्ने नदी र निर्झरी।
कोइली गाउँदा मयूर नाच्तै हिमाल हँसाउँथे।
मनसुनी वर्षा घामपानीले इन्द्रेणी सजाउँथे
अचेल हुस्सुमै प्रदूषणको धुवाँ बोक्तैछ हावा,
हुस्सु र धुवाँमा अल्मलिँदै आज मेघै लजाउँछे।
बोकेर हुस्सु बहेर वायु मेघको मेल गर्छ,
पारेर झरी बगेर खहरे उर्लेको भेल झर्छ।
प्रकृतिकै प्रवृत्ति दैवीशक्ति अद्भुत नीति,
यो नीतिनै नबुझेर नरले मूर्खको खेल गर्छ।
विषक्त धुवाँ र हुस्सु मिलेको मेघले पनि,
अचेल प्रदूषित वर्षा विसर्जन गर्दो रहेछ नि।
जलवायुमै प्रदूषणको दुर्गन्धहरू फैलिरहेछ,
नर निर्मित विकासले नासिँदैछिन् भू जननी।
ती हराभरा भिर पाखाहरूका छहरा,
फुलेका लालीगुराँस झुलेका लहरा।
मासिँदै,नासिँदै भूक्षयमा भासिँदै गए,
वन्य पशुपक्षी कठै!आवास न आहरा।
जागौँ नर हो,लागौँ पुनः प्रकृतिसँग रमाऔँ
विकास भनी विनाशकारी डोजर नलगाऔँ
यन्त्रहरू नियन्त्रित गरौँ सभ्य नागरिक बनौँ
सबै जुटौँ भू संरक्षणमा वातावरण जोगाऔँ।
-रेडिङ युके
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।